भर्खरै :

साम्राज्यवादी र पुँजीपतिहरु जनताको जीवन–मरणको ख्याल गर्दैनन्

साम्राज्यवादी र पुँजीपतिहरू व्यापक जनतालाई दुःख कष्ट दिन्छन्, देश–देश र जनता–जनता जुधाएर अरूलाई कमजोर पार्छन् र लामो समयसम्म आफ्नो प्रभुत्व कायम राख्ने चलखेल गरिरहन्छन् । तिनीहरू जनताको जीवन–मरणको कुनै ख्याल गर्दैनन् बरु पैसा कमाउन, राज गर्न र आतङ्क फैलाउन जे जे सम्भव छ त्यो त्यो सबै गर्छन् । साम्राज्यवादीहरू आफ्नो आस्था र विचारभन्दा फरकका देश, देशका नायक या सरकार प्रमुखहरूलाई धम्की दिन्छन्, आफ्नो नियन्त्रणमा राख्न खोज्छन् । त्यसका लागि साम्राज्यवादी देशहरूको पनि गठबन्धन हुन्छ, जसको उद्देश्य समाजवादी देश, वामपन्थी या प्रगतिशील देशको विकासमा बाधा हाल्नु हो, देश–देशबीच जुधाउनु हो, देशको आन्तरिक मामलामा हस्तक्षेप गर्ने र जनताबीच मनमुताव चर्काएर कमजोर बनाउने र उपद्रो गर्न दिने गर्छन् । त्यस्तै गठबन्धन स्थानीय तहको निर्वाचनमा आफ्नो विपक्षलाई हराउन मिल्नै नहुने दलसँग गरिएको थियो । एमालेले राजावादी राप्रपासँग र माओवादी केन्द्र तथा एकीकृत समाजवादीले नेकासँग गरेको गठबन्धन सिद्धान्तहीन गठबन्धन हो । अरू वाम, प्रजातान्त्रिक पक्षलाई हराउन गरिएको उक्त गठबन्धन प्रजातान्त्रिक पद्धतिविरुद्धको कदम हो ।
राष्ट्र र देशको स्वाधीनता रक्षा गर्न सकेमात्र व्यक्ति–व्यक्तिको स्वाधीनता रक्षा गर्नसक्छ । यदि कुनै देश विदेशी शक्ति राष्ट्रहरूको नियन्त्रणमा छ भने त्यो देशले चाहेर पनि विकास गर्नसक्दैन । नेपाल अहिले विदेशीहरूको जालमा फसेको छ । यसको दोषी एमसीसी सम्झौता पक्षधर सत्तासीन र ठूला दलहरू नै हुन् । देश र राष्ट्रको विकास या समृद्धि अरू देशको आर्थिक सहयोगबाट हुँदैन । हरेक देशका नागरिकमा सच्चा देशभक्तिको भावना चाहिन्छ । आफ्नो देश आफैले विकास गर्नुपर्छ भन्ने धारणा हुनुपर्छ । देश र जनताको पिर लिनु, देश र जनताप्रति समर्पित हुनु र देश र जनताको सेवा गर्नुपर्छ भन्ने भावना सरकार र सत्तासीन दलका नेताहरूमा हुनुपर्छ । आफ्नो देशको प्रगति वा अवनतिबारे कुनै चिन्ता नलिने खालि आफ्नो व्यक्तिगत र दलगत स्वार्थ हेर्ने सरकार र सत्तासीन दलहरूले जतिसुकै ठूला कुरा गरे पनि उनीहरूले देश र जनताको लागि केही गर्दैनन् । सत्तासीन दल र ठूला दलका नेताहरू मातृभूमि र जनताप्रति समर्पित छैनन् । देशभक्तिको भावना या विचारलाई व्यवहारमा लागु गर्दैन भने त्यो देखाउने दाँतमात्रै हुन्छ । देश र जनताको लागि गर्वपूर्वक, इज्जतपूर्वक, सुखपूर्वक बाँच्नु नै मानव जातिको सच्चा जीवन हो । यस काममा सरकार कति लागेको छ ? विचारणीय छ । हामीमा देशभक्ति भावना भएन भने विदेशी शक्ति राष्ट्रले जे गरे पनि सहनुपर्ने हुन्छ । अहिले नेपाल सरकार भारत र अमेरिकाको फन्दामा परेको छ । अमेरिका र भारतको उठबसमा चलेको लागेको नेपाल सरकारले कसरी विकास गर्छ ?
साम्राज्यवादी र पुँजीवादी देशहरूले राष्ट्र विभाजन गर्ने या देश टुक्राउने अनेक चेष्टा गरिरहेका हुन्छन् । संयुक्त राज्य अमेरिकाले दक्षिण कोरियामा कब्जा जमाइबसेको छ र आधा शताब्दीभन्दा बढी समयदेखि कोरियाली जनताले राष्ट्रिय विभाजनको पीडा भोग्दै छन् । त्यहाँको राष्ट्र विभाजन र भू–खण्ड विभाजनको कारण राष्ट्रको एकीकृत विकासमा अवरुद्ध भएको छ । कोरियाली जनता दुई कोरिया एक गर्ने पक्षमा छन् । तर, त्यसको बाधक अमेरिकी सरकार रहेको छ । यसरी, विदेशी शक्ति राष्ट्रकै कुरा सुनेर नेपालकै केही दलले नेपाललाई टुक्राउने या तराई अलग्ग गर्ने कोशिश नगरेका होइनन् । यसरी विदेशी शक्तिको कारणबाट देशको सार्वभौमिकतामा आँच पुगेको छ । तर, सत्तासीन दलका नेताहरू त्यसैलाई राम्रो कदम भनी तिनै विदेशी शक्ति राष्ट्रको गुणगान गर्छन् । यो देशभक्ति भावना होइन, यो विदेशपरस्त विचार हो । यसले देश समृद्धि र नेपाली सुखी हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *