भर्खरै :

‘धेरै ठुलो कुरा नगरेर सानो काम गरेर पनि जनताको सेवा गर्न सकिन्छ’

‘धेरै ठुलो कुरा नगरेर सानो काम गरेर पनि जनताको सेवा गर्न सकिन्छ’

भक्तपुर, ८ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) की जीवन साथी तथा नेपाल क्रान्तिकारी महिला सङ्घकी पूर्व केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानको चौथो स्मृति सभा सोमबार सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरूले नेतृ प्रधानको जीवन र योगदानबारे विभिन्न कोणबाट प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष नारायणमान बिजुक्छेँले जीवनको लामो अवधि निर्वासन, जेल र डेरामा बिताएको हुँदा घर पनि डेराजस्तो लाग्ने गरेको बताउनुभयो । पैसा कमाउने, ठुलो हुने, झिलिमिली खानेजस्ता ठुलो इच्छा–आकाङ्क्षा नराख्ने गरेकोमा शोभा प्रधानले घर सम्हाल्ने गरेको उहाँले स्मरण गर्नुभयो ।
सरकारले क्यान्सरको औषधिको व्यवस्था गर्न नसकेकैले शोभा प्रधानको चाँडै निधन भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “सरकारको स्वास्थ्य नीति राम्रो र औषधि उपचारको व्यवस्था भएको भए आधा मान्छे असमयमै मर्ने थिएनन् ।”
उहाँले नेता तथा कार्यकर्तालाई जनताको सक्दो सेवा गर्न जोड दिनुभयो । २०१५ सालमा भक्तपुरमा जम्मा एक जना इन्जिनियर भएकोमा आज घनत्वको हिसाबले भक्तपुरमा देशकै धेरै इन्जिनियर उत्पादन भएको उहाँले जिकिर गर्नुभयो । भक्तपुर नगरपालिकाले सञ्चालन गरेका अस्पताल र शिक्षालयले देशभरिकै गरिब जनताका छोराछोरीलाई सस्तो सेवा दिइरहेको उहाँले बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “क्रान्ति गर्न नसके पनि जनताको सेवा त ग¥यौँ । धेरै ठुलो कुरा नगरेर सानो काम गरेर पनि जनताको सेवा गर्न सकिन्छ ।”
स्मृति सभामा वाग्मती प्रदेशसभा सदस्य सृजना सैैँजूले नेतृ प्रधानले कार्यकर्ताहरूको राम्रो हेरविचार गर्ने गरेको स्मरण गर्नुभयो ।
नेतृ प्रधानले २०४५ सालको भक्तपुर काण्डमा सहेको यातना र योगदानलाई इतिहासले लेखाजोखा गरेको बताउनुभयो । उहाँलाई शैक्षिक आन्दोलन, महिला आन्दोलन र साक्षरता तथा स्वास्थ्य अभियन्ताको रूपमा बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा पोषणविद् डा. कान्ति श्रेष्ठले नेपालका रैथाने बोटबिरूवा र पकवानहरूमा पाइने पोषक तत्वबारे विस्तृत चर्चा गर्नुभयो । खाना आहारमात्र नभई औषधि पनि हुने भन्दै उहाँले हाम्रा पुर्खाको रैथाने ज्ञानमा लुकेको विज्ञानका विभिन्न पाटाबारे केलाउनुभयो ।
फ्याट्टी एसिड, एमिनो एसिड र फ्लेबोनोइड मिसाएको सन्तुलित आहार खानाले निरोगी बन्न सकिने उहाँको मूल सन्देश थियो ।
शिक्षक राजामान बिजुक्छेँले ‘शोभा भाउजू’ बारे विभिन्न सम्झनाहरू सुनाउनुभयो । ‘शोभा भाउजू’ घरबाहिर मात्र नभएर घरमा पनि सफल बुहारी बन्नुभएको चर्चा गर्दै उहाँले भन्नुभयो, “उहाँले देश र जनताको सेवा गर्ने ‘दाइ’ को आदर्श अनुरूप जीवनयापन गर्नुभएको थियो ।”
भक्तपुर काण्डको बेला ‘शोभा भाउजू’ ले समाजका सबै यातना सहनुभएको र कहिल्यै चित्त नदुखाउनुभएको उहाँले स्मरण गर्नुभयो ।
नर्सिङ समाजकी अध्यक्ष देविका दनेखुले मानसिक रूपमा सशक्त हुनाले नै नेतृ शोभा प्रधानले दुईपल्ट क्यान्सरको सामना गर्नुभएको बताउनुभयो ।
क्यान्सरको औषधिमा आज पनि देश पछाडि नै रहेको उहाँले गुनासो गर्नुभयो ।
मानसिक स्वास्थ्यसम्बन्धी चर्चा गर्दै उहाँले देशमा पुरूषभन्दा बढी महिलाहरू मानसिक रोगको सिकार भइरहेको तस्बिर उतार्नुभयो । उहाँले गाउँमा भन्दा बढी सहरमा, देशमा भन्दा बढी विदेशमा र धनीभन्दा बढी गरिब महिलाहरू बर्सेनि मानसिक रोगको सिकार हुने गरेको तथ्याङ्कहरू पेस गर्नुभयो ।
आयोजक समितिको तर्फबाट बोल्दै नेक्रामसङ्घका अध्यक्ष अनुराधा थापामगरले नेतृ प्रधानले आफ्नो युगको लागि मात्र नभई आउँदो युगका लागि पनि समर्पित जीवन बाँच्नुभएको विचार राख्नुभयो ।
एक महिला घरको चुलोचौकोमा मात्र सीमित नभई आमूल परिवर्तनका लागि सङ्घर्षशील हुन सक्ने एक उदाहरणको रूपमा नेतृ प्रधान सदा स्मरणीय रहने उहाँले बताउनुभयो ।
सभामा आयोजक समितिकी सदस्य पवित्रा शाहीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन गङ्गा वैद्यले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *