भर्खरै :

प्रजातन्त्र अहिले अधिकांश त कर्मकाण्ड सरह हो– २

के तपाईँलाई संरा अमेरिकी नेतृत्वको सेना बाहिरिएपछि अफगानिस्तान आतङ्कवादको सक्रिय किल्ला बन्ला भन्ने लाग्छ ? इस्लामिक स्टेट (आइएसआइएस) र अन्य आतङ्कवादी समूहहरूका गतिविधिहरूबारे के भन्नुहुन्छ ?
इस्लामिक स्टेट पहिले नै अफगानिस्तानमा पसेको छ र त्यहाँ आफ्नो आधार बनाएको छ । उनीहरू तालिबानको पक्षमा छैनन् । यथार्थमा उनीहरू तालिबानसँग लड्दै छन् । उनीहरू तालिबानले संरा अमेरिकासँग सम्झौता गर्न हुँदैन भन्दै छन् । अरबी विश्व र अफगानिस्तानमा आईएसआईएसको इतिहासले के भन्छ भने उनीहरूले कहिल्यै पनि साम्राज्यवाद वा त्यसका सहयोगीहरूलाई तारो बनाएका छैनन् । उनीहरू मुसलमान धर्मकै अन्य सम्प्रदाय वा इसाईजस्ता अल्पसङ्ख्यकहरूलाई तारो बनाउँछन् । उनीहरूले गरिरहेको यही हो । अफगानिस्तानमा उनीहरूले मोटामोटी तालिबानमाथि हमला गर्दै छन् । मैले सुनेअनुसार तालिबानले आईएसआईएसका नेता ओमर खोरासानीलाई पक्राउ गरे र उनलाई क्रुरतापूर्वक मारे । त्यसैको बदला लिन इस्लामिक स्टेटले विमानस्थलमा आक्रमण ग¥यो र पहिलोचोटि कुनै अमेरिकीको हत्या ग¥यो । मलाई लाग्छ, तालिबानले उनीहरूको सामना गर्नुपर्छ । यी इस्लामिक स्टेटका मान्छेहरू कसैगरी विपक्षी शक्ति बनेमा ठूलो दुर्भाग्य हुनेछ । तिनीहरूको पकड खासगरी अफगानिस्तानको पश्तुन क्षेत्रमा छ । तिनीहरू फैलिन सक्छन् र अवसरवादी सम्बन्धहरू बनाउन सक्छन् । यो अफगानिस्तानको लागि दुर्भाग्य हुनेछ । यसरी आईएसआईएस त्यहाँ छ, तर निश्चय नै शक्तिशाली छैन ।
कब्जाकारीहरूलाई हराउँदाको इतिहास
धेरैले सन् १९१९ मा अफगानिस्तानले महिलाहरूलाई मतदानको अधिकार दिएको कुरा बिर्सिन्छन् । त्यतिबेला बेलायतलगायत पश्चिमा देशहरूमा पनि त्यस्तो अधिकार दिइएको थिएन । केले अफगानिस्तानलाई अहिलेको दुर्भाग्यतिर धकेल्यो ?
अफगानिस्तानको बनोट बुझ्न हामीले कसरी यो कबिला सङ्घको रूपमा स्वतःस्फूर्त जन्मेको थियो भनी हेर्नुपर्छ । अफगानिस्तान नाउँको मुलुुक बनाउन धेरै थरी कबिलाहरू एकजुट भएका थिए । आफ्नो स्वाधीनतामा भाँजो हाल्न खोज्ने जोसुकैसित उनीहरू लडेका थिए । औरंगजेबले उनीहरूलाई पराधीन बनाउन खोज्दा अफगान कबिलाहरूले ठूलो युद्ध लडेका थिए । औरंगजेबले हिन्दू, मुसलमान र शिख जर्नेलहरूले नेतृत्व गरेको आफ्नो सेना पठाए । शिख र हिन्दू जर्नेलहरू जहिल्यै मुगल सेनाको महत्वपूर्ण अङ्ग थिए । अफगानहरूले प्रतिकार गरे र औरंगजेबको एउटा सेनालाई हराइदिए । अन्ततः ती मुगल सम्राटको पतनपछि अफगानहरू वर्चस्वशाली बने ।
भारतमा अङ्ग्रेज शासनकालभरि यो स्थिति कायम रह्यो र अङ्ग्रेजहरूले अफगानिस्तानसँग तीनवटा युद्ध लडे । पहिलो युद्धमा उनीहरू हारे । बेलायती साम्राज्यको लागि यो लज्जास्पद हार थियो । दोस्रो युद्धमा अफगानीहरूले माथ खाए । तैपनि, उनीहरूले तेस्रो युद्धमा अङ्ग्रेजहरूलाई हराए । पराजयको बदला लिन अङ्ग्रेज जनरल पोलकले काबुलको मध्ययुगीन पुरानो बजार ध्वस्त पार्ने आदेश दिए । त्यो कलाकृतिले सजिएको साह्रै सुन्दर नगरी थियो । जनतालाई दण्ड दिन उनीहरूले जेलाई माया गर्छन्, रुचाउँछन् र सम्मान गर्छन्, त्यसलाई ध्वस्त पारिन्छ । अफगानीहरूसँग बेलायतीहरूले अपनाएको रवैया जातीय सर्वोच्चताको सिद्धान्तमा आधारित थियो । त्यतिबेलाका सैन्य निर्देशनहरू हेर्ने हो भने यो कुरा स्पष्ट हुन्छ । विन्स्टन चर्चिलले पनि यस्ता निर्देशनहरू पठाएका थिए । रुडयार्ड किप्लिङका केही कविताहरूमा पनि त्यसको सङ्केत पाइन्छ ।
अफगानिस्तानसम्बन्धी मेरो पछिल्लो पुस्तकको लागि मैले थप अनुसन्धान गरेको थिएँ । मैले पन्जाबका गभर्नरलाई एक वरिष्ठ बेलायती राजका कर्मचारीले पठाएको सन्देश भेटेँ । त्यसमा अफगानीहरूलाई बर्बर भनिएको छ । अफगानीहरूमध्ये केही कुलीन बर्बरहरू हुनसक्ने लेखिएको भए पनि उनीहरूलाई बर्बर भनिएकै छ । अफगानिस्तान एक यस्तो देश हो जसले अति सुन्दर कविताहरू जन्माएको छ । खुशाल खट्टक १७ औँ शताब्दीका अफगानी कवि थिए । यो भेगमा मुगल सम्राटमाथि प्रहार गरेर अफगानीहरूको पक्षमा लेखिएका कविताहरू, पद्य कविता, प्रेम कविता, राजनीतिक कविता आदि जन्मेका थिए । यस भेगका जनतालाई ‘कुलीन बर्बरहरू’ भन्नुले पश्चिमा साम्राज्यमा वास्तविक इतिहास बुझ्नसक्ने क्षमता नभएको देखाउँछ ।
१९१७ को रुसी अक्टोबर क्रान्तिले विश्वभरि ठूलो प्रभाव पा¥यो । बोल्शेभिक सरकारका सुरुआती आज्ञप्तिहरू अचम्मका थिए । त्यसमा साम्राज्यवादले लुटपाट गरेका सम्पूर्ण उपनिवेशहरूलाई स्वतन्त्रता दिने कुरा थियो । खासगरी जारको साम्राज्यवादी दमनमुनि बाँच्न विवश सम्पूर्ण मुसलमानहरूलाई स्वतन्त्रता दिने कुरा थियो । बोल्शेभिक सरकारले जारी गरेको एउटा आज्ञप्ति अफगानिस्तानका शासक अमानुल्लाह खानकहाँ पुग्यो । उनी त्यसबाट प्रभावित भए । तिनताका खलिफाहरूलाई टर्कीका राष्ट्रवादीहरूले विस्थापित गरिसकेका थिएनन् । राष्ट्रवादीहरूले टर्कीको आधुनिकीकरण गरे र महिलाहरूलाई समान हक अधिकार दिए । लेनिन र मुस्तफा कमाल पाशा अतातुर्कले अफगानी कुलीनहरूमा ठूलो प्रभाव पारे । अमानुल्लाहले समर्थनमा सन्देश पठाए । अफगानिस्तानले १९१९ मा आफ्नो संविधान तयार गरे । त्यसमा महिलाहरूलाई पूर्ण समानता दिइएको थियो । यसलाई उनीहरूले साम्राज्यवादविरोधी कार्यको रूपमा हेरेका थिए ।
त्यसपछि अङ्ग्रेजहरूले अफगानिस्तानमा हस्तक्षेप गरे र अमानुल्लाहको सरकार ढलाइदिए । अमानुल्लाह र बेगम सोरायाविरुद्ध अभियान चलाइयो । यसको नेतृत्व प्रतिक्रियावादी कबिलाहरूले गरेका थिए । बेलायती साम्राज्यले तिनलाई हतियार र खर्च दिन्थ्यो । यो एकप्रकारले (अमेरिकी राष्ट्रपति) जिम्मी कार्टरले सन् १९७० र १९८० को दशकमा सोभियत सङ्घविरुद्ध जिहाद छेडेजस्तै थियो । त्यसैले अफगानिस्तानमा साम्राज्यवादी हस्तक्षेपको लामो इतिहास छ । मुगलदेखि बेलायती, रुसी र अहिले अमेरिकीहरू गरेर प्रत्येकचोटि उसले कब्जाकारीहरूलाई हराउन उनीहरू सफल भए । अझै पनि सर्वसुलभ शिक्षाको प्रबन्ध नभए पनि यस देशका जनताको ऐतिहासिक स्मृतिमा यो कुरा गहिरो गरी गडेको छ ।
सिन्चियाङको बाटो
के पश्चिमा शक्तिहरू वा खासगरी संरा अमेरिकाले यी सबैबाट कुनै पाठ सिक्ला ?
तारिकः   अहँ । तिनीहरूले विगतमा भोगेका धक्का र पराजयबाट कहिल्यै कुनै पाठ सिकेका छैनन् । अर्को साम्राज्यले तिनलाई चुनौती दिने बेलामात्र तिनीहरूले सिक्छन् । संरा अमेरिका चीनलाई भित्रैदेखि सताउने र हुँडल्ने बौलाहा अभियानमा अघि सरेको छ । ताइवानको विकल्प तिनीहरूको लागि चित्तबुझ्दो छैन । हङकङको बाटो पनि धेरैथोरै बन्द भएको छ । संरा अमेरिकासँग बचेको एउटै बाटो उइगुरहरूलाई हतियार दिएर सिनचियाङमा छोड्नु हो । मैले सुने अनुसार संरा अमेरिकाको तर्फबाट टर्की सरकारले हजारौँ मान्छेलाई आफ्नो देशमा तालिम र हातहतियार दिएको छ । टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले तीमध्ये केहीलाई यस भेगका आफ्ना शत्रुहरू, खासगरी सिरियाविरुद्ध युद्धमा प्रयोग गरिरहेका छन् । संरा अमेरिकाले टर्कीमाथि विश्वास गरेसँगै अहिले टर्की एउटा महत्वपूर्ण खेलाडी बनेको छ । तर आफ्ना सीमित स्वार्थहरूको प्रतिरक्षा गर्न उसले कहिलेकाहीँ संरा अमेरिकाको विरोध पनि गर्छ ।
संरा अमेरिकाले यसलाई चिनियाँहरूविरुद्ध सिन्चियाङमा प्रयोग ग¥यो भने उसले जित्नेछ भन्ने थाहा पाएर गर्ने छैन बरु चिनियाँहरूलाई अन्य झमेलामा फसाउन त्यसो गर्नेछ । यस कार्यले अमेरिकीहरूले नचिताएको वा चिताउन नसकेको परिस्थिति ल्याउन सक्छ । यो जोखिमपूर्ण दुस्साहस हो । त्यसैले, आफ्नो देशका अल्पसङ्ख्यकहरूप्रति चिनियाँ नीतिहरू अन्य वामपन्थीहरूले सिक्नै नसक्ने खालका छन् भन्नेमा म एकदम सचेत छु । चिनियाँहरूले एकदम कठोर र केन्द्रीकृत राज्य निर्माण गरेका छन् । चिनियाँहरूले अरूले सघाउन नसक्ने कामहरू गर्छन् भन्नेमा शङ्का छैन । तैपनि, सिन्चियाङमा भइरहेका गतिविधिलाई जातीय सफायाको रूपमा चित्रण गर्न थाल्दा त्यसले मलाई गम्भीर बनाउने गर्छ । मेरो विचारमा त्यसरी हेर्नु गलत हो । यिनताका कुनै देशले पश्चिमाहरूले नरुचाउने केही गरेमा त्यसलाई जातीय सफाया भनी चित्रित गरिन्छ र त्यसलाई सम्भाव्य सैन्य हस्तक्षेप र आक्रमणसँग प्राय: जोड्ने गरिन्छ । विश्वका विभिन्न भागमा यहुदी, आर्मेनियाली, रुवान्डाबासी आदिको जातीय सफाया भएको छ । तर पनि यी तीनवटा वास्तविक जातीय सफायामा पश्चिमले सर्वसाधारणको सुरक्षा गर्न सिन्को भाँचेन ।
स–साना हत्याकाण्डको कुनै पनि हालतमा बचाउ गर्न सकिन्न । तर तिनलाई जातीय सफायाको रूपमा चित्रण गर्नुको एउटै अर्थ लाग्छ । त्यसैले संरा अमेरिकाले अफगानिस्तानबाट कुनै पाठ सिक्ने छाँट छैन ।
१९७५ पछि संरा अमेरिकी व्यवस्थामा ठूलो चोट लाग्यो किनभने उसको आफ्नै सेना भई गएका जनता भियतनाममाथिको अमेरिकी कब्जामा विमति जनाउँदै थिए । हजारौँ सैनिक र सेनानीहरूले पेन्टागनसामु प्रदर्शन गरे र हो चि मिन्ह र राष्ट्रिय मुक्ति सङ्गठनले जित्ने आशा लिएको उद्घोष गरे । आफ्नै साम्राज्यवादी सेनाभित्र त्यस्तो भएपछि त्यसलाई झट्का त दिने नै भयो । त्यसपछि पछाडि बसेर घोत्लिनुबाहेक अर्को उपाय रहेन । तर, अर्को हस्तक्षेप थाल्न तिनीहरूलाई ढिलो गरेनन् । सन् १९७० को दशकको अन्त्यतिर निकारागुआको शासनमा अस्थिरता ल्याउन रोनाल्ड रेगनले कोन्ट्राहरू जन्माए । त्यसको ४–५ वर्षपछि दक्षिण अमेरिका र संसारका केही अन्य भागमा यो आम व्यापार बन्यो । भियतनाममा १९७५ को पराजय भयङ्कर थियो । अफगानिस्तानको पराजयलाई तिनीहरू धक्का हो भनी स्वीकार्छन् तर एउटा ठूलो साम्राज्यले यस्ता धक्का खानु स्वाभाविक हो पनि भन्छन् ।
अन्य देशमा सत्ता परिवर्तनको लागि संरा अमेरिकी प्रयासको विरोध गर्ने हो भने पनि संसारका धेरै भूभागमा तानाशाही एउटा जल्दोबल्दो यथार्थ हो भनी स्वीकार्नैपर्ने हुन्छ । यी स्थानहरूमा कसरी प्रजातान्त्रिक परिवर्तन आउला ? वर्तमान विश्व परिदृश्यबारे तपाईँको बुझाइ के हो ?
तारिकः कुनै देशमा त्यहाँका जनताले मात्र वास्तविक परिवर्तन ल्याउन सक्छन् । बाह्य शक्तिले त्यसो गरेमा त्यसले कहिल्यै काम गर्दैन । यो एकदम सोझो सत्य हो । के युद्धपछि इराकमा स्वतन्त्रता र प्रजातन्त्र छ ? छैन । इराकमा झन्डै १५ लाख जनता मारिए । के अमेरिकी हस्तक्षेपले सिरियामा स्वतन्त्रता र प्रजातन्त्र आयो ? आएन र कहिल्यै आउनेछैन । के लिबियामा मुअमार गद्दाफीको पतनले प्रजातन्त्र फस्टायो ? फस्टाएन । तिनीहरूले अलाबामामा दशकौँ पैसा कमाइरहेका लिबियाली व्यापारीलाई ल्याए । तिनले उनलाई प्रधानमन्त्री बनाए । उनी लामो समय टिक्न सकेनन् । तथ्य के हो भने उनी कति छोटो समयसम्म कुर्सीमा रहे भने थोरै लिबियालीलाई मात्र उनको नाम याद होला । यसको सट्टामा तिनीहरूले लिबियालीहरूलाई आपसमा भिडिरहने र मारकाट गरिरहने तीनवटा जिहादी गिरोहहरू दिए । अमेरिकी नीतिले अरबी देशहरूलाई तहसनहस पार्ने देखिन्छ । तिनीहरूले अरब विश्वमा थोपरेको विध्वंश पहिलो विश्वयुद्धपछि संसारमा भएको सबैभन्दा ठूलो परिवर्तन हो । अरब विश्व अटोमन साम्राज्यबाट छुट्टिएको हुनाले त्यसलाई विभिन्न स–साना राज्यमा टुक्राइएको छ । पहिले बेलायतीहरूले र पछि संरा अमेरिकाले टुक्र्याएका हुन् । अहिले तिनीहरूले संसारै ध्वस्त पार्दै छन् ।
आफ्ना जनतालाई सम्मान नगर्ने सम्भ्रान्तहरूको नेतृत्वमा रहेको भ्रष्ट र पुँजीवादी सत्तालाई तलैदेखि चलाइने आन्दोलनहरूले मात्र पाखा लगाउन सकिन्छ । दक्षिण अमेरिकामा त्यही भइरहेको छ । तर, तिनीहरूलाई लगातार संरा अमेरिकाको डर हुन्छ । वामपन्थी र प्रगतिशील शक्तिहरूलाई दबाउने साम्राज्यवादी प्रयासहरूले पूरै काम गर्न सकेको छैन । पेरुमा एक शिक्षकले राष्ट्रपति चुनावमा जित्नु यसको सङ्केत हो । कुमार्फत ते मोरालेसलाई पन्छाउने अमेरिका पक्षधर शक्तिहरू बोलिभियामा २०२० को चुनावमा पराजित हुनु राम्रो उदाहरण हो । बोलिभियालीहरूले हाम्रो नेतालाई हटाएर निर्वासनमा पठाए पनि हामी उनीबिना पनि जित्न सक्छौँ किनभने हामीले बलिया संस्थानहरू बनाएका छौँ भने ।
एसियामा चीन छ र मैले यसबारे बताइसकेँ । दक्षिण एसियामा भारत छ । प्राविधिक रूपमा संविधानतः भारत एक प्रजातन्त्र हो । भारतको वर्तमान सरकारले पहिले त्यस देशलाई शासन गरिरहेको गान्धी–नेहरू समझदारीबाट एकदम हटेर परिवर्तन ल्याउन आफ्नै विचारधारा प्रयोग गर्दै छ । त्यसैले प्रम नरेन्द्र मोदीले कस्तो शैली भित्र्याएका छन् भने उनको पार्टीको विरोध गर्नेहरू पनि उनीसामु झुक्दै छन् । यी पार्टीहरूले आफ्नै राजनीतिक संरचना कायम गर्नसक्छन्, तर तिनीहरूको भाषा, बोल्ने शैली र विचार प्रचार गर्ने तरिका आदिमा झन्झन् एकरूपता आउँदै छ । मेरो विचारमा भारतमा सक्रिय दुई प्रमुख विपक्षी पार्टीमध्ये काङ्ग्रेस पार्टी अहिले मजाक (ठट्टा) बनिसकेको छ । उसबाट झिनो भए पनि परिवर्तनको आस गर्नु हास्यास्पद हो । ऊ सत्ताको लडाइँ लड्दै छ । अर्कोतिर भारतमा वामपन्थी शक्ति इतिहासकै कमजोर स्थितिमा पुगेको छ । सोभियत सङ्घको पतनसँगै इटाली र फ्रान्सको भीडमा आधारित कम्युनिस्ट पार्टीहरूको पनि पतन भयो । भारतमा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) को स्थिति त्यस्तो रहेन । उसले केरला, पश्चिम बङ्गाल, त्रिपुरा र देशका अन्य भागहरूमा पकड कायम राखिरह्यो । धेरै बुद्धिजीवीहरू अझै पनि भाकपा (माक्र्सवादी) मा आबद्ध छन् । तर, बङ्गालबाट पूर्णतः उखेलिनुले यो पार्टीको भावी अवासन हुने सङ्केत दिन्छ । यो तथ्यबाट भाग्न सकिन्न । प्रश्न के हो भने वास्तवमै आन्दोलनको खाँचो परेका बहुसङ्ख्यक जनतालाई अगाडि बढाउन केही गर्न सकिन्छ कि ? यो हेर्न बाँकी छ ।
कोरियाली प्रायः द्वीपमा खासै परिवर्तन आउनेछैन । जापान अझै पनि अमेरिकी दबदबा र नियन्त्रणमा छ । उसको आफ्नै विदेश नीति छैन र भित्रीरूपमा उसको राजनीति विभिन्न पार्टीहरूमा छरिएका घरानियाँहरूको कब्जामा छ । जापानमा समाजवादी र कम्युनिस्टहरू बिरलै पाइन्छन् ।
दक्षिण अमेरिकामा जनआन्दोलनहरू र वामपन्थी सामाजिक प्रजातन्त्रको गठजोड उभारमा आयो । पुँजीलाई नियमन गर्नेबाहेक तिनीहरूले पुँजीलाई ठुलो चुनौती दिएनन् । पुँजीको प्रभुत्व चरमचुलीमा छ । यही प्रभुत्वले गर्दा यी देशहरूमा विपक्षीहरू पुँजीवादले बनाइदिएको कोक्राभित्र पाइन्छन् । जनताका वास्तविक समस्याहरू समाधान हुँदैनन् । यस्तैमा दुई ठुला घटना भए । पहिलो २००८ को सङ्कट वा वालस्ट्रीट सङ्कट आयो । त्यो पुँजीवादीहरूको लागि अलिकति भए पनि परिवर्तन ल्याउने अवसर थियो । यस्तै स्थितिमा दोस्रो विश्वयुद्धपछि केही सुधारहरू गरिएको थियो । तर, यसपालि तिनीहरूले केही गरेनन् । दोस्रो ठुलो घटना महामारी थियो । अचम्म छ, महामारीले नवउदारवादी व्यवस्थालाई अलिकति राज्यको हस्तक्षेपतिर धकेलेको छ । तर, यथास्थितिले जनताबीच आशा जन्माएन । तिनीहरू त्यसो गर्न चाहन्नन् किनभने जनता अति उत्साहित हुनेछन् र उनीहरूले अझ धेरै चाहनेछन् जुन तिनले दिन सक्दैनन् वा कार्यान्वयन गर्नसक्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *