भर्खरै :

युक्रेन सङ्कटमा नाटो र संरा अमेरिका

युक्रेनमा लडाइँ हुने जोखिमले रुस र पश्चिमा गठबन्धनलाई वार्तामा आउन बाध्य बनायो । वार्तामा पश्चिमा गठबन्धनबाट संरा अमेरिका, नाटो र युरोपको सुरक्षा र सहकार्य सङ्गठन सामेल छन् । संरा अमेरिका र रुसबीच भएको पछिल्लो सुरक्षा वार्ताले रुसमाथि कूटनीतिक दबाब बढाउन संरा अमेरिका न तयार छ न त्यसको लागि ऊ क्षमतावान नै छ भन्ने कुरा पुष्टि गरेको छ । तर, युक्रेनको अवस्थालाई ‘थाम्न’ दुई पक्ष (संरा अमेरिका र रुस) कुनै न कुनै सहमतिमा पुग्नुपर्ने देखियो । त्यसले रुससँग अलग बैठक आयोजना गरेको नाटोलाई केही असजिलो अवस्थामा पु¥यायो ।
पश्चिम र रुसबीचको मध्यावर्ती क्षेत्र युक्रेन रुस र पश्चिमबीचको भूराजनीतिक प्रतिस्पर्धामा निर्णायक क्षेत्र हो । युक्रेन पूर्व अथवा रुसको पक्ष लिए रुसको सुरक्षाको लागि त्यो नै प्रमुख भूराजनीतिक सुरक्षा आधार बन्छ । यदि युक्रेन पश्चिमको पक्षमा लागे त्यो रुसलाई दबाउन पश्चिमको लागि रणनीतिक महत्वको ठाउँ बन्छ । तसर्थ, युक्रेनको सङ्कट र त्यसको समाधानमा रुस र पश्चिमबीचको प्रतिस्पर्धा अन्तरनिहीत छ ।
बाइडेन सरकारले युरोपलाई सुरक्षा दिने सङ्केत देखाएको छ । त्यस्तै, रुस र संरा अमेरिकाबीचको प्रतिस्पर्धामा दुवै पक्षको ‘हानि कम गर्ने नियम’ बनाउन संरा अमेरिका रुससँग दुईपक्षीय रणनीतिक संवाद गरिरहेको छ । यस्तो समयमा संरा अमेरिकाले नाटो र युक्रेनलाई विशेषतः कृष्ण सागर (अर्को शब्दमा भन्दा नाटोको पूर्वी सीमा) मा रुसविरुद्ध नजिकबाट सहकार्य गर्न र रणनीतिक अवस्थालाई बलियो बनाउन उत्साहित गरिरहेको छ ।
संरा अमेरिकाको नेतृत्वमा युक्रेनको समस्या समाधान गर्नु भनेको रुसविरुद्ध नाटोलाई प्रयोग गर्नु हो । तर, यसो गर्नु कूटनीतिक संवाद गर्ने र आपसी हितलाई ध्यान दिने युरोपको सोचाइसँग आधारभूतरूपमा मेल खाँदैन । तसर्थ, युक्रेनको अवस्था तीव्रगतिमा सैनिक द्वन्द्वतिर धकेलिँदै छ ।
संरा अमेरिका–रुसबीचको पछिल्लो चरणको वार्तापछि नाटो र रुसबीच पनि अलगै बैठक भएको थियो । पछिल्लो बैठकमा खासै केही उल्लेखनीय प्रगति नभए पनि दुवै पक्षले आ–आफूले चाहेको कुरा हात पार्न सफल भए । नाटोसँग कुनै पनि समयमा सम्पर्क तोड्ने धम्की दिएर वार्तामा रुसले मोलमोलाइको उपयुक्त औजार हात पारेको छ । नाटोले पनि रुसप्रति आफ्नो कडा व्यवहारको परिणामस्वरूप वार्ता सम्भव भएको ठानेको छ । आफ्नो पेलाइको कारण रुस वार्तामा आउन बाध्य भएको नाटोले ठानेको छ । यसप्रकार युरोप र रुसबीचको सम्बन्ध तथा युरोपको सुरक्षामा अझै आफ्नो भूमिका भएको नाटोले पुस्टि गरेको छ ।
यद्यपि, सीमित ‘राजनीतिक उपलब्धि’ हासिल गरे पनि नाटोले तीतो वास्तविकतालाई भने स्वीकार्नुपर्छ ः रुस र संरा अमेरिकाले आपसमा कुराकानी गरेर युक्रेनको अवस्थालाई थाम्ने सङ्केत गरेको छ । त्यो अवस्थामा संरा अमेरिकाको लागि नाटोको मूल्य भने निकै ओरालो लाग्ने त होइन ? आगामी दिनमा हुने वार्तामा रुसले नाटोलाई युक्रेनसँग सहकार्य तोड्न र पूर्वतिर विस्तार हुन रोकिन जोड दिए युक्रेनप्रति आफ्नो ‘दायित्व’ देखाएर संरा अमेरिकासमक्ष नाटोले कसरी आफ्नो ‘मूल्य’ प्रमाणित गर्नसक्छ ?
नाटो र संरा अमेरिका दुवैले युक्रेनलाई आफ्नो साझेदार ठानेका छन् । तर, उनीहरूले युक्रेनलाई नाटोको सदस्यता दिएका छैनन् । सदस्यता नदिँदासम्म रुससँगको खेलमा उनीहरू (नाटो र संरा अमेरिका)को हात माथि रहनेछ । उनीहरूले युक्रेनलाई सैनिक हातहतियार दिएर र संयुक्त सैनिक अभ्यासमा सरिक बनाएर क्षेत्रीय अवस्थामा हलचल ल्याउने होइन, बरु रुससँगको खुला द्वन्द्व हुन नदिन ‘युक्रेनलाई नाटोको गैरसदस्य’को रूपमा प्रयोग गर्नसक्छ ।
तर, संरा अमेरिका र नाटोका यस्ता चलाखी पहिला पनि भोगिसकेको छ । तसर्थ, रणनीतिक प्रयोग हुनबाट जोगिन सैनिक तनावबीच युक्रेनसँगको सम्बन्ध प्रस्ट पार्न नाटोलाई रुसले घच्घच्याइरहेको छ । यदि नाटोले रुसबाट आएका रणनीतिक र कूटनीतिक प्रत्युत्तरलाई अहिले रोक्न नसके पूर्व र पश्चिम दुवै मोर्चामा रुसलाई निचोरेर हासिल गरेका सबै ‘उपलब्धि’ अर्थहीन हुनेछ ।
युक्रेन सङ्कट र संरा अमेरिका–रुसबीचको सम्बन्धले युरोपलाई असजिलो र चिन्तामा पारेको छ । आफ्नो नियति आफैले फैसला गर्न युरोपले रणनीतिक स्वायत्ततालाई वास्तवमै व्यवहारमा लागु गर्न जरुरी छ । युरोपले ‘युुरोपेली समस्याको युरोपेली समाधानमा नै जोड दिनुपर्छ ।’ अरूको भर पर्दा अरूकै प्रभाव पर्ने सम्भावना बढी हुन्छ ।
युक्रेनको समस्या समाधान गर्न युरोपले ‘नर्मेडी खाका’ (जर्मनी, फ्रान्स, रुस र युक्रेनबीच भएको बैठकमा तय भएको ढाँचा) मा आधारित भएर सम्बन्धित पक्षबीच विश्वासको वातावरण बनाउनुपर्छ । रुससँगको सम्बन्धको सन्दर्भमा वार्तामार्फत द्वन्द्वको अवस्था कम गर्न जरुरी छ । फ्रान्स र जर्मनीले पनि त्यही चाहेका छन् । दुईपक्षीय सम्बन्ध स्थायित्वको अवस्थासम्म प्रवद्र्धन गर्नुपर्छ । आफ्नै सुरक्षालाई पनि ध्यानमा राखी नाटोले संरा अमेरिका र युरोपबीचको द्विपक्षीय सम्बन्धको आधारमा संरा अमेरिकाको प्रभावलाई रोक्नुपर्छ । नाटोले संरा अमेरिकाको बुद्धिचालको गोटीमात्र बन्न छोड्नुपर्छ ।
लेखक चिनियाँ अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानअन्तर्गत युरोपेली अध्ययन विभागका निर्देशक हुनुहुन्छ ।
द ग्लोबल टाइम्सबाट नेपालीमा अनुदित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *