भर्खरै :

का. प्रधानको निधनमा नेपाल क्रान्तिकारी महिला सङ्घको शोक वक्तव्य

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) की जीवनसङ्गिनी एवम् यस सङ्घका कोषाध्यक्ष शोभा प्रधानको असार ८ गते बुधबार उपचारको क्रममा अपरान्ह ३ः४५ बजे निधन भयो ।
विसं २०४० मा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँसँग उहाँको विवाह भएको थियो । २३ वर्षअघि २०५६ सालमा उहाँको स्तन क्यान्सरको शल्यक्रिया भएको थियो । विगत चार वर्षदेखि उहाँ पाठेघर क्यान्सरको शल्यक्रिया गरी उपचाररत हुनुहुन्थ्यो ।
कामरेड शोभाको जन्म विसं २०१७ पुस १४ गते बुधबारको दिन पिता श्यामलाल र माता नारायणदेवी प्रधानका ६ सन्तानमध्ये जेठो सन्तानको रूपमा रामेछाप जिल्लाको ठोसेमा भएको थियो । रामेछापको ठोसेबाट विद्यालय शिक्षा पूरा गरी ठोसेकै शारदा प्राविबाट शिक्षण सेवा आरम्भ गर्नुभएका उहाँले २०७७ पुस १३ गते भक्तपुरको वागीश्वरी माविबाट अनिवार्य अवकाश लिनुभएको थियो ।
अध्यक्ष बिजुक्छेँसँग विवाहपश्चात् उहाँको राजनीतिक यात्राको थालनी भयो । उहाँ अध्यक्ष बिजुक्छेँको भूमिगत राजनीतिक समयमा पनि पार्टीका गतिविधिहरूमा सक्रिय हुनुभयो । उहाँको विवाहको पाँच वर्षको अवधिमै नेमकिपाको समूल नष्ट गर्न पञ्चायती राज्यस्तरको षड्यन्त्र भयो । २०४५ साल भदौ ९ गतेको भक्तपुर काण्ड वा कालो दिनलाई पार्टीले प्रत्येक वर्ष निन्दा र भत्र्सना गर्दै आएको छ । पञ्चायती दमनको विरोधमा उहाँ धैर्य तथा साहसपूर्वक लड्नुभयो । चुलोचौकोमा सीमित महिलाहरूलाई सङ्घर्षशील बनाउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
पञ्चायती राज्यस्तरको त्यो षड्यन्त्र र बर्बर यातनालाई राजनीतिक मुक्ति आन्दोलनसँग जोडेर अगाडि बढाउने पार्टी निर्देशन र निर्णयलाई कार्यान्वयन गर्न उहाँ लागिपर्नुभयो । कामदार वर्गका महिलाहरूले वर्गसङ्घर्षबाटै मुक्ति प्राप्त हुने शिक्षा पाए । अशिक्षित महिलाहरूले रात्रि कक्षा र प्रौढ कक्षाहरूबाट कामदार वर्गका महिलाको समस्या र समाधानका उपायबारे पनि शिक्षित र दीक्षित हुने अवसर प्राप्त गरे । भक्तपुर काण्डअन्तर्गत पार्टी अध्यक्ष कामरेड बिजुक्छेँलगायत कतिपय कार्यकर्तालाई ज्यान मुद्दाको झूटो आरोपमा झन्डै २२ महिना थुनामा राखिँदा पार्टी कार्यकर्ता, समर्थक एवम् शुभचिन्तकहरूको आडभरोसाको रूपमा उहाँ उभिनुभयो । बहुदलीय व्यवस्था पुनःस्थापनापछि पार्टी र जनवर्गीय सङ्गठनको हरेकजसो कार्यक्रममा उहाँ सक्रिय सहभागी हुनुभयो र महिला कार्यकर्ताहरूलाई निरन्तर राजनीतिक गतिविधिमा लाग्न हौस्याइरहनुभयो । दुःखमा साथ र सहयोग दिन सदैव अग्रसर उहाँ मृदुभाषी र हँसिलो मुहारका हुनुहुन्थ्यो । उहाँ पाकशिक्षाबारे पनि जानकार हुनुहुन्थ्यो । आफूसँग भएको सीप र दक्षता अरूलाई सिकाउन पनि उहाँ अग्रसर हुनुहुन्थ्यो ।
२०६३ साल चैत ९ र १० गते काठमाडौँ उपत्यकामा सम्पन्न नेपाल क्रान्तिकारी महिला सङ्घको प्रथम राष्ट्रिय सम्मेलनबाट गठित केन्द्रीय समितिमा सदस्य मनोनयनपछि उहाँ कोषाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । देशका विभिन्न जिल्लामा नेक्रामसङ्घ विस्तारको लागि उहाँले महत्वपूर्ण योगदान पु¥याउनुभयो । नेक्रामसङ्घद्वारा प्रकाशित ‘केटीहरू’ बुलेटिनको अङ्क २ देखि सल्लाहकार समितिमा रही उहाँले सङ्घको विचार प्रकाशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
२०५६ सालमा स्तन क्यान्सरको उपचारपश्चात् उहाँकै अगुवाइमा भक्तपुरका विभिन्न स्थानमा पाठेघरको प्यापस्मेयर परीक्षण शिविर थालिएको थियो । ती शिविरहरूमा उहाँ व्यवस्थापनमा खट्नुहुन्थ्यो । ती शिविरहरूका कारण कैयौँ महिलामा क्यान्सर रोगको सुरुमै पहिचान भएको र उपचारपश्चात् स्वास्थ्य लाभ प्राप्त भएका धेरै उदाहरण छन् । कैयौँ महिलालाई पुनर्जीवन प्राप्त भएको थियो । महिलाहरूले आफ्नो रोग र समस्याबारे खुलेर बताउन सके । महिलाको स्वास्थ्य र व्यावहारिक समस्याप्रति उहाँ सदा गम्भीर रहनुहुन्थ्यो ।
प्रस्ट वक्ता कामरेड शोभा महिला कार्यकर्ताहरूबीच प्रेरणाको स्रोत हुनुहुन्थ्यो । उहाँ पार्टी कार्यकर्ताबीच सङ्घर्षशील र उदाहरणीय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँको भौतिक शरीर नरहे तापनि देश र जनताको हितमा उहाँको योगदान सदा स्मरणीय रहनेछ । उहाँले लिनुभएको लक्ष्य पूरा गर्न सक्रिय रहनु हामी सबैको जिम्मेवारी हो । कामरेड शोभाप्रति नेपाल क्रान्तिकारी महिला सङ्घ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछ । उहाँको निधनबाट सङ्गठनलाई पुगेको अपूरणीय क्षतिको यस घडीमा धैर्यधारण गर्न सम्पूर्णमा आह्वान गर्दछौँ ।
(नेक्रामसङ्घ केन्द्रीय समितिले असार ९ गते अध्यक्ष अनुराधा थापामगरको हस्ताक्षरमा प्रकाशित वक्तव्यको पूर्ण विवरण–सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *