भर्खरै :

नियमित औषधि सेवनले निको हुन्छ छारे रोग

काठमाडौँ कपनकी १८ वर्षीया तङ्का रानालाई विगत ६ वर्षदेखि छारे रोग देखिएको छ । उहाँलाई १२ वर्षको उमेरदेखि नै छारे रोग देखिएको हो । उहाँलाई पूरै जिउ काम्ने र बेहोस हुने लक्षण रहेको छ । उहाँ भन्नुुहुन्छ, “छारे रोग देखिनै बित्तिकै चिकित्सकको सल्लाहमा औषधि सेवन गरेको हुँ  । नियमित औषधि सेवनले छारे रोग नियन्त्रणमा आएको छ ।” औषधि सेवनले रोग कम हुने उहाँको अनुभव छ ।
सुरुसुरुमा उहाँमा छारे रोगको लक्षण दिनहुँ हुने गर्दथ्यो । पछि औषधि सेवनले महिनामा सातदेखि आठ पटकसम्म शरीर काम्ने र ढल्ने लक्षण देखिएकोमा अहिले भने नियमित औषधि सेवनले लक्षण घटेर चारदेखि पाँच पटकमात्र हुने गरेको छ । उहाँ ढल्नुअघि कमजोर महसुस हुने, मांसपेसीले काम नगरेको हुने र काम्नेसँगै तथा त्यसको पाँचदेखि ६ मिनेटभित्रमा ढल्ने र बेहोस हुने गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “ढल्ने बेलामा टाउको दुख्ने र थाहा नहुने जस्ता समस्या हुन्छ । त्यसपछि म बेहोस हुन्छु र ढल्ने गर्दछु ।” उहाँलाई प्रायः बिहान उठ्ने बेला र साँझ सुत्ने बेला शरीर काम्ने गर्दछ । दिउँसो भने कहिलेकाहीँ मात्र शरीर काम्ने गरेको उहाँ बताउनुहुन्छ  । कपनकी राना एउटा उदाहरणमात्र हो । उहाँजस्ता हजारौँ छारे रोगी नेपालमा छन् ।
के हो छारे रोग र कसरी लाग्छ ?
महाराजगञ्जस्थित नेसनल न्युरो सेन्टरका उपनिर्देशक तथा वरिष्ठ न्युरोलोजिस्ट डा. सुमन भट्टराईले नेपालमा प्रति एक हजारमा ७.३ जनामा छारे रोगको समस्या देखिने गरेको बताउनुभयो । उहाँका अनुसार छारे रोग बालबालिकादेखि वृद्धवृद्धासम्म लाग्ने गरेको छ । कसैलाई जन्मिदा नै मानिसको मस्तिष्कमा अक्सिजन नपुगेर छारे रोग लाग्न सक्ने डा. भट्टराई बताउनुहुन्छ । मानिसको उमेर बढ्दै गएपछि प्यारालाइसिस, इन्सेफ्लाइटिस, मेनेन्जाइटिस जस्ता समस्याले गर्दा पनि छारे रोग देखिने गरेको उहाँले प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “छारे रोग ५० प्रतिशतमा कारण खुल्ने हुन्छन् । तर, ५० प्रतिशत भने कारण नदेखिने खालको हुन्छ । नुन, क्याल्सियम र सुगरको मात्रा कम भए पनि छारे रोग देखिने गर्दछ ।” छारे रोग मानिसको मस्तिष्कमा आउने कुनै पनि अस्वाभाविक विद्युतीय तरङ्ग हो । त्यसले मस्तिष्कको भागलाई अनियन्त्रित गर्दछ । त्यस्तो बेला मानिसको सचेतना र अरू गतिविधि अस्वाभाविक देखिने उहाँ बताउनुहुन्छ ।
छारे रोगका लक्षण
चिकित्सकका अनुसार नेपालमा देखिने जनरललाज्ड टोनिकक्रोनिक छारे रोग हो । यस्तो प्रकारको रोगमा मानिसको सबै भाग काप्ने गर्दछ । यो छारेका सुरुमा मानिस एक्कासि बेहोस हुने, हात खुट्टा काम्ने, कहिले खुम्चने र कहिले खुल्ने, हातखुट्टाको झट्का दिने र शरीर कम्पन्न हुने गर्दछ । साथै शरीरको एकै भागमा मात्र पनि छारे देखिन सक्छ जसलाई फोकल इपिलेप्सी भनिन्छ । यस्तै मानिसमा जिब्रो टोक्ने, मुखमा फिँज आउने, आँखा सेतो भाग पल्टिएको, दिसापिसाब आएको लक्षण पनि हुने गर्दछ ।
छारे रोग भएका मानिसमा जटिलता केही नभएमा एकदेखि पाँच मिनेटभित्रमा होस आउन सक्दछ । बिरामी होसमा आए पनि टाउको दुख्ने, वाकवाकी लाग्ने, केही बिर्सिए जस्तो हुने (के हो के हो), निद्रा लागेको जस्तो हुने र केही समय १० देखि १५ मिनेटभित्रमा सामान्य अवस्थामा आउने गर्दछ ।
छारे रोगका बिरामी बेहोस भएर लड्नुभन्दा अगाडि छोटो समयका लागि इन्द्रेणी देखिएको, शरीरमा विद्युतीय तरङ्ग आएको महसुस गर्ने र पेटमा केही असहज महसुस हुनेजस्तो पनि समस्या आउने पाटनस्थित मानसिक अस्पतालका मानसिक रोग विशेषज्ञ डा. वासुदेव कार्की बताउनुहुन्छ । छारे रोग जुनसुकै ठाउँमा हुनसक्ने भएकोले दुर्घटनासमेत निम्तिन सक्ने उहाँले प्रस्ट पार्नुभयो ।
लामो समयमम्म उपचार नगरेर छारे रोगले दुर्घटना निम्त्याउन सक्छ । डा. कार्कीले भन्नुभयो, “यसले मानिसमा मनोसामाजिक, बौद्धिक र व्यक्तित्वमा पनि समस्या ल्याउँछ, छारे रोग दीर्घ प्रकृतिको स्यानुसँग सम्बन्धित स्वास्थ्य समस्या भएको र उपचार नगर्दा यसले अरू जटिलता ल्याउनसक्ने भएकोले समयमा नै उपचार गर्नुपर्दछ ।”
मधुमेहको जटिलता, मिर्गौलाका बिरामी, कलेजोका बिरामी, टाउकोमा चोटपटक लागेका, ट्युमर (मासु पलाएको), दिमागमा सङ्क्रमणजस्ता बिरामीलाई छारे रोग देखिने सम्भावना बढी हुने डा. कार्कीको भनाइ छ । छारे रोगको उपचार यस्ता रोगलाई छुट्टयाएर गर्नुपर्दछ ।
नियमित औषधि सेवनबाट नियन्त्रणमा हुन्छ
छारे रोग नियमित औषधिको सेवनबाट निको पार्न सकिन्छ । डा. कार्कीका अनुसार छारे रोगको लक्षण देखिनासाथ औषधि खाएपछि यो रोग निको हुन्छ । उहाँले लक्षण नदेखिएको तीनदेखि पाँच वर्षसम्म औषधि नियमित खाँदा निको हुने बताउनुभयो । गर्भावस्था, सुत्केरी र स्तनपान गराइरहेका महिलाले चिकित्सकको सल्लाहमा नियमित स्वास्थ्य जाँच गरेरमात्र औषधि सेवन गर्नुपर्दछ । नवजात शिशुमा हुने जन्मजात ओठतालु फाट्ने जस्तो समस्या आउने गर्दछ । छारे रोग मानिसमा हुने तनाव, रक्सी सेवन, अनावश्यक औषधिको परिवर्तन, धूमपान, हार्मोन परिवर्तनले गर्दा बढ्दो रूपमा रहेको छ ।
यद्यपि, सबै काम्ने बिरामी छारे रोगका बिरामी नहुने न्युरोलोजिष्ट डा. भट्टराईले प्रस्ट पार्नुभयो । डा. भट्टराईले भन्नुभयो, “निद्रामा हातखुट्टा झस्किने, सुतेको बेला तर्सने, कसैको मुख चलाइरहने बानी जस्ता समस्या छारे नहुन पनि सक्छ । मनको तनावले पनि छारे रोगजस्तै लक्षण देखिन सक्छ ।”
बर्सेनि बढ्दै छारे रोग
हरेक वर्ष नेपालमा छारे रोगको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । विगत पाँच वर्षको तथ्याङ्कले छारे रोगका बिरामीको सङख्यामा वृद्धि हुँदै गएको देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्कअनुसार नेपालमा छारे रोगको सङ्ख्या पनि बढिरहेको हो ।
प्रणालीका तथ्याङ्क अधिकृत पुष्प श्रेष्ठले आर्थिक वर्ष २०७७÷७८ मा २४ हजार ५३२ जनामा छारे रोग लागेको पुष्टि गर्नुभयो । यसअघि आव २०७३÷७४ मा १५ हजार ६४७ जनामा मात्र छारेरोग पुष्टि भएको थियो । श्रेष्ठका अनुसार आव २०७४÷७५ मा १८ हजार ३८८, आव २०७५÷७६ मा १९ हजार ६४४ र आव २०७६÷७७ मा २१ हजार १६४ जनामा छारे रोग देखिएको छ ।
सबैभन्दा बढी बाग्मती प्रदेशमा
स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्कअनुसार आव २०७७÷७८ मा बाग्मती प्रदेशमा सबैभन्दा बढी छारे रोगका बिरामी पाइएका छन् । तथ्याङ्कअनुसार बाग्मती प्रदेशमा १० हजार ८३४ छारे रोगका बिरामी रहेको पाइएको थियो । बाग्मतीपछि लुम्बिनीमा तीन हजार ७४७, प्रदेश नंं १ मा तीन हजार ५८५, गण्डकी प्रदेशमा दुई हजार ५५०, मधेश प्रदेशबाट दुई हजार १७, सुदूरपश्चिम प्रदेशमा एक हजार १४९ र कर्णाली प्रदेशमा ६५० जना रहेका छन् ।
यस्तै पाँच वर्ष अगाडि २०७३÷७४ प्रदेश नंं १ मा एक हजार ६३२, मधेश प्रदेशमा ३१० जना, बाग्मती प्रदेशमा सात हजार ३०१ जना, गण्डकी प्रदेशमा दुुई हजार ४२४, लुम्बिनी प्रदेशमा दुई हजार ८५९, कर्णाली प्रदेशमा ३६६ र सुदूरपश्चिम प्रदेशमा ७५५ जना छारे रोगका बिरामी रहेका थिए । जिल्लाअनुसार सबैभन्दा बढी सहरी क्षेत्रका जिल्लामा छारे रोग देखिएको छ ।
तथ्याङ्कअनुसार मोरङमा दुई हजार ८९६ छारे रोगी देखिएका थिए । यस्तै मधेश प्रदेशको पर्सामा एक हजार ९२२, बाग्मतीको काठमाडौँमा ६ हजार ९९७, गण्डकीको कास्कीमा एक हजार ३९०, लुम्बिनी प्रदेशको रूपन्देहीमा दुई हजार ५४, कर्णाली प्रदेशको सुर्खेतमा २२७ र सूदूरपश्चिम प्रदेशको कैलालीमा ४९१ जनामा छारे रोग देखिएको छ ।
पाँच वर्ष अगाडि आव २०७३÷७४ को तथ्याङ्क हेर्दा प्रदेश नंं १ को सबैभन्दा बढी मोरङमा एक हजार २३०, मधेस प्रदेशको पर्सामा २१५, बाग्मती प्रदेशको काठमाडौँमा तीन हजार ८९१, गण्डकी प्रदेशको कास्कीमा एक हजार ४५०, लुम्बिनी प्रदेशको पाल्पामा एक हजार २८५, कर्णाली प्रदेशको पश्चिम रुकुममा १४८ र सूदूरपश्चिम प्रदेशको अछाममा २८५ छारे रोगका बिरामी रहेको उल्लेख छ ।
निःशुल्क औषधि
छारे रोगका बिरामीलाई सरकारले २०७४ सालदेखि नियमितरूपमा औषधि निःशुल्क प्रदान गर्ने गरेको छ । सबै स्थानीय तहबाट नै सरकारले नियमित निःशुल्क औषधि दिँदै आएको छ । छारेरोगका बारेमा अझै पनि समाजमा अन्धविश्वास कायम रहेको मनोचिकित्सक डा. कार्की बताउनुहुन्छ ।
उहाँले समाजमा रहेको भ्रम, अन्धविश्वास र गलत धारणालाई चिर्न आवश्यक रहेको छ । अझ पनि छारे रोग लागेपछि धामी, झाँक्रीकहाँ देखाउने जस्ता अन्धविश्वास रहेको पाइन्छ । पाटनमा दैनिक पाँचदेखि १० जना बिरामी आउने गर्दछन् । बच्चामा जन्मजात, अलि ठूला भए सङ्क्रमण र ज्येष्ठ नागरिकलाई क्यान्सर, मधुमेहजस्ता कारणले छारे रोग लाग्ने गर्दछन ।
७० प्रतिशत नियन्त्रण
छारे रोग ७० प्रतिशत बिरामीलाई समयमा नै उपचार गरेर नियन्त्रण हुने गर्दछ । छारे रोग नियमित सेवन अथवा कुनैको शल्यक्रिया गरेर पनि नियन्त्रण गर्न सकिने नेसनल न्युरोसेन्टरका निर्देशक तथा वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजङग थापाले बताउनुभयो । उहाँले केही बालबालिकामा देखिने छारे रोग भने पाँचदेखि १५ वर्ष उमेर समूहमा आफै हराउने पनि बताउनुभयो ।
बच्चामा छारे रोग निको हुने सम्भावना बढी हुने उहाँको भनाइ छ । उहाँले छारे रोग धेरै पटक दोहरिएर ३० देखि ४० प्रतिशत मानिसमा ज्यान जाने खतरा रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “छारे रोगले सीधैँ मुटुलाई असर गर्दछ । मुखमा फिज आउने गर्नाले श्वास नली रोकिन्छ, त्यसैले मानिसको ज्यान जाने सम्भावना पनि हुन्छ ।”
त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. सरोज ओझाले छारे रोग नेपालमा मात्र नभएर संसारमा नै स्वास्थ्य समस्याको रूपमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो वंशाणुगत कारण र दिमागमा चोट लागेपछि देखिन्छ । दिमागमा जुकाको अण्डा पुग्यो भने पनि यो रोग लाग्ने गर्दछ ।” उहाँले छारे रोग नसर्ने रोग भएकोले नियमित तीनदेखि पाँच वर्षसम्म औषधि खायो भने निको हुने उहाँ बताउनुहुन्छ ।
छारेप्रतिको धारणा परिवर्तन गर्न आवश्यक
छारे रोगप्रतिको धारणा समाजमा परिवर्तन गर्न आवश्यक रहेको डा. थापा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “छारे रोगका कारणले ढल्यो भने मानिसले छुप बाल्ने, मोजा तथा जुत्ता सुगाउने जस्ता गर्दछन् । तर, त्यसो गर्नु गलत हो, मानिस ढलेको बेला उसलाई सहयोग गर्नुपर्दछ ।” अझै नेपाली समाजमा छारे रोग लागेका मानिसले अब जीवनमा केही पनि गर्न सक्दैनन् भन्ने मानसिकता छ । यद्यपि छारे नियन्त्रण भएका मानिसले अरूजस्तै सामान्य जीवन बिताउनसक्ने डा. थापा बताउनुहुन्छ ।
स्रोतः राष्ट्रिय समाचार संस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *