भर्खरै :

विश्व प्रसिद्ध कथाकार इसप

“स्वभावैले सदा दुष्ट जो छन् मद्दत तीसित
नमाग लोकले भन्ला मूर्ख पामर कुत्सित” –इसप
इसपको जन्म इतिहासकारहरूका अनुसार ई.पू. ६२० मा ग्रीसमा भएको थियो ।
उनको जन्म एक दास परिवारमा भएको थियो । भोज र उत्सवहरूमा उनी कथा सुनाउने गर्दथे ।
इसप एउटा महान् कथा वाचक थिए । तर, उनी स्वयम्ले कथा लेखेनन् । यद्यपि, उनी प्रसिद्ध भए । उनले पुराना कथाहरू जम्मा गरेर तिनीहरूलाई लोकप्रिय बनाइदिए । दास भएका कारण उनले पढ्न लेख्ने कुरै भएन । त्यसकारण, उनी अपठित रहे । उनी पनि उनका बाबुसँगै किनबेच हुने गर्दथे । तापनि, उनी अत्यन्त चलाख भएका कारण दार्शनिक प्रकृतिका थिए ।
उनी जनावरहरूका कथा सुन्ने–सुनाउने गर्दथे । फ्याउरो, सिंह, मुसा, भँेडा, हात्ती, कुकुर, बाज, चमेरा, कोइली आदि मुख्य पात्र भएका विश्व प्रसिद्ध कथा इसपले नै सुनाउने गर्दथे ।
इसपको कथाको ख्याति ग्रीसका बादशाहको कानमा पनि पुग्यो । आखिर एक दिन बादशाहले इसपलाई इनाम दिन खोजे । तर, उनले भने, “धन्यवाद महाराज ¤ मलाई कुनै इनाम चाहिँदैन, मेरो लागि उचित इनाम यही हुनेछ कि मैले सुनाएका सबै कथा लेखेर एउटा पुस्तक बनाइयोस्, म यो संसारबाट गइसकेपछि पनि बालबालिकाहरूसँगै बस्न सकूँ । इसपको कुरा स्वीकारेर छिट्टै इसपको कथा भएको पुस्तक प्रकाशन गर्न लगाइयो र घर–घरमा सो पुस्तक पढ्न थालियो ।
उनका कथाहरू विश्वको धेरै भाषामा अनुदित भएका छन् । उनी शारीरिकरूपमा कुरूप थिए । तर, अत्यन्त चतुर र बुद्धिमान थिए । इसपको एउटा आँखा फुटेको थियो । दाँत भाँचिएको थियो । अनुहार यति नमिलेको थियो कि उनलाई देख्दा केटाकेटी डराएर भाग्थे ।
उनी बिहान चाँडै उठ्थे, घर सफा गर्थे । भाँडा सफा गर्थे । अर्थात्, सबै काम कुरा सकेर बेलुकीपख केटाकेटीलाई कथा सुनाउँथे । उनका कथाहरू सुनेर बच्चाहरू आनन्दित हुन्थे, हाँस्थे र रमाउँथे । पछि पछि त उनको कथा सुन्न भिड नै जम्मा हुन थाल्यो । उनी जनावरहरूलाई मिथक बनाएर रोचक शैलीमा कथा भन्थे । पशुपन्छीलाई विषय बनाएर कथा भन्ने इसप वास्तवमा दास होइन दार्शनिक थिए भन्ने धेरै विद्वानहरूको तर्क छ ।
इसप जब पहिलो मालिकबाट दोस्रो मालिकका घर गए त्यतिखेर उनको कथा भन्ने शैलीमा धेरै परिवर्तन आइसकेको थियो । दोस्रो मालिकले उनको विद्वताबाट प्रभावित भएर उनलाई दासत्वबाट मुक्त गरिदिए । त्यसबेलाको गणतन्त्रात्मक ग्रीसमा विभिन्न सभा समारोहमा आफ्नो रोचक कथाहरू भन्दाभन्दै उनी निकै चर्चित भए । उनको प्रसिद्धि सँगसँगै उनी थुप्रै देशविदेशमात्र घुमेनन् कि मान–सम्मान पनि प्राप्त गरे ।
कथाकुथुङ्ग्रीहरू भनेर स्रोताहरूलाई मख्ख पार्न सिपालु मानिने इसप बौद्धिक क्षमताका धनी थिए । जसले जे सोधे पनि चतुरतापूर्वक तत्काल जवाफ दिन्थे ।
भनिन्छ, उनको सबभन्दा ठूलो गुण नै उनको बोल्ने र प्रस्तुत गर्ने कला थियो ।
उनका कथाहरू उनको समयमा नलेखिए पनि श्रुति परम्पराअनुसार एक पुस्ताबाट अर्काे पुस्तामा सर्दै गए । उनका नीति कथाहरू नेपाल र भारतका चर्चित पञ्चतन्त्रका कथाहरूजस्तै लोकप्रिय छन् । इसपका थुप्रै कथाहरू छन् । त्यसमध्ये एउटा खेतालाकी छोरी टाउकोमाथि दूधको भाँडो बोकेर दूध बेच्न बजार गइरहेकी थिइन् । जब उनी बाटोमा थिई, आफूसँग भएको रूपैयाँ खर्च गर्ने योजनाहरू बनाउन थालिन् । उनले विचार गरिन् कि अब कुखुरीहरू किन्न दूध बेच्नेछु । कुखुरीहरूले फुल दिनेछन् ।
चल्लाहरू निकाल्न फुलहरू कोरल्ने छन् । बाख्राहरू किन्न म ती कुखुरीहरूलाई बेचिदिनेछु । ती बाख्राहरूले अझ बढी पाठापाठी दिनेछन् । तिनीहरू क्रमशः बढेर ठूलो हुनेछन् ।
म ती बाख्राहरूलाई गाई किन्न बेच्नेछु । सहरका युवकहरू मसँग विवाह गर्न आउने छन् । म तुरुन्तै कुनै प्रस्तावलाई स्वीकार गर्नेछैन । जब उनी ती प्रस्तावहरूमाथि विचार गरिरहेकी थिइन् तब उनी ढुङ्गामा ठेस लागिन् र दूध सबै भुइँमा पोखिन्छ ।
“अण्डाबाट चल्ला ननिस्कदै गन्नु हुँदैन ।” यस्ता कथाहरू भन्न सिपालु भएकै कारण इसपलाई स्वतन्त्र गरियो ।
इसपको मृत्यु कसरी भयो भन्ने सवालमा पनि विद्वानहरूमाझ विवाद छ ।
परम्परागत कथाअनुसार इसपमाथि एउटा मन्दिरबाट कचौरा चोरेको आरोप लगाइयो । उनले आफूलाई सुरक्षित राख्न गरुड र कीराको कथा भने । तर, यसपालि उनको कथाले मद्दत गर्न सकेन ।
अन्ततः उनलाई मृत्युदण्ड दियो भनिन्छ ।
फेरि अर्काे कथनअनुसार एकपटक डेल्फीमा त्यहाँका नागरिकहरूलाई पैसा बाँड्ने काम उनको जिम्मा हुँदा केही लोभी मानिस देखेर उनले मालिकलाई नै फर्काइदिए । यसबाट डेल्फीवासी रिसाएर उनीमाथि नानाभाँती आरोप लगाएर उनलाई ई.पू. ५६० मा मृत्युदण्ड दियो भनिन्छ । भनिन्छ, डेल्फीवासीले यसबाट ठूलो मूल्य चुकाउनुप¥यो ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published.