जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
नयाँ दिल्ली : भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) ले अग्निपथ योजनामार्फत भाजपा सरकारले ‘हिन्दु समाजलाई सैन्यकरण’ गर्ने विनायक दामोदर सावरकरको सपना पूरा गर्ने र प्रतिरक्षा सामग्रीको उत्पादनमा लागेका कर्पोरेटहरूको सेवा गर्ने लक्ष्य लिएको बताएको छ ।
भाकपा (मा) को मुखपत्र ‘पिपल्स डिमोक्रेसी’ को पछिल्लो सम्पादकीयमा भनिएको छ : “सैन्य भर्तीमा अग्निपथ योजना लागू गर्नाको गहिरो कारण छ । यसले सेना र समाजलाई खतरनाक बाटोमा धकेल्नेछ ।”
“अग्निपथ योजना भारतीय समाजको पुनः संरचना गर्ने र त्यसमा हिन्दुत्ववादी बिम्बलाई संस्थागत गर्ने व्यापक परियोजनाको एउटा अङ्ग हो । राज्यका अन्य निकायमा जस्तै हिन्दुत्ववादी शासकहरूले आफ्नो वैचारिक दृष्टिकोण अनुसार सेनाको पुनः संरचना गर्दै छन् ।”
“तथ्य के हो भने हतियारको तालिम पाएका हजारौँ सैनिकहरू बर्सेनि समाजमा थपिनेछन् । एक अर्थमा यसले हिन्दु समाजलाई सैन्यकरण गर्ने सावरकरको सपना पूरा गर्नेछ ।”
रक्षा समितिको प्रमुख पदमा नियुक्तिका लागि तोकिएको प्रक्रिया खुला गर्दा सेनाको उच्च नेतृत्वको राजनीतिकरण गर्ने ढोका खुलेको सम्पादकीयमा बताइएको छ ।
“‘अग्निवीरहरू’ लाई कसरी तालिम दिइन्छ भनी हेर्नुपर्नेछ किनभने राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत दोभालले दाबी गरेका छन् – ‘तपाईँले यी युवाहरूमा कानुनप्रति प्रतिबद्ध उत्कृष्ट नागरिकहरू पाउनुहुनेछ । तिनमा राष्ट्रिय भावना हुनेछ र तिनले राष्ट्रिय स्वार्थको रक्षा गर्नेछन् ।’ के तिनको दिमागमा हिन्दुत्ववादी राष्ट्रवाद भरिनेछ ?” सम्पादकीय प्रश्न गर्छ ।
भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) ले अग्निपथ योजनामा समर्थन जनाएकोमा कर्पोरेट जगतको पनि आलोचना गरेको छ र त्यसलाई ‘हिन्दुत्व–कर्पोरेट गठबन्धनको चलखेल’ भनेको छ ।
“कर्पोरेट जगतले जसरी यस योजनाको जयगान गरेको छ, लाग्छ सेना अब ठूला उद्योगहरूमा रोजगारी दिलाउने तालिम केन्द्र बन्दै छ । यद्यपि, हजारौँ पूर्वजवान र अवकाशप्राप्त अफिसरहरूलाई थाहा भएको कठोर वास्तविकता के हो भने पूर्वजवानहरूलाई कर्पोरेटहरूले काममा लिने सम्भावना क्षीण छ ।”
सम्पादकीय लेख्छ : “अग्निपथ योजनालाई कर्पोरेट जगतले समर्थन गर्नुको कारण अर्कै छ । निजी क्षेत्रले प्रतिरक्षा सामग्री उत्पादन गर्ने उद्योग खोल्ने भएपछि टाटा र महिन्द्राजस्ता ठूला औद्योगिक घरानाहरू रक्षा उद्योगहरूमा पस्दै छन् ।”
करारमा सैनिक बनाएर र सेनाबाट हटेका प्रशस्त सैनिकहरू उपलब्ध गराएर सेनालाई पुनः संरचना गरेको खण्डमा भविष्यमा कर्पोरेटहरू र हिन्दुत्ववादी शक्तिको स्वार्थपूर्ति हुने भाकपा (मा) ले दाबी पनि ग¥यो ।
“सेनाको पुनःसंरचना र प्रतिरक्षासँग सम्बन्धित उद्योगधन्दाको निजीकरणमा कर्पोरेटहरूका सहभागी भए हिन्दुत्ववादी शक्तिले सेनाबाट हटेका सैनिकहरूको पौलले आफ्नो कार्यकर्ता पङ्क्तिको आकार बढाउन सक्छ । नोकरी नपाएको र समाजमा प्रतिष्ठा गुमाएको सारा कुण्ठा ती सैनिकहरूले हिन्दुत्ववादी शक्तिमार्फत पोख्न सक्छन् ।”
“भाजपा कार्यालयको सुरक्षाका लागि कसैलाई खटाउनुपरे आफूले अग्निवीरहरूलाई खटाउने भाजपा नेता कैलाश विजयवर्गीयको विचारलाई अलि ठूलो परिप्रेक्ष्यमा राखेर सोचौँ । यस्तै प्राथमिकता बजरङ्गी दल र हिन्दुत्व ब्रिगेडको भर्तीमा पनि दिइनेछ ।” यो योजना भारतीय राज्यको महत्वपूर्ण संस्था सेनाविरुद्धको हिंसा हो र यसलाई खारेज गर्नुपर्छ – ‘पिपल्स डिमोक्रेसी’ को सम्पादकीय थप लेख्छ ।
द वायरबाट
Leave a Reply