भर्खरै :

दसैँ आयो, खाउला पिउँला, अनि बिरामी परे ?

दसैँ नजिकिँदै छ । दसैँको विशेष परिकार मासु हो । पहिला – पहिला मानिसहरूले मासु खानकै लागि दसैँ कुर्नुपर्ने अवस्था थियो ।
तर, समय परिवर्तन भएको छ ।
आजभोलि मानिसले चाहेको समयमा जस्तोसुकै परिकार र खाना खानसक्ने क्षमता राख्छन् ।
तर पनि, नेपालीहरू दसैँलाई अझै पनि मासु खाने चाडकै रूपमा लिन्छन् । अन्य समय भन्दा दसैँको खानपान बढी नै हुन्छ । “दसैँंमा मनाइएको आनन्द अहिले निस्किरहेछ । के गरौँ, मासु देखेपछि स्वादिष्ट तरकारी खाँदा हात र मुख थाम्न सकिन्न, कसैको घरमा तास खेल्न गयो भने भुटेको मासु र चिउरा दिँदा नाइँ भन्न सकिन्न । कतिले भन्छन्, तर “एक छिन नाइँ” भन्न नसकेपछि दसैँंको बेलाको मासु र चिउरा, पुलाउ, मासु र भात धेरै खाएर रक्तचाप बढेर, मधुमेह भएकाहरूको त रगतमा चिनी बढेर समस्या परेपछि र बाथको समस्याले गाँजेपछि र खुट्टा र हातका हड्डीहरू धमाधम दुख्न थालेपछि “अति बढी नै खाइएछ कि क्या हो” भन्ने लाग्छ ।
पहिला–पहिला मानिस साइकल चढ्थे, आधा–एक घण्टा हिँडेरै जान्थे । तर अहिले मानिसको हिँडाइमा कमी आएको छ । यसले स्वास्थ्यमा असर पारेको छ । हामीले पहिलाको जस्तै खान्छौँ तर व्यायाम भने हराएको छ ।
दसैँमा हामी अझ बढी मासु खान्छौँ। खान हँुदैन भन्ने होइन, तर एकदमै धेरै लतपत पारेको, धेरै मसला, धेरै नुन हालेको मासु खानु हुँदैन ।
हप्ताभरि मासु खाइरह्यो भने समस्या आउँछ । मासु पच्न गाह्रो हुन्छ, मासुमा रेसादार पदार्थ पनि हुँदैन जसले गर्दा उच्च रक्तचाप, मधुमेह र मोटपना भएकाहरूले मासुको अत्यधिक प्रयोग गर्दा समस्या थपिन्छ ।
मासुसँगै चिउरा, रोटी, भात खाइन्छ । मिठो मासु छ भने भात अझै बढी खाने चलन छ । यसले शरीरमा थप समस्या पार्छ, मोटोपन झनै बढाउँछ ।
त्यसैले यो बेलामा मासु खाएसँगै हरियो तरकारी पनि पर्याप्त खानुपर्छ । एक छाकमा अलि बढी भएजस्तो लाग्यो भने अर्को छाकमा मासु खानु हुँदैन । पकाउँदा धेरै चिल्लो हाल्नु हुँदैन ।
धेरै मासु पकाएर फ्रिजमा राख्ने, निकाल्ने, तताउने, खाने अनि फेरि राख्ने गर्नु हुँदैन । यसले शरीरलाई हानी गर्छ । जति पकाउने हो फ्रिजबाट त्यति नै झिक्नुपर्छ ।
दसैँको बेलामा शाकाहारीलाई पनि उत्तिकै खानेकुरा छन् । शाकाहारीले तरकारी, अचार, दही, मही, पनिर खान सकिन्छ । तरकारीको प्रयोग बढी गर्दा फाइदा हुन्छ । तर, मिठाइहरू भने धेरै खानु हुँदैन । शाकाहारी मांशाहारी सबैले दसैँको बेलामा खानामा ध्यान दिनुपर्छ ।
पत्रु खाना खानु हुँदैन । बालबालिकालाई बाहिरबाट ल्याएको प्याकेटयुक्त खाना खुवाउन हुँदैन । चाउचाउमा तोकिएभन्दा ३७ देखि २ सय प्रतिशत बढी सोडियम मिसाइएको हुन्छ । यसले बालबालिकाको मृगौलामा असर पार्छ । पत्रु खानालाई पत्रु ठानेर पत्रु बाकसमै राख्नुपर्छ । चिसो पेय पदार्थको कम प्रयोग गर्नुपर्छ । घरमै पेय पदार्थ बनाउन सकिन्छ ।
दसैँको बेलामा मदिराको खपत धेरै हुन्छ ।
“दिनको एक प्याक ह्वीस्की ठिकै रहेछ” भनेर खाने गरिन्छ, जुन कुरा गलत हो । स्वास्थ्य बिगारेर मदिरा खानु राम्रो होइन ।
दसैँं तिहार र अन्य धेरै संस्कृति, धार्मिक चाडपर्वलाई परिवार र साथीहरूसँग मिलेर मनाउनाले हाम्रो जीवनमा धेरै नै सकारात्मक भूमिका खेल्छ । दसैँं तिहारको बेला गाउँ–घरमा कतिपय वर्षभरि बाहिर काम गरेर घर फर्किन्छन् । इद र क्रिसमस मान्नेहरू आफ्नो धार्मिक दिवस पनि त्यसैगरी पारिवारिक जमघट गरेर रमाइलो गर्छन् । प्रत्येक चाडले मानव मनमा खुसी ल्याउँछ, सम्बन्धहरू नजिक पार्छ, वातावरण रमाइलो पार्छ । यसले गर्दा स्वास्थ्यमा पनि विशेष गरी मानसिक स्वास्थ्यमा त झन् प्रभाव पर्छ ।
तर, यो रमाइलोको बेलामा यदि खानपिनमा (विशेष गरी विभिन्न स्वास्थ्य समस्या भएका बयस्क वा बुढाबुढीहरूले) खानपिनमा ध्यान राखेनन् भने त दसैँं र चाडपर्व सिद्धिने बित्तिकै अनेक स्वास्थ्य समस्या भएर डाक्टर, अस्पताल, औषधि आदिको पछि लाग्नुपर्छ ।
तर, खाएर शरीरको रगतमा गइसकेपछि ती वस्तुलाई चाहेर पनि निकाल्न सकिन्न । औषधिले केही दुखाइ त कम गरे पनि दुखाइ सहनु नै पर्छ । फेरि कति चोटी त समस्या यति बढ्छ कि औषधि पनि ‘कमजोर’ साबित हुन्छन । तैपनि, “बरु पछि जे होला, देखा जाएगा, अहिले त आनन्दसँग खाउँ, मरेर जाने चोला त हो नि, किन पिर गर्नु” भन्ने जस्ता तर्क दिएर कतिजनाले खाइरहन्छन् ।
यसो गर्नु राम्रो होला र ?
–लेखकको फेसबुक पेजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *