भर्खरै :

समाजवादको पूर्वतयारी गर्नु कम्युनिस्टको कर्तव्य

देशमा विद्यमान लोकतान्त्रिक गणतन्त्र पुँजीवादी प्रजातन्त्र हो । यसले बहुमत कामदार जनताको हित गर्दैन । कम्युनिस्टहरू लोकतान्त्रिक गणतन्त्र होइन समाजवादी गणतन्त्र स्थापनाका लागि सङ्घर्ष गर्छन् । त्यो प्रत्येक कम्युनिस्ट पार्टीहरूको दायित्व र जिम्मेवारी हो । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधाराको मार्गनिर्देशक सिद्धान्तले यही पाठ सिकाएको हो । यसकारण, यस सिद्धान्त र आदर्श बोक्ने कम्युनिस्ट पार्टीका हरेक नेता तथा कार्यकर्ताहरू यही अभिभारा बोकेर गाउँ–सहरको घर–आँगनमा पुग्छन्, पुगिरहेका हुन्छन् या पुग्नुपर्छ । नेमकिपाले समाजलाई जनताको प्रजातन्त्र हुँदै समाजवादी गणतन्त्रको आजु प्राप्त गर्ने उद्देश्यले राजनीतिक र वैचारिकरूपमा जनता सुसूचित गर्दै छ । यो कम्युनिस्ट नेता तथा कार्यकर्ताहरूको जिम्मेवारी हो र जिम्मेवारी पूरा गर्न सक्रियतापूर्वक लागिरहनुपर्छ ।
हरेक कम्युनिस्ट पार्टी सदस्य सिद्धान्तनिष्ठ हुनैपर्छ । पार्टी सदस्य आदर्शोन्मुख समाज निर्माण गर्ने एक देशभक्त, स्वाभिमानी र क्रान्तिकारी बन्नैपर्छ । निःस्वार्थ रूपले देश र जनताको सेवा गर्ने अनुशासित, समाजसेवी र अगुवा कार्यकर्ताले मात्रै समाजमा अनुकरणीय काम गर्नसक्छ, समाजलाई बदल्न टेवा पु¥याउन सक्छ । त्यस्ता पार्टी सदस्यहरूले मात्रै समाजमा व्याप्त अन्धविश्वास, कुरीति र विकृतिहरू हटाउन सक्छन् । आदर्शोन्मुख समाज स्थापना गर्न जनतालाई वैज्ञानिक समाजवादबाट शिक्षित बनाइनुपर्छ र समय अनुकूल या विज्ञानसम्मत व्यवहारिक शिक्षा दिइनुपर्छ ।
समय गतिशील भएकोले उहिलेको सबै संस्कृति अहिले समय सान्दर्भिक नहुनसक्छ । संस्कृतिलाई विज्ञानसम्मत ढङ्गले अघि बढाउने उपाय खोज्नु जरूरी छ । समय अनुकूल अघि नबढेको या विज्ञानसम्मत ढङ्गले अघि नबढेको संस्कृति समयसँगै लोप हुन बेर लाग्दैन या स्थायी हुँदैन । छाउपडी प्रथा अहिलेको निमित उपयुक्त होइन, छैन । बोक्सीको नाउँमा गरिने शारीरिक र मानसिक यातना, गाउँ घुमाएर घर आँगनमा बाँधेर बेइज्जत गर्ने, गाउँबाट निकाल्ने संस्कृति होइन, सामाजिक विसङ्गति हुन् । जनताको सांस्कृतिक स्तर नउठेको र राजनीतिक चेतना नभएको ारण यस्ता आपराधिक घटनाहरू बेलाबखत दोहोरिरहेका छन् । समाजमा व्याप्त कुरीति, अन्धविश्वासका विकृतिहरू हटाउनेतर्फ सरकारको खासै ध्यान गएको देखिँदैन, न त कम्युनिस्ट नाम भएका पार्टीहरूले नै ध्यान दिएका छन् ।
नेमकिपाले विभिन्न जनजाति, भाषाभाषी तथा शोषित–पीडित जनतालाई राजनीतिक, वैचारिक र सांस्कृतिकरूपले सचेत पारिरहेको छ । देशको सार्वभौमिकता, भूअखण्डता स्वतन्त्रताको निम्ति सङ्घर्ष गर्दै छ । देशका ठूला दलहरूको अमेरिकी कम्पनीसँग गरेको एमसीसी सम्झौता खारेजीको मागमा नेमकिपाको आन्दोलन चालु छ । यसरी नै नेमकिपाले नेपाली भूमि अतिक्रमण, नेपाल–भारत सीमामा भारतीय पक्षले एकतर्फीरूपमा बनाएका बाँध तथा तटबन्ध भत्काउनुपर्ने विषयमा लगातार आन्दोलन गरेको थियो । अन्तर्राष्ट्रवादी भावनालाई आत्मसात गर्दै विदेशी थिचोमिचो, हस्तक्षेप, नाकाबन्दी, आक्रमण दमन र दबाबको विरोधमा नेमकिपा सङ्घर्षरत छ । यस्तो आन्दोलन नेमकिपाले झैँ आफूलाई कम्युनिस्ट भन्ने एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा मशाल या राष्ट्रिय जनमोर्चाले पनि गर्नुपर्ने हो । जनतालाई जागरूक र सुसूचित पार्ने सवालमा ती दलका नेताहरूको ध्यान गएको देखिँदैन । त्यही कारण अहिलेसम्म बहुमत श्रमजीवी वर्गमाथि अल्पमत पुँजीपति वर्गले शासन गरिरहेको छ । यसकारण, नेमकिपाले झैँ अन्य कम्युनिस्ट पार्टीहरूले पनि समाजवादी गणतन्त्र स्थापनाको निम्ति आवश्यक पूर्वाधार तयार गर्न प्रचार अभियानमा लाग्नुपर्छ । अनिमात्रै कम्युनिस्टहरूको कर्तव्य पूरा हुनेछ र समाजवादको लागि पूर्वाधार तयार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *