भर्खरै :

इम्बोस्ड प्लेटः नयाँ सवारीसाधनमा अनिवार्य

बुधबारबाट दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने प्रावधान लागु भएको छ ।
विशेष खालको विद्युतीय चिप राखिएको इम्बोस्ड नम्बर प्लेटमा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख हुन्छ ।
नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित सूचनाअनुसार बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा दर्ता हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिने भएको हो ।
“बुधबारबाट नयाँ दर्ता गर्नेहरूले इम्बोस्ड नम्बर प्लेट लगाएरमात्रै निकाल्नुप¥यो गाडी,” यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले भने ।
अन्य प्रदेशमा आवेदन दिएको केही दिनमै इम्बोस्ड नम्बर प्लेट प्राप्त गर्न सकिने अवस्था रहे पनि सुदूरपश्चिम प्रदेशको हकमा भने केही समय लाग्ने बताइएको छ ।
प्रदेशको नाम लामो भएकाले प्लेटमा नाम अटाउनका लागि केही व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि प्रदेश सरकारसँग बसेर छलफल गरी टुङ्गोमा पुग्ने अधिकारीहरूको भनाइ छ ।
प्रदेशको स्थायी नाम कायम नभएका कारण प्रदेश नं १ र प्रदेश नं २ मा भने पुरानै व्यवस्था जारी रहने बताइएको छ ।
यातायात व्यवस्था विभागका अनुसार चरणबद्धरूपमा अबका केही वर्षभित्र मुलुकका सबै सवारीसाधनमा प्रविधिमा आधारित नयाँ नम्बर प्लेट जडान गरिसक्ने लक्ष्य लिइएको छ ।
विभागले साढे दुई वर्षभित्रमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लगाइसक्नुपर्ने भए पनि त्यति समयमा त्यस्तो भइसक्ने सम्भावना भने नदेखिएको जनाएको छ ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार फागुन १ गतेबाट सवारी नामसारी गर्दा र जेठ १ गतेबाट सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्दा सार्वजनिक, पर्यटक, निजी, सरकारी र संस्थानका सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने हुन्छ ।
तर, कुनै सवारी धनीले दस्तुर बुझाएर आवश्यक प्रक्रिया पूरा गरे सरकारले तोकेको मिति अगावै इम्बोस्ड नम्बर प्लेट जडान गर्नसक्ने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
पुरानो नम्बर प्लेटभन्दा के फरक हुन्छ ?
सरकारले उपलब्ध गराउने नम्बर प्लेट ‘मेसिन इम्बोस्ड’ हुने हुँदा अङ्क र अक्षर मेसिनबाट छापिएको हुन्छ । अर्थात्, विगतमा जस्तो हातले नम्बर प्लेट कोरिएको हुँदैन ।
विभागका अनुसार एक पटक सवारीसाधनमा नम्बर प्लेट जडान गरिएपछि त्यो निकाल्न मिल्दैन ।
“कि त्यसलाई ‘ड्यामेज’ गरेर फाल्नुपर्छ नत्र त्यो निकालेर अर्को हाल्न सम्भव हुँदैन,” घिमिरेले भने । यसको सबैभन्दा ठूलो फाइदा भनेको गाडी चोरी हुने ‘सम्भावना घट्छ’ र गलत नम्बर प्लेट प्रयोग गर्न ‘मिल्दैन’ ।
दुईपाङ्ग्रे सवारीमा जडान गरिएको इम्बोस्ड नम्बर प्लेटमा आरएफआईडी स्टिकर टाँसिएको हुन्छ । चारपाङ्ग्रे सवारीमा भने त्यो स्टिकर अगाडिको सिसामा टाँसिएको हुन्छ ।
सरकारले निकट भविष्यमा मुलुकका १५ वटा स्थानमा आरएफआईडी गेट (प्रवेशद्वार) बनाउने जनाएको छ ।
त्यो प्रवेशद्वारमा इम्बोस्ड नम्बर प्लेट जडान भएका गाडी प्रवेश गरे त्यसको सूचना केन्द्रीय सर्भरमा आफै जान्छ ।
“त्यसले गर्दा गाडी कता गएको छ भन्ने कुरा समेत हेर्न सकिन्छ,” घिमिरेले भने ।
त्यस्तै हाल जडान गरिएका नम्बर प्लेटहरू रातको समयमा ‘देख्न नसकिने समस्या रहेकामा’ इम्बोस्ड नम्बर प्लेट भने ‘झन्डै २०० मिटरको दूरीमा समेत प्रकाशमा टल्किएर देखिने’ बताइएको छ ।
यातायात विभागका अनुसार सुरुमा आरएफआईडी प्रवेशद्वार काठमाडौँ छिर्न र निस्किन प्रयोग हुने मुख्य नाका थानकोटमा जडान गर्नेगरी तयारी अघि बढाइएको छ ।
जडान गर्न के गर्नुपर्छ ?
घिमिरेका अनुसार हाल सरकारसँग ५० हजारभन्दा बढी इम्बोस्ड नम्बर प्लेटको मौज्दात छ । उक्त नम्बर प्लेट प्राप्त गर्नका लागि सर्वसाधारणहरूले यातायात व्यवस्था विभागको वेबसाइटमार्फत आवेदन दिनुपर्ने हुन्छ ।
आवेदकले पेस गरेका दस्ताबेज प्रमाणीकरणको काम सम्पन्न हुनासाथ सिस्टमबाटै इम्बोस्ड नम्बर प्लेट जारी हुने घिमिरे बताउँछन् ।
त्यसपछि आवेदकले एउटा बार कोड प्राप्त गर्छन् । त्यो लिएर यातायात कार्यालयहरूमा गएपछि इम्बोस्ड नम्बर प्लेट प्राप्त गर्न सकिन्छ ।
सरकारले हाल वितरण गरिराखेको इम्बोस्ड नम्बर प्लेट चार वटा प्रकारमा वर्गीकरण गरेको छ । सार्वजनिक यातायातमा पहेँलो प्लेटमा कालो अक्षर हुन्छ भने निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर लेखिएको हुन्छ ।
त्यस्तै सरकारी र संस्थानका गाडीमा सेतो प्लेटमा रातो अक्षरले लेखिएको हुन्छ भने कूटनीतिक निकायहरूले प्रयोग गर्ने सवारीमा नीलो प्लेटमा सेतो अक्षर हुन्छ ।
सरकारले फरक व्यवस्था गरेको अवस्थामा बाहेक मन्त्री, प्रधानमन्त्रीले प्रयोग गर्ने सवारीहरू समेत यी चार प्रकारका इम्बोस्ड नम्बर प्लेटमै पर्ने बताइएको छ ।
कति लाग्छ शुल्क ?
सरकारले दुईपाङ्ग्रे सवारीका लागि इम्बोस्ड नम्बर प्लेटको शुल्क २,६०० रूपैयाँ तोकेको छ । ट्रकजस्ता ठूला सवारीसाधनमा सबैभन्दा बढी ३,६०० रूपैयाँ तिर्नुपर्ने हुन्छ ।
यो नम्बर प्लेट विगतमा जस्तो आफैँ जडान गर्न नसकिने बताइएको छ ।
विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि तोकिदिएको स्थानमा पुगेर सवारी धनी आफैँले जडान गराउनुपर्ने हुन्छ ।
एक पटक जडान गरिएको इम्बोस्ड नम्बर प्लेट काम नलाग्ने नभएसम्म प्रयोग गर्न सकिने विभागले जनाएको छ ।
“त्यो एल्मुनियम प्लेट हो । त्यसले गर्दा यो सितिमिति ड्यामेज हुँदैन,” उनले भने ।
इम्बोस्ड नम्बर प्लेट लिने सवारी धनीले हाल प्रयोगमा रहेको नम्बरभन्दा फरक नयाँ नम्बर प्राप्त गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *