भर्खरै :

धनुषामा रासायनिक मलको अभाव

जनकपुर, २६ मङ्सिर । धनुषाका किसान यतिबेला गहुँको बीउ छर्ने बेलामा रासायनिक मल नपाएर समस्यामा परेका छन् । मल नपाउँदा गहुँको उत्पादन न्यून हुने हो कि भन्ने चिन्तामा उनीहरू छन् ।
जनकपुरधाम उपमहानगरपालिका–१० का किसान रोहित साह नजिकैको डिलरमा मल खरिद गर्न गए तर पाउनु भएन । दुई दिनसम्म डिलरमा धाउँदा मल नपाएपछि उहाँ निराश भएर रितो हात घर फर्किनुभयो । उहाँले भन्नुभयो,“गहुँको बीउ छर्ने बेला मल चाहिएपछि डिलर धाउँदासमेत एक बोरा मल पाइएन । धानको सिजनमा जसोतसो मल पाएको थिएँ, अहिले त मल नै पाइएन । डिलरहरू चहार्दाचहार्दै निराश बनेको छु ।” गहुँको बीउ छर्ने बेलामा मल नपाएपछि यसको उत्पादन न्यून हुने चिन्तामा यहाँको किसान रहेको उहाँको भनाइ छ ।
धान बाली भित्र्याएर गहुँ छर्ने तयारीमा रहेका धनुषाको औरही गाउँपालिका–४ का शत्रुधन यादव पनि मल नपाएपछि निराश बन्नुभएको छ । उहाँले भन्नुभयो, “मलका लागि गाउँको डिलरदेखि जनकपुरधामस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयसम्म धाएँ तर मल पाउन सकिन । कृषि सामग्री कम्पनीको कार्यालयमा जाँदा गाउँको डिलरमा जानु भन्छ, डिलरमा जाँदा मल आएको छैन भन्छन् ।” मल नपाएपछि गहुँ बाली लगाउनै समस्या भएको उहाँको भनाइ छ ।
यो समस्या रोहित र शत्रुधनको मात्र होइन, धनुषा र महोत्तरीका अधिकांश किसानको समस्या हो । धान बाली भित्र्याएपछि गहुँ बाली लगाउने तयारीमा जुटेका किसान समयमा पर्याप्त मल नपाएपछि निराश बनेका हुन् । धनुषा र महोत्तरीलगायत प्रदेश नं २ का प्रायः सबै जिल्लामा धान बालीपछि गहुँ बाली लगाउने गरेका छन् । तर, समयमा मागअनुसारको मल नपाउँदा किसानहरू बर्सेनि मार खेप्दै आएका छन् ।
कुल ७५ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये धनुषामा करिब ४० हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले बताउनुभयो । अधिकांश खेतीयोग्य जग्गामा धान काटिसकेको र गहुँ बाली लगाउने बेला भइसके पनि समयमा मलखाद् नपाउँदा किसान मारमा परेको उहाँको भनाइ छ । जनकपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा बर्सेनि डीएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि किसानले ठूलो मार खेप्दै आएका छन् ।
धनुषामा बर्सेनि रासायनिक मलको माग बढ्दै जाने तर आपूर्ति भने घट्दै जान थालेपछि यस्तो अवस्था आएको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर धनुषाका प्रमुख रामकुमार चौधरीले बताउनुभयो । एकातिर धनुषामा रासायनिक मलको माग बढ्दै गएको छ भन्ने अर्काेतिर जिल्लामा रासायनिक मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी धनुषामा बर्सेनि मलको आपूर्ति घट्दै गएको छ ।
केन्द्रले चालु आर्थिक वर्षमा धनुषाका लागि पाँच हजार मेट्रिक टन युरिया र चार हजार ५०० मेट्रिक टन डीएपी मलको लक्ष्य तोके पनि हालसम्म दुई हजार ९०५ मेट्रिक टन युरिया र एक हजार ६२७ मेट्रिक टन डीएपी प्राप्त भएको प्रमुख चौधरीले बताउनुभयो । तीमध्ये दुई हजार ३५० मेट्रिक टन युरिया, एक हजार ५८५ मेट्रिक टन डीएपी बिक्री भइसकेको छ । हाल ५५५ मेट्रिक टन युरिया र ४२ मेट्रिक टन डीएपी गोदाममा रहेको प्रमुख चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत आर्थिक वर्ष ०७७÷०७८ मा छ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डीएपी मल माग गरेकोमा युरिया तीन हजार २०० र डीएपी चार हजार ५०० मेट्रिक टनमात्र आपूर्ति भएको थियो । आर्थिक वर्ष ०७७÷०७८ मा भन्दा चालु आर्थिक वर्षमा रासायनिक मलको कोटा कम गरे पनि त्यसबमोजिम आपूर्ति नभएको प्रमुख चौधरीको भनाइ छ । यस वर्षको गहुँ सिजनका लागि तीन हजार मेट्रिक टन डीएपी र चार हजार मेट्रिक टन युरिया मलको माग गरे पनि ६२७ मेट्रिक टन डीएपी र ९०५ मेट्रिक टन युरियामात्र उपलब्ध भएकोले सबै किसानलाई मल उपलब्ध गराउन समस्या भएको उहाँले बताउनुभयो ।
कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आएपछि कोटा निर्धारण गरी स्थानीय तहमा रहेको सहकारी संस्थाका डिलरहरूमार्फत किसानलाई मल वितरण गर्दै आएको जनाएको छ । प्रमुख चौधरीले भन्नुभयो, “हामीलाई जति मल प्राप्त भएको छ, त्यसलाई कोटाबमोजिम स्थानीय तहको सिफारिसमा वितरण गर्दै आएका छौँ । मल आएलगत्तै बिक्री वितरण सुरु गरेका छौँ, तर मागबमोजिम मल उपलब्ध गराउन नसकिएकोले सबै किसानले पाउने अवस्था छैन ।” बाली सघनता र खेतीयोग्य क्षेत्रफलको आधारमा स्थानीय तहलाई मलखाद्यको कोटा निर्धारण गरी स्थानीय तहको सिफारिसको आधारमा सहकारी संस्थाका डिलरहरूलाई मलखाद् वितरण गर्दै आएको प्रमुख चौधरीको भनाइ छ ।
डीएपी र युरिया मलको बर्सेनि आपूर्ति कम भएपछि कृषि सामग्री कम्पनी लहानले झन्डै आधा मूल्य बराबरको रासायनिक मलमात्र बिक्री गरेको छ । गहुँ बाली लगाउने बेला भएकोले युरिया र डीएपी मलको माग बढे पनि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, ढुवानी आपूर्तिको समस्या, मलको अनियन्त्रित प्रयोग र भारतीय सीमा नाकामा भएको कडाइलगायतका कारण सिरहामा युरिया र डीएपी मलको आभाव हुने गरेको उहाँले बताउनुभयो । डीएपी र युरिया मलको माग बढेकोले आपूर्तिका लागि केन्द्रमा पटकपटक पत्राचार गरे पनि बर्सेनि आपूर्ति घट्दै गएकोले समस्या परेको प्रमुख चौधरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *