भर्खरै :

ज्ञानी, सुसंस्कृत र सभ्य नागरिक बन्न संस्कृत शिक्षा

ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमही धियो यो नः प्रचोदयात् ।
यो हिन्दूहरूको प्रसिद्ध गायत्री मन्त्र हो । यजुर्वेदमा उल्लिखित यस मन्त्रको शाब्दिक र विस्तृत अर्थ हुन्छ :हे सर्वरक्षक परमात्मन् ! प्राणहरूका पनि प्राण, सबैका प्राणस्वरूप, अपानस्वरूप, दुःखलाई हटाउनेवाला, सुखस्वरूप, सबैलाई सुख दिनेवाला, सकल जगत्को उत्पत्तिकर्ता, सूर्य आदि लोकलोकान्तरहरूलाई पनि प्रकाशित गर्नेवाला, ऐश्वर्यले परिपूर्ण, दिव्य गुणहरूले युक्त हजुरको सर्वश्रेष्ठ ग्रहण गर्न योग्य त्यो ज्ञानरूपी तेज, जसले सम्पूर्ण क्लेश–वासनाहरू तथा अविद्यारूपी अन्धकारलाई भष्म गर्न सक्छ, त्यस्तो शुद्ध तेजलाई हामी सबै धारण गरौँ, प्राप्त गरौँ । हे प्रभु ! हजुर हामीलाई यस्तो ज्ञान प्रदान गर्नुहोस्, जसले हाम्रो बुद्धिलाई सदा कर्तव्य, न्याय तथा धर्मको मार्गमा हिँड्न प्रेरित गरिरहोस् ।
सङ्क्षिप्तमा भन्नुपर्दा, “सृष्टिकर्ता प्रकाशमान परमात्माको प्रसिद्ध तेजको हामी ध्यान गर्छौं । ती परमात्मा हाम्रो बुद्धिलाई असल मार्गतिर लाग्न प्रेरित गरून् ।”
यो गायत्री मन्त्रलाई अत्यन्त शक्तिशाली मानिन्छ । यसको साधनाद्वारा आत्माको शुद्ध रूप प्रकट हुने र अनेक ऋद्धिसिद्धि उपलब्ध हुने बताइन्छ । यतिमात्र होइन, गायत्री साधनाबाट सांसारिक एवं आत्मिक आनन्द प्राप्त हुने विश्वास पनि गरिन्छ । जानकारहरूका अनुसार, गायत्री मन्त्रको अक्षर नै यस्तो विचित्र र रहस्यमय छ कि यसको उच्चारण मात्रले पनि जिभ्रो, घाँटी र तालुमा भएका नाडी र तन्तुहरू सक्रिय हुन थाल्छन् । भनिन्छ, यसको नियमित जपबाट गोप्य शक्तिकेन्द्रको जागरण भई साधकलाई असाधारण लाभ मिल्छ ।
नभन्दै, यो मन्त्रप्रतिको विश्वास र प्रभाव गाउँघरतिर कतिसम्म थियो भने, मानिस वा चौपाया बिरामी भए भने अशिक्षित नै भए पनि र शुद्ध पढ्नै नजान्ने भए पनि कोही ब्रामह्णलाई बोलाई गायत्री मन्त्रको प्रयोगद्वारा फुक्न लाइन्थ्यो । त्यो अवस्थामा, ‘गायत्री मन्त्र जान्ने हामीमात्र भएकोले बिरामीलाई फुकेकै भरमा निको पार्न सक्ने दैवी शक्ति पनि हामीमा मात्र छ’ भन्ने घमण्ड पनि कतिपय ब्राह्मणमा थियो । बिरामी मानिस वा चौपाया समय पुगेर आफैँ ठीक भए पनि त्यसको जसचाहिँ फुक्ने बाहुन र गायत्री मन्त्रलाई दिइन्थ्यो । रात साँझ कतै हिँड्दा भूतप्रेतादिको भयबाट मुक्त हुनका लागि पनि यही मन्त्रको प्रयोग गरिन्थ्यो । कसै कसैले, भूतप्रेत देखेको बेलामा यही मन्त्र जपेर अक्षता हानेपछि त्यो बेपत्ता भएको गफ पनि लगाउँथे । आजकल पनि गाउँसहरका धेरै मानिसमा यसप्रकारको विश्वास छँदै छ ।
पहाडी जिल्लाबाट उपत्यकामा बसाइँ आएका एकजना साक्षर र बेरोजगार तर हाउभाउ भने मनग्गे भएका मेरा एकजना ब्राह्मणसाथी भन्थे, “राम्ररी पढ्न नजान्ने भएको हुँदा पुरेत्याइँ गर्दा मलाई जजमानहरूले त्यति पत्याएनन् । त्यसैले, ‘म त बिरामी भएकालाई फुक्छु पनि ¤’ भनेर हल्ला फिँजाएको थिएँ, बिरामी भएका बालबच्चाहरू लिएर तिनका आमाहरू धमाधम आउन थाले । मैले जानेको त्यही गायत्री मन्त्रद्वारा फुक्न थालेपछि धेरैजना ठीक भए । आजकल त यतातिर सबैको विश्वासिलो बिजुवा कहलिएको छु ।” यसरी यो मन्त्र कसैको कमाइखाने भाँडो पनि भएको देखियो ।
यद्यपि, यसप्रकारको ‘अपूर्व शक्तिशाली’ मानिएको गायत्री मन्त्र केही वर्षअघिसम्म अति गोप्य थियो । ब्राह्मण/क्षेत्री नै भए पनि उक्त जातका महिला वर्गलाई यो मन्त्रमात्रै होइन, वेदका कुनै पनि मन्त्र जप्न पाउने शास्त्रीय अधिकार छैन । शक्तिशाली नहोऊन् भनेर नै त होला, अन्य जातकाले त झन् यो मन्त्र उच्चारणसमेत गर्न नपाउने शास्त्रीय मत छ । त्यसैले यसलाई आजकल पनि गुरु पुरोहितहरूले क्षेत्री ब्राह्मण बालकहरूको ब्रतबन्ध गराइदिएको बेलामा मात्र कानमा खुसुक्क भनिदिने गरेकै छन् ।
कुनै देवकार्य वा पितृकार्य गर्ने क्रममा बेलाबेलामा गायत्री मन्त्र जप्ने र सभ्य/अपसभ्य हुने ठाउँ आउँछ ! जजमान तागाधारी (जनै लाउने) भए त त्यो काम, जनै यताउता सारेर हुने भयो । जजमान मतवाली छ भने त्यस्तो बेलामा पुरेतले गायत्री मन्त्र जप्नुपर्ने ठाउँमा ‘हरि ! हरि !’ वा ‘नारायण ! नारायण !’ भन्न लगाउने र जनैँ सारेर सभ्य÷अपसभ्य हुनुपर्ने ठाउँमा कपडाको धरो काँधमा राखी यताउता सार्न लगाउँछन् । अवस्था यस्तो भए पनि, पछिल्लो पटक कसले सार्वजनिक गर्ने आँट गरेर हो, यो मन्त्र आजकल सबैका मुखमुखमा र कानकानमा गुञ्जने गरेको छ । कतिपयका मोबाइलमा ‘रिङ टोन’ नै राखिने, युट्युबतिर जति पनि पाइने र मन्दिर, विद्यालय, वृद्धाश्रम, पसल, पानपसलतिर पनि सुनिने भएको हुँदा यो छोटो मन्त्र धेरैलाई कण्ठस्थ पनि भएको छ । त्यसैले अबका व्रतबन्धमा यसलाई पुरोहितले कागजमा लेखेर दिइराख्नुपर्ने आवश्यकता पनि रहेन । यसो कानमा भनिदिएर औपचारिकता पूरा गरे भएको छ ।
एकातिर हिन्दू शास्त्रमा ‘वसुदैव कुटुम्बकम्’ को विश्वव्यापी मान्यता पनि छ । अर्कोतिर कतिपय अवस्थामा फेरि, “कसैलाई बीउ दियो भने मासिन्छ । औषधि सिकाइदियो भने लाग्दैन,” भन्ने खालका पुरातन मान्यता पनि यहाँ रहेकै हुन् । यस्तै मान्यता रहेको हाम्रो समाजमा अस्तिसम्म पनि गायत्री मन्त्र पढ्यो/पढायो भने बहुलाइन्छ भनिन्थ्यो । तर, आज यो मन्त्र सार्वजनिक भएर दुनियाँले सुन्दा/पढ्दा कोही पनि बहुलाएका छैनन् । अहिले पो थाहा भयो– निषेधको यो मान्यता त ‘आफैँमात्र शक्तिशाली बनौँ’ भन्ने गलत, व्यक्तिवादी र झूट रहेछ नि ! उक्त मन्त्र जपेर कतिले शक्ति प्राप्त गरे र कतिले गर्दै छन्–त्यो भने आफ्नै ठाउँमा छ ।
अधिकार पाएर पनि आजकल धेरैले जनै लाउनचाहिँ छोडेका छन् । बिहानै उठेर स्नान र पाठपूजा गर्ने हिन्दू संस्कार पनि बिस्तारै हराएको छ । मन्त्राधिकारी कतिपय बाहुन÷पुरेतहरू नै धेरै कमाइने र पश्चिमी मुलुक घुम्न पाइने लोभमा फसेर धर्मै परिवर्तन गरी ‘पिटर’ र पास्टर बनेका छन् । खान निषेध गरिएका कुरा खाएर र कम्प्युटर/मोबाइलमा रमाएर बिहान सातआठबजेसम्म सुत्न रुचाउने यो पुस्ताले सबेरै उठेर गायत्री मन्त्र जप्ने लन्ठा पनि गर्ने भएन । केही निष्ठावान् पण्डित र जजमाने बाहुनले साँच्चिकै आस्थाले वा देखावटीका लागि भए पनि जनै लाउने र गायत्री मन्त्र जप्ने गरेको हुँदा मात्र, हामी हिन्दूहरूको ‘जनैगायत्री संस्कार’ थामिएको छ ।
अन्य देशका विश्वविद्यालयहरूमा ससम्मान संस्कृत भाषा पढाइन्छ । हाम्रो देशमा भने यसलाई हेला गरिएको छ । कुनै पनि वस्तुको महत्व नबुझ्दाको अवस्था यस्तै दुःखमय हुन्छ । यस लेखमा उल्लिखित गायत्री मन्त्र त एउटा अत्यन्त सानो उदाहरणमात्र हो । देवताको भाषा मानिएको संस्कृत पढ्न र जान्नमा चासो नगर्ने हो यसमा अथाहरूपमा रहेका अमूल्य ज्ञान र मानवोपयोगी जानकारी पाउनबाट हामी वञ्चित रहिरहनेछौँ । चासो गर्नेहरूमात्रै काले राईबाट डा. स्वामी प्रपन्नाचार्य बन्न सक्छन् । अन्यथा, पुराण लगाएको ठाउँमा गई किताब र पण्डितलाई भेटीपाती गरी ढोगेर एकदुई अध्याय पुराण सुनी ‘आज भने पुण्य कमाइयो’ भन्दै फर्कने क्रम रहिरहन्छ ।
‘संस्कृत’ को अर्थ, ‘संस्कार गरिएको वा शुद्ध पारिएको’ पनि हो । त्यसैले ज्ञानी, सुसंस्कृत र सभ्य नागरिक बन्न संस्कृत शिक्षाको आनन्ददायी ज्ञान लिनमा चासो राखौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *