भर्खरै :

कक्षा सञ्चालनमा खेलाँची नगरौँ

ओमिक्रोन भेरियन्टको सङ्क्रमणले रोकिएको विद्यालयको पठनपाठन फागुन १ गतेबाट पुनः सुरु भएको छ । सुनसान कक्षा कोठाहरूबाट फेरि हो–हल्ला सुनिन थालेको छ । निर्जन बनेका खेल मैदानहरूमा फेरि पुतलीजस्ता नानीहरू दौडादौड गर्न थालेका छन् । शिक्षक–शिक्षिकाहरू ल्यापटप र मोबाइलअघि बस्नुको सट्टा रेजिस्टर र मार्कर बोकेर कक्षा कोठामा जान थालेका छन् ।
कोभिड–१९ महामारी फैलिएसँगै संसारभरका विद्यालयले जस्तै नेपालका विद्यालयहरूले पनि अनलाइन माध्यमबाट पठनपाठन चलाए । तर, दुई वर्षको अनुभवले अनलाइन माध्यमको पढाइ अपेक्षित प्रभावकारी नभएको देखिएको छ । यतिबेला विद्यालय विद्यालयमा १२ देखि १७ वर्ष उमेरका किशोरकिशोरीलाई खोप लगाइँदै छ । आशा गरौँ, कोरोना महामारीको नयाँ लहरले फेरि पनि विद्यालयहरू बन्द हुने समय नआओस् ।
स्वाभाविक हिसाबले कक्षा सञ्चालन नहुँदा निर्धारित पाठ्यक्रमअनुसारको पढाइ पूरा हुनसकेको छैन । त्यसकारण, शैक्षिक सत्रको अन्तिम परीक्षा कहिले लिने भन्ने विषयमा यतिबेला केही अलमल देखिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले चैत मसान्तसम्म पढाइ सञ्चालन गर्ने, वैशाखमा परीक्षा लिने र नतिजा प्रकाशन गरेर जेठ महिनाबाट मात्र नयाँ शैक्षिक वर्ष सुरु गर्ने बताएका छन् । वैशाख महिनामा स्थानीय तहको निर्वाचन तय भइसकेको अवस्थामा उनको यो प्रस्ताव कति सम्भव हुने हो, छलफलकै विषय हुनसक्छ । तर, शैक्षिक वर्ष सकाउने दौडमा विद्यार्थीले तोकिएको कक्षामा सिक्नुपर्ने न्यूनतम कुरा पनि नसिकी परीक्षा सञ्चालन गर्ने हतारो गर्नु ठीक हुनेछैन ।
विद्यालय तहको पढाइ कोही पनि व्यक्ति जीवनको यात्राको जग हो । जग बलियो भए घर बलियो हुन्छ । तर, घर बनाउने हतारोमा जग कमजोर बनाउनु ठीक होइन । अनलाइन कक्षामा पढाइएका विषय भौतिक कक्षामा पुनः दोहो¥याउनुपरेको अधिकांश शिक्षक–शिक्षिकाहरूको अनुभव छ । पछिल्लो विद्यालय बन्दको कारण छुटेको पाठलाई पनि पुनः पढाउनुपर्ने हुनाले शैक्षिक वर्ष अझ लम्बिने सम्भावना छ ।
सरकारले देशभर अनलाइन कक्षा सञ्चालन गर्न सूचना जारी गरे पनि सरकारी क्षेत्रकै धेरै विद्यालयमा कक्षा सञ्चालन भएको छैन । विशेषतः विपन्न सर्वसाधारणका छोराछोरी पढ्ने सरकारी विद्यालयमा अनलाइन कक्षाको प्रभावकारिता अझ घटेको छ । कक्षा सञ्चालन भएको अवस्थामा पनि अधिकांश विद्यार्थीले उपकरणको अभावले नियमित अनलाइन कक्षामा बस्न सकेका छैनन् । ती विद्यार्थीहरूको सिकाइ स्तर न्यून हुनु स्वाभाविक हो । त्यस्ता विद्यार्थीको सिकाइ तह कम्तीमा न्यूनतम रेखासम्म पु¥याउन पनि भौतिक कक्षामा कतिपय पाठ र विषय दोहो¥याउने वा विशेष कक्षा सञ्चालन गर्नुपर्छ । अथवा नयाँ कक्षामा कम्तीमा केही साता अघिल्लो कक्षाका अत्यावश्यक विषयलाई समायोजन गर्ने विषयमा शिक्षाविद् र नीति निर्माताहरूले ध्यान दिन जरुरी छ ।
शैक्षिक सत्र सकाउने र नयाँ शैक्षिक सत्र सुरु गर्ने ध्याउन्नामा विद्यार्थीले निश्चित तहमा सिकिसक्नुपर्ने न्यूनतम ज्ञानबाट वञ्चित गर्नु उपयुक्त हुन्न । त्यसको निम्ति प्रत्येक विद्यालयले नै अनुकूलतामा विशेष वा अतिरिक्त कक्षाहरू सञ्चालन गर्नुपर्छ ।
विद्यालय तहको पढाइमा गर्ने खेलाँचीले दीर्घकालीन दुष्प्रभाव पार्छ । कोभिडको कारण एउटै पुस्ताको शिक्षा नै कमजोर बनाउने गल्ती गर्नुले देशको भविष्यमा लामो छाया पार्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *