भर्खरै :

आँगनमा पाइने दुई बहुपयोगी जडिबुटी

तितेपाती – आँगनमै औषधि तर अपहेलित
तितेपातीको गुणको बारेमा भन्दा केही वास्ता नगर्नेलाई म जब तितेपातीको तेल लिटरको ‘रु.१५००० मा बिक्री हुन्छ’ भन्छु, अनि सबै जना चासो राख्न थाल्छन् ।
तितेपातीबाट निकालेको तेल र अन्य तत्व अकुप्रेसर र चाइनिज औषधिको विधिमा प्रयोग हुने भएकाले यो नेपालबाट जापान पठाइन्छ ।
गाउँघर र वरिपरि हुने तितेपातीको वास्तविक रूपमा प्रयोग अझ पनि हामीले गर्न सकेका छैनौँ । ‘नजिकको तिर्थ हेला’ भनेझैँ वरिपरि भएका वस्तुको मूल्य हामीलाई छैन ।
तराईकी ४० वर्षीया गङ्गा श्रेष्ठ नाम गरेकी एउटी महिलालाई योनीबाट सेतो पानी बग्ने, चिलाउने जस्ता समस्या थिए । अनेक आधुनिक औषधिले ठिक नभएर उनले हजुरआमाको सिकाइअनुसार तितेपाती उमालेको पानीले धोइन् त्यसपछि उनका सबै समस्या हटेर गए ।
त्यसपछि गङ्गाले यसको महत्व बारेमा आफूजस्तै समस्या भएका २ महिलालाई सिकाइन् ।
घुँडा दुख्ने समस्या भएकी मेरो साथी अपर्णा भट्ट पेशाले नर्स हुन् । उनले भनेकी थिइन्, ‘म तितेपाती उमालेर त्यसको बाफले घुँडामा सेक्छु । कहिले तितेपाती उमालेपछि सुतीको कपडा त्यो पानीमा भिजाएर घुँडामा राख्छु । राती सुत्दा तातो कपडाले घुँडामा हलुका तरिकाले बाँधेर सुत्छु र यसले मलाई धेरै फाइदा गरेको छ, उनले खुसी हुँदै आफ्नो अनुभव साटिन् । उनको अनुभव मैले पनि प्रयोग गरेकी छु । चौधरी थरकी एक महिला स्वास्थ्य स्वयसेविकाले तराईमा मलाई तितेपातीको प्रयोगले के कस्ता समस्याको समाधान हुन्छ भनेर सुनाएकी थिइन् । उनको कुरा सुनेर पहिले विश्वास लागेको थिएन । तर पछि गाउघरमा जाँदा अरू पनि केही स्वास्थ्य स्वयंसेविका र त्यहाँका महिलाले तितेपाती प्रयोगबाट महिलाको प्रजनन अङ्गमा समस्या हुँदा निको पारेको अनुभव बाँडेका थिए ।
त्यसपछि मैले तितेपातीका बारेमा थप अध्ययन अनुसन्धान गर्न थालेँ । अध्ययनबाट थाहा भयो – तितेपाती त सङ्क्रमण रोक्न र घाउ खटिरा निको पार्ने अचुक औषधि रहेछ ।
सुरूमा ती चौधरी दिदीले ‘यो औषधी हो’ भन्दा मैले नाक खुम्च्याएको थिएँ । तर, मलाई पछिमात्र थाहा भयो तितेपातीको त चिकित्सा महत्व बोकेको वनस्पतिमध्ये एक रहेछ ।
अहिले तितेपाती प्रयोग म पनि गर्छु । गाउँघरमा जाँदा धेरै महिला स्वास्थ्य कार्यकर्ता र महिला स्वास्थ्य स्वयंसेविकालाई पनि यसको महत्वबारे बुझाउन थालेकी छु ।
म तितेपातीको रसलाई विभिन्न देशमा र गाउँघरतिर जाँदा सँगै लैजान्छु । छाला चलाए, घाउ भएमा यसको प्रयोग गर्छु । काठमाडौँदेखि रसुवा, अछामका विभिन्न ठाउँमा मैले तितेपातीको रसको बारेमा स्वास्थकर्मीलाईसमेत भनेकी छु ।
तितेपातीलाई सुकाएर पोलेर त्यसको धुवाँले लामखुट्टे नआउने भएकाले कतिपय ठाउँमा यसको प्रयोग गरिन्छ । तितेपातीको रस निकालेर घाउमा लाउनाले पनि फाइदा हुन्छ ।
परम्परागत औषधि र आधुनिक विज्ञानः निमको गुण बुझ्ने कि ?
मैले भारतीय वैज्ञानिक डा. वन्दना शिवाबाट यससम्बन्धी धेरै ज्ञान हासिल गर्ने अवसर पाएको थिएँ ।
तराईको घर, घर बाटोमा हुने निमको रूख औषधिको भण्डार हो, सौन्दर्य र स्वास्थ्य कायम राख्न एउटा वरदान हो ।
निमको तेलबाट विभिन्न औषधि बन्छन् । निमको बारेमा एउटा भनाइ छ, ‘जहाँ निमको रूख हुन्छ, त्यहाँ बिरामी भागिहाल्छ ।”
वास्तवमा यदि निमको प्रयोग गर्न जान्ने हो भने मानव शरीरमा आइपर्ने कतिपय समस्याबाट मुक्ति मिल्छ । त्यसैले अहिले निमको क्याप्सुल बनाएर बेचिन्छ ।
आधुनिक औषधिको सुरूवातभन्दा अघि महिला स्वास्थ्य उपचारको लागि परम्परागत औषधिहरूले निकै ठूलो भूमिका निर्वाह गरेका थिए । परम्परागत ज्ञानको प्रयोग गरी वनस्पतिलगायतका वस्तुबाट तयार गरिएको औषधिहरूको प्रयोगबाट स्वास्थ्य उपचार गरिन्थ्यो । आज पनि कतिपय अवस्थामा यस्तै परम्परागत ज्ञानको प्रयोगबाट औषधिहरू तयार गरी उपचार गरिन्छ । साथै यो परम्परागत ज्ञानलाई अध्ययन–अनुसन्धानबाट परिमार्जन गरेर विभिन्न उपचार पद्धतिको नामबाट संस्थागतरूपमा पनि स्वास्थ्य उपचार गरिँदै आएको छ ।
विगतमा परम्परागत ज्ञान र औषधिले जेनतेन धानिरहेको महिलाहरूको स्वास्थ्यमा आधुनिक औषधिको विकास भएपछि निकै राम्रो असर ग¥यो । तर परम्परागत ज्ञानमा आधारित औषधि उपचारको प्रभाव र भूमिका भने अझै सकिएको छैन । चिकित्सा क्षेत्रमा करिब ३४ वर्षको मेरो अनुभवको आधारमा भन्नुपर्दा महिला स्वास्थ्यका लागि आधुनिक औषधिको प्रयोगको साथै घरेलु औषधिको प्रयोगको भूमिका पनि निकै रहिरहेको छ ।
मैले औपचारिकरूपमा आधुनिक चिकित्सा पद्धतिको ज्ञान हासिल गरे तापनि गाउँघरमा बढी प्रयोग भइरहेको परम्परागत ज्ञानमा आधारित औषधि उपचारबारे पनि अध्ययन गर्ने र त्यो ज्ञानलाई विशेष गरी ग्रामीण क्षेत्रमा परिमार्जितरूपमा प्रयोगका लागि प्रोत्साहित गर्ने कार्यसमेत गर्दै आएको छु । यससम्बन्धी ज्ञान र अनुभवलाई मैले गाउँ र शहरका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाका साथै यस्तो सेवाको आवश्यकता पर्नेहरूलाई समेत बाँड्दै आएको छु । महिलाको प्रजनन् अङ्गको समस्या, जस्तो महिनावारी हुँदा गुप्ताङ्ग चिलाउने समस्या, सेतो पानी बग्ने आदि समस्यालाई पनि गाउँँघरका महिलाले निमको प्रयोगबाट समाधान हुन्छ ।
निमको पात पानीमा उमालेर मन तातो भएपछि बाटा वा चौडा मुख भएको भाँडोमा राखेर त्यस पानीमा बसेपछि गुप्ताङ्ग चिलाउने समस्याबाट केही आराम मिल्छ ।
धेरै पसिना निस्किएपछि कापामा चिलाएर घाउ हुँदा वा फोहोर पानीमा खेलेपछि बालबालिकाको जिउमा खटिरा आउँदा पनि निमको पात पिसेर लगाएपछि बिस्तारै सन्चो हुन्छ ।
आजभन्दा १० वर्षअघि जब स्वास्थ्यविज्ञ भएर म दक्षिण सुडान गएकी थिएँ। त्यहाँको राजधानी जुबामा पनि निमका ठूला ठूला रूख थिए । ‘निम त अहिले जताततै छ । तर, यसको औषधिको प्रयोग कसैले गर्दैन । गाउँमा बुढाबुढीले औलोबाट बच्न र छालाको रोग भएको बेला प्रयोग गर्छन् । तर नयाँ पुस्ताका मानिसलाई त यसको बारेमा थाहा छैन”, एकजना सुडानी नर्सले मसँग भनेकी थिइन्, “तर म त महिलालाई यसको प्रयोग कसरी गर्न सकिन्छ भनेर सिकाउँछु ।”
लेखकको फेसबुक पेजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *