भर्खरै :

कहाँ गयो हाम्रो आक्रोश ?

(विदेशी सहयोगले गिजोलेको नेपाल र नेपालीको दशा झन्झन् बिग्रँदो छ । शासक वर्ग धनी हुँदै जाँदा गरिब झन्झन् गरिब बन्न पुगेका छन् । विदेशी आर्थिक सहयोगमा आधारित नेपाली विकासले यसमा कस्तो भूमिका खेलेको छ ? नेपालमा वर्गसङ्घर्षको स्वरूपबारे नन्दराज श्रेष्ठको ‘इन द नेम अफ डिभेलपमेन्टः अ रिफ्लेक्सन अन नेपाल’ मा गहिरो वर्णन छ । एमसीसीको ‘अनुदान’ को करकापबीच विदेशी सहयोगबारे सग्लो दृष्टिकोण बनाउन पुस्तक सान्दर्भिक देखिन्छ । यहाँ सोही पुस्तकको एक अंशको भावानुवाद प्रस्तुत गरिन्छ । – अनुवादक)
सङ्घर्षबिना प्रगति हुन्न । स्वतन्त्रताको पक्ष लिने तर आन्दोलनलाई कम आँक्ने मानिसहरू खेत नजोती बाली भित्र्याउन खोज्ने मान्छेजस्तै हुन्छन् । उनीहरू आँधीबेहरीबेगर झरी परेको देख्न चाहन्छन् । उनीहरू छालबिनाको समुद्र चाहन्छन् । यो सङ्घर्ष नैतिक वा भौतिक हुनसक्छ अथवा नैतिक र भौतिक दुवै हुनसक्छ । तर सङ्घर्ष चाहिँ हुनुपर्छ । मागबिना कुनै पनि शक्ति झुक्दैन । कहिल्यै झुकेको थिएन र झुक्नेछैन । केही मानिसहरू चुपचाप कसका सामुन्ने झुक्दै छन्, पत्ता लगाउनुस् । अनि तपाईँले उनीहरूमाथि थोपरिने अन्याय र खराबीको भेउ पाउनुहुनेछ । यो रीति उनीहरूले शब्द, मुक्का वा अन्य उपायबाट प्रतिकार नगरेसम्म चालू रहनेछ । दमनमा परेकाहरूले जति सहन्छन्, त्यत्तिकै शोषकहरूको शोषण तन्किँदै जान्छ । हामीमाथि थोपरिएको सम्पूर्ण दमन र खराबीबाट हामी कहिल्यै मुक्त हुन चाह्यौ भने तिनलाई धोइपखाली गर्न हामीले मूल्य चुकाउनुपर्छ । हामीले यो काम मिहिनेत गरेर, दुःख गरेर, त्याग गरेर तथा आवश्यक परे हाम्रो जीवन र अरूको जीवन सुम्पेर पूरा गर्नुपर्छ ।
–फ्रेडरिक डगलस, १८५७
आजको विकास एउटा युद्ध हो, वर्गयुद्ध हो । गरिबविरुद्ध धनीको, शक्तिहीनविरुद्ध शक्तिशालीको र प्रकृतिविरुद्ध मानिसको युद्ध हो । हरेक युद्धले जस्तै यसले पनि आफ्नै विजेता र पीडितहरू जन्माएको छ । यसले मुठ्ठीभर मानिसको धनसम्पत्ति बढाएको छ, तर यसको पीडा धेरैले भोग्नुपरेको छ ।
यो युद्ध दिनदिनै चल्छ । तैपनि यसको युद्धमैदान छैन । यसको कुनै भौतिक हतियार छैन । यो चुपचाप हुन्छ । तैपनि यसले नेपालका दीनहीन र गरिबहरूको स्वाभिमानपूर्ण जीवनलाई ठूलो चुनौती दिइरहेको छ । जताततै अन्याय र अभावको बिगबिगी छ । तैपनि जनतालाई जागृत गराउन सक्ने गोचर आक्रोश कतै देखिन्न । आक्रोश भित्रभित्र छ, सामाजिक विष्फोट छैन । आक्रोशितहरूको नसामा रगत उमाल्न सक्ने तागत मुटुमा छैन । नसाहरू सुक्खा छन् । सबथोक शान्त देखिन्छ । सबथोक मौन देखिन्छ । यो मौन युद्धमा केही गडबडी छ ।
गरिबहरू यो मौन युद्धमा झन्झन् घेराबन्दीमा पर्दै छन् ।
वर्ग सम्बन्धको बदलिँदो प्रकृति
हालै मैले नेपाली सम्भ्रान्त वर्गका एकजना अत्यन्त शिक्षित सदस्यको पत्र पाएँ । उनीसँगको मेरो चिनजान पुरानो हो । उनी विकासका पैरवीकर्ता हुन् । उनी करारको आधारमा पश्चिमा सहयोग एजेन्सीहरूको लागि काम गर्छन् । विकास छ, त्यसैले उनले प्रगति गर्दै छन् ।
आफ्नो पत्रमा उनले जनसङ्ख्या वृद्धिलाई नेपालले भोगिरहेको सबैभन्दा ठूलो समस्या बताएका छन् । म आश्चर्य मान्दिन किनभने आजभोलि सबैले त्यसै ठान्छन् । उनले गरिबी र प्रजातन्त्रलाई जसरी हेरेका छन् र गरिबहरूलाई राष्ट्रिय समस्या ठानेका छन्, त्यसले मलाई छक्क पा¥यो । उनको विचार जनसङ्ख्या र गरिबहरूबारे सामान्य सम्भ्रान्त सोच हो, तैपनि मैले कुनै नेपाली सम्भ्रान्त वर्गबाट त्यस्तो कुरा पहिले सुनेको थिइन । उनको पत्र पढेपछि मैले थोमस माल्थस अचानक आफ्नो बेलायती चिहानबाट निस्केर उनको बुद्धिमा पसेको महसुस गरेँ । उनको पत्र र माल्थसको ‘गरिबलाई दोष देऊ’ मार्के जनसङ्ख्याको सामाजिक सिद्धान्तमा आश्चर्यजनक समानता पाएँ । पत्रका मूल बुँदाहरू यस्ता थिए –
१. धनी र शिक्षितहरूले थोरै बच्चा जन्माउन सचेत निर्णय लिन्छन् । परिवार नियोजन गर्छन् । जब कि गरिबहरूले सुँगुरले जस्तै जथाभावी बच्चा जन्माउँछन् ।
२. यस्तो स्थिति नेपालको कलिलो प्रजातन्त्रको लागि राम्रो होइन । प्रजातन्त्र भनेको एक व्यक्ति बराबर एक मत हो । गरिबहरूको मतको सङ्ख्या बढ्दै जानेछ र तिनीहरूको सङ्ख्याकै कारण उनीहरू निर्णायक शक्ति बन्नेछन् । (यो तर्कपछाडि उनले गरिबहरू अशिक्षित र बुद्धिहीन छन्, तिनले सही निर्णय लिन सक्दैनन्, त्यसैले तिनलाई किन बोल्न दिने वा मतको अधिकार किन दिने भन्ने विचार लुकेको छ । अथवा सके उनको सोच प्रजातन्त्रबारे उनको वर्गीय विश्लेषणको प्रतिबिम्ब हो । त्यो भनेको प्रजातन्त्रले सम्भ्रान्तहरूको हित हुन्न, गरिबहरूले चुनावबाटै शक्ति हत्याउन सक्छन् भन्ने डर हो । यो प्रजातन्त्रबारे घतलाग्दो बुझाइ हो अथवा यसलाई सम्भ्रान्तहरूको अहङ्कारवाद वा चरम घृणा भन्न सकिएला ¤)
३. गरिबहरू भूमिहीन छन्, जङ्गल मास्छन् र जङ्गली भूभाग मिच्छन् ।
४. तिनले खुला सडक ओगट्छन्, जताततै फोर बनाउँछन् र आफ्ना छोराछोरीलाई खेल्न सडकमा छाडा छोड्छन् । तिनका बालबच्चालाई तलमाथि भयो भने एकाएक अरूलाई दोष दिन्छन् र उनीहरूमाथि हिलो छ्याप्छन् ।
५. अझ राजनीतिक नेताहरू र सत्ताका दलालहरूले यिनै ‘असावधान अल्छी मान्छेहरू’ लाई असम्भव वचनहरू दिन्छन् । चुनाव जितेमा यो गरिदिन्छु वा त्यो गरिदिन्छु भन्छन् ।
६. सरकारसँग जेजति स्रोतसाधन छ, गरिबहरू आफ्नो फाइदाको लागि त्यसको उपयोग गर्न चाहन्छन् । धनीहरूलाई तर्साउने गरी सीमित स्रोतसाधनबाट उनीहरूले सकेसम्म धेरै हत्याउँछन् । त्यसमाथि उनीहरूलाई नै सरकारी अनुदान दिनुपर्छ ।
यति हुँदाहुँदै पनि गरिबलाई थोरै बच्चा जन्माउन हौस्याउन नसकिने उनको अनुमान छ । कार्यक्षमता र योग्यताको कदरै छैन, उनले तीतो पोखे । व्यक्तिको योग्यता र कार्यक्षमतालाई पुरस्कृत गर्ने परिपाटी नेपालमा छँदै छैन, उनले दाबी गरे । त्यसपछि उनी सोध्छन् – सरकारले गरिब अल्छीहरूको रेखदेख किन गर्ने ? कार्यक्षमता र योग्यताको कुरा गर्दा उनले खोक्रो मेरिटोक्रेसी वा योग्यतावादको कुरा गर्दै थिए । अर्थात् सम्भ्रान्तहरू सधैँ गरिबहरूभन्दा योग्य हुन्छन्, त्यसैले उनीहरूलाई धेरै दिनुपर्छ । उनले गरिबसँग क्षमता हुन्छ, तिनले जीवन चलाउन परिश्रम गर्न सक्छन् वा उनीहरूमा कुनै योग्यता हुन्छ भन्ने मान्दैनन् भन्ने कुरा स्वाभाविक छ ।
गरिबहरू चारैतिरबाट ठगिन्छन् । यो यथार्थ देख्नै नसक्नेगरी कि उनी अन्धा हुन् वा उनीले सैद्धान्तिक पन्पछ्याइँ गर्छन्, मैले बुझ्न सकिन । योग्यता र कार्यक्षमता नाप्ने उनको कसी अर्कै हुनुपर्छ । उनको पेशा हेर्दा उनले कागजी काम गर्नुलाई परिश्रम मानेको हुनुपर्छ । दाता पश्चिमा एजेन्सीहरूको लागि विकास परियोजनाहरूको सम्भाव्यता अध्ययन प्रतिवेदन र विश्लेषण रिपोर्टहरू ओकल्नुलाई नै उनले परिश्रम ठानेको हुनुपर्छ । यस्ता रिपोर्टहरूमा शब्द त थुप्रिन्छ, तर विषयवस्तु हलुका हुन्छ । उनीजस्ता विकास परामर्शदाताहरूलाई तिनका पश्चिमा संरक्षकहरूले यस्ता रिपोर्टहरू तयार गर्न लगाउँछन् । उनीहरूले लिपपोतको काम गर्छन् । विदेशी सहयोग परियोजनाहरूलाई तर्कहरू जुटाउँछन् । वास्तवमा उनीहरूले विदेशी एजेन्सीहरूले जे चाहन्छन् त्यही बकिरहेका हुन्छन् । यति गरेपछि उनीहरूकहाँ यस्ता करारको काम आइरहने हुन्छ ।
मनमा उनलाई थाहा हुन्छ, विकास संस्थापनका सबैलाई थाहा हुन्छ, उनीजस्ता परामर्शदाताहरू भनेको खेलका सामान्य प्यादा हुन् । स्वीकार्नु नस्वीकार्नु अर्कै कुरा हो । तिनीहरू पश्चिमा एजेन्सी र एजेन्टहरूका उच्च वर्गीय पिछलग्गू मात्र हुन् । उनलाई बढीमा २ प्रतिशत परामर्शदाताले मात्र परिश्रम गर्छन् भन्ने थाहा छ । शैक्षिक प्रमाणपत्र मात्र तिनको योग्यता हो, काम वा कामको मर्यादा तिनको योग्यता होइन । तिनीहरू समाजका सबैभन्दा ठूला परजीवी हुन् । तिनीहरूले अरूको खुनपसिनाबाट फाइदा लिन्छन् । तिनले आफ्नो अधिकांश समय बैठक कक्षमा, सुकिलो कुर्सीमा बिताउँछन् । पाँचतारे होटलहरूमा हुने पार्टीहरूमा तिनीहरू विदेशी रक्सी र चुरोटले घाँटीघाँटी हुन्छन् । सत्य सत्य हुन्छ । पानीमा डुबाउँदैमा लौरो बाङ्गिन्न ।
पत्रमा उनले भनेको विकासका सीमित स्रोतसाधनको उपयोगबारे बताएका कुराले मेरो चित्त दुख्यो । उनले विकासका स्रोतसाधनको उपयोग र दुरूपयोग, तथा विदेशी पैसाको विषयमा उनले सत्यतथ्य एकदम बङ्ग्याएका छन् । उनले धनीहरूको नाङ्गो गैरजिम्मेवारीमा तिनलाई सुनपानी पनि छर्केका छन् । गति शिक्षित व्यक्तिले गरिबहरूलाई यति निराधार आरोप लगाउनु दुःखको कुरा हो । नेपालमा बस्ने र काम गर्ने झन्डै सबैलाई थाहा छ, धेरैजसो स्रोतसाधन गरिबहरूलाई नदिई शासक सम्भ्रान्तहरूले नै चुस्छन् । यो कुरा धेरै विदेशी एजेन्सीहरूले पटकपटक हाकाहाकी स्वीकारेका छन् ।
उनको पत्रमा लेखिएजस्तो वनजङ्गल फँडानी र अन्य प्राकृतिक स्रोतको दोहनका लागि गरिबहरू जिम्मेवार छैनन् । व्यवसायिकरूपमा मूल्यवान रुखहरू फँडानी गर्ने काम व्यवसायिक काठ व्यापारीले गर्छन् । उनीहरूले कानुनी र गैरकानुनी दुवै विधि प्रयोग गर्छन् । स्रोतसाधनको छाडा र चरम दोहनको लागि सम्भ्रान्त र धनीमानीहरू जिम्मेवार छन् । तिनले गरिबहरूले भन्दा १० देखि १५ गुणा बढी वनजङ्गल वा अन्य स्रोत तहसनहस पार्छन् ।
उदाहरणको लागि धनीले कुनै शानदार बङ्गलाको निर्माण गर्दा वा छाँटछाँटका फर्निचरहरू बनाउँदा ठूलो मात्रामा काठपात र इँटाको प्रयोग गर्छन् । उनीहरूले प्रयोग गर्ने काठको मात्रा गरिबहरूले उपभोग गर्नेभन्दा धेरै गुणा बढी छ । दरबारजस्ता ठूलाठूला भवनहरू बनाउँदै जाँदा काठपातको प्रयोग पनि बढ्दै जानेछ । धनीहरूको लागि काठ उत्पादन गर्न धमाधम वनजङ्गल फँडानी हुँदैछ । वनपैदावार मात्र प्रयोग भइरहेको छैन, बरु पुनः वृक्षारोपण नगर्दा वन पातलिँदै पनि छ । गरिबहरूले वनपैदावारको प्रयोग गर्दा तिनले प्रायःजसो आगो बाल्ने दाउरा र बोक्रा आदि लिन्छन् । यसबा वनजङ्गल नष्ट हुँदैन । उनीहरूको प्रयोग बाँच्नका लागि मात्र हुन्छ । जथाभावी र भड्किला कार्यको लागि हुन्न ।
त्यस्तै इँटाको उत्पादनमा काठमाडौँ उपत्यकाको केही एकदम उर्बर भूमि नष्ट पारिएको छ । त्यस्तै विलाशी घर र मोटर गुडाउने सडक बनाउन खेतीयोग्य भूमि नष्ट गरिएको छ । प्रायः मूल सडक र बजार पुग्न यस्ता सडकहरू बनिरहेका छन् । यी सडकहरू प्रायः पश्चिमा र खासगरी सम्भ्रान्तहरूको सुविधाको लागि बनाइन्छ । धेरै धनीमानीको एउटा मात्र घर हुन्न । विदेशीहरूलाई बहालमा दिन उनीहरूले धेरै घरहरू बनाएका हुन्छन् । यस्ता घरहरू करेसाबारीको साटो बगैँचाले घेरिएका हुन्छन् । फूलको बगैँचा बनाइने जमिनले तरकारीजस्तो अत्यावश्यक उत्पादन गर्न मिल्ने भूमि खाइदिन्छ । जसरी खाए पनि, धनीहरू नै प्राकृतिक स्रोतको दोहन गर्ने प्रमुख दोषी हुन् । वनजङ्गल होस् वा जमिन र अन्य स्रोतसाधन हुन्, धनीहरू नै मुख्य भक्षक हुन् । धनीहरूको आधुनिक जीवनबारे थोरै चर्चा गरौँ । फ्लस टोइलेटकै कुरा गरौँ । यस्ता प्रत्येक घरमा यस्ता दुईचार फ्लस टोइलेट हुन्छन् । के भयो त ? कसैले सोध्ला । हरे यो धेरै ठूलो कुरा हो । खासगरी पानीको अभाव हुने काठमाडौँमा यो ठूलो समस्या हो । पानी एउटा आधारभूत स्रोत हो । एकचोटि फ्लस गर्दा तिनीहरूले झन्डै तीन ग्यालेन पानी खर्च गर्छन् । जब कि गरिबले प्रयोग गर्ने चर्पीमा सरदर एक लिटर पानी मात्र प्रयोग हुन्छ । सर्वसाधारणहरू पानीको अभावमा पिरोलिँदै गर्दा धनीहरूले उनीहरूले भन्दा १२ गुणा पानी प्रयोग गर्छन् । अनि टोइलेट पेपरको कुरा ? यो पनि धनीहरूले खेर फाल्ने साधन हो । गरिबले त्यसो गर्दैनन् । उनीहरूले पानी प्रयोग गर्छन् । त्यसमा हातखुट्टा धुन थप एक लिटर पानी जानसक्छ, त्यत्ति हो ।
आफ्ना घरटहरा बनाउँदा गरिबहरूले थोरै जमिन प्रयोग गर्छन् । बाँकी जमिन उनीहरूले करेसाबारीलाई छोड्छन् । घर बनाउँदा उनीहरूले रुखका हाँगाबिँगा प्रयोग गर्छन् र पातपतिङ्गरले घर छाउँछन् । फर्निचरको नाउँमा सुकेका रुखका मुढा आदिको उपयोग गर्छन् । इँटा र सिमेन्टको प्रयोग थोरै हुन्छ ।
उत्पादन र उपाभोगका अन्य धेरै क्षेत्रबारे पनि छलफल गर्न सकिन्छ । ती सबैमा धनी र गरिबबीच ठूलो खाडल देखापर्छ । एउटा यस्तै क्षेत्र बियरको उत्पादन हो । पछिल्लो २० वर्षमा बियर उत्पादनमा ठूलो फड्को मारिएको छ । आकार र उत्पादकको सङ्ख्या दुवैमा यो बढेको छ । सबै कम्पनीहरू विदेशी कम्पनीहरूका शाखा हुन् । जाँड वा छाङको रूपमा नेपालमा बियर उत्पादन सामान्य थियो । तर अहिले व्यवसायिक उत्पादनले त्यसलाई उछिनेको छ । छाङले धेरैलाई तान्दैन । तर आधुनिकता वा पश्चिमा स्वादसँग जोडिएको हुनाले व्यवसायिक बियरले धेरैलाई तान्छ । बियर पिउनु उच्च वर्गको बिम्ब हो । जब कि छाङले तल्लो वर्गलाई जनाउँछ । छाङको उत्पादन स्थानीय हुन्छ र सीमित हुन्छ । अर्को शब्दमा यसको उपभोगले धेरै अन्न खपत हुन्न । यसबाट धेरै प्रदूषण हुन्न किनभने यसको धेरै रहलपहल सबै वस्तुभाउलाई खुवाइन्छ वा कम्पोस्ट मलको रूपमा प्रयोग हुन्छ । अर्कोतिर व्यवसायिक बियरको उत्पादन खासगरी पर्यटकहरू र देशका धनीहरूलाई लक्षित गरेर उत्पादन गरिन्छ । यसको उत्पादन हानिकारक छ । यसले प्रदूषण मात्र गर्दैन, बियर उद्योगको बढ्दो चहलपहलले गर्दा निश्चित अन्नको माग ह्वात्तै बढेको छ । यसले गर्दा ती अन्नको उपभोगमा असर गरेको छ । ती अन्नको मूल्य बढेको छ । गरिबहरू झन् मारमा परेका छन् । सजिलो भाषामा भन्नुपर्दा धनीहरूले गरिबलेभन्दा झन्डै दोब्बर उपभोग गर्दै छन् । पहिले त अन्नकै रूपमा उपभोग गर्छन् र त्यसपछि बियरको रूपमा पिउँछन् । यसले उनीहरूको जम्माजम्मी उपभोग गरिबहरूको भन्दा बढी हुन्छ । साथै यसले उनीहरूको स्वास्थ्यमा पनि असर गर्छ । त्यसकारण धनी हुनु र मोटो वा भद्दा हुनुमा सोझो सम्बन्ध छ । गरिब हुनु र कुपोषित वा भोको हुनुमा पनि सोझो सम्बन्ध छ ।
तैपनि धनीहरूले बढी उपभोग गरेको र प्रकृतिको दोहन गरेको भनी गरिबहरूलाई दोष लगाउँछन् । कति घिनलाग्दो हो ¤ धनीहरूले वनजङ्गल पातलो बनाउँछन्, तर दोष गरिबलाई दिन्छन् । उनीहरूले नकुहिने फोहर गर्छन्, तर दोष गरिबलाई दिन्छन् । धनीहरूले प्रायः सबथोकको लागि गरिबहरूलाई धारे हात लगाउँछन् । वास्तवमा देशले भोगिरहेका प्रायः सबै सामाजिक समस्याहरूका जरा धनीहरू नै हुन् । महँगीदेखि प्रकृतिको दोहनसम्म सबै उनीहरूले गर्छन् । यसले गर्दा दुःखजति गरिबहरूले खेप्नुपर्छ । धनीहरूले गरिबप्रति यस्तो दुष्ट रवैया पालेका छन् ।
अर्को शब्दमा धनीहरूले गरिब जनतालाई तहसनहस पारिरहेको गरिबीको भार वहन गर्दैनन् । तर अहिले उनीहरू गरिबप्रति नै आक्रामक छन् । पहिले जमिनदार र मोहीबीच परस्पर निर्भरता थियो । अहिले त्यो सम्बन्ध चुँडेको छ । धनीहरूको हकमा गरिबहरू अहिले तिनको दैनिक जीवन वा अस्तित्वका अभिन्न अङ्ग होइनन् । धनी र गरिबबीचको पुरानो अभिन्न सम्बन्ध चुँडेको छ । खासगरी सहरी क्षेत्रमा धनीहरू सोझै गरिबसँग सम्बन्धमा जानुपर्दैन । जस्तो, धनीलाई अन्न चाहिएको बेला उनीहरू बजार जान्छन् । कहिले गरिबहरूले आफ्नो खेत कमाउलान् र अन्न उत्पादन गर्लान् भनी धनीले गरिबको मुख ताक्नुपर्दैन । लुगा, जुत्ता वा अन्य सामग्री चाहिएको छ भने उनीहरू कामी, दमाई वा सार्कीजस्ता परम्परागत शिल्पकार वा पेशागत जातिहरूमा निर्भर हुनुपर्दैन । बजारमा प्रशस्त रेडीमेड सामग्रीहरू पाइन्छन् । मनोरञ्जनको लागि धेरै भिडियो स्टोर, पश्चिमा टेलिभिजन कार्यक्रम र सिनेमा हलहरू छन् ।
धनीहरूको रवैया र प्रकृति हेर्दा उनीहरूले अहिले गरिबलाई असफल व्यक्ति र वर्गशत्रुको रूपमा हेर्न पुगेको देखिन्छ । सारमा नेपालको वर्गसम्बन्धमा आधारभूत परिवर्तन आएको छ । पहिले दुई वर्ग असमान र अन्तरनिर्भर थिए, अहिले धनीहरू गरिबप्रति आक्रामक भएका छन् । गरिबहरूले प्रत्यक्ष वा परोक्ष रूपमा धनीहरूको आफैमा रमाउने जीवनशैली र पतित व्यवहारको मूल्य चुकाइरहेका छन् । गरिबहरूले विकासको मूल्य चुकाइरहेका छन् भने धनीहरूले त्यसको फाइदा लुटिरहेका छन् ।
गरिब हुनु कहिल्यै रमाइलो अनुभव हुन्न । तर अहिले यो झन्झन् दुर्दान्त बन्दै छ । गरिबले दैनिक जीवन कटाउन लडाइँहरू लड्नुपरेको छ । त्यति मात्र होइन, उनीहरूले अपमान र तिरस्कार पनि झेल्नुपरेको छ । उनीहरूलाई अपराधीलाई जस्तो व्यवहार गरिन्छ । गरिब हुनु उनीहरूको अपराध बन्न पुगेको छ । र, यो गरिबी शत्रुतापूर्ण सामाजिक शक्तिहरूको परिणाम हो । गरिबहरू चारैतिरबाट थिचिएका छन् । तैपनि कतै आक्रोश देखिन्न । कहाँ गयो हाम्रो आक्रोश ? के क्रान्तिको युग सकिएको हो ? के हाम्रो आक्रोश र क्रान्तिलाई लोभ र उदासिनताले दबाएको हो, निराशा र अकर्मण्यताले निलेको हो ? अथवा, यो अल्पकालीन शान्ति हो, देशमा कुनै राजनीतिक आँधीबेहरीको विराट झट्का आउनुअघिको चकमन्नता हो ? फेरि पनि उही प्रश्न उठ्छ, यस्तो परिस्थितिमा के गर्न सकिएला ? विभिन्न देशहरूको क्रान्तिको इतिहास हेर्दा सामाजिक क्रान्ति हुनुपर्छ भन्ने उत्तर आउला । अहिले धुमिल देखिए पनि नेपालमा क्रान्ति अपरिहार्य छ ।
प्रस्तुति : रमेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *