भर्खरै :

हेलिकोप्टरबाट नदेखिने छाउगोठका दर्दनाक कहानी

एक जना वृद्धाले सुदूरपश्चिममा भनेकी थिइन्, “मलाई त छाउ हुने बेला आएपछि पिर पर्न थाल्थ्यो । वर्षात्को बेलामा त कुन गोठ चुहिँदैन भनेर खोज्नुपथ्र्याे । गाउँका धेरै महिला एकैचोटि छाउ हुँदा त गोठमा पनि बस्न गाह्रो हुन्थ्यो । चुहिने गोठमा बस्दा बस्दा घरका मानिससँग छाता माग्दा, ‘तिमी छाउपडीलाई छाता चाहिने’ ? भनेर हप्काउँथे । जाडो र वर्षामा धोएको लुगा नसुकेर घरका मानिससँग सुकेको लुगा माग्दा ‘तिमी छाउपडीलाई किन सुकेको लुगा चाहियो ?’ भन्थे । धेरै जना महिला एकै ठाउँमा बस्दा खुट्टा तन्काउने ठाउँ पनि हुँदैनथ्यो । एकचोटि छाउ भएको बेला बारीमा बसेर घरबाट ल्याएको खाना खाँदै थिएँ, बेस्सरी पानी प¥यो । थालभरि पानी भयो । त्यो दिन गोठमा पानीले भिज्दै भोकै सुत्नु प¥यो ।’
छाउगोठका यस्ता दर्दनाक कहानीले पनि हाम्रा नीति निर्मातालाई छुँदैन । उनीहरू ‘वास्तवमा छाउपडी प्रथा हटिसकेको छ, तिमीहरू नभएको कुरामात्र लेखिरहन्छौ’ भनेर गैरजिम्मेवार बन्छन् ।
सुदूरपश्चिमका एक जना वामपन्थी नेताले मलाई झपारेका थिए, “तिमी केही महिलासँग पहिलेको कुरा गरेर नेपालमा छाउपडी प्रथा छ भनेर लेख्छ्यौ । म पनि मध्यपश्चिममा गएको छु । आजकाल त गाउँमा छैन यो प्रथा ।”
मैले भनेँ, “तपाईँ हेलिकोप्टर चढेर वा मोटरमा सदरमुकामसम्म जानुहुन्छ अनि कहाँ देख्नुहुन्छ यस्ता छाउपडी । मोटर नपुग्ने ठाउँमा, दुई दिन हिँडेर जानुपर्ने ठाउँमा गएर हेर्नुहोस् त, कति महिला पीडित छन् ?”
यो उत्तर ती वामपन्थी नेतालाई मात्र होइन, सुदूरपश्चिमका सबै राजनीतिक दलका नेताहरूलाई हो ।
महिलाविरुद्धको हिंसामा बोल्ने नेताहरू कृपया एकचोटि यी महिलाको दुःख बुझिदिनुहोस् । सर्वोच्च अदालतका माननीय न्यायाधीशहरू तपाईँहरूले २०६७ साल वैशाख १९ गते सर्वोच्च अदालतले गरेको निर्णय कतै पनि पालना भएको छैन ।
‘महिलालाई छाउगोठमा पठाउने प्रयासलाई कुरीति घोषणा गर्नुपर्ने र स्वास्थ्य मन्त्रालयले चिकित्सकहरूसमेत भएको एक अध्ययन समिति बनाई यस प्रथाबाट महिला र बालबालिकामा पर्ने असर र समाधानको उपाय पहिचान गर्नुपर्ने’ जस्ता शब्दहरू कतै हराए ।
छाउपडीका विषयमा स्वास्थ्य मन्त्रालय सुतिरहेको छ । छाउपडीका कारण महिला र किशोरीहरूको प्रजनन र मानसिक स्वास्थ्यमा के असर पर्छ होला ? भनी सुदूरपश्चिम र मध्यपश्चिमका स्वास्थ्यकर्मीहरूलाई मैले सोध्दा उत्तर थियो, “खोइ त्यस्तो समस्या लिएर त कोही आएको छैन । महिलाको स्वास्थ्यमा छाउगोठमा बसेर खासै असर परेको छैन ।”
त्यस्ता कुराहरूले हामी स्वास्थ्यकर्मीहरू समस्याप्रति कति अनभिज्ञ र असंवेदनशील छौँ भनेर देखाउँछ । किनभने काठमाडौँमा चाहिँ महिनावारी भएको बेलामा पौष्टिक खाना खानुपर्छ, सफा प्याड प्रयोग गर्नुपर्छ, आराम गर्नुपर्छ भनेर सिकाउने हामीहरू जब किशोरी र महिलाहरू अफ्ठ्यारो, फोहोर कुनामा, गाई र भैंसीसँगै बस्छन्, उनीहरूको स्वास्थ्यमा केही असर पर्दैन भन्ठान्छौँ ।
महिला अस्तित्वमाथि प्रहार गर्ने र महिला हिंसालाई बढावा दिने छाउपडी प्रथालाई रोक्न कसलाई गुहार्ने होला महिलाहरूले ? दलका नेता, न्यायाधीश र नीति निर्माणकर्ताले सुनेनन् र बुझेनन् भने के यहाँँका महिलाहरू सर्पले टोकिएर, चिसोबाट कठ्याङ्क्रिएर, सानो शिशुको मृत्यु भएको हेरेर बसिरहने कहिलेसम्म ? आउँदो ५ सय वर्षसम्म ?
लेखकको फेसबुक पेजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *