भर्खरै :

धान काट्ने समयमा भएको अविरल वर्षाले किसान समस्यामा

झापा, ३ कार्तिक । तीन दिनदेखि लगातार परेको वर्षाका कारण झापा जिल्लामा पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । पानीले धान ढालेर र काटेको धान पानीको डुबानमा परेर क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा १५ हजार हेक्टरभन्दा बढी जमिनको धान पानीले ढलेको केन्द्रका बाली विज्ञ शालिकराम भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा ८७ हजार ५०० हेक्टरमा धान खेती छ । किसानले लगाएको गरिमा, रामधान र रञ्जितलगायत अधिकांश धान पाकेर पहेँलपुर भएको थियो । धान पाके पनि किसानले दसैँका कारण धान थन्क्याउन पाएका थिएनन् ।
ज्ञान केन्द्रमा पाकेको धान लडेर र डुबेर क्षति पुगेको जिल्लाका विभिन्न स्थानका किसानबाट जानकारी आइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानको धेरै गुनासो आएपछि आजैदेखि हामीले अनुगमन सुरु गरेका छौँ । धान खेत पुगेर हेर्दा विरक्त लाग्नेछ । पाकेको धान पूरै लडेर पानीमा डुबेको छ । भोलिदेखि नै घाम लागेन भने त्यो खानयोग्य पनि हुँदैन ।”
वर्षा बढिरहेका कारण थप क्षति बढ्ने सम्भावना रहेको उहाँले बताउनुभयो । विगत वर्षहरूमा भन्दा यस वर्ष धान राम्रो फस्टाएको र उत्पादकत्व बढ्ने केन्द्रले अनुमान गरेको थियो । वर्षाका कारण धेरै धानबालीमा क्षति पुगेकोले अब त्यो सम्भावना कम रहेको उहाँले जानकारी दिनुभयो ।
गौरादह नगरपालिका–५ नमुना एकीकृत कृषि सहकारी संस्थाले बीउ उत्पादनका लागि लगाएको २० बिघा जमिनको धानमा क्षति पुगेको सहकारीका अध्यक्ष वेदनिधि चापागाईंले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब बीउका लागि पानीमा डुबेको धानलाई ग्रेडिङ गर्न मिल्दैन । पानी यस्तै थप दुई दिनमात्र प¥यो भने खाद्यान्नका लागि पनि प्रयोग गर्न नमिल्ने गरी धान नष्ट हुने भयो ।”
उहाँले बेला न कुबेलामा परेको पानीका कारण धान किसान ठूलो मारमा परेको बताउनुभयो । सहकारीले बासमती, कालो नुनिया, हाइब्रिड, रञ्जित, गरिमालगायत धानको बीउ उत्पादन गर्दै आएको छ । बाली थन्क्याउने बेला पानीले धानको बीउ नै मासिदिन्छ कि भन्ने पीरमा रहेको उहाँको भनाइ छ ।
तनहुँमा २० प्रतिशत उत्पादन घट्ने
केही दिनदेखि परेको वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा धानबालीमा क्षति पुगेको छ । वर्षाले काटेर राखेको धान नष्ट बनाएको छ भने काट्न बाँकी रहेको धान डुबाएको कृषकले बताएका छन् । व्यास नगरपालिका–११ पोल्याङका किसान राजेन्द्र पौडेलले काटेर थन्क्याउन बाँकी रहेको धान पानीले क्षति पु¥याएको जानकारी दिनुभयो । चार रोपनी क्षेत्रफलमा लगाइएको धानमध्ये डेढ रोपनीको धान काटेर भित्र्याउन बाँकी रहेको बेला पानीले क्षति बनाएको बताउनुभयो ।
“एक रोपनीको धान झाटेर थन्क्याइसकेँ, बाँकी डेढ रोपनीको काटेर मात्रै राखेको थिएँ, पानीले बिगा¥यो”, उहाँले भन्नुभयो । कृषि ज्ञान केन्द्रले उपलब्ध गराएको नयाँ प्रजातिको धान भएकाले छिटो पाकेको उहाँले बताउनुभयो । “यहाँ अरू कृषकको धान पाकेको छैन, मैले नयाँ प्रजातिको धान लगाएको थिएँ छिटो पाक्दो रहेछ”, उहाँले भन्नुभयो । पौडेलका अनुसार काट्न बाँकी रहेको धान भने खेतमै रहेको छ ।

महाकालीको बाढीले क्षति पु¥याएको सडक
लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित निमार्णाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा पु¥याएको क्षति । बाढीले कालोपत्रे गरिएको सडक बगाउनुका साथै तटीय क्षेत्रमा जोखिम बढेको छ । तस्बिरः शेरबहादुर सिंह÷रासस


शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानमा पनि वर्षाले धानबालीमा क्षति पु¥याएको छ । नगरपालिकाका कृषि शाखाप्रमुख नवराज पण्डितले काटेर राखेको साढे चार सय रोपनीको धान पानीले बिगारेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काटेर खेतमै छाडिएको धान पानीले बिगारेको छ, घाम लागेर सुक्यो भने काम आउला । सुकेपछि उठाउँदा झर्ने सम्भावना पनि हुन्छ ।”
दुई दिनको वर्षाले जिल्लाका अधिकांश ठाउँमा धान बिगारेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार जिल्लाको व्यास, शुक्लागण्डकी, म्याग्दे, आँबुखैरेनी लगायतका धानखेतमा वर्षाले नोक्सान गरेको छ । “यो वर्ष करिब २०÷२५ प्रतिशत धान उत्पादन घट्ने अनुमान छ,” उहाँले भन्नुभयो ।
केन्द्रका अनुसार जिल्लामा ११ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । त्यसमध्ये दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा चैतेधान हुने गरेको छ । गत वर्ष एक लाख ४७ हजार मेट्रिक टन धान उत्पादन भएको कार्यालयको तथ्याङ्क छ । जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायत क्षेत्रहरू धान खेतीका लागि प्रख्यात मानिन्छन् ।
सर्लाहीका धानबालीमा क्षति
आइतबारदेखि लगातारको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएपछि यहाँका किसान चिन्तित छन् । यसवर्ष जिल्लामा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ ।
लगातारको पानीले धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काटेका र काट्न बाँकी रहेका धानबालीलाई पानीले क्षति पु¥याएको छ ।” जिल्लाका किसानले धान रोप्ने समयमा पनि मलखाद नपाएर सास्ती बेहोरेका थिए । किसान जसोतसो पाकेको बाली भित्र्याउने समयमा पानीले धानमा नोक्सान गरेपछि थप मारमा परेका छन् । “काटेको धान पानीमा डुब्यो भने दुई÷तीन दिनमा टुसा उम्रिन्छ र खान नमिल्ने हुन्छ । अन्य आम्दानीको स्रोत छैन । धान खेतीले गुजारा चलेको थियो । पानीले सबै चौपट गरायो”, हरिवन नगरपालिका– २ का किसान रामपुकार महतोले गुनासो गर्नुभयो । जिल्लामा यस वर्ष एक लाख ७६ हजार मेट्रिक टन फल्ने अनुमान गरिएको थियो । गत वर्षभन्दा यस वर्ष करिब १० प्रतिशत बढी धान फल्ने अनुमान केन्द्रले गरेको थियो । लगातारको वर्षाले केही प्रतिशत उत्पादन घट्न सक्ने आकलन गरिएको केन्द्रका प्रमुख कुशवाहले बताउनुभयो ।
पानीले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । धेरै ठाउँमा किसानले धान काटेको दुई दिनमा खेतमा पानी भरिएको छ । धेरै किसानले पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्थामा पुगेको हरिवन–५ का उमेश महतोले गुनासो गर्नुभयो । लगातारको वर्षाका कारण पूर्व पश्चिम लोकमार्गका अधिकांश कलभर्टमा पानीको बहाव बढेको र यसबाट सवारी साधन आवतजावत गर्न समस्यामा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
धनगढी आसपासका क्षेत्र जलमग्न
आइतबारदेखिको लगातार वर्षाका कारण धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, कृष्णनगर, मालिका टोल, उत्तरबेहडी, क्याम्पस रोड, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टीको बस्तीलगायतका क्षेत्र जलमग्न भई जनजीवन प्रभावित बनेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलाली सूचना अधिकारी शिवराज जोशीले वर्षाले धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न हुनुका साथै दर्जनौँ बढी घरमा पानी पसेको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न ठाउँबाट घरमा पानी पसेको गुनासो आइरहेको छ तर यकिन तथ्याङ्क आउन भने बाँकी छ ।”

जलमग्न धनगढी
आइतबारदेखिको अविरल वर्षाका कारण जलमग्न धनगढी उपमहानगरपालिका–५ हसनपुर । तस्बिर : मीन ठकुरी (रासस)


धनगढी बजारलगायत आसपासका क्षेत्रका पसलमा पनि पानी पसेको छ । धनगढी–२ मालिका टोलका योगेश्वरी ओझाले बस्तीमा हिँडडुल गर्ने बाटो जलमग्न भई जावतजावतमा समस्या भएको बताउनुभयो । पानी निकास हुने ढलको व्यवस्थापन नभई सडक पिच हुने गरेका कारण पनि बस्ती डुवानमा पर्ने गरेकोले डुबानबाट सुरक्षित रहन पानी निकास हुने नाला, ढलको उचित व्यवस्थापन हुन जरुरी रहेको स्थानीयवासीको भनाइ छ । यहाँ बजार आसपासका बस्ती मात्रै नभई बजारका कतिपय मूल सडक पनि जलमग्न भएका छन् । यसरी मूल सडकमा पानीको तलाउ जम्मा भई आवतजावतमा समस्या भएको छ । मुख्यरूपमा पानी निकास हुने गरेका उपमहानगरपालिकाभित्रका प्राकृतिक खोलानाला अतिक्रमण भएपछि डुवानको समस्या बर्सेनि दोहोरिने क्रम बढ्दै गएको छ । त्यसैगरी वर्षाले यहाँका धानबाली क्षति पु¥याएको छ ।
दाङका किसानको चिन्ता
आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् ।दसैँ टीका लगाएर किसानले धान काट्न सुरु गरेका थिए । “दुई दिनसम्म धान काट्यौँ, अहिले लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब कसरी धान भित्र्याउने भन्ने चिन्ता छ”, दङ्गीशरण गाउँपालिका–३ का ३५ वर्षीय किसान खुशीराम चौधरीले भन्नुभयो । उहाँले थप्नुभयो, “यसपटक समयमा नै पानी परेपछि धान रोपाइँ पनि समयमा गरौँ, मलको अभाव पनि थिएन । धान पनि राम्रो थियो तर अहिले घरमा भित्र्याउन लाग्दा पानी परेर ठूलो क्षति भयो ।”

दाङमा आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । वर्षाका कारण किसानले काटेर राखेको धान पानीले बगाउन थालेपछि स्याहार्दै शान्तिनगर गाउँपालिका ३ देवीपुरका किसान । तस्बिर ः नारायणी रजौरे रासस दाङ


पानीले खेतबारीका धानसँगै तोरी अन्य बाली साथै तरकारीमा समेत क्षति पु¥याएको किसानले बताएका छन् । तुलसीपुर–६ का किसान नन्दु चौधरीले आफूहरूका मात्र नभई धेरैको खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको बताउनुभयो । उहाँले वर्षभरि खाने धान काटेको दुई दिनमा खेतमा पानी भरिएकाले कतै धान झर्ने हो कि भन्ने चिन्ता लागेकोसमेत बताउनुभयो ।
लगातारको कात्तिके झरीले जिल्लाको घोराही, लमही, भालुवाङ, पश्चिम दाङका किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ । कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ । त्यस्तै पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ देवीपुरमा काटेर गह्रामा सुकाएको धान अविरल वर्षाले बगाएर लगेको स्थानीय पत्रकार अञ्जना चौधरीले जानकारी दिनुभयो । उहाँले आफू पनि दसैँअघि नै धान काट्नका लागि गाउँमा गएको घरपरिवार तथा मजदुरी लगाएर चार दिनसम्म काटेर खेतमा राखेको धान अविरल वर्षापछि आएको बाढीले बगाएर लगेको बताउनुभयो । जिल्लामा अधिकांश क्षेत्रमा किसानको पाकेको धानमा लगातारको वर्षाले क्षति पु¥याएको र अहिले पनि वर्षा जारी रहेकाले क्षतिको यकिन विवरण आउन नसकेको कृषि ज्ञानकेन्द्र दाङले जनाएको छ । केन्द्रका अनुसार यस वर्ष जिल्लाको कुल ३९ हजार ६०० हेक्टर क्षेत्रफल जग्गामा धानखेती गरिएको छ ।
(राष्ट्रिय समाचार संस्थाको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *