आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
रुसले पुँजीवादका अनेक विकृति पनि स्वीका¥यो
तीस वर्षअघि सन् १९९१ को डिसेम्बर २६ मा सोभियत सङ्घ विखण्डन भयो । रुसका जनताले आज यो घटनालाई कसरी हेर्छन् ? के संरा अमेरिका पनि पूर्वसोभियत सङ्घकै बाटोमा अघि बढिरहेको छ ? रुसका विद्वान् चेल्नोकोभले ग्लोबल टाइम्ससँग यो विषयमा कुराकानी गरेका छन् । चेल्नोकोभले सन् १९९० देखि १९९३ सम्म रुसका सांसदको रूपमा सेवा गरेका थिए । उनी रुसी लेखक सङ्घका सदस्य हुन् । उनी रुसी प्राकृतिक विज्ञान प्रतिष्ठानका सदस्य पनि हुन् ।
ग्लोबल टाइम्स : तपाईँको विचारमा सोभियत सङ्घको विघटनबारे आजको रुसी समाजको सामूहिक भावना के हो ?
चेल्नोकोभ : सोभियत सङ्घ विघटन भएको यो वर्ष तीस वर्ष पुगेको छ । यो विघटन सोभियत सङ्घको समाजवादी व्यवस्थाको विघटनसँग अन्योन्यास्रितरूपमा गाँसिएको छ । मेरो विचारमा रुसी समाजमा व्यक्तिको उमेरअनुसार यी दुई घटनालाई अलग अलग बुझिन्छ । युवा पुस्तालाई ती घटनाबारे निकै कममात्र जानकारी छ । उनीहरू खास त्यत्ति चासो पनि राख्दैनन् ।
पुरानो पुस्ताले सोभियत सङ्घको विघटनलाई ऐतिहासिक सत्यको रूपमा स्वीकारिसकेका छन् । त्यसप्रति उनीहरू विस्मात् व्यक्त गर्छन् । तर, सोभियत सङ्घ विघटनबारे उनीहरूको धारणा सकारात्मक वा नकारात्मक के हो भन्न सकिन्न ।
पुरानो पुस्ता रुसको सामाजिक–राजनीतिक र आर्थिक प्रणालीमा आएका परिवर्तनबारे थप ध्यान दिइरहेको छ । त्यस हिसाबमा यसका सकारात्मक र नकारात्मक दुई पक्ष छन् ।
सकारात्मक कुरा गर्दा रुसमा आज खाना र सामानको कुनै अभाव छैन । खाद्यान्न भण्डारअघि देखिने लामा लामा पङ्क्ति अहिले हराएको छ । तथाकथित फलामे पर्खाल ढलेको छ । मानिसहरू संसारभर घुम्न स्वतन्त्र भएका छन् ।
नकारात्मक कुरा गर्दा रुसले पुँजीवादका उचित विशेषतामात्र स्वीकारेन, बरु यो प्रणालीको नकारात्मक दुष्प्रभाव पनि पनि भोग्दै छ ।
प्रथमतः वित्तीय ताइकुनहरूको शक्तिले वस्तुतः जीवनका सबै पक्षलाई उछिनेको छ । पैसाको मूल्यको अतिरञ्जनाले मानव जीवनका सबै पक्षलाई विकृतितिर धकेलेको छ । अर्थतन्त्रको वित्तीय क्षेत्र अर्थतन्त्रको वास्तविक क्षेत्र होइन । वित्तीय प्रणालीमा खास त्यस्तो कुनै दिगो उत्पादन हुँदैन ।
वित्तीय प्रणालीका विविध सबै पक्षजस्तै शेयर बजार, पिरामिड स्किम र अन्य क्षेत्र सबै अर्थहीन र रित्तो केटाकेटी खेल हुन् । तर, यो खेल मानवजातिको लागि निकै महँगो हुन्छ । त्यसले निकै गम्भीर सङ्कट निम्त्याएको छ र यो क्रम चालु रहनेछ । रुसको आधुनिक इतिहासमा यस्तो घटना बारम्बार भइसकेको छ ।
दोस्रो आज जनता समाजवाद र सोभियत सङ्घको विघटनलाई तिनको परिणामको आधारमा मूल्याङ्कन गर्छन् । अथवा, रुसको आजको जीवनस्तरको आधारमा ती घटनाको समीक्षा गर्छन् । यो बुझाइ निकै निराशावादी बुझाइ हो । विभिन्न पूर्वानुमानअनुसार आजको रुस संसारको जीवनस्तर मापनमा झन्डै ७० औँ स्थानमा छ । सन् २०२० को अन्त्यसम्ममा रुसका १ करोड ७८ लाख मानिस अर्थात् झन्डै १२ प्रतिशत जनता गरिबीको रेखामुनि बाँचिरहेका थिए । सामाजिक विभेदको समस्या निकै गम्भीर छ । यस्तो अवस्था प्राकृतिक स्रोतको आधारमा संसारकै सबभन्दा धनी देशमध्येको एउटा देशमा भइरहेको छ ।
तेस्रो, आजको रुसमा सन् १९४१–४५सम्मको महान् देशभक्तिपूर्ण लडाइँमा प्राप्त विजयको उच्च सम्मान गरिन्छ । त्यो विजयको सम्मानमा ‘अजम्बरी टुकडी’ को मार्चपास आयोजना गरिन्छ । तर, आजको रुसी शासन व्यवस्थाको भावनात्मक गरिबीको परिस्थितिमा त्यो नै एउटा उज्यालो बिन्दु हो र आशा गर्ने ठाउँ बनेको छ ।
(दोस्रो विश्वयुद्धमा पूर्व मोर्चामा सोभियत सङ्घ र नाजी जर्मनीबीच भएको द्वन्द्वलाई ‘महान् देशभक्तिपूर्ण युद्ध’ भनिन्छ ।)
विवेक, आदर, देशभक्ति, सिर्जनात्मकताको चाहना र वैज्ञानिक कृतिजस्ता विचार र अवधारणा अहिले व्यवहारतः विलुप्त भएको छ । सबभन्दा डरलाग्दो कुरा त आजको त्यस्तो वातावरणमा युवाहरू कसरी हुर्किरहेका छन् भन्ने विषयमा सोच्नु हो । उनीहरूले जीवनको लागि के उद्देश्य निर्धारण गर्छन् होला ।
ग्लोबल टाइम्स ; सोभियत सङ्घको विघटनयता रूस र पश्चिमबीच सम्बन्ध सुधार भएन । संरा अमेरिका र पश्चिमले रूसलाई आफ्नो दुश्मन र ‘खतरा’ को रूपमा हेरिरह्यो । रूसप्रति संरा अमेरिका र पश्चिमको यस्तो दुव्र्यवहारको निरन्तरताबारे तपाइँ के भन्नुहुन्छ ?
चेल्नोकोभ : मेरो विचारमा रूसप्रति संरा अमेरिका र पश्चिमा देशको दुव्र्यवहारका धेरै कारण छन् । एकातिर, धेरै पहिलाबाट यो यसरी नै विकास भयो । दोस्रो, प्राकृतिक स्रोत–साधनको हिसाबमा रूस संसारकै सबभन्दा धनी देश हो । त्यसकारण ती देशहरू (संरा अमेरिका र पश्चिमा देश) लाई ती स्रोत देखेर लोभ लाग्छ । उनीहरू रूससँग भएका स्रोत रूसको मात्र नभई सिङ्को संसारको हुनुपर्ने मान्यता राख्छन् ।
त्यसबाहेक रूसबारे यस्तो सोच राख्न संरा अमेरिका र पश्चिमा देशहरूको लागि आफ्नो देशभित्रका आन्तरिक समस्याबाट ध्यान अन्यत्र विषयान्तर गर्ने सबभन्दा सजिलो तरिका हो । दोष सबै ‘बाहिरी शत्रु’ लाई पन्छाएर आफ्नो कमी कमजोरी लुकाउनमा उनीहरू माहिर छन् । त्यसकारण, ‘बाहिरी शत्रु’ तिर ध्यान दिनु सामान्यतः निकै कमजोर र बोधो नेताहरूको नीति नै हो । पछिल्ला दशकहरूमा संरा अमेरिकाका पूर्वराष्ट्रपति फ्रान्कलिन रूजवेल्ट वा फ्रान्सका पूर्वनेता चाल्र्स डी. गाउलीजस्ता सशक्त नेताहरू पश्चिमा देशमा देखिएका छैनन् । ‘बाहिर शत्रु’ तिर दोष पन्छाउनु सैनिक सङ्कठन र सैनिक–औद्योगिक उद्योगको निम्ति हितकारी छ किनभने ती क्षेत्रमा त्यही बहानामा लगानी गरिन्छ । खासमा उनीहरूको जीविका त्यसैमा चल्ने गरेको छ ।
ग्लोबल टाइम्स : रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले संरा अमेरिकाले पूर्वसोभियत सङ्घको बाटो पछ्याइरहेको भनी बोलेको कुरा जून महिनामा टास समाचार संस्थाले प्रकाशन ग¥यो । तपार्इँको विचार के हो ? सोभियत सङ्घको नियति संरा अमेरिकाको लागि शिक्षा हुनसक्छ ?
चेल्नोकोभ : आजको संरा अमेरिका गतिरोधमा फसेको कुरा सत्य हो । तर, बितेको शताब्दीको अन्त्यमा सोभियत सङ्घले भोगेको अवस्थाभन्दा अहिलेको उसको अवस्था नितान्त फरक छ ।
संरा अमेरिका अहिले पनि संसारमा शासन गर्नु आफ्नो अधिकार ठान्छ, उसले आफ्नो इच्छा अरू देशमाथि थोपर्छ । अनि आफू प्रभुत्ववादी बन्छ । हो, संरा अमेरिकासँगको शीतयुद्धमा सोभियत सङ्घ पराजित भयो । तर, त्यसपछि भने संसारमा परिवर्तन आयो । आज संसार संरा अमेरिकाको उपनिवेश बन्न तयार छैन । सन् २००१ को सेप्टेम्बर ११ मा भएको घटनााले संरा अमेरिका अपराजयी शक्ति नभएको देखाएको छ । उसले आफूलाई जति शक्तिशाली ठानेको थियो, ऊ त्यत्ति शक्तिशाली नभएको पुष्टि भएको छ । संरा अमेरिकाले आजको संसारमा आफ्नो आदर्शलाई सर्वमान्य आदर्श बनाउन सकेको छैन । ऊ आफैले नै ती आदर्श मानिरहेको छैन ।
आज संरा अमेरिकामा काला र गोराबीचको वैमनस्यता निकै बढेको छ । यो समस्याको समाधान हुने छनक देखिएको छैन । यसले सबै अवस्थालाई अस्थिरतातिर धकेलेको छ । अनेकन द्वन्द्वतिर अमेरिका धकेलिएको छ । जसले देशलाई कमजोर बनाएको छ ।
संरा अमेरिकाले आफूलाई प्रजातन्त्रको आदर्श ठान्छ । तर, अर्को शब्दमा प्रजातन्त्र भनेको जनताको शक्ति हो जो चुनावमार्फत अभ्यास गरिन्छ । संरा अमेरिकामा चुनावको परिणाम भने जनताले निर्धारण गर्दैनन् । बरू धेरै हदसम्म चुनावी प्रणाली आफैले चुनावको नतिजा निर्धारण गर्छ ।
त्यस अर्थमा संरा अमेरिकी चुनाव प्रजातन्त्रको भयानक विघटन हो । संरा अमेरिकाको राष्ट्रपति त्यहाँका जनताले चुन्ने होइन, बरू चुनावी कलेजले निर्धारण गर्छ । लामो समयदेखि सिङ्को संसार यो प्रणाली देखेर हाँसिरहेको छ । अमेरिकी जनताले यो प्रणालीमा परिवर्तनको माग गरिरहेका छन् । तर, संरा अमेरिकी सरकार त्यस्तो परिवर्तनको पक्षमा छैन । किन ? उत्तर सरल छ । यो प्रणालीमा विद्यमान सरकारको पक्षमा चुनावको नतिजालाई प्रभावित बनाउन निकै सजिलो छ ।
मत र चुनावी प्रणालीको अतिरिक्त चुनावी परिणाम तेस्रो पक्षबाट पनि निर्धारित हुन्छ । त्यो तेस्रो पक्ष सबभन्दा महत्वपूर्ण र निर्णायक हुन्छ । त्यो हो चुनाव अभियानमा आर्थिक चन्दा ।
संरा अमेरिकामा राष्ट्रपति निर्वाचनको आर्थिक खर्च निकै बढी छ । संरा अमेरिकाको सबभन्दा धनी मानिसहरूले पनि एक्लै चुनावी खर्च धान्न सक्दैन । उदाहरणको लागि जो बाइडेनले आफ्नो चुनावी कार्यक्रममा १ अर्ब अमेरिकी डलर खर्च गरेका थिए । त्यो पैसा सबै विभिन्न क्षेत्रका प्रायोजकबाट जम्मा गरिन्छ । तर, प्रायोजकहरूले बिनास्वार्थ चुनावी अभियानमा लगानी गर्दैनन् । निकट भविष्यमा आफूले केही पाउने पक्का भएपछि मात्र उनीहरूले त्यो पैसा लगानी गरेका हुन्छन् ।
यस्तो नीतिअन्तर्गत राजनीतिक नेताहरूले देश र जनताको हितको सट्टा सुरूमा आफ्नो चन्दादाताको भलाइ र स्वार्थ पूरा गर्ने विषयलाई प्राथमिकताम राख्छन् । हामी कस्तो प्रजातन्त्र र कस्तो जनताको शक्तिको कुरा गरिरहेका छौँ ?
ग्लोबल टाइम्स : धेरै मानिसहरू अहिले चीन र संरा अमेरिकाबीचको प्रतिस्पर्धालाई संरा अमेरिका र सोभियत सङ्घबीच शीतयुद्धमा भएको दुश्मनीसँग तुलना गर्छन् । चीन र संरा अमेरिकाबीचको वैमनस्यतालाई तपाईले कसरी हेर्नुभएको छ ? यसको अन्त्य कसरी होला ?
चेल्नोकोभ : मेरो विचारमा यस्तो तुलना स्वाभाविक हो । संरा अमेरिका र चीनबीचको बढ्दो वैमनस्यताले आज सिङ्को संसारलाई प्रभावित बनाएको छ । मेरो विचारमा आज चीन उदाइरहेको छ । चीन प्रगतिको बाटोमा अघि बढिरहेको छ । अर्कोतिर संरा अमेरिका प्रतिगमनतिर अघि बढिरहेको छ । तर, उसले यो कुरा चाल पाउन सकेको छैन । जहाँसम्म मैले बुझेको छु, दुई देशबीचको तनावको कारण संरा अमेरिका हो । संरा अमेरिकाले संसारमा आफ्नो एकछत्र राज गर्न चाहनु नै यसको मूल कारण हो ।
चीनले राजनीतिक, आर्थिक र सैनिकरूपमा धेरै शक्ति आर्जन गरिरहेको छ । आशा गरौँ, चीनले संरा अमेरिकालाई विवेकवान बन्न उत्साहित गर्नसक्नेछ । तथापि, मेरो विचारमा यो वैमनस्यताको अन्त्य कहाँ पुगेर हुने हो, निश्चय गर्न सकिन्न ।
स्रोत : ग्लोबल टाइम्स
नेपाली अनुवाद : सुमन
Leave a Reply