भर्खरै :

भक्तपुर नगरपालिकाको आ.व. २०७९/०८० को बजेट वक्तव्य

(भनपाका उपप्रमुख रजनी जोशीद्वारा शुक्रबार बा¥हौँ नगरसभामा प्रस्तुत आ.व. ०७९/०८० को बजेट)
* आगामी आ.व. २०७९।०८० को भक्तपुर नगरपालिकाको अनुमानित बजेट बा¥हौँ नगरसभाको बैठकमा पेश गर्न पाउँदा गौरवान्वित ठानेको छु ।
* सर्वप्रथम, विभिन्न जनआन्दोलन र सङ्घर्षहरूमार्फत जनताको अधिकार सुनिश्चित गर्ने क्रममा जीवन उत्सर्ग गर्नुभएका प्रातः स्मरणीय सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै जनआन्दोलनमा घाइते हुनुभएका, प्रवास र भूमिगत भएर राजनैतिक र सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान गर्नुभएका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
* स्थानीय तह निर्वाचन २०७९ मा नेपाल मजदुर किसान पार्टीको तर्फबाट निर्वाचित हामी जनप्रतिनिधिहरूले नगरवासीहरूमाझ चुनावी घोषणापत्रमार्फत प्रतिबद्धता व्यक्त गरेअनुसार निरन्तर जनताको सेवामा लागिरहेका छौँ । ऐतिहासिक एवम् विश्व सम्पदामा सूचिकृत नगर भक्तपुरलाई सफा, सुन्दर, स्वस्थ र सभ्य नगरको रूपमा विकास गर्ने तथा शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र सस्ंकृति’ भन्ने नाराका साथ भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र र आन्तरिक एवं बाह्य पर्यटकहरूका लागि उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्य राखेका छौँ ।
* भक्तपुर नपा शिशुस्याहार केन्द्रदेखि विश्वविद्यालयसम्म व्यवस्थित तरिकाले सञ्चालन गर्ने र भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्रको रूपमा विकास गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ । नगरपालिकाद्वारा सञ्चालित विभिन्न शिक्षण संस्थाहरूबाट अनुसन्धानहरू गराउँदै जाने उद्देश्य लिएका छौँ ।
* नगरवासीहरूको स्वास्थ्य सेवाको लागि २५ शय्याको ख्वप अस्पताललाई १०० शय्या स्वीकृति प्राप्त भइसकेको यस सभामा जानकारी गराउन चाहन्छु । अबका दिनहरूमा आधुनिक स्वास्थ्य सुविधासहित आवश्यकताअनुसार विशेषज्ञको सेवा र प्रसूति सेवा सञ्चालन गरिनेछ ।
* नगरपालिकाको सीमित स्रोतमा बढ्दो जनसङ्ख्या वृद्धिसँगै खानेपानीको आपूर्तिलाई पनि नगरपालिकाले विशेष जोड दिँदै आएको छ । खानेपानीको मुहान क्षेत्र नगरकोटलाई जलाधार क्षेत्र घोषणा गराउन प्रयास गरिनेछ । साथै मेलम्चीको पानी नगरवासीहरूको घर—घरमा वितरण गर्ने व्यवस्था मिलाइनेछ । पानीको अभाव कम गर्न आकाशे पानी सङ्कलन विधिलाई प्रोत्साहित गरिनेछ ।
यस सम्मानित नगरसभामा आर्थिक वर्ष २०७८/७९ को लागि नगरपालिकाले विनियोजन गरेको वार्षिक आय र व्ययको यथार्थ विवरण निम्नानुसार प्रस्तुत गर्दछु —
आयतर्फ :
यस नगरपालिकाको चालु आ.व. को लागि कुल बजेट रू. १ अर्ब ९३ करोड २० लाख आम्दानी हुने अनुमान गरिएकोमा २०७९ जेठ मसान्तसम्ममा यथार्थ आम्दानी जम्मा रू. १ अर्ब १४ करोड ६० लाख (५९.३२ प्रतिशत) भएको छ ।
व्ययतर्फ :
चालू आ.व. को ०७८/७९ को लागि चालुतर्फ रू. १ अर्ब १० करोड २२ लाख १७ हजार २ सय विनियोजन गरिएकोमा २०७९ जेठ मसान्तसम्ममा यथार्थ खर्च रू. ८० करोड १८ लाख ४३ हजार (७२.७५ प्रतिशत) भएको छ ।
पुँजीगततर्फ रू. ८२ करोड ९७ लाख ८२ हजार ८ सय विनियोजन गरिएकोमा २०७९ जेठ मसान्तसम्ममा यथार्थ खर्च रू. ४० करोड १३ लाख २२ हजार (४८.३६ प्रतिशत) भएको छ ।
चालू आ.व.मा कुल रू. १ अर्ब ९३ करोड २० लाख खर्च हुने अनुमान गरिएकोमा जेठ मसान्तसम्मको यथार्थ खर्च रू. १ अर्ब २० करोड ३१ लाख ६५ हजार भई ६०.५५ प्रतिशत यथार्थ खर्च भएको छ । चालू आ.व.को असार मसान्तसम्ममा कुल खर्च ७१.५९ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।
यस सम्मानित नगरसभामा आर्थिक वर्ष २०७९/०८० को लागि नगरपालिकाको वार्षिक अनुमानित आय व्ययको विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु :
आयतर्फ :
नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरी आ.व. २०७९÷०८० को लागि कुल रू. २ अर्ब १८ करोड ४२ लाख ४२ हजार आय अनुमान गरिएको छ ।
त्यसमध्ये बाह्य स्रोतबाट जम्मा रू. १ अर्ब ६४ करोड ७७ लाख २६ हजार आम्दानी हुने अनुमान गरिएको छ । सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान, विशेष अनुदान र अन्य अनुदान शीर्षकमा रू. ६५ करोड ४४ लाख प्राप्त हुने अनुमान गरिएको छ । सामाजिक सुरक्षा भत्ताबापत रू. ५० करोड आम्दानी हुने अपेक्षा गरिएको छ ।
बाग्मती प्रदेश सरकारबाट यस नगरपालिकामा वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकमा जम्मा रू. ८ करोड ९ लाख ३२ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
सङ्घ तथा प्रदेश सरकारबाट मूल्य अभिवृद्धि कर, सवारी कर र मालपोतबापत राजस्व बाँडफाँडबाट रू. १७ करोड २३ लाख ९४ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
नगरपालिकाबाट सञ्चालित देका–मिवा–इतापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्न रू. २० करोड ऋण प्राप्त हुने अनुमान गरिएको छ ।
आन्तरिक आयतर्फ नगरवासीहरूबाट विभिन्न शीर्षकमा कर दस्तुरवापत उठ्ने रकम, व्यवसाय कर, पर्यटकहरूबाट उठ्ने रकम र जग्गा बिक्रीबाट समेत गरी कुल रू. ४६ करोड ८१ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
व्ययतर्फ :
१. २०७९ असार ९ गते नगरसभाबाट पारित गरिएको नीति तथा कार्यक्रमको आधारमा चालू र पुँजीगत खर्च गरी निम्न शीर्षकहरूमा रू. २ अर्ब १८ करोड ४२ लाख ४२ हजारको कुल बजेट विनियोजन गरिएको छ ।
२. सङ्घीय सरकारको चालू खर्चतर्फ विभिन्न शीर्षकमा ३५ करोड ६५ लाख रूपैयाँँ, सामाजिक सुरक्षा भत्तामा ५० करोड रूपैयाँँ र बाग्मती प्रदेश सरकारको तर्फबाट ३१ लाख २२ हजार रूपैयाँँ र विभिन्न समितिहरूको खर्च ६ करोड १९ लाख रूपैयाँँ विनियोजन गरिएको छ । आन्तरिकतर्फ चालू खर्चको लागि ४९ करोड ७९ लाख २० हजार रूपैयाँँ गरी चालू खर्चका लागि कुल रू. १ अर्ब ४२ करोड ८४ लाख ४२ हजार रूपैयाँँ विनियोजन गरिएको छ ।
३. वित्तीय खर्चतर्फ रू. ४ करोड ६० लाख विनियोजन गरिएको छ ।
४. पुँजीगततर्फ रू. ७० करोड ९८ लाख विनियोजन गरिएको छ ।
५. १०० शøयाको स्वीकृति प्राप्त ख्वपः अस्पताल भवन निर्माणा अन्तिम चरणमा छ । यसै आर्थिक वर्षमा निर्माणको काम पूरा गरी सुविधा सम्पन्न ‘जनताको अस्पताल’ सञ्चालन गर्न रू. ८ करोड विनियोजन गरिएको छ ।
६. नगरपालिकाद्वारा सञ्चालित देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्न २० करोड रूपैयाँ विनियोजन गरिएको छ ।
७. निर्वाचन घोषणापत्रमा उल्लेख भएबमोजिम नगरवासी ज्येष्ठ नागरिकहरूलाई स्वस्थ वातावरणमा हेरचाह र संरक्षणको लागि वडा नं. ६ स्थित अँचा पोखरी परिसरमा आदर निकेतन सञ्चालन गर्न ५० लाख रूपैयाँँ विनियोजन गरिएको छ ।
८. वडा नं. २ स्थित सहिद स्मृति खेल मैदानमा कभर्ड हल निर्माणको लागि १ करोड रूपैयाँ, वडा नं. ७ स्थित महेश्वरी खेलमैदानको लागि १ करोड रूपैयाँँ, वडा नं. १० स्थित बेखाल कभर्ड हल निर्माण सम्पन्न गर्न ३ करोड रूपैयाँँ तथा खेलकुद पूर्वाधार, प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्न जम्मा ६ करोड १ लाख रूपैयाँँ विनियोजन गरिएको छ ।
९. नगर प्रवेश गर्ने पुलहरू जीर्णोद्धार एवम् पुनःनिर्माण कार्यलाई निरन्तरता दिई बाराही पुल यस आ.व.मा सम्पन्न गर्ने गरी रू. ३ करोड विनियोजन गरिएको छ ।
१०. नगरमा खानेपानी फिल्ट्रेसन, ट्याङ्की निर्माण तथा खानेपानी पाइप सुधार कार्यका लागि लिबाली आवास योजना र कमलविनायक आवास योजनामा खानेपानी व्यवस्था गर्न रू. ५० लाख विनियोजन गरिएको छ । नगरवासीहरूलाई खानेपानी सुविधा उपलब्ध गराउन रू. १ करोड २५ लाख विनियोजन गरिएको छ ।
११. नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूसँग सहकार्य गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र युवा उद्यमशील ऋणतर्फ रू. १ करोड विनियोजन गरिएको छ ।
१२. क्यान्सर, मुटु, मृगौला, मस्तिष्कघात तथा मेरूदण्ड पक्षघात (स्पाइनल कर्ड इन्ज्युरी) जस्ता कडा तथा दीर्घरोग भएका नगरवासी बिरामीहरूलाई प्रतिव्यक्ति रू. १५ हजारका दरले सहयोग गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिन रू. ४० लाख विनियोजन गरिएको छ ।
१३. क्यान्सर, मृगौला रोगी र मेरूदण्ड पक्षघातका बिरामीहरूलाई मासिक रू. ५ हजारको दरले उपचार खर्च भत्ता व्यवस्थाको लागि रू. ९० लाख विनियोजन गरिएको छ ।
१४. नगरवासी किसानहरूद्वारा उत्पादित वस्तुको सुरक्षा र व्यवस्थापनका लागि वडा नं. ८ लिबालीमा चिस्यान केन्द्र निर्माण गर्न रू. १ करोड तथा वडा नं. ५ मा तरकारी बजार निर्माण सम्पन्न गर्न रू. ४० लाख विनियोजन गरिएको छ ।
१५. नगरभित्रका सामुदायिक विद्यालयहरूमा बालविकास सहजकर्ता (ईसीडी) शिक्षकहरूको कार्य मूल्याङ्कन गरी थप पारिश्रमिकको बन्दोबस्त गरिएको छ ।
१६. नगरपालिकाका कर्मचारीहरूको स्वास्थ्य उपचार कोषको व्यवस्थालाई निरन्तरता दिइएको छ ।
१७. नगरपालिकाबाट सञ्चालित क्रमागत विकास योजनाहरू सम्पन्न गर्न ८ करोड १३ लाख रूपैयाँँ विनियोजन गरिएको छ । सङ्घीय तथा बाग्मती प्रदेश सरकारबाट समपूरक र विशेष अनुदानअन्तर्गत छनौट गरिएका योजनाहरूका लागि १० करोड ७५ लाख रूपैयाँँ विनियोजन गरिएको छ । सम्पदा पुनः निर्माणअन्तर्गतका क्रमागत योजनाहरू सञ्चालनको लागि रू. ३ करोड विनियोजन गरिएको छ ।
१८. थंथु दरबार पुनःनिर्माण, सांस्कृतिक सङ्ग्रहालय निर्माण, कोसेली घरलगायत वडा वडाका सम्पदाहरू पुनःनिर्माण र संरक्षणको लागि रू. ६ करोड विनियोजन गरिएको छ ।
१९. चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्रलगायतका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न चाहने र अध्ययनरत नगरवासी विद्यार्थीहरूका लागि नगरपालिकाले विगत वर्षदेखि शैक्षिक ऋण वितरण गर्दै आएकोमा यो वर्ष ऋणको सीमा वृद्धि गर्देै २ करोड रूपैयाँँ विनियोजन गरिएको छ । शिक्षाशास्त्र सङ्कायमा उच्च शिक्षा अध्ययन गरी शिक्षक बन्न चाहने नगरवासीहरूको लागि विशेष व्यवस्था गरिएको छ ।
२०. भक्तपुरको वास्तुकला, चित्रकला, संस्कृति, इतिहास, वातावरण, सरसफाइ, पर्यटनलगायतका विषयमा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नसीपसँगै अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि अनुदान दिने र विश्वविद्यालय तहमा इतिहास, भूगोल, नेपालभाषा, संस्कृति पढ्ने विद्यार्थीहरूलाई नगरपालिकाको तर्फबाट छात्रवृत्तिको लागि बजेटको व्यवस्था गरिएको छ ।
२१. पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई मोहडाका लागि इँटा, काठ र झिङ्गटीमा लाग्ने कुल लागत रकमको ३५ प्रतिशत नगरपालिकाको तर्फबाट अनुदान दिने कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइएको छ । यसका लागि ५० लाख रूपैयाँँ विनियोजन गरिएको छ ।
२२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाहरू एवं अन्य जनजागरणसम्बन्धी सूचनाहरू जनतासामु सम्प्रेषण गर्ने उद्देश्यले ख्वप टेलिभिजन सञ्चालनकोे लागि १ करोड रूपैयाँँ विनियोजन गरिएको छ ।
२३. पर्ती जग्गा संरक्षण तथा सीमाङ्कन, पार्किङ, कृषि उत्पादन वृद्धि गर्न माटो परीक्षण तथा सम्भाव्यता अध्ययन कार्यलगायतका लागि रू. ७० लाख विनियोजन गरिएको छ ।
कुल बजेटको चालू खर्चतर्फ ६५.३९ प्रतिशत, पुँजीगत खर्चतर्फ ३२.५० प्रतिशत र वित्तीयतर्फ २.११ प्रतिशत विनियोजन गरिएको छ ।
नगरपालिकाले आ.व. २०७९/८० का लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेका शीर्षकहरू देहायबमोजिम रहेको सम्मानित नगरसभामा जानकारी गराउँदछु ।
१. नगरपालिकाले शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाइरहेको सर्वविदित्तै छ । शिक्षा तथा संस्कृति क्षेत्रमा ४२ करोड ४४ लाख ८ हजार रूपैयाँँ (१९.४३ प्रतिशत) विनियोजन गरिएको छ ।
२. नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालका लागि अनुदानबापत रू. ८ करोड, वडा वडामा प्राथमिक स्वास्थ्य उपचार केन्द्र निर्माणका लागि २ करोड ८३ लाख २० हजार(४.९५ प्रतिशत) विनियोजन गरिएको छ ।
३. नगरपालिकाभित्रका सम्पदाहरू जोगाई नयाँ पुस्तामा हस्तान्तरण गर्नको लागि सम्पदा संरक्षणमा ९ करोड (४.१२ प्रतिशत) विनियोजन गरिएको छ ।
४. भौतिक पूर्वाधार निर्माणका लागि रू. ३९ करोड ४८ लाख (१८.०७) विनियोजन गरिएको छ ।
५. फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा रू. १३ करोड ५० लाख (६.१८ प्रतिशत) विनियोजन गरिएको छ ।
६. महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा ५१ करोड ६८ लाख रूपैयाँँ (२३.६६ प्रतिशत) विनियोजन गरिएको छ ।
७. युवा तथा खेलकुद क्षेत्रमा ६ करोड १ लाख ९९ हजार रूपैयाँ विनियोजन गरिएको छ ।
८. कृषि औजार एवम् बीउबिजनका लागि कृषि क्षेत्रमा २ करोड ७ लाख रूपैयाँ विनियोजन गरिएको छ ।
९. प्रशासनिक व्यवस्थापनको लागि रू. ३८ करोड ८६ लाख ६३ हजार विनियोजन गरिएको छ ।
१०. वित्तीयतर्फ रू. ४ करोड ६० लाख विनियोजन गरिएको छ ।
भक्तपुर नगरपालिकाले प्रस्ताव गरेका योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्दा सङ्घ र प्रदेशका कार्यक्रमहरूसँग दोहोरो नपर्ने गरी पारदर्शी एवं जवाफदेही ढङ्गबाट कार्यान्वयनको व्यवस्था गरिएको छ । यस नगरपालिकामा काम गर्न इच्छुक सङ्घ—संस्था तथा विकास साझेदारहरूबाट प्राप्त सहयोग रकमलाई नगरपालिकामार्फत नै एकद्वार प्रणालीबाट कार्यान्वयनको व्यवस्था मिलाइएको छ ।
आ.व. २०७९।८० का लागि यस नगरपालिकाको आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९, स्वीकृत योजनाहरू र कर दस्तुरको विस्तृत विवरण अनुसूचीहरूमा समावेश गरिएको छ ।
यस वर्ष करको दर वृद्धि नगरी करको दायरालाई मात्र बढाएको व्यहोरा अवगत गराउन चाहन्छु ।
अन्त्यमा, आ.व. २०७९।८० का लागि यस नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा आफ्नो अमूल्य सुझाव दिनुहुने सम्पूर्ण नगरवासी, सङ्घसंस्था तथा कार्यालयहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । सभामार्फत प्रस्तुत बजेट र कार्यक्रम पारित गरी प्रभावकारी कार्यान्वयनको लागि सभासद्हरूबाट रचनात्मक सल्लाह सुझावको अपेक्षासहित यो बजेट मन्तव्य अन्त्य गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *