भर्खरै :

छिचोल्नुपर्ने बाटो लामो छ

नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७२ वर्ष पुगेको छ । सात दशक लामो नेपालको कम्युनिस्ट आन्दोलनले धेरै थरी वैचारिक र सैद्धान्तिक सङ्घर्ष सामना गरेको छ । तीमध्ये कतिपय सङ्घर्ष अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र राजनीतिक घटनाको परिणामस्वरूप भएका थिए भने केही सङ्घर्ष नेपालकै राजनीतिक घटनाक्रम र सामाजिक–आर्थिक विकासक्रमसँग जोडिएका छन् । नेपालको कम्युनिस्ट आन्दोलनमा वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाको निम्ति प्रतिबद्ध सङ्घर्षभन्दा कम्युनिस्ट आन्दोलनप्रति जनताको लोकप्रियताको फाइदा उठाएर अथवा कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्न सत्ता राजनीति गर्ने गलत विचार बलियो देखियो । कम्युनिस्ट आन्दोलनभित्र घुसेका पुँजीवादी विचार र राजनीतिक दलले गर्ने गलत क्रियाकलापलाई राजनीतिक क्रान्तिको लामो अनुभव नभएको र पछौटे सांस्कृतिक आधार भएको नेपाली समाजले कम्युनिस्टको परिचयको रूपमा बुझे । त्यो बुझाइ सही होइन । आज एमाले र माओवादी केन्द्रले गरिरहेका काम कम्युनिस्टले गर्ने गतिविधि होइन । बरु पुँजीवादी दलले पालना गर्ने धर्म हो । राजनीतिक अनुभव, शिक्षित जनशक्ति र आलोचनात्मक सांस्कृतिक चेतनाको विकाससँगै जनताले उनीहरूका त्यस्ता गतिविधि कम्युनिस्ट पार्टीले गर्ने काम होइनन् अथवा ती दलहरू कम्युनिस्ट पार्टी नै होइनन् भन्ने वास्तविकता क्रमशः बोध गर्दै छन् ।
नेपालको कम्युनिस्ट आन्दोलनमा विगत ४८ वर्षदेखि नेपाल मजदुर किसान पार्टीले गर्दै आएको सैद्धान्तिक सङ्घर्षको परिणाम अहिले देखिँदै छ । व्यक्तिहत्याको गलत बीजबाट विकास भएको एमालेले २०४६ सालको परिवर्तनपछि ‘नेपाली क्रान्तिको मौलिक कार्यक्रम’ को रूपमा जबज अघि सार्दा नेपालका वामपन्थी र बुद्धिजीवीहरू मुखमा दही जमाएर बसेका थिए । एमालेको आलोचना गर्दा नेपाली क्रान्ति रोकिने जस्तो उनीहरूको मनोभाव थियो । नेमकिपाले जबजलाई हँसिया हथौडाको झन्डाले छोपेको बीपीकै विचार भनी खण्डन ग¥यो । खासमा त्यत्तिबेला जबजको खरो र यथार्थपरक खण्डन नहुँदाको परिणाम नेपालको कम्युनिस्ट आन्दोलनमा संशोधनवाद बलियो बन्दै गयो ।
२०४६ सालकै परिवर्तनपछि कम्युनिस्ट आन्दोलनकै एउटा धार भने सशस्त्र विद्रोहको नाममा अराजकतावादी दिशामा अघि बढ्यो । नेमकिपाले व्यक्तिहत्याको राजनीतिको विरोधमात्र गरेन, क्रान्तिको परिस्थिति नहुँदा गरिने क्रान्तिको आह्वान निरर्थक र बलिदानमा समाप्त हुने प्रस्ट मत राख्यो । चीनका क्रान्तिकारी नेता माओ त्सेतुङको नाम जोडेर गरिएको अराजकतावादी विद्रोहले माओको बदनाम मात्र गरेन बरु माओवादी विद्रोहले नेपाली राजनीतिमा भारतीय हस्तक्षेपको राजमार्ग नै खुला गरिदियो । क्रान्तिको जामा लगाएको माओवादी विद्रोह ट्रोजन हर्स सावित भयो । भारतीय एकाधिकार पुँजी र विस्तारवादले नेपाली क्रान्तिलाई कमजोर बनायो । माओवादी विद्रोहले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोरमात्र बनाएन, बरु बदनाम पनि ग¥यो ।
समयक्रमले नेमकिपाले उठान गरेका सैद्धान्तिक विमति चरणबद्ध पुष्टि हुँदै गयो । यसले नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाले प्रकाशस्तम्भको भूमिका खेलिरहेको वास्तविकता थप पुष्टि गरेको छ ।
नेमकिपाको ४८ औँ स्थापना दिवस मनाउँदै गर्दा नेपालको कम्युनिस्ट आन्दोलन र समग्र नेपालको राजनीतिमा नेमकिपाको उपादेयता अझ बढ्दै गएको छ । संरा अमेरिकी साम्राज्यवादले नेपाली भूमिलाई आफ्नो क्रिडास्थल बनाउन खोजिरहेको र आफूलाई कम्युनिस्ट दाबी गर्ने दलहरू यो प्रपञ्चको मतियार बनिरहेको बेला नेमकिपाको साम्राज्यवादविरोधी सङ्घर्षले नेपालको सार्वभौमिकता बलियोमात्र बनाएको छैन, नेपाली भूमिलाई साम्राज्यवादी थिचोमिचोको प्रतिकार सुरु भएको देखाएको छ । ४८ वर्ष लामो सङ्घर्षको इतिहास सरल पक्कै थिएन । ज्वारभाटासँगै जुझ्दै नेमकिपाले छिचोलेको यो कालखण्डले नेपाली श्रमिक जनताको सङ्घर्षको इतिहासमा पु¥याएको योगदान जनताले मूल्याङ्कन गरेकै छन् । यात्रा अझ लामो छ । सङ्घर्षका दिन अझ सकिएका छैनन् । छिचोल्नुपर्ने बाटो अझ लामो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *