भर्खरै :

सरकारी कर्मचारीहरूको छाडा चाला कहिलेसम्म ?

त्यसो त कर्मचारीतन्त्रलाई स्थायी सरकार मानिन्छ । अस्थिर लोकतन्त्र भएको हाम्रोजस्तो देशमा सरकार अर्थात् मन्त्रिपरिषद् ६ महिना र वर्षदिनको अन्तरालमा बदलिइरहन्छ तर कर्मचारीतन्त्र स्थायी हुन्छ । त्यसैले कर्मचारीतन्त्रलाई सरकारको आधारशिला मानिन्छ । तर, नेपालको कर्मचारीतन्त्रमा देखिएको छाडापनका कारण सरकारको त्यो आधारशिला खोक्रो भएको अनुभूति हुन्छ । केही दिन अगाडि छोरीले राहदानी बनाउनुपर्ने आवश्यकता बोध गराएकी हुनाले उसको राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय गएका थियौँ । कार्यालय सुचारू रहेकै दिन थियो, राहदानीको लागि अरू पनि धेरै सेवाग्राही आएका थिए तर सम्बन्धित फाँटमा कर्मचारीको उपस्थिति थिएन । पियन, सर म्यामहरू आउनुभएको छैन, तपाईँहरू पहिले अनलाइन फाराम भरेर आउनुस् वा होइन भने बाहिरै पर्खेर बस्नुस् भन्दै आफ्नो जिम्मेवारी निभाइरहेका थिए । दिनको १२ बजेपछि कर्मचारीको उपस्थिति भयो, बुझ्न चाहने – सार्वभौम नागरिकहरूलाई झर्को र फर्को गर्दै पहिले बैङ्कमा पैसा जम्मा गरेर आउन हप्काइरहेका थिए । यसै हप्ता एउटा सरकारी बैङ्कमा खाताको सेवा विस्तारको लागि पुगेको थिएँ । समय अगावै पुगेको हुनाले लाइनमा दोस्रो नम्बरमा थिएँ । कर्मचारीहरू तोकिएको समत्र्न्दा १५–२० मिनेटमात्र ढिलो आइपुगे । तर, आएर पनि आधा घण्टासम्म लाइन लागेकाहरूको वास्तै गरिएनन् । लाइनमा भेटिएका आफन्त र आफैले पर्समा बोकेर आएकाहरूको काम सकाउनमा व्यस्त भए । पहिलो नम्बरमा रहेका मानिस अब म यो बैङ्कमा खाता बन्द गर्छु भन्दै बाहिरिए, म पहिलो नम्बरमा परेँ । मैले आफ्नो काम सकाएर बाहिर निस्कँदा बा¥ह नाघिसकेको थियो र लाइन पनि पातलो भइसकेको थियो । त्यस्तै गोरखापत्रमै छाप्न लगाउनुपर्ने एउटा विज्ञापन छपाउन गोरखापत्र संस्थान पुगेको थिएँ । खासमा म गोरखापत्रको विज्ञापन एजेन्सीवालाको बेइमानीका कारण मात्र त्यहाँ जानु परेको थियो । गोरखापत्रको अनलाइन पेज हेरिरहने हुनाले विज्ञापन दर राम्ररी थाहा थियो । एजेन्सीवालाले वास्तविकरूपमा गोरखापत्रले लिने भन्दा तीनगुणा बढाएर शुल्क भनेका थिए र त्यसमा १० प्रतिशतसम्म छुट दिलाइदिने स्वाङ पनि पारिरहेका थिए । त्यसैले आफै गोरखापत्र संस्थान पुगेँ । दिउँसो १ः०० बजेको थियो तर विज्ञापनको आदेश पर्चा लिएर डिजाइन गरिदिने तीनजनामध्ये कोही पनि टेबुलमा थिएनन् । एउटै कोठाको पार्टिसनमा बस्ने शाखा प्रमुखलाई सोध्न पुगेँ । ती महिला शाखा प्रमुखको जवाफ थियो – चिसो छ यसो घाम ताप्न र चिया खान गएको होला । पर्खनुको विकल्प थिएन । पैतालीस मिनेटपछि एक जना डिजाइन कक्षका कर्मचारी आए र उनले पालेपालो सबैको डिजाइन बनाइदिए । तर, अघिसम्म गफेर बसिरहेका शुल्क निर्धारण कक्षका एकजना पनि कर्मचारी थिएनन् । टिफिन टाइम आधा घण्टा भनियो तर एक घण्टापछि मात्र ती कर्मचारी आइपुगे । कर्मचारीहरू हिटर ताप्दै खाजा मगाउँदै थिए तर चिसोमा फलामे मेचमा बसेर पालो कुरिरहेका सेवाग्राहीलाई समयमै सेवा दिएर बिदा गर्नेतर्फ कसैको मतलब थिएन । यसरी सरकारी कार्यालय र सरकारी संस्थानका कर्मचारीहरूको गैरजिम्मेवारी र अनुशासनहीन क्रियाकलापका कारण सेवाग्राही जनताको समयको बर्बादी मानसिक र शारीरिक कष्ट भोग्न बाध्य छन् र नचाहेर पनि सरकार र सरकारी कार्यालयप्रति नकारात्मक धारणा विकास भइरहेको छ । आखिर सरकारी कर्मचारीको छाडा चाला कहिलेसम्म ? के सरकारी संस्थान र कार्यालयहरू सबै बन्द गरेर सरकारी कामको ठेक्का पनि निजी क्षेत्रलाई नदिएसम्म हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *