भर्खरै :

सामाजिक विकासमा सहकारीको भूमिका

मेरा लागि सहकारी र सहकारीका लागि म “एकको लागि सबै र सबैका लागि एक नै सहकारी” भन्ने कुरा सहकारी संस्थाको यस्तै स्मारिकामा कहीँ पढेको थिएँ । अर्थात्, “मेरा लागि सहकारी र सहकारीका लागि म” भन्ने भावना नै सहकारी भावना रहेछ । सहकारीका लागि मैले के गरेँ र मेरा लागि सहकारीले के ग¥यो भनेर फर्केर हेर्दा एकले अर्काेलाई आवश्यक सहयोग गरिरहेको अनुभव गरेको छु ।
विशेषतः आफ्ना सन्तानहरूलाई पढाउन यस संस्थाबाट आवश्यक ऋण उपयोग गरेको कुरा अविस्मरणीय रह्यो । त्यसो त यसअघि कृषि विकास बैङ्कबाट ऋण लिई व्यवसाय नगरेको होइन । सहकारीको ऋणमा जुन अपनत्व भाव पाएँ । त्यो बैङ्कको ऋणमा पाइनँ । त्यसैले तुलनात्मकरूपले थोरै ऋण तिर्न पनि बैङ्कतिर धेरै गा¥हो भयो भने तुलनात्मकरूपले धेरै ऋण भएर पनि सहकारीमा सहजै ऋण तिरियो ।
त्यसबाहेक घर निर्माण गर्न अहिले पनि संस्थाको ऋणी नै छु । संस्थाले मलाई विश्वास गरेको प्रमाण हो यो । त्यसो त मैले पनि संस्थालाई अत्यन्त विश्वास गरेको छु किनभने शिक्षण पेशाबाट अनिवार्य अवकास लिँदा आएको सम्पूर्ण सञ्चित रकम मैले यही संस्थामा राखेँ ।
त्यसो त यस संस्थाले भन्दा बढी ब्याज दिने अन्य संस्थाहरू नभएका होइनन् तर आफ्नो भन्ने विश्वास मेरो मन यही साकोसले जितेको हुँदा बढी ब्याज दिने अन्य संस्थातिर मेरो ध्यान गएन । यो नै “मेरा लागि सहकारी र सहकारीका लागि म” जस्तो लाग्छ ।
सामाजिक विकासमा सहकारी
मानिस सामाजिक प्राणीमात्र नभई सिर्जनशील प्राणी पनि हो । ऊ समाजमा बस्दा उसको सिर्जनशीलताको प्रभाव समाजमा पर्छ भने समाजमा रहेका अन्य व्यक्तिको सिर्जनशीलताको प्रभाव उसमा पनि पर्छ । अर्थात्, व्यक्तिको प्रभाव समाजमा पर्छ भने समाजको प्रभाव व्यक्तिमा पनि पर्छ । सामाजिक विकासमा सहकारी संस्थाको प्रभावलाई पनि यही दृष्टिबाट हेर्न सकिन्छ । सहकारी संस्थाका सदस्यहरूको प्रभाव संस्थामा पर्छ भने संस्थाको प्रभाव सदस्यहरूमा पनि पर्छ । सदस्यहरूको सांस्कृतिक, राजनीतिक, शैक्षिकलगायतका स्तरअनुसारको प्रभाव संस्थामा पर्नु स्वाभाविक छ भने संस्थाका नेतृत्व वर्गको स्तरअनुसारको प्रभाव सदस्यहरूमा पनि पर्छ ।
संस्थाको नेतृत्व वर्गको अरु कुनै पक्ष नहेरी बढी ब्याज दिएकोमा मात्र आँखा लगाउँदा सदस्यहरूको सम्पत्ति डुबेको दृष्टान्त समाजमा नभएको होइन ।
“लोभीको देशमा लुच्चाहरू भोकै हुँदैनन्” भन्ने भनाइ छ । बढी ब्याजको लोभमा सदस्यहरू फसे । सदस्यहरूका त्यही सम्पत्ति कुम्ल्याएर लुच्चाहरू भागे । अर्थात्, सकारात्मकमात्र होइन नकारात्मक पनि प्रभाव पर्दोरहेछ भन्ने एउटा उदाहरण यहाँ सम्झिन खोजेको हँु । फेरि विकास भन्ने कुरा कहिल्यै नटुङ्गिने एउटा प्रक्रिया हो । सामाजिक जीवनमा देखिने सकारात्मक परिवर्तनलाई नै विकास भन्न सकिन्छ । हिजोभन्दा आज र आजभन्दा भोलि हुने सकारात्मक परिवर्तन नै विकास हो । यो समयचक्रसँगै निरन्तर चलिरहन्छ ।
हिजो स्कूल नभएको अवस्थामा पाटी पौवामै भए पनि स्कूल खोल्नु नै विकास थियो भने आज स्कूल खोल्नुका साथै गुणस्तरीय शिक्षा प्रदान गर्नु नै विकास भन्ने गरिएको छ । त्यसैले विकास समयअनुसार सकारात्मक ढङ्गले फेरिँदै जान्छ । शिक्षाजस्तै स्वास्थ्य, यातायात, उद्योग, व्यापार, व्यवसायलगायत सम्पूर्ण क्षेत्रमा यस्तै रूप फेरिँदै जान्छ । सन्दर्भ यहाँसकारात्मक परिवर्तनमा सहकारी संस्थाको भूमिकाको हो । मानिस सामाजिक प्राणी भएजस्तै संस्था आफै पनि सामाजिक भएकोले संस्था र सदस्यबीच अन्योन्याश्रित सम्बन्ध हुने हुँदा एक अर्कामा प्रभाव परिरहेको हुन्छ ।
असल नागरिक असल समाजको उपज हुने गर्छ । समाज असल भए नागरिक असल हुन्छ । नागरिकहरू असल भए स्वभावतः संस्थाका सदस्यहरू पनि असल नै हुने भए । सदस्यहरू असल भए संस्था कमसल हुने सम्भावना कमै हुन्छ । त्यसैले संस्थाले असल व्यवहार गर्दै गए सदस्यहरू असल हुँदै जानेछन् । सदस्यहरू असल भए विकासले उचित गति लिनेमा विश्वास गर्न सकिन्छ ।
भक्तपुर साकोसले विकासको नाममा भौतिक रूपमात्र फेर्ने हो र मानिसको मानसिक रूप फेर्नेतिर नलाग्ने हो भने भौतिक विकास कालान्तरमा जीर्ण भई जान्छ नै । तर, भौतिकका साथै सदस्यहरूको मानसिक विकासमा पनि विशेष ध्यान दिँदै जाने हो भने त्यो विकास भौतिकभन्दा बढी दिगो हुन्छ । त्यो एक पुस्ताबाट अर्को पुस्ता पुस्तासम्म निरन्तर पुस्तान्तरण हुँदै जानेछ । त्यसैले यो संस्थाले सदस्यहरूको मानसिक विकासमा पनि ध्यान दिए अन्ततः समाजमा पनि त्यसको सकारात्मक प्रभाव पार्दै जाने कुरामा विश्वास गर्न सकिन्छ ।
त्यसो त आफू यस संस्थाको साधारण सदस्यबाहेक थप केही नभएको हुँदा यसका सम्पूर्ण गतिविधिबारे अनभिज्ञ पनि हुँला । यद्यपि, एउटै टोलमा रहेको नाताले केही केही जानकारी भने नभएको होइन । समाजमा स्वास्थ्य शिविर चलाउने, वृद्ध वा ज्येष्ठ नागरिकको सम्मान गर्ने, सफाइ एवम् जनचेतनामूलक कार्यक्रममा संस्थालाई सक्रिय बनाउने, विभिन्न सीपमूलक तालिम चलाउने, बाजागाजा सिकाइ संस्कृति जोगाउनेजस्ता गतिविधिहरूमा आफूलाई सक्रिय बनाएर भक्तपुर साकोसले सामाजिक विकासमा सक्दो योगदान पु¥याउन खोज्नु यसको सकारात्मक पाटो हो । यसलाई अझ सक्दो फराकिलो बनाउँदै लानुपर्ने देखिन्छ ।
नगद लेनदेनकै सन्दर्भमा पनि सदस्यहरूको बचत उत्पादनशील क्षेत्रमा लगानी गर्न वा ऋण प्रवाह गर्न सदस्यहरूलाई प्रोत्साहित गर्न सके त्यसको प्रत्यक्ष प्रभाव समाजमा पर्ने नै छ । साकोसले त्यसो गरिरहेको होला भन्ने मेरो विश्वास छ । नगद लेनदेनकै सन्दर्भमा पनि सर्वसाधारण सदस्यहरूका बीचमा वित्तीय साक्षरता धेरै अभिवृद्धि भएको पाइन्छ । वित्तीय साक्षरता आफै पनि सामाजिक विकासका अनेक सूचाङ्कमध्ये एक हो ।
ल्याप्चे छाप लगाउने निरक्षर साकोस सदस्यमा पनि बचतको संस्कार हुनु, कुन बचतमा कति ब्याजदर भन्ने चेत हुनु, कहिलेसम्ममा कति छुट भन्ने ज्ञान हुनु, म्याद नाघे जरिवाना लाग्ने, असल ऋणी बन्न खोज्नु जस्ता कुरामा सचेत हुनु आफैमा नराम्रो होइन । यस्तो चेत विगत (साकोसहरू नखुलेको बेला) मा यति थिएन भन्दा फरक नपर्ला ।
नगदको लेनदेनमा देखिएको चेतजस्तै सामाजिक भावना विकासका गतिविधिमा पनि आफ्ना सदस्यहरूलाई अझ थप परिचालन गर्न सके साकोसको उपादेयता अझ बढ्ने निश्चित छ । सहकारी आज नयाँअभियानजस्तो भए पनि विगत खोतल्ने हो भने वास्तवमा हाम्रो संस्कारमा सहकारिता नपाइने होइन । सहकारीको शाब्दिक अर्थ त एकसाथ सबै मिलेर काम गर्ने हो । सहकारी सहयोगी साथी हो, सहायक, मद्दतगार हो । सबै मिलेर काम गर्ने संस्कार हाम्रो समाजमा जति पनि उदाहरण हामी पाउँछौँ । कोभिड–१९ को महामारीबीचमै ङातापोल्हँमन्दिरको जीर्णोद्धारमा हजारौँ हजार नगरवासीले नगद दान होस् वा श्रमदान होस् गरेर जुन कार्य सम्पन्न गरे त्यो आफै राम्रो सहकारिता हो । हालै भक्तपुर नगरपालिकाले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लाग्दा करोडौँरूपैयाँचन्दा दिएर नगरवासीले अर्को सहकार्यको राम्रो उदाहरण प्रस्तुत गरे । त्यसकारण, सहकारीको अर्थ ऋण दिने र बचत सङ्कलनमा मात्र सीमित गर्ने हो भने त्यो काम बैङ्क र फाइनान्सहरूले पनि गर्दै आएका छन् । बैङ्क र फाइनान्सहरूभन्दा फरक पहिचानको लागि सहकारी संस्थाहरूले आफूहरूलाई सामाजिक गतिविधिहरूमा बढीभन्दा बढी सक्दो परिचालित गर्नैपर्छ ।
(भक्तपुर साकोसको रजत जयन्तीको अवसरमा प्रकाशित स्मारिकामा समावेश शिक्षक प्रजापतिको लेखको अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *