भर्खरै :

नेपाली युवाले विदेशीको ‘दास’ बन्ने मनोवृत्ति त्याग्नुपर्छ

नेपालमा भविष्य नदेखेपछि धेरै नेपाली युवा अध्ययनको नाममा विदेशिएको समाचार प्रकाशित भइरहेका छन् । सरकारले नेपालमा व्यावहारिक शिक्षा र रोजगारीको बन्दोबस्त गर्न नसक्दा नेपाली युवा विदेश पलायन हुन बाध्य छन् । आव ०७७/७८ मा विदेशमा अध्ययन गर्न जानकै निम्ति नेपाली विद्यार्थीको २४ अर्ब ९५ करोड ९४ लाख रुपियाँ बाहिरिएको राष्ट्र बैङ्कको तथ्याङ्क छ । यो बजेट देशको सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयको भन्दा बढी हो । आव ०७७/७८ मा त्रिभुवन विश्वविद्यालयको वार्षिक बजेट २१ अर्ब ८६ करोड ४५ लाखमात्र थियो । कोभिड—१९ को महामारीमा समेत गत आव ०७७/०७८ मा ५७ देशमा २९ हजार ९७८ विद्यार्थीले वैदेशिक अध्ययनको अनुमति लिएको तथ्याङ्क छ । आव ०७५/०७६ मा वैदेशिक अध्ययनको नाममा नेपालीको ४६ अर्ब २४ करोड ३ लाख रुपियाँ विदेशियो । शिक्षा मन्त्रालयको तथ्याङ्कअनुसार उक्त वर्ष ६३ हजार २ सय ५९ विद्यार्थीले विदेश पढ्नको लागि ‘नो अब्जेक्सन लेटर’ लगे । कोभिड–१९ को कारण नेपाली युवाहरू विदेशिने क्रम केही घटेपछि विदेशिने रकम पनि आधा घटेको देखिन्छ ।
नेपाली युवा विदेशमा पढ्न जाने भन्नु बहानामात्र हो । केही विद्यार्थी अध्ययनको निम्ति पनि जान्छन् तर धेरै विद्यार्थी कामकै लागि जाने हो । विदेशमा राम्रो कमाइ हुन्छ भन्ने आशाले दिनप्रतिदिन नेपाली युवा विदेशिँदै छन् । युवा जमातमा ‘नेपालमा भविष्य छैन’ भन्ने मानसिकता तयार भइरहेको छ । यसमा निजी विद्यालय र कलेज पनि जिम्मेवार छन् । उनीहरू विद्यार्थीलाई पढ्ने भनेकै विदेश जान भन्ने मानसिकता तयार गरिदिँदै छन् । अहिलेसम्मका कुनै पनि सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति ल्याएनन् । नेपाली युवालाई रेमिटेन्सको लोभ देखाएर विदेशीको हातमा सरकार आफै बेच्दै छ ।
कोभिड – १९ को कारण रोजगारी गुमाएका करिब ६ लाख नेपाली युवा स्वदेश फर्किएको तथ्याङ्क पनि छ । नेपालको श्रमबजारमा बर्सेनि ५ लाख युवा देखिन्छन् । सरकारले ती युवाहरूको उचित व्यवस्थापन गर्न सकेको छैन । केपी ओलीको अघिल्लो सरकारले वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा ग¥यो तर त्यसअनुसार स्वदेशमै रोजगारी सृजना हुने काम गर्न सकेन । ओली सरकारले विदेशीसँग ऋण लिएर प्रधानमन्त्री रोजगार कार्यक्रम भन्दै आफ्ना कार्यकर्तालाई पोस्ने काम ग¥यो । युवाहरूलाई झार उखेल्ने काममा लगाएर विदेशी ऋणको दोहन ग¥यो । यसकारण, ओली प्रम हुँदा फागुन ०७४ सम्ममा नेपालको कुल ऋण ८ खर्ब ४३ अर्ब रुपियाँ रहेकोमा त्यसको तीन वर्षपछि ०७७ फागुनसम्ममा १५ खर्ब ८९ अर्ब ४६ करोड रुपियाँ पुग्यो । प्रत्येक नेपालीको टाउकामा ऋण भार २८ हजार ७ सय ७९ बाट बढेर ५२ हजार ३ सय ७५ पुगेको छ । नेपालको ऋण यसरी बढ्दा पनि प्रगति केही हुन सकेन । नेपालमा बेरोजगार युवाहरूको सङ्ख्या झन् बढ्न थाल्यो । यसर्थ, विदेशी ऋण र अनुदानले देश विकास हुँदैन भन्ने यथार्थलाई मनन गर्नु जरुरी छ ।
शेरबहादुर देउवाको गठबन्धन सरकारले पनि युवालाई स्वदेशमै रोजगारी दिने न्यूनतम कार्यक्रम ल्यायो । करिब ७ लाख युवालाई रोजगारी दिने सरकारको घोषणा हो । तर, युवालाई रोजगारी दिनेतर्फ सरकारको फिटिक्कै ध्यान जान सकेको छैन । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगले पनि युवाका निम्ति रोजगारी सृजना गर्ने अध्ययन र अनुसन्धान गर्नेतर्फ ध्यान दिएनन् ।
नेपाली युवाहरू अमेरिका, बेलायत, अस्ट्रेलिया, जापानजस्ता देशमा जाने ‘सपना’ देख्छन् । तर, पर्याप्त रकम खर्च गर्न नसकेपछि धेरै नेपाली युवाको गन्तव्य खाडी मुलुक हुने गरेको छ । त्यसको साथसाथै मलेसिया पनि नेपाली युवाहरूको प्रमुख गन्तव्य स्थल हो । नेपालको प्रमुख गन्तव्य मुुलुक मलेसियामा सबैभन्दा बढी नेपाली युवाको मृत्यु भएको देखिन्छ । पछिल्लो एक दशकमा मात्रै मलेसिया रोजगारीमा गएका एक हजार नौ सय नेपालीको मृत्यु भइसकेको छ ।
फरक हावापानी भएको भूमिमा काम गर्नुपर्दा धेरै नेपाली युवा विदेशी भूमिमा ज्यान गुमाउन बाध्य छन् । विदेशी भूमिमा नेपाली युवाहरूको पेशागत सुरक्षा नहुनुका साथै उनीहरूले श्रमको उचित मूल्य पनि पाएका छैनन् । खाडी र मलेसियामा काम गर्ने कामदारहरूले उचित स्वास्थ्य उपचार पाउन नसकेको गुनासो पनि छ । नेपाली दूतावासहरूका अनुसार खाडी तथा मलेसियामा करिब ४० प्रतिशत नेपालीले श्वासप्रश्वास र मुटुजन्य रोगबाट ज्यान गुमाइरहेका छन् । त्यसबाहेक आत्महत्याबाट २० प्रतिशत, सडक दुर्घटनाबाट २० प्रतिशत, पेशागत दुर्घटनाबाट १० प्रतिशत र अन्य कारणबाट १० प्रतिशतको मृत्यु भइरहेको तथ्याङ्क छ । खाडी मुलुकमा ४० देखि ४९ डिग्री सेल्सियससम्मको तापक्रममा काम गर्नुपर्ने बाध्यता छ । यसकारण, वैदेशिक रोजगारीमा गएका युवाहरूको मृत्युदरको ग्राफ पछिल्लो ११ वर्षमा ७ हजार ४ सय ९९ ले बढेर डरलाग्दो अवस्थामा पुगेको देखिन्छ । नेपालको शीतल हावापानीमा जन्मे–हुर्केका नेपाली युवाहरू खाडीको चर्को घाममा जोखिमपूर्ण काम गरेर मृत्युवरण गर्न बाध्य छन् ।
अमेरिकी साम्राज्यवाद विश्वको सबैभन्दा ठूलो शोषक देश हो । अरू देशलाई एक आपसमा भिडाएर दुवै पक्षलाई हतियार बेची नाफा कमाउने देश अमेरिका हो । संरा अमेरिकाकै्र कारण विश्वमा अशान्ति बढ्दै छ । चीनको विश्व समुदायप्रति बढ्दै गरेको विश्वास र आर्थिक उन्नतिदेखि तिरमिराएको साम्राज्यवादी अमेरिकाले चीन घेर्न अनेक षड्यन्त्र गर्दै छ । चीनलाई घेर्ने आफ्नो हिन्द–प्रशान्त रणनीतिअन्तर्गतको सैन्य गठबन्धन एमसीसीमार्फत नेपाललाई युद्ध भूमिमा परिणत गर्न ऊ आफ्नो दलालमार्फत सक्रिय छ । यो यथार्थलाई बुझेका नेपाली जनताले देशघाती एमसीसी सम्झौताको विरोध गर्दै छन् । तर, अमेरिकी साम्राज्यवाद नेपाली जनतालाई फकाएर, धम्क्याएर जसरी पनि एमसीसी सम्झौता लागु गर्नु जबरजस्ती गर्दै छ । अमेरिकामा जान केही नेपाली युवा अझै पनि मरिहत्ते गर्दै छन् । ती युवाहरू अमेरिका जान पाए ‘स्वर्गै’ पुगेसरि ठान्छन् । तिनका अभिभावक पनि ‘मेरो सन्तान अमेरिकामा छ’ भनेर नाक फुलाउँछन् । नेपाली जनतामा देखिएको यो चिन्तनमा परिवर्तन नआएसम्म नेपालले प्रगति गर्न सक्नेछैन ।
संरा अमेरिका प्रजातन्त्रको ठूलो बखान गर्न पछि पर्दैन । उसले आफूलाई अरू देशलाई प्रजातन्त्र र मानवताको पाठ सिकाउने गुरु ठान्छ । तर, आफ्नै देशमा काला जातिका ‘जर्ज फ्लोयड’ हरूको घाँटी थिचेर हत्या गर्छ । एसियाली मूलका नागरिकहरूलाई तल्लो दर्जाको ठानेर हेलाहोचो गर्छ । अमेरिकामा अफ्रिका र एसियाबाट गएकाहरूलाई असभ्य जातिको रूपमा व्यवहार गरिन्छ । अमेरिकामा एसियन मूलका मानिसप्रति भइरहेको दुव्र्यवहारबारे ‘एसियन अमेरिकन तथा प्यासिफिक आइसल्यान्ड’ (एएपीआई) समुदायले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२० मार्चदेखि फेब्रुअरीसम्म मौखिक दुव्र्यवहार, भौतिक आक्रमण, गम्भीर मानवअधिकार उल्लङ्घनदेखि व्यक्तिहत्यासम्मको ३८ सय घटना प्रहरीमा दर्ता भएको छ । एएपीआईले यस्तो घटनाको विरुद्ध सामाजिक सञ्जालमा ‘स्टप एसियन हेट’ अभियानलाई पनि तिव्रता दिएको छ । ‘घृणा भनेको भाइरस हो’, ‘एसियनलाई घृणा गर्न बन्द गर !’, ‘म तिम्रो आधुनिक अल्पसङ्ख्यक होइन’, आदि नारा लेखिएका पर्चा पम्प्लेट बोकेर एसियन मूलका अमेरिकीहरू आन्दोलन गरिरहेका छन् । यो यथार्थलाई नेपाली जनताले पनि बुझ्नुपर्दछ । नेपाली युवाले विदेशीको ‘दास’ बन्ने मनोवृत्ति त्यागेर आफ्नै देशमा ‘सुन’ फलाउने काममा लाग्नु पर्दछ । स्वदेशमा रोजगारीको बन्दोबस्त नगरी विदेश पठाउने नेपालका शासकहरूविरुद्ध पनि नेपाली जनताले सङ्घर्ष गर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *