भर्खरै :

जुलियन असान्जको सुपुर्दगी विद्वेष हो

गत शुक्रबार मेरा पति जुलियन असान्जलाई उहाँको हत्याको योजना बुन्ने देश पठाउन बेलायतको तर्फबाट गृहमन्त्री प्रीति पटेलले मञ्जुरी दिइन् ।
संरा अमेरिकी अभियोक्ताको आदेशमा जुलियनलाई बेलमार्श जेलमा तीन वर्षभन्दा बढी समयदेखि कैद गरिएको छ । पत्रकारिताको इतिहासमा सबैभन्दा उल्लासपूर्ण प्रकाशन गरेको हुनाले उनलाई १७५ वर्षसम्मको आजीवन काराबास दिइनेछ ।
जुलियनलाई सुपुर्दगी गर्ने पटेलको निर्णयले पत्रकारिता जगतमा भुइँचालो ल्याएको छ । गृहमन्त्रीले सुपुर्दगी रोक्नुपर्ने युरोपेली परिषद् र ओएससीईका प्रतिनिधिहरू, झन्डै २ हजार पत्रकारहरू र ३ सय डाक्टरहरूको अनुरोधलाई अनादर गरिन् ।
छोराहरू सुत्ने बेला जब जुलियनले फोन गर्छन्, उनीहरू बेसरी कुराकानी गर्छन् । कुराकानी १० मिनेटको हुन्छ । एक रात अचानक फोन काटिएपछि मेरो तीनवर्षे छोरो म्याक्सले रुन्चे स्वरमा आफू चकचके हुनाले फोन काटिएको हो भनेर सोध्यो । अनायासै मैले उसको गल्ती होइन, माइक पोम्पोओको हो भनेछु । पाँचवर्षे छोरो ग्याब्रियलले सोध्यो, “माइक पोम्पेओ को हो ?”
माइक पोम्पेओ मेरो दिमागमा खेलिरहेका थिए किनभने यहाँ (बेलायतमा) गृहमन्त्री जुलियनको सुपुर्दगी आदेशमा हस्ताक्षर गर्नमा व्यस्त हुँदै थियो । उता स्पेनको उच्च अदालतका न्यायाधीशले मेरो पतिको हत्या गर्ने षड्यन्त्रमा पोम्पेओको भूमिकाबारे सोधपुछ गर्न उनलाई डाक्दै थियो । पोम्पेओ तिनताका सीआईएका निर्देशक थिए ।
राष्ट्रपति ट्रम्पको सबैभन्दा बफादार समर्थकको रूपमा सीआईएमा रहँदा उनले आफ्ना एजेन्टहरूलाई मेरा छोराहरूका बुबाको हत्या गर्ने ‘योजना’ र ‘विकल्पहरू’ तयार गर्ने जिम्मा दिएका थिए भनिन्छ ।
पोम्पेओ स्पेनी न्यायाधीशसामु उपस्थित हुनुपर्ने फैसला एउटा अनुसन्धानपछि आएको थियो । स्पेनस्थित कम्पनीको रजिस्टरबाट जुलियन र उनका वकिलहरूको अवैध जासुसी गरेको अनुसन्धानबाट खुलेको थियो । स्पेन प्रहरीले ठूलो मात्रामा विद्युतीय सूचनाहरू जफत गरेको छ । साथै त्यसका संलग्न व्यक्तिहरूलाई पनि समातेको छ । उनीहरूले सीआईएको निर्देशनमा भूमिगत अपरेसनहरू चलाउने गरेको बयानबाट पुष्टि भएको छ । उनीहरूले जुलियनलाई अपहरण गरेर विष खुवाउने विषयमा छलफल गरेका थिए ।
ग्याब्रियल त्यसबेला ६ महिनाको थियो । उसलाई पनि निसानामा राखिएको रहेछ । जुलियन नै उसको बुबा हो भनी पुष्टि गर्न एकजना साक्षीलाई उसको डाइपरको दिसाबाट डीएनएको स्वाब लिने आदेश दिइएको रहेछ । अर्को साक्षीले जुलियन र उनका वकिलहरूबिच भएको वैध कुराकानी ट्याप गर्न (आगो निभाउने) एक्सटिङगुइसरमा माइक्रोफोन लुकाएको स्वीकार गरे ।
लन्डनस्थित इक्वेडरको दूतावासमा जुलियनका कानुनी बैठकहरूको रिकर्डिङ नियमितरूपमा संरा अमेरिकाका सञ्चालकहरूकहाँ पु¥याइँदो रहेछ । जुलियनको वकिलको कार्यालयमा बलजफ्ती पसेको दृश्य क्यामेरामा कैद रहेछ । दूतावासभित्र जुलियनको वकिलका कागजपत्रहरूको फोटो खिचेको अनुसन्धानकर्मीहरूले पत्ता लगाए । उनका वकिलहरूलाई तारो बनाउने अपरेसनहरू सुन्दा खुफिया पुस्तक पढेजस्तो लाग्छ ।
एटलान्टिकपारि आधा शताब्दीअघि निक्सन सरकारले पेन्टागन पेपर्सहरू सार्वजनिक गरेको झोकमा न्युयोर्क टाइम्सलाई सताउन खोज्दा संवैधानिक वकिलहरूले एक दिन पत्रकारहरूलाई सताउन ‘गुप्तचरी कानुन १९१७’ को दुरूपयोग गर्न सकिने चेतावनी दिएका थिए ।
राष्ट्रपति ओबामाको कार्यकालमा ‘गुप्तचरी कानुन’ को बिस्तारै दुरूपयोग हुन थाल्यो । यस मामिलामा ओबामा सरकारले आफूअघिका सबै सरकारलाई जित्यो । यस कानुनअन्तर्गत पत्रकारका धेरै स्रोत व्यक्तिहरूमाथि दोष लगाइयो । विकिलिक्सका स्रोतव्यक्ति चेल्सी मानिङ, सीआईएको यातना उदाङ्गो पार्ने जोन किरियाकौ र एनएसएको गुप्तचरीबारे पर्दाफास गर्ने एडवर्ड स्नोडेनलाई तारो बनाइयो । जनताको व्यापक दबाबपछि ओबामाले चेल्सी मानिङको सजाय ३५ वर्षमा झारे । प्रेस स्वतन्त्रमा असर गर्ने हुनाले ओबामाले मानिङले खुलासा गरेका कागजपत्र प्रकाशित गर्ने जुलियनमाथि दोष लगाउन मानेनन् ।
ओबामा सरकारमा ‘गुप्तचरी कानुन’ को मुक्त प्रयोग भयो । तर, त्यसपछिको सरकारले सो कानुनको व्याख्या अझ तन्कायो ।
छिट्टै त्यो दिन आयो । जुलियनमाथि मानिङले निकालेका कागजपत्रहरू बुझेको, आफूसँग राखेको र प्रकाशित गरेको अभियोग लगाएर ट्रम्प सरकारले नयाँ कानुनी कीर्तिमान बनायो । यसबीच लाङ्गले, भर्जिनिया र पोम्पेओले सीआईएलाई हत्या योजनाहरू बुन्ने जिम्मा दिए ।
सरकारी सुधारहरू निरङ्कुशतातर्फ ढल्किँदै गर्दा प्रीति पटेलको निर्णय आएको छ । मानवअधिकारसम्बन्धी युरोपेली अदालतको प्रभाव घटाउने योजनाहरू र जुलियनलाई सुपुर्दगी गर्ने निर्णय अन्तिम प्रहारहरू हुन् ।
बेलायतको ‘आधिकारिक गोप्यता कानुन’ मा सुधार गर्नुपर्ने गृहमन्त्रीको प्रस्ताव जुलियनविरुद्ध ट्रम्पकालमा लगाइएको अभियोग पछ्याउने मेसो हो । यसको अर्थ हो – प्रकाशक र तिनका स्रोत व्यक्तिहरूमाथि षड्यन्त्रकारीहरूलाई सघाउने अपराध गरेको दोष लगाउन पाइनेछ ।
जुलियनको सुपुर्दगी मुद्दाले आफैमा नजिर स्थापित गर्नेछ । युगौँदेखि प्रजातन्त्रको आधारभूत सिद्धान्त मानिएको प्रेस स्वतन्त्रता एकै झपटमा अलप हुनेछ ।
स्पष्ट छ, जुलियनसँग जे भयो त्यो आफूमाथि होस् भन्ने जोखिम कुनै पनि पत्रकारले मोल्नेछैन । ढिलो नहुँदै जुलियनलाई रिहा गर्नुपर्छ । उनको जीवन यसैमा निर्भर छ । तपार्इँको हकअधिकार यसैमा निर्भर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *