भर्खरै :

कोरोना नियन्त्रणमा भुटानी प्रयास

नेपालका पूर्वीसीमा काँकडभिट्टाबाट पौने दुई सय किलोमिटर मोटर यात्रापछि फुन्चोलिङ सहरको प्रवेशद्वार पुगेर चिहाउँदा भुटान चकमन्न थियो । पहाडी पाखोमा सफा र हरियाली फुन्चोलिङ बजार बन्द थियो । सर्वसाधारण घर बाहिर निस्किएका थिएनन् । सडकमा सरकारी गाडीमात्र पातलो कुदिरहेका थिए ।
प्रवेशद्वारमा वारिपारि हेर्न सकिने आँखीझ्याल छन् । भारततिरका स्थानीय तथा पर्यटक त्यही आँखीझ्यालबाट भुटान चिहाउने गर्छन् । फुन्चोलिङको यो चकमन्नता कोभिड–१९ को महामारीको प्रभाव शून्यमा झार्न भुटान कठोरतापूर्वक कसरी जुधिरहेको छ भन्ने दर्शाउन पर्याप्त छ । आफ्ना नागरिकको स्वास्थ्य सुरक्षामा निकै ध्यान दिँदै आएको भुटानी सरकारले भुटानभित्र आन्तरिक आवतजावतमा मात्र नभएर बाह्य मुलुकसँगको सम्पर्कमा कडाइ गरेको छ । भारतसँगको सीमा लगातार बन्द गर्दा फुन्चोलिङ नाका यसरी नै लामो अवधिदेखि सुनसान छ ।
दुई दिनअघि काँकडभिट्टाबाट भारतको पानीट्याङ्की नाका हुँदै भुटान सीमा पुग्दा बाटामा रहेको सिलिगुढी, जलपाइगुढी, मालबजार, वीरपाडालगायतका सहर फुन्चोलिङजस्तो सुनसान थिएनन् । फुन्चोलिङसँगै टाँसिएको सीमान्त सहर जयगाउँ भीडभाडयुक्त थियो । मास्क लगाएका र नलगाएका सर्वसाधारण बराबरी थिए । बजारमा तिहारको किनमेल सुरु भइसकेको थियो । जयगाउँ छिचोलेर ‘फुन्चोलिङ गेट’ पुग्दा भुटानतिर ठीकविपरीत दृश्य देखिएको थियो । सुरक्षाकर्मीको बाक्लो पहरा थियो । मास्क लगाएर उभिएका सुरक्षाकर्मी सीमामा रहेको मितेरी गेटमा ताला लगाएर उभिएका थिए । भुटान जान चाहने केही भारतीयहरू पिठ्युमा बडेमानका झोला बोकेर फलामे गेट बाहिरबाट भुटानी सुरक्षाकर्मीहरूसँग कुराकानी गरिरहेका थिए ।
फुन्चोलिङ सीमावर्ती जयगाउँभन्दा जनसङ्ख्याको हिसाबले धेरै गुणा ठूलो सहर हो । फुन्चोलिङका होटल, पसल, सरकारी कार्यालय र यातायात कोभिडको महामारी सुरुवात भएयता खुलेकै छैनन् । यस्तो लाग्थ्यो, अझै त्यहाँ कडा बन्दाबन्दी छ कफ्र्युजस्तै । स्थानीयवासीसँग बुझ्दा फुन्चोलिङ भुटानको मुख्य व्यापारिक सहर भएकोले विगतमा यहाँ आवतजावत बाक्लो हुने गथ्र्यो । भुटानका लागि चाहिने पेट्रोलियम पदार्थमा आधारित इन्धन र खाद्य सामग्री यही नाका भएर भुटानभर पुग्ने गरेको छ तर कोभिड–१९ को महामारीपछि भुटानले सीमाको सिलबन्दी खुला गरेको छैन ।
भारत र भुटानका बासिन्दालाई एकअर्काका देशमा आउजाउ गर्न नेपाल र भारतमा जस्तै प्रवेशाज्ञा चाहिँदैन तर भुटानले सङ्क्रमणबाट देशलाई जोगाउन भारतका नागरिकलाई समेत प्रवेश दिएको छैन । भुटानको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार भुटानमा हालसम्म दुई हजार ७२० सङ्क्रमित भएका छन् । तीमध्ये दुई हजार ६१० निको भएर घर फर्किसकेका छन् । अहिले मात्र सात सक्रिय सङ्क्रमित अवस्थामा छन् ।
यहाँको मृत्युदर विश्वकै अति कम मानिन्छ । कोरोनाका कारण तीन जनाको ज्यान गुमाउनुपरेको भुटानको आधिकारिक सरकारी समाचार संस्था क्वीनसेलले जनाएको छ । भुटानको जनसङ्ख्या सात लाख ८३ हजार रहेको छ भने फुन्चोलिङ सहरमा १७ हजारको बसोबास भएको मानिन्छ । राजधानी थिम्पुमा ९९ हजार, पुनाखामा २१ हजार ५०० र चिराङमा १९ हजार जनसङ्ख्या छ । पारो र थिम्पुमा हवाई सेवाका लागि विमानस्थल छन् ।
थोरै जनसङ्ख्या, पातलो बस्ती, स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा कडाइ र कोरोनाविरुद्धको खोपमा सफलताका कारण भुटानले महामारीलाई सजिलै परास्त गर्न सकेको मानिन्छ । कुल जनसङ्ख्याको ६७ प्रतिशत ९ कम्तीमा पाँच लाख १७ हजारले कोरोनाविरुद्धको पूर्णखोप र ७६ प्रतिशत ९ कम्तीमा पाँच लाख ८६ हजारले एक डोज खोप लगाइसकेको भुटानको स्वास्थ्य मन्त्रालयको दाबी छ ।
यो पङ्क्तिकार भुटानी प्रतिनिधिमण्डलको सहभागिता रहने पर्यटन प्रवद्र्धनसम्बन्धी एउटा अन्तरदेशीय बैठकका लागि भुटान सीमासम्म गएको हो । तर, सीमाको कडाइका कारण भुटानी प्रतिनिधिमण्डल बैठकमा आउन सकेन । भुटानीहरूलाई बाह्य मुलुकका नागरिकसँग भेटघाट गर्दा कोरोना भित्रिन्छ भन्ने त्रास बाँकी नै रहेछ ।
काठमाडौँको सिंहदरबार प्रवेशद्वारजस्तै थियो फुन्चोलिङ प्रवेशद्वार । ड्रागन चित्र अङ्कित यो प्रवेशद्वार कलात्मक छ । सबैको जिज्ञासा छ– त्यहाँ लगाइएको ताला कहिले खुल्ला ? सीमामा तैनाथ एक भुटानी सुरक्षाकर्मीले यो प्रश्नको उत्तर दिन चाहेनन् । तर, सीमामै तैनाथ भारतीय भन्सार अधिकारीहरूले तिहारपछि आगामी मङ्सिर ७ गतेसम्ममा भुटानले सीमा खुला गर्ने सम्भावना व्यक्त गरे ।
भुटान नेपालजस्तै पहाडी मुलुक हो । नेपालमा तराई भूभाग १७ प्रतिशत छ । तर भुटानमा तराई छैन । भुटानको दक्षिणी क्षेत्रमा नेपाली भाषीहरूको बाक्लो बसोबास छँदै छ । त्यसैगरी भारतको पश्चिम बङ्गाल र आसामसँग भुटानको सीमा जोडिएको छ । यहाँ नेपाली भाषीको बाहुल्य नै छ ।
भुटानसँग भारतको खुला सीमा भएको हुँदा खोला, जङ्गल र बस्तीले धेरै स्थान जोडिएका छन् । अलिपुरद्वार जिल्लाको मदारीहाट निवासी किरण उपाध्यायले सीमामा बसोबास गर्ने भेपालीभाषी भारतीयहरूले भुटानी बस्तीमा बिहेबारीको सम्बन्ध गाँस्ने गरेको सुनाउनुभयो । उहाँका अनुसार भारतका नेपालीहरू घुमघाम र नातागोता भेटघाटका लागि भुटानतिर जाने गर्छन् ।
साम्ची, फुन्चोलिङ, गम्टु, पग्लीलगायतका गाउँमा बढी ओहोरदोहोर हुने गरेको उपाध्यायले बताउनुभयो । यसलाई उहाँले भुटानसँगको रोटीबेटीको सम्बन्धको संज्ञा दिनुभयो । कोभिड–१९ को महामारीपछि आउजाउ ठप्प रहेको र त्यहाँको अवस्था सामान्य रहेको बताइएको छ ।
भारतमा नेपालीभाषीहरूले आफूलाई गोर्खा र नेपाली दुवै पहिचानले चिनाउने गरेका छन् । भुटान होस् या भारत, नेपाली भाषीहरूले आफ्नो संस्कृति, परम्परा, पहिरन, खानपान र संस्कारको भने बहुतै जगेर्ना गर्दै आएको पाइन्छ । दसैँ, तिहारजस्ता ठूला पर्वमा भुटानभित्र नेपालकै झल्को दिने रौनक आउने गरेको सीमावर्ती बासिन्दा बताउँछन् । तिहारमा भाइटीका लगाउने, देउसी भैली खेल्ने र सेल रोटी पकाएर खान यहाँका नेपाली रुचि राख्छन् ।
इतिहास खोतल्दा भारतको डुवर्स क्षेत्र कुनै बेला भुटानको अधिनस्थ रहेको देखिन्छ । भुटानबाट समथर क्षेत्र भारततिर आवतजावत गर्ने १८ वटा ढोका ९ गौडाहरू रहेको र ब्रिटिशहरूले त्यसैलाई प्रचलित गराउँदै डुवर्स नामकरण गरेको बताइन्छ ।
इतिहासकार सेलेन देवनाथले आफ्नो पुस्तक ‘द डुवर्स इन हिस्टोरिकल ट्रान्जिसन’ मा उल्लेख गरेअनुसार मध्ययुगमा डुवर्स इलाकामा कामतापुरी राज्य थियो । भुटानले कुनै बेला आक्रमण गरी कामतापुरलाई आफूमा अधिनस्थ गराएको थियो । पछि सन् १८६५ मा भएको युद्धमा पराजित भएपछि भुटानले ब्रिटिश सत्तालाई डुवर्स क्षेत्र सुम्पिएको मानिन्छ । अङ्ग्रेज शासनको अन्त्यपछि भारतले यस क्षेत्रलाई भारतमा विलय भएको घोषणा गरेको थियो ।
डुवर्स र भुटानबीच परापूर्वकालदेखि निकट सांस्कृतिक सम्बन्ध रहेको मानिन्छ । यो सम्बन्धलाई अकरिलो परिस्थिति व्यहोरे तापनि नेपाली भाषीले अहिलेसम्म धान्दै आएका छन् । डुवर्स र दक्षिण भुटानको जङ्गललाई फडानी गरेर मानव बस्ती बसाउने भूमिकाका लागि नेपाली भाषीको योगदानलाई भारत र भुटान दुवैतिर स्वीकार गरिँदै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *