भर्खरै :

मुसहर बस्तीमा चिसोको प्रहारः न लुगा, न खाना

जलेश्वर, २० पुस । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ भटौलिया गाउँका हुकुमा सदा आफ्ना लालाबाला र घरपरिवारसहित चिसो स्याँठका बीच हुनुहुन्छ । उहाँ तथा बालबालिका र महिलाहरूको शरीरमा चिसो छल्न सक्ने लुगाफाटा छैनन् । उहाँको घरमाथि टुटेका झिक्राझिक्रीमात्र छन्, घेराबेरासमेत केही छैन । साठी वर्ष नाघिसक्नुभएका हुकुमा आफ्नो परिवारसहित चिसो आकाशमुनि हुनुहुन्छ ।
चरम गरिबीले छोएको त्यस परिवारमा ससाना बालबालिकासहित १३ जना सदस्य छन् । तीमध्ये कुनै बालबालिकाको शरीर लुगाफाटाले पूर्णरूपमा छोपिएको छैन । त्यसैगरी महिलाहरू अनिवार्यरूपमा इज्जत ढाक्नैका लागि लगाउनुपर्ने लुगाबाहेक थप लत्ताकपडामा भेटिएनन् । पुरुषहरू पनि आधा – अधुरा च्यातिएको लुगाफाटाले सकीनसकी आफूलाई चिसोबाट जोगाउने प्रयत्न गरिरहेका छन् । सञ्चारकर्मीलाई देखेर बालबालिका दगुर्दै ‘केही बाँड्ने मान्छे आयो’ भन्दै आए । हुकुमाले परैबाट ‘हजुर जे लाइलछी से ओकरेसबके देदिऔ’ (हजुरले जे ल्याउनुभएछ, त्यो उनीहरूलाई नै दिनुहोस्) भन्दै कराउनुभयो ।
उनकै छिमेकी सीतादेवी सदा आफ्ना पाँच छोराछोरीसहित परालको ठुटाले चारैतिरबाट घेरिएको र माथि च्यातिएको प्लाष्टिकबाट ठाउँठाउँमा घरभरि उज्यालो आउँदै गरेको सानो झुप्रामा चिसोसँगै लड्दै हुनुहुन्छ । उहाँले घरभरि आफू र आफ्ना सन्तानको जीउ न्यानो पार्न र राति सुत्नका लागि पराल ओछ्याउनुभएको छ भने ओढ्नका लागि जुटका ठूलाठूला बोरामा पराल कोचेर राख्नुभएको छ । उहाँका कुनै छोराछोरीका जीउमा पनि पूरा लत्ताकपडा छैन । घरभित्रैबाट चिसाले काँप्दै सीताले रुँदै भन्नुभयो, “हजुर हमरा सबल केऊ नै अबैछै, मैर रहलछी लेकिन केकरो कोनो फिकिर नै है ।” (हजुर हामीकहाँ कोही आउँदैनन् । जाडाले मरिरहेछौँ तर पनि कसैलाई कुनै मतलब छैन) उहाँले आफू तीन वर्षदेखि चिसो, वर्षा र घामको सामना गर्दै सोही झुप्रामा दिन बिताउन बाध्य रहेको बताउनुभयो । “ठूलो परिवार भएकाले खानपानकै जोहो त गर्न सकिँदैन भने लुगाफाटा र ओढ्ने ओछ्याउने कहाँबाट ल्याउनू ?”, उहाँले थप पीडा पोख्नुभयो ।
उहाँ र उहाँका सन्तान पनि सञ्चारकर्मीलाई देखेर असहनीय चिसाको बेला आफ्नो बस्तीमा कुनै कुरा बाँड्न आएका व्यक्ति सम्झेर माग्न थाल्छन् । त्यहीँ नजिकै चार वर्षदेखि दमरोगकी शिकार अनरियादेवी सदा झोत्रो कम्बल ओढेर काँप्दै हुनुहुन्थ्यो । उहाँले आफूलाई पति र छोराछोरीले समेत राम्ररी हेरचाह नगरेको भनी सहारा माग्नुभयो । उहाँले भन्नुभयोे, “हजुर मलाई पनि आफूसँगै लग्नुस्, नत्र यहाँ केही दिनमै मर्छु । मलाई बिरामीले धेरै च्यापिसकेको भए पनि मेरो उपचार न त पतिले गराउँछन् न छोराछोरीले नै मलाई माया गर्छन्, उहाँले आफूलाई चिसो मौसमको दुश्मन दम रोगबाट मुक्ति दिलाइदिन पनि आग्रह गर्दै भन्नुभयो । उहाँले तातो र पोषिलो खानाको अभावसँगै आफू दुई÷दुई दिनसम्म भोकभोकै पनि रहने गरेको दुखेसो गर्नुभयो ।
उहाँजस्तै सोही ठाउँ बस्ने ४५ वर्षीया कोशिला सदा दुई सातादेखि राति सुत्न पाउनुभएको छैन । उहाँले भन्नुभयो, “दिनभरि जसोतसो काटे पनि राति आगोकै सहाराले नै बाँच्दै आएको छु ।” दुई सातादेखिको चिसो स्याँठबाट बालबालिका र आफूलाई बचाउन रातभरि पातपतिङ्गरको घुर जलाएर सुत्नेगरेको बताउँदै उहाँले आगो बालेर सुत्दा जल्ने, पोल्ने डरले बालबालिकालाई सुताए पनि आफू खासै नसुत्ने गरेको सुनाउनुभयो ।
गरिबीका कारण खानपानकै जोरजाम पनि राम्ररी पूरा गर्न नसक्ने उहाँका पति दिनभरि मजदुरी गरेर कमाएको पैसामध्ये आधी मदिरामा उडाइदिने गर्छन् । आधी पैसाले जहानपरिवारका लागि खानेकुराको जोहो गर्नुपर्दा बालबालिकाले न्यानो लुगाफाटा र पोषिलो खानेकुरा पाएका छैनन् । यस वर्ष मात्रै नभएर वर्षौँदेखि आफूहरूले जाडो याममा यसैगरी समय काट्ने गरेको पाँच सन्तानकी आमा कोशिलाले बताउनुभयो । दिनमा घाम लागे खुशी हुने र साँझ ढल्दै गर्दै दुःखी भई रातभरि घुरमा आगो तापेर रात बिताउने उहाँको दिनचर्या बनिसकेको छ ।
बाक्लो हुस्सु र डम्म परेको कठ्याँग्रिदो जाडोकै बीच बस्ती नजिकै धान खेतमा धान बढार्दै गर्नुभएका ७२ वर्षीया भुटीदेवी सदाले पनि टाढैबाट कराउँदै आफ्नो पीडा सुनाउनुभयो, “हजुर, खान पाएकी छैन । घरमा अन्नपात छैन, जीउमा लुगा छैन, छानामाथि ओत छैन, यस्तोमा निष्ठुरी जाडोले ज्यानै लिन लागेको छ ।” “कहाँ जाऊँ, के गरूँ र कसरी बाँचूँ” भन्ने चिन्ताले पिरोलिनुभएका उहाँ घरी आगो ताप्ने र घरी धान बढार्दै हुनुहुन्थ्यो । उहाँले दैनिक रूपमा मजदुरी गरेपछि मात्रै घरमा खानपिनको व्यवस्था हुन्छ । एकदिन पनि मजदुरी नगरेमा सात बालबालिकासहित ११ जनाको परिवारका सबै सदस्य भोकभोकै बस्नुपर्ने उहाँको दुखेसो छ । “अहिले कठ्याँग्रिदो जाडोमा कहिले काम पाइन्छ भने कहिले कामै पाइँदैन । काम नपाइएमा परिवारजन भोकै बस्छन्, भुटीले थप्नुभयो, “हजुर कोही दाता छन् भने हामीलाई कम्तीमा एक महिनाका लागि राहत दिलाइदिनुस् । एक महिनामा जाडो हटेर गएपछि पुनः रोजगारी गरेर खान्छु तर अहिले रोजगारी गर्नू कि ज्यान जोगाउनू ?”
उहाँसँगै अर्को खेतमा एउटा हातै नभएको ११ वर्षीय बालक पनि धान बढार्दै थिए । किशन सदा नाम गरेका उक्त बालकले पनि जीउमा च्यातिएको आधा लुगा मात्रै लगाएका थिए । कठ्याङ्गिँ्रदै एउटै हातले धेरथोर धान बटुल्दै गरेका उनी पनि परैबाट भन्दै थिए, “हजुर, राहतमा मेरो पनि नाम लेखिदिनुस्, मैले पनि दुई दिनदेखि खान पाएको छैन । मेरो पनि घरमा आमा, तीन दिदीभाइ र मलगायत पाँच जना छौ तर कमाउने कोही नहुँदा एउटै हातले भए पनि काम गरेपछि मात्रै खान पाउँछु ।”
त्यही बस्तीभित्रै सानो खरको झुप्रोभित्रै पराल ओछ्याएरै दुईमहिने बालकलाई झुत्रो लुगामा बेरेर सुताइएको छ । उसको अभिभावक सिकिन्दर सदा भन्दै हुनुहुन्थ्यो, “हजुर आफैँ त कठिनसँग जाडो सहन सकिरहेको छु तर यत्रो सानो बच्चालाई कसरी जोगाउनू ? डर हुन्छ कहीँ केही नराम्रो नभइहालोस् । घरमा चारैतिरबाट हावा पस्छ । जाडाले मुटु नै हल्लाउँछ । यस्तोमा ओढ्ने, ओछ्याउने नहुँदा मनै रोएर आउँछ । कसैगरी कतैबाट पनि राहत दिलाइदिनुस् ।”
सो बस्तीका ललित, सरोज, वकिल, जोगिया, दिनेश, कृष्णा, सुरेन्द्र, रामस्नेही, सुमिन्त्रादेवी, पवित्रीदेवी, विदेही, मनतोरियादेवी सदासहित १०० परिवार मुसहरको अवस्था त्यस्तै छ । जुनसुकै व्यक्तिका घरमा जाँदा पनि सबैको उस्तै पीडा देखिन्छ । अभावैअभावमा जीवन काटिरहेका उनीहरूको अवस्था बढ्दो चिसोसँगै चिन्ताजनक हुँदै गएको छ । चिसो छल्न समयमै उनीहरूलाई न्यानो लुगाफाटा र पोषिलो खानेकुरासहितको राहतको व्यवस्था गरिएन भने बस्तीमा मानवीय क्षति हुन बेर नलाग्ने बस्तीका अगुवा रजिन्द्र सदाले बताउनुभयो । रासस

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *