भर्खरै :

धर्म, जीवनशैली र साहित्य

सिर्जनाहरू टोकिन्छन्, काला र निर्दयी काँडाहरूले ।
मान्छे हुनुको सबैभन्दा ठूलो कुरा नै ऊसँग रहेको बुद्धि, विवेक र ज्ञान आर्जन क्षमता हो । मान्छेको जन्म हुनासाथ उसले आफ्नो जन्म, संसार र मृत्युको रहस्यबारेमा खोतल्न थाल्यो । त्यस उसले कतिपय कुरा यथार्थ पहिचानद्वारा, कतिपय कुरा तर्कद्वारा र कतिपय कुरा कल्पनाद्वारा पनि सत्यको नजिक हुने प्रयास ग¥यो, जुन अहिलेसम्म पनि कायम छ ।
आफ्ना सोचाइ, चेतना, प्रमाण, यथार्थ, निष्कर्ष र कल्पनाजस्ता कुराहरू र आफ्ना आग्रह, पूर्वाग्रहजस्ता कुराहरू मान्छेले चित्रहरूद्वारा, मूर्तिहरूद्वारा र सबैभन्दा ठूला कुरा अक्षर र लिपिको माध्यमद्वारा प्रकट गर्न थाल्यो । कतिपय कुराहरू श्रवणको माध्यमबाट पनि एकबाट अर्कोमा प्रसार गर्दै गयो । समाज र संसारका बारेमा रचिएका कृतिहरू ‘साहित्य’ नामले फैलिए । साहित्यले समाजलाई ऐनाको रूपमा परावर्तन गराउन थाल्यो । यस हिसाबले हर साहित्यमा जीवन, जगत् र समय प्रकट हुने भएकोले त्यसले प्रत्यक्ष वा परोक्षरूपमा प्राणी जगत्को सृष्टि, सञ्चालन, विकास र भावी परिणामका बारेमा समेत अङ्कन हुनु स्वाभाविक नै हो ।
माथि भनिएझैँ सृष्टिको सुरुवात र सभ्यताको प्रादुर्भावदेखि नै समाज भौतिक र आध्यात्मिक चिन्तनमा बाँडियो । यसैको असर साहित्य सिर्जनामा समेत प¥यो ।
सभ्यताको सुरुमा मान्छेमा संसारको सृष्टि, स्थिति र लयको बारेमा त्यति ज्ञान थिएन  । त्यसैले त्यसबेला कल्पनाको आधारमा ईश्वर र धर्मको बारेमा असङ्ख्य कृतिहरू रचिए । वैज्ञानिक एवं यथार्थपरक भावमा लेखिएका कृतिहरूमा समेत धार्मिक गाता ओडाउने प्रयास गरियो ।
समयको अन्तरालमा विज्ञान, अर्थशास्त्र, खगोलशास्त्र, वनस्पतिशास्त्र, प्राणीशास्त्र, इन्जिनियरिङ, भूगोल, सामाजिकशास्त्र, गणितजस्ता विषयहरूमा मान्छेले धेरै कुरा जान्यो, बुझ्यो र सोही मुताविकका साहित्यिक कृतिहरू पनि रच्ने र प्रकाशमा ल्याउने क्रमले तीव्रता पायो । यस हिसाबले संसारको सुरुको अवस्था र मध्ययुीगन अवस्थासम्म साहित्यमा धर्मको बोलवाला बढी भएको देखिन्छ भने त्यसपछिको साहित्यमा विज्ञान, गणित , भूगोल, इन्जिनियरिङ पक्षले यथार्थता पहिचान गरिएका विषयहरूलाई उजागर गर्ने किसिमका साहित्य सिर्जना अधिक हुने गरेको पाइन्छ ।
वर्तमान समयमा पनि धर्म, ईश्वर र भौतिक पक्षमा पक्ष र विपक्षको रूपमा आ–आफ्ना ठाडा तर्कहरू, कलाहरू र विधिहरू प्रयोग गरेर साहित्य सिर्जना गर्ने क्रमले अझ बढावा पाएको छ । ईश्वर छ छैन र धर्म आवश्यक हो होइन भनेर यतिखेर पनि मानव समाज दुई खेमामा विभक्त छ र साहित्य पनि त्यसको असरमा परिरहेछ । हुन त साहित्यले समाजको दर्पणको काम गरेरमात्र पुग्दैन समाजलाई अघि डो¥याउने काम पनि गर्नुपर्दछ र गरिरहेको पनि छ । भनिन्छ, जर्मनी क्रान्ति, जापानी क्रान्ति, फ्रान्सेली क्रान्ति, रसियाली क्रान्ति, चिनियाँ क्रान्ति, बेलायती क्रान्ति र समस्त युरोपेली क्रान्तिको मूल भूमिका नै त्यहाँ रचिएको साहित्यको थियो । साहित्यले सत्यको उद्घाटन गर्ने भएकोले साहित्य सिर्जना समाज परिवर्तनको लागि महत्वपूर्ण सावित हुँदै आएको छ ।
यहाँ केही उदाहरणहरू छन् जसले समाजमा धर्मको नाममा अविस्मरणीय घटनाहरू घटे र त्यसले समाज र संसारलाई नै प्रभाव पारिरहे । त्यसको असर साहित्य सिर्जनामा पनि परिरह्यो ।
गैरहिन्दू घटनाहरू
जर्मनीमा मार्टिन लुथर किङले सोह«ौँ शताब्दीमा पोप र उनका प्रतिनिधिलाई चुनौती दिए । त्यतिखेरसम्म सम्भ्रान्त र समाजका ठूलाठालूले मात्र बाइबल पढ्न पाउने व्यवस्था थियो । पोप, पादरी, धार्मिक सङ्गठन र बाइबलको नाममा सर्वसाधारण आक्रान्त थिए । मार्टिन लुथर किङले भने, “हामी चोरलाई फाँसी दिन्छौँ, ठगलाई तरबारले घाँटी छिनाल्छौ, हामी सबैलाई उद्योगतितिर धकेल्ने पोप र पादरीलाई भने किन दण्डित गर्दैनाँै ? यदि आगो बाँचिरह्यो भने कुनै न कुनै दिन म पोपका सबै नियमहरू जलाइदिन्छु ।” लुथरले भने, “धर्मको नाममा त्यसै बस्नु, धार्मिक कार्यमा अल्झिरहनु र तीर्थ यात्रामा हिँडिरहनु, दैनिक काममा बाधा पु¥याउनु हो । यसले आर्थिक नोक्सानमात्र हुन्छ । लुथरकै सल्लाहले जर्मनीमा पोपको पद खारेज गरियो । राज्य पोपको होइन राजाद्वारा सञ्चालन हुन थाल्यो । पादरी नियुक्ति र उनीहरूको शपथग्रहण राजाद्वारा हुन थाल्यो र सबै धार्मिक सङ्घ सङ्गठन पोपको एकाधिकारमा होइन राज्यको नियन्त्रणमा चल्न बेलायतमा समेत प्रोटेस्टेन्ट सम्प्रदायको उदय भयो र धार्मिक ज्यादती हराउन थाल्यो ।
युरोपमा धार्मिक शोषण अन्धाधुन्धरूपमा चलिरहेको थियो । त्यसको विरोध भइरहेको थियो । पोप, पादरी र धार्मिक संस्थाहरू विज्ञान, अर्थशास्त्र र त्यस क्षेत्रमा भएका कार्यहरू पटक्कै रुचाउँदैनथे । तर, धर्मगुरुको चङ्गुलबाट र धर्म पञ्जालबाट मुक्त गरेपछि मात्र बेलायतमा विज्ञानले प्रगति ग¥यो । अठारौँ शताब्दीको अन्त्य र उन्नाइसौँ शताब्दीको सुरुवातमा भएको धार्मिक क्रान्ति र औद्योगिक क्रान्तिको परिणामस्वरूप संसार प्रगतिको नयाँ मोडमा उभियो ।
ईशाको उन्नाइसाँै शताब्दीमा जर्मन दार्शनिकले माक्र्सवादी दर्शन र वैज्ञानिक समाजवाद र साम्यवादको सिद्धान्त प्रतिपादन भएपछि विश्वमा धर्म र धार्मिक आडमा हुने शोषणका विरुद्ध ठूलो प्रहार भयो । हुन त माक्र्सलाई पनि सन् १८४३ मा जर्मन छोडाइयो । उनी पेरिस गए । त्यहाँ पनि बस्न नदिएपछि उनी ब्रुसेल्स गए । उनको विचार र मनको क्रियाकलापलाई त्यहाँको सरकारले पनि नरुचाएपछि उनी सन् १८४९ मा लण्डन पुगे र त्यहीँबाट उनले आफ्नो सिद्धान्त प्रतिपादन गरे । माक्र्सवाद एक वैज्ञानिक दर्शन, श्रमजीवी वर्गको पक्षधर राजनीतिक अर्थशास्त्र र क्रान्तिकारी समाज विज्ञानको रूपमा आयो । यसले जीवन र जगत्लाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी ढङ्गले बुझ्ने, हेर्ने, व्याख्या गर्ने र संसारको परिवर्तनको निमित्त बाटो देखाउने भएकोले पनि यसको पक्षमा संसारका धेरै मान्छे उभिए । यसपछि द्वन्द्ववादलाई प्रकृति, जीवन, समाज एवं चिन्तनको सञ्जाल र विकासको मेरुदण्डको रूपमा सकार्ने क्रम बढेको छ ।
माक्र्सवादी चिन्तनमा रचिएका जर्मन, रसियाली र युरोपेली साहित्यले आम जनमानसमा वैज्ञानिक सोचबाट जीवन र जगत्लाई नियाल्ने क्रम बढेको छ ।
मार्टिन लुथर किङको प्रयासपछि समाजका सम्भ्रान्त वर्ग र धर्मगुरुमा मात्र धर्म सीमित रहेन । देशको राजनीति, आर्थिक, सामाजिक सबै क्षेत्रमा धर्मकै हस्तक्षेप रहने प्रथा पनि क्रमशः हट्न थाल्यो । मार्टिन लुथर किङको प्रयासले इसाई धर्ममा प्रोटेष्टेन्ट सम्प्रदायको समेत जन्म भयो । तर, समाज त्यतिमै मात्र सीमित रहेन । सारा युरोप धार्मिक तानाशाहीपनबाट मुक्ति खोजिरहेथ्यो । त्यसैले धर्म, राजनीति, आर्थिक, सामाजिक सबै क्षेत्रबाट अलग बस्नुपर्छ, धर्मले कसैलाई पनि नियन्त्रण वा हस्तक्षेप गर्नु हुँदैन भन्ने लहर चल्यो । यसैलाई सन् १८५१ मा जैकेल होलियोकले ‘धर्मनिरपेक्षता (सेक्युलरिजम) भन्ने नाम दिए । धर्मनिरपेक्षता एक विशेष प्रकारको मानववादी जीवन दर्शन हो जो धर्म तथा आध्यात्मवादको निषेध गर्दै नैतिकता, शिक्षा, राजनीति, प्रशासन, कानुन आदि ती दुवैबाट पूर्णतः स्वतन्त्र हुनुपर्दछ भन्दछ । यसले अलौकिक दैवी शक्तिमा आश्रित नभई आत्मनिर्भरतापूर्वक वैयक्तिक र सामाजिक कल्याणको मार्ग प्रशस्त गर्दछ ।
बेलायतमा होलियोकद्वारा प्रतिपादित धर्मनिरपेक्षता (सेक्युलरिजम) सुरु भएपछि विश्वभर तर्कपूर्ण वैज्ञानिक दृष्टिकोणयुक्त, कट्टरताविरोधी साहित्य रचना हुन थाले । विश्वभर धर्मनिरपेक्षता स्थापनामा जोड पनि दिन थालियो ।
हिन्दू क्रियाकलाप
हिन्दू धर्म संसारकै सबैभन्दा पुरानो धर्म हो । हिन्दू धर्ममा तत्कालीन सामाजिक, आर्थिक, राजनीतिक र वैज्ञानिक प्रगति झल्कने कैयौँ कृतिहरू रचिएका पनि छन् । तर, रचिएका ग्रन्थहरू सहीरूपमा बुझ्ने प्रयास नहुनु, स्वयं पण्डित पुरोहितहरू नै शास्त्रको ज्ञानविना कर्मकाण्ड गर्न तम्सनु, धर्म र कर्मकाण्डलाई आफू अनुकूल व्याख्या गरिनुले हिन्दू छद्म हिन्दूत्वको विकास भएको प्रतीत हुन्छ । महाभारत, शान्तिपर्वमा– ‘साँचो बोल्नु श्रेयस्कर छ, अरूको हित हुने कुरा गर्नु त्योभन्दा ज्यादा श्रेयस्कर छ, जसमा सबै प्राणीको हित हुन्छ त्यही नै सत्य हो’ भनेर सत्यको र सबै प्राणीको हितको कुरा गरिएको छ ।
सत्यस्य वचनं श्रेय : सत्यादपि हितं वदेत्,
यद् भूतहितमत्यन्तं एतत्सत्यं मतं मम,
(महाभारत, शान्ति पर्व, ३२९/१३)
व्यवहारमा त्यसो हुन सकेको छैन । हिन्दू, इसाई र इस्लामबीच हरेक वर्ष कतै न कतै धार्मिक युद्ध भइरहेछ । सबै प्राणीको हितमा धर्मकेन्द्रित भएको छैन । यसैको परिणति स्वरूप धर्म सबैको हितकारीरूपमा उभिनुपर्छ भन्ने साहित्यकारहरू देखिन थालेका छन् ।
हिन्दू धर्मले कैयौँ कुप्रथाहरू बोकेको थियो । अचेल ती प्रथाहरू समाजबाटै त्याग हुँदै छन् । त्यो सबै साहित्यले ल्याएको परिवर्तन हो । सती प्रथा, छुवाछुत प्रथा, जातीय भेदभाव, बालविवाह, अनमेल विवाह,दलितलाई सार्वजनिक स्थलमा हुन बन्देज, पानी बार्ने, देव मन्दिर प्रवेशमा रोक, नारी शिक्षामा रोक, विधवाको पुनर्विवाहमा रोकजस्ता कुप्रथाहरू अब विस्तारै हट्दै छन् । कुनै समय त्यस्ता प्रथाहरूको पक्षमा साहित्य लेखिन्थे, त्यसले समाजमै कुप्रभाव परिरहेथ्यो, अचेल त्यस्ता कुप्रथाविरुद्ध साहित्य लेखिन थालेका छन्, त्यसले समाजलाई अग्रगतितिर डो¥याउँदै छ ।
धर्मको नाममा अतिवादले प्रश्रय पाउँदा समाज झन् बिगँ्रदो अवस्थामा पुगेको छ । धर्मगुरुहरू र धर्मको नाममा राजनीति गर्नेहरू धर्म र जातको नाममा अरू धर्म र जातबीच विद्वेष फैलाउने काम गरिदिन्छन् । यसले समाज सुन्दर बन्नुभन्दा विखण्डन, युद्ध र अमेलको स्थितिमा पुगिरहेछ ।
हिन्दूधर्मका शास्त्रहरू नै भन्छन्, सीतामाथि ज्यादती भएको छ, एकलव्यको औला काटिएको छ । वेद पढ्न वा सुन्ने शुद्रहरूको कानमा सिसा पगालेर हाल्नुपर्छ भनेर लेखिएको छ, पशुबलि दिन उत्पे्ररित गरिएको छ । यी र यस्ता कुुकर्महरू हट्नुपर्छ भनेर आवाज उठ्नु र त्यसको पक्षमा लेखिनु नै हिन्दू धर्ममा परिवर्तनको सङ्केत हो ।
हिन्दू धर्मका ग्रन्थहरू अरू धर्मका मान्छेहरूले र हिन्दूधर्मकै पनि शुद्रजातिले पढ्नु हुँदैन र हिन्दू मन्दिरमा अरूले प्रवेश गर्न हुँदैन भन्ने तर्क जथाभावी फालिएको छ । यसो भन्नु हिन्दू धर्मकै विक्षिप्तता र सङ्कीर्णता हो । हिन्दू धर्मका धर्माधिकारीहरू, पण्डितहरू र ज्ञाता भनिएकाहरू हिन्दू ग्रन्थ अरूले पढे भने धर्म विनास हुन्छ भन्ने तर्क अघि सार्छन् र हिन्दू धर्मको उछित्तो काटिएपछि आफूलाई टिक्न गा¥हो हुने शङ्कामा त्यसो भनिरहेछन् । आजको युग तर्क, प्रमाण र यथार्थको युग हो । तथ्य र सत्य लुकाएर केही समय टिक्न सकिन्छ, तर सधैँ होइन । आलोचना ग्रहण नगर्ने र नखप्नेहरू टिक्न सक्तैनन् । हिन्दू धर्ममा यसो गरे पनि हुने, त्यसो गरे पनि हुने भन्ने आफू अनुकूलको धारणाले विखण्डनको बाटोमा जाकिन थालेको छ ।
अधिकांश हिन्दू धर्मग्रन्थहरू संस्कृत भाषामा लेखिएका छन् । सर्वसाधारणको लागि संस्कृत भाषाको ज्ञान नहुनाले हिन्दू धर्मका शास्त्रहरूले भनेका कुराहरू नै यथार्थपरक ढङ्गले बुझ्ने क्षमता छैन । धर्मको बारेमा अध्ययन गरेका र ज्ञाता भनिएका मान्छेहरू आफ्नो निहित स्वार्थको कारण आम मान्छेको धर्मको बारेमा रहेको अज्ञानताको फाइदा उठाउँदा आफूखुसी अर्थ लगाएर बौद्धिक र आर्थिक शोषण गरिरहेछन् । उनीहरू सर्वसाधारणलाई गीता, महाभारत, वेद, रामायण, दर्शनशास्त्र, पुराण पढ्नुपर्छ त भन्छन् । तर, त्यस्ता पुस्तकहरू अन्धश्रद्धापूर्वक पूजा गरेरमात्र समाजमा केही सकारात्मक परिवर्तन हुनेवाला छैन । विवेकपूर्वक अध्ययन नगर्ने र त्यसबाट ज्ञान बुद्धि हासिल नगर्ने परिपाटीले समाज झन् अन्धविश्वासी, जाली र उधोगतिको शिकार भइरहेको छ । यसले संस्कृतमा लेखिएको– शास्त्राण्यधीत्यापि भवन्ति मूर्खा अर्थात् शास्त्र पढेर पनि मान्छे मूर्खको मूर्ख नै रहिरहेको छ ।
धर्मले समाजका सबैलाई राम्रो काममा प्रोत्साहन गर्नुपर्दछ, हतोत्साह र विभेद गर्नु हुँदैन । हिन्दू धर्मका कैयौँ ग्रन्थहरूमा नारी र दलितहरूलाई बेस्सरी हेपिएको र मानमर्दन गरिएको छ । यसले समाज विकासमै अवरोध पुगेको छ । हिन्दूहरूको महानग्रन्थ भनिएको गीतामै नारी, वैश्य र शूद्रहरूलाई पाप कर्मबाट जन्म लिएका (पापयोनी) भन्ने उल्लेख गरिएको छ । त्यस्ता पापकर्मबाट जन्मेकाहरूसमेत मेरो आश्रयमा परम् गति प्राप्त गर्दछन् भन्ने कृष्णको भनाइ पाइन्छ । सबै मान्छेको जन्मने प्रक्रिया एकै भएकोमा नारी, शुद्र र वैश्यहरूलाई त्यसो भनिनु र कृष्णको आश्रय लिए खराब कर्म गर्ने मान्छे पनि सुध्रिने भन्नु समाजलाई नै होच्याउने प्रवृत्ति बढ्नुमात्र हो । गीता लेख्छ–
मां हि पार्थ व्यपाश्रित्य येकपि स्यु :पापयोनय :।
स्त्रियो वैश्यास्तथा शूद्रास्तेकपि यान्ति परां गतिम् । (गीता ९।३२)
अर्थात्– हे अर्जुन, मेरो आश्रय लिनाले पापबाट उत्पत्ति भएका नारी, वैश्य र शुद्रले समेत परमगति प्राप्त गर्न सक्तछन् ।
नारी संसारका आधा आकाश हुन् । नारी नभए संसार पनि हुँदैन । मुनले एक ठाउँमा लेखे–
यत्र नार्यस्तु पूज्यंते रमंते तत्र देवता :
यत्रैतास्तु न पूज्यंले सर्वास्तत्राफला : क्रिया :
अर्थात् जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताको निवास हुन्छ अथवा जहाँ उनको पूजा हुँदैन, त्यहाँ सब कार्य निष्फल हुन्छ । तर, हिन्दूका अधिकांश ग्रन्थहरूमा नारीलाई होच्याइएको र दवाइएको पाइन्छ । ऋग्वेद (८।३३।१७) मा स्वयं इन्द्रले भनेका छन्– नारीलाई शिक्षित नगराउनु, उसको बुद्धि तुच्छ हुन्छ । अर्को ठाउँ (१०।९५।१५) मा लेखिएको छ– नारीको साथ मित्रता हुनसक्तैन, उसको मन क्रूर हुन्छ । ईशापूर्व २५०० मा रचिएको भनिएको ऐतरेय ब्राह्मणमा नारदले भनेका छन्– कृपणं ह दुहिता (७,३,१)अर्थात् छोरी कष्टप्रदा, दुःखदायिनी हुन्छिन् ।
रामायणमा राजा दशरथले तीन पत्नी विवाह गर्नुले नारीलाई वस्तु वा सम्पत्ति मान्नुमा प्रोत्साहन दिएको स्पष्ट हुन्छ । रावणले सीतालाई मुक्त गरेपछि रामले सीतालाई विश्वास गर्नुको सट्टा अग्निपरीक्षा लिए तर रामको चरित्रमा भने कतै प्रश्न उठाइएन । एक धोवीको घरभित्र भएको कुरा सुनेर सीताको चरित्रमाथि नै शङ्का गर्दै निर्वासित गरेको उल्लेख छ ।
महाभारतमा पाँच पाण्डवले आफ्नी पत्नी द्रौपदीलाई समेत जुवाको दाउमा राखेको प्रसङ्ग छ । पत्नीलाई त्यति क्रूररूपमा जुवामा समेत राख्न तम्सने पुरुषको भने खुलेर प्रशंसा गरिएको छ । स्वयं मनुले जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवतासमेत रमाउँछन् त भने तर मनुस्मृतिकै विभिन्न खण्डमा नारीको उपहास गर्ने काम भएको निम्नबमोजिम देखिन्छ– पुरुषलाई बिगार्ने स्त्रीको स्वभाव हुन्छ, त्यसैले बुद्धिमान मान्छे उनीहरूसँग बच्नुपर्छ (२।२१३) । चाहे माता होस्, चाहे बहिनी होस्, चाहे छोरी होस्, यिनीहरूसँग एकान्त नबस्नु, इन्द्रीयले विद्वानलाई समेत खिचेर नराम्रो बाटोमा लैजान्छ । (२।२१५), जसको दाज्यू भाइ छैन ऊसँग बिहे नगर्नु (३।११), स्त्रीको संस्कार वेद मन्त्रबाट नगर्नु, ऊ मूर्ख हुन्छे, यो अशुभ हुन्छ (९।१८), विधवाको दोस्रो बिहे गर्नु हुँदैन, यदि ग¥यो भने धर्मको नाश हुन्छ (९।६४०) ।
पुराणहरू पनि नारी जातिलाई होच्याउने र दबाउने खेलमा उद्यत भएका देखिन्छन् । भागवत पुराणमा पति लङ्गडो, अन्धो, कुँजो, महारोगी जे भए पनि पत्नीले उसलाई छोड्न हुँदैन भन्ने लेखिएको छ । यसको आशय पत्नी त्यस्ती भइन् भने पतिले चाहिँ सजिलै छोड्न सक्छ भन्ने हो । चाणक्यनीति दर्पणमा त चाणक्य लेख्छन्– ‘आगो, पानी, नारी, मूर्ख, सर्प र राजासँग सधैँ सावधान रहनुपर्छ किनकि यिनीहरूले प्रतिकूल बनेर प्राण लिन्छन् (१४।१२) । अर्को ठाउँमा लेखिएको छ– ‘नारीले कुन चाहिँ दुुष्कर्म गर्न सक्तिन र ?’ (१०।४० । अझ अर्को ठाउँमा भनिएको छ– ‘झूठ, दुस्साहस, कपट, मूर्खता, अपवित्रता तथा निर्दयता नारीको स्वाभाविक दोष हो (२।१) । तुलसीदासलाई उनको समयको ठूला विद्वान कवि मानिन्छ । तर, उनले पनि एक ठाउँमा लेखेका छन्– ढोल, गंवार, शूद्र, पशु, नारी, ये सब ताडन के अधिकारी ।
हिन्दू धर्ममा अहिलेसम्म मनुस्मृति नामक ग्रन्थ अत्यन्त प्रभावशालीरूपमा रहेको छ । यो हिन्दूहरूले संविधानभन्दा पनि कडारूपमा पालना गर्ने विषय बनेको छ । मनुस्मृति आएपछि नै समाजमा जातिपातिको जन्म भयो र त्यसले ब्राह्मणवाद नराम्रोसँग झाँगियो पनि । मनुले जातिपातिको भेद प्रकाशमा ल्याएपछि तत्कालीन शासकहरूले पनि त्यसलाई कानुनसरह पालन गराए । परिणामस्वरूप ब्राह्मण भनिने जातलाई ठूलो र त्यसपछिका क्षेत्री, वैश्य र शूद्रलाई झन् सानो जात भनेर परिभाषित गरियो । यसले एकै जातको मानवता कामको आधारमा टुत्याइयो । अप्ठ्यारो, कडा परिश्रम लगाउनु पर्ने काममा खटिनेहरूलाई दलितको रूपमा पीडित बनाइयो । ब्राह्मण जात सृष्टिकर्ता ब्रह्माको विशेष ठाउँबाट पैदा भए भन्ने उल्लेख छ । मनु लेख्छन्– संसारका रचयिता ब्रह्माले संसारमा मुखबाट ब्राह्मण, हातहरूबाट क्षेत्रीय जांघबाट वैश्य र खुट्टा शूद्र पैदा गरे ।’
लोकानां तु विवृद्धयर्थ मुखवाहरूपादतः
ब्राह्मणं क्षत्रियं शूद्रं च निरवर्तयत्
(मनुस्मृति १।३१)
मनुस्मृतिमा मनुले जातअनुसारको कामसमेत बाँडे । यसअनुसार ब्राह्मणले वेद पढ्ने पढाउने, यज्ञ गर्ने गराउने, क्षेत्रीले प्रजाको रक्षा गर्ने, दान दिने, यज्ञ गर्ने, विषयमा आसक्त नहुने वैश्यले पशु पाल्ने, दान दिने, यज्ञ गर्ने, व्यापार गर्ने, ब्याज लिने, खेती गर्ने र शुद्धले भने ब्राह्मणलगायत तिनै जातको मन लगाएर सेवा गर्ने काम भनेर निर्धारण गरिएको छ । यसले ब्राह्मणलाई खुवाए पियाएको कुरा सीधै पितृकहाँ जान्छ भनेर सर्वसाधारणको शोषण गर्ने कार्य तीव्र बनाएको देखिन्छ ।
हिन्दूहरूको धार्मिक शास्त्रहरूको अध्ययनबाट थाहा हुन्छ कि यो धर्मको सुरुवातदेखि नै सामाजिक विघटनतर्फ उन्मुख भएको छ । ऋग्वेद तथा मनुस्मृतिमा ब्राह्मण ईश्वरको मुखबाट, क्षेत्रीय हातबाट, वैश्य जाघंबाट र शुद्र खुट्टाबाट पैदा भए भनेर मानव मानवबीच तलमाथिको भावना जन्माइएको छ । त्यसपछि त अनेकौँ जातजातिमा विभाजन भन्नसमेत पछि परेको छैन । वाहुसंहिता लेख्छ– शिल्पी, कारिगर, वैद्य, सुनार, राजाको ध्वजावाहक र नोकरहरू नरकमा जान्छन् ।
शिल्पित : कारवो वैद्या हेमकारा : नृपध्वजा :
भृतका कूटसंयुक्ता सर्वे ते नारका : स्मृता :
(वायुसंहिता, ३१–३९)
जन्मेदेखि नै हिन्दू धर्ममा असमानता सुरु गरिन्छ । बच्चा जन्मेपछि न्वारानमा नामकरण गर्दादेखि नै उच्च र नीच जात छुट्याई उनीहरूको नामनै शुभ र अशुभ जनाउने ढङ्गले राख्ने विधि बनाउनुपर्छ, बच्चादेखि नै कथित ठूलो र सानो भन्ने अथ्र्याइएको पाइन्छ । मनुस्मृति भन्छ–
मांगल्यं ब्राह्मणस्य स्यात् क्षत्रियस्य बलानितम्,
वैश्यस्य धनसंयुक्तं शूद्रस्य तु जुगुप्षितम्
(मनुस्मृति २।३१)
अर्थात्– ब्राह्मणको नाम मङ्गलसूचक शब्दबाट, क्षेत्रीयको वलसूचक शब्दबाट, वैश्यको धनवाचक शब्दबाट र शूद्रको निन्दनीय शब्दबाट नाम राख्नु उचित हुन्छ ।
स्रोत : धर्मको ह्याङ्ओभर

Leave a Reply

Your email address will not be published. Required fields are marked *