भर्खरै :

जताततै ‘नो एमसीसी’ र ‘रिजेक्ट एमसीसी’ !

एमसीसीविरोधी नेपाली जनमत सामाजिक सञ्जालमा पनि प्रतिविम्बित भइरहेको छ । यतिखेर सामाजिक सञ्जालमा ‘नो एमसीसी’ (No MCC) र ‘रिजेक्ट एमसीसी’ (Reject MCC) को बहार नै छ भन्दा अत्युक्ति नहोला ! यी दुई शब्दले बनेका दुई छोटा वाक्य ज्यादै रुचाइएको पनि अध्ययनले देखाउँछ । विशेषगरी नवयुवाहरूले एमसीसीविरुद्ध आफ्नो मत जाहेर गर्न यी दुई शब्द प्रयोग गर्ने गरेका छन् । बडो शालीन ढङ्गले प्रतिक्रिया जनाउनेहरूले पनि यी शब्द या वाक्यको सदुपयोग गर्दै छन् । ठाउँ–ठाउँमा भइरहेका सभा, गोष्ठी, जुलुसका फोटा, खबर या मन्तव्यप्रति समर्थन जनाउँदा पनि यी छरिता वाक्य प्रयोग हुने गरेको पाइन्छ । एमसीसीविरोधी आन्दोलनमा आफ्नो ऐक्यबद्धतास्वरूप पनि यी वाक्य प्रयोग भइरहेका छन् । सामाजिक सञ्जालमा विगत केही हप्तादेखि रुचाइएका, अत्यधिक प्रयोग भएका यी स्पष्ट भावसहितका वाक्यले नेपाली जनमानसको मनोविज्ञान तथा अवधारणा बुझ्न सघाउने निर्विवाद छ ।
धेरैले अनुभव गरेकै हुनुपर्छ सामाजिक सञ्जालको ‘प्रोफाइल’, ‘स्टाटस’ आदिमा अर्थात् भित्तामा ‘एस एमसीसी’, ‘अलाउ एमसीसी’, ‘वेलकम एमसीसी’ कसैले लेखेको भेटिँदैन । यसबाट पनि नेपाली जनमत तथा युवा–मत एमसीसीविरुद्ध रहेको प्रस्ट हुन्छ । सायद, त्यही भएर हुनुपर्छ अमेरिकी दूतावासले पछिल्ला केही हप्तादेखि प्रायोजित खबर तथा मन्तव्य सम्प्रेषण गर्न थालेको छ । तर, सामाजिक सञ्जालमा ती नव–मण्डलेहरूले धेरै दिन मुख देखाउने तागत या हैसियत राख्ने छैनन् । जनताबाट एक दुई दनक खाएपछि दूतावासको दाना खानेहरू फेरि उठ्नै सक्दैनन् !
केही महिनाअगाडि मात्र संरा अमेरिकी साम्राज्यवादले क्युवाली समाजवाद तथा क्युवाली सरकारविरुद्ध सामाजिक सञ्जालमार्फत हमला गरेको थियो । तर, प्रचारयुद्ध छेडेको थियो । त्यसलाई क्युवाविरोधी ‘साइबर वार’ पनि भनियो† क्युवाली युवाहरूलाई भड्काउने, उत्तेजित पारेर हिंस्रक गतिविधि गर्न लगाउने असफल षड्यन्त्र गरेको थियो तर क्युवाली नेतृत्व तथा जनता तुरुन्तै सडकमा निस्केर संरा अमेरिकाको ‘साइबर वार’ को प्रतिकार गरे । जनतालाई यथार्थ बताए, जनताको चित्त बुझाए र मन्त्रयुद्धको चिरफार गरे । सामाजिक सञ्जालमा देखिएको एमसीसीविरोधी लहरबाट आत्तिएर संरा अमेरिका नेपालमा एमसीसीको पक्षमा जबरजस्त माहोल बनाउन बुद्धिजीवी, जलविद्युुत् माफिया, सञ्चारकर्मी हातमा लिँदै छ । केही अवकाश प्राप्तहरूलाई पुनः ‘रोजगारी’ दिँदै छ । यो पनि एक खालको मनोवैज्ञानिक हमला या मन्त्रयुद्ध हो । यो पनि हस्तक्षेप नै हो । यथार्थमा यी गतिविधि एमसीसीको घोषित उद्देश्यअन्तर्गत नै भइरहेको हो ।
नेमकिपा लगातार एक महिना सडकमा
एमसीसी सम्झौता खारेज गर्नुपर्ने मूल मुद्दाका साथ नेमकिपा पछिल्लो पटक सडकमा उत्रेकोे मङ्गलबार तीस दिन पुग्दै छ । गत भाद्र २१ गते काठमाडौँबाट सुरु भएको आन्दोलन जिल्ला–जिल्लामा फैलियो । काठमाडौँ उपत्यकामा मात्र ४० वटाभन्दा बढी जनसभा, कोणसभा तथा जुलुस सम्पन्न भइसकेका छन् । नेमकिपाले जनतालाई सूचित तथा शिक्षित बनाउने उद्देश्यका साथ यी गतिविधि अगाडि बढाएको हो ।
जुलुस तथा सभाको क्रममा स्थानीय बासिन्दा, सर्वसाधारण जनताले दिएको साथ–समर्थन तथा सहयोगले घर–घरमा एमसीसीको वास्तविकता बोध गर्न हौस्याएको धेरै कार्यकर्ताको अनुभव छ । जनताको सकारात्मक प्रतिक्रिया, आत्मीय ऐक्यबद्धता तथा सहयोगात्मक भूमिकाले राम्रो सन्देश दिइरहेको र आशा जगाएको पनि जुलुसमा सहभागीहरूको भनाइ छ । सरकार र शासक दलहरूका घृणित खेलबाट आजित जनतालाई नेमकिपाका कार्यकर्ताहरूको प्रेरणादायी अभिव्यक्तिबाट सन्तुष्टि दिएको ठाउँ–ठाउँका जनताको प्रतिक्रियाले राम्रै सङ्केत गर्दछ । आन्दोलनमा जनताको सहभागिता तथा चासो क्रमशः वृद्धि भइरहेबाट जनता अझ सशक्त आन्दोलनको पर्खाइमा छन् भन्ने प्रस्ट हुन्छ ।
नेमकिपाले सदनबाट देश र जनताको पक्षमा दिएको आवाज, एमसीसीविरुद्ध एक्लैले भएपनि गरेको सङ्घर्ष तथा अनेक अन्तर्राष्ट्रिय महत्वका सवालमा निर्भिकतापूर्वक राखेको मतबाट उत्साहित बनिरहेका नेपाली न्यायप्रेमी जनता नेमकिपाको सडक आन्दोलन तथा जनजागरणका गतिविधिबाट हौसिएको विभिन्न घटना र दृश्यले देखाउँछ । समग्रमा नेमकिपाको आन्दोलनले नेपाली राजनीतिमा स्पष्टता प्रदान ग¥यो । यसले को देशघाती को देशद्रोही भनी छुट्याउनलाई
सघाएको छ । एमसीसी जस्तो देशलाई उपनिवेश बनाउने षड्यन्त्रको पक्ष लिनेहरूप्रति होसियार हुन जनतालाई सहयोग मिलेको छ । विदेशी शक्तिसामु झुक्न तयार रहेका ठूला प्रशासक एवम् शासक नेता केही लजाएका छन् या पछि हटेका छन् । शासक दलहरूमाथि दबाब परेको स्पष्ट छ । विदेशी शक्तिहरू पनि ‘पर्ख र हेर’ को स्थितिमा पुगेका छन् । सम्भवतः तिनको ‘क्यालेन्डर’ मा नभएका विरोधका घटना यहाँ भइरहेका छन् । ‘नेमकिपाको विरोधले खासै अर्थ नराख्ने’ सोचका विदेशी शक्ति या तिनका दलालको ‘ब्रिफिङ’ को सायद ‘पुनरावलोकन’ चलिरहेको हुनुपर्छ !
गोकर्णदेखि गोदावरी : प्रवेशै पाएन एमसीसी !
आफूलाई कम्युनिस्ट दाबी गर्ने एमाले र माओवादीले घरि गोकर्ण रिसोर्टमा घरि गोदावरीमा ठूल्ठूला भेला तथा बैठक राखे तर एमसीसीबारे चूँ नबोली टुङ्ग्याए ।
एमालेले भर्खरै गोदावरीमा बैठक राख्यो† देशभरका ६ हजारभन्दा बढी नेता–कार्यकर्तालाई गोदावरी पु¥याएर ‘ओली’ जल खुवायो† नाच–गान देखायो । अनेक गरियो तर देशको ठूलो सवाल ‘एमसीसी’ बारे छलफल नै चलाएन । नेतृत्वले त्यसको कुनै वास्ता समेत नगरेको खबरहरूले जनाए । ‘एमसीसीबारे स्पष्ट अवधारणा राख्नुपर्ने’ सुझाव पेश भएकोसम्म बाहिर आयो ! नेतृत्व पङ्क्ति तथा हजारौँ कार्यकर्ता भेला भए तर सबैभन्दा महत्वपूर्ण विषयले प्रवेशसम्म पाएन । फेरि सरकारमा जाने, चुनाव जित्ने, बहुमत ल्याउनेबाहेक अरू देश–जनताका सवालमा कुनै गम्भीरता देखिएन ! किन एमाले यति बिघ्न डरायो भारत–अमेरिकासँग ? सत्ताका निम्ति देश साट्न किन तयार भयो ? देश ढालेर सत्ता प्राप्त गर्ने कस्तो लालसा ? भारत र अमेरिकाको विरोध गरेर सत्तामा पुग्न सकिन्न भन्ने पराजित मानसिकता विशाल पार्टीको निम्ति सुहाउँछ ? एमसीसीबारे समर्थन या विरोध भन्ने कुरामा स्पष्ट पार्न नसक्ने पार्टी पनि राष्ट्रिय पार्टी कहलिन सक्छ ? स्पष्ट भाषामा साम्राज्यवाद तथा विस्तारवादको विरोध नगर्ने पार्टी कसरी कम्युनिस्ट बन्न सक्छ ? देश र जनताप्रति प्रतिबद्ध नबन्ने र विदेशीको दासता स्वीकार्ने हो भने जति वटा चुनाव जितेपनि त्यो बेकाम नै बन्नेछ । गोदावरीबाट गन्दा भएरै फर्केकाहरूलाई धिक्कार छ ¤ काठमाडौँमा एमसीसीको तरबार नचाएर अमेरिका पुग्दा समेत पुच्छर लुकाएर ¥याल चुहाउँदै सत्ताको हड्डीको टुक्रातिरै दौडिराख्ने र हड्डी टोक्न मग्न भइरहेकाहरू इतिहासमा कलङ्क साबित हुनेछन् ।
आन्दोलन ‘लाज्याः’ होइन !
नेमकिपाले एमसीसी सम्झौताविरुद्ध एक महिनादेखि आन्दोलन चालु राख्दै छ । पर्चा, प्रकाशन, प्रचारका विभिन्न माध्यम, पत्रपत्रिका आदि मार्फत पनि जनतालाई सु–सूचित पार्ने तथा शिक्षित बनाउने काम निरन्तर हुँदै छ ।
पार्टी र विभिन्न जनवर्गीय सङ्गठन तथा पेशागत सङ्गठनका हजारौँ कार्यकर्ता, समर्थक एवम् शुभचिन्तक सडकमा उत्रिएका छन् । यहीँनेर एउटा प्रश्न सोधूँ है ? कामरेड, ती हजारौँको नाममा तपाईँको नाम अट्यो कि अटेन ? कामरेड, तपाईँले कतिवटा सभा, बैठक, जुलुसमा भाग लिएर जनतासँग हातेमालो गर्नुभयो ? कार्यक्रमहरू सफल पार्न तपाईँको भूमिका कस्तो रह्यो ? कार्यक्रमको आन्तरिक तयारी, व्यवस्थापन, संयोजनमा देखिने–नदेखिने योगदान कस्तो रह्यो ? विरोधसभा या जुलुसमा जाँदा आफू एक्लै जानुभयो या अन्य साथीहरूलाई पनि सँगै लानुभयो ? आफ्नो समितिका साथीहरू, घरपरिवारका सदस्य, आफू कार्यरत निकाय आदिमा प्रचारप्रसार गर्दै सहभागितामा यथोचित भूमिका कति सम्भव भयो ? ‘सर्कुलर’ प्राप्त गरेपछि कतिपटक ‘अवज्ञा’ गर्नुभयो या घरायसी कारण असमर्थ हुनुभयो ? आन्दोलनका क्रममा कार्यकर्ता, जिम्मेवार व्यक्तिलाई जोकसैले सोध्ने प्रश्न हुन् यी । अरू पनि थुप्रै त्यस्ता सवाल होलान् ! अध्यक्ष माओले आलोचना तथा आत्मालोचनाको परिपाटी बसाल्न सिकाउनुभएको छ । अध्यक्ष रोहितले आत्मसमीक्षा, अगुवाइ र अनुशासनको शिक्षा बारम्बार दिनुभएको छ ।
जिम्मेवार शिक्षक, प्राध्यापक, पत्रकार, वकिल, इन्जिनियर, लेखक, कविसमक्ष पनि सवाल तेर्सिनु अस्वाभाविक होइन । यो आन्दोलनको दौरान कतिवटा लेख–रचना लेख्नुभयो ? कति वटा गीत, कविता कोर्नुभयो ? एमसीसी, साम्राज्यवाद, विस्तारवादको चिरफार गर्न तपाईँले के–कसरी अग्रसरता देखाउनुभयो ? अन्य कुनै समय–सान्दर्भिक रचना सिर्जना गर्नुभयो ? आन्दोलनकारीको उत्साह बढाउने कुनै कार्य गर्नुभयो ? साँचो हो, सबै दबुमा देखापर्दैनन् । यद्यपि, आफ्नो भूमिकाको खोजी नगरी लुकेर बस्नु भनेको पर्दापछाडि बस्नु होइन ¤ पर्दापछाडि त अझ बढी गम्भीरता, उच्च संवेदनशीलता आवश्यक हुन्छ । निश्क्रियता भनेको पर्दापछाडि भएपनि देखिन्छ नै ! देशको सवालमा हरेक नागरिकबाट समेत भूमिका एवम् योगदानको अपेक्षा गरिनु स्वाभाविक छ । तसर्थ, समयले हरेकसँग स्पष्टता खोज्नु या स्पष्टीकरण माग्नु अन्यथा होइन । मेरा मित्र, एमसीसी देशघाती लाग्छ भने त्यसको विरुद्ध आफ्नो ठाउँबाट सक्रियतापूर्वक सङ्घर्षमा जुट्ने कि ? सर्वविदितै छ, सङ्घर्ष तथा आन्दोलन ‘लाज्याः’ (आफ्नो अनुकूल फुर्सदमा गरिने काम) होइन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *