भर्खरै :

उत्कृष्ट स्थानीय निकाय भक्तपुर र शिक्षा

स्थानीय भाषामा ख्वप नामले चिनिने भक्तपुर काठमाडौँ उपत्यकाको पुरानो नेवारी सांस्कृतिक केन्द्र हो । राजधानीबाट करिब १५ किलोमिटर पूर्वमा अवस्थित यो सहर समुन्द्री सतहबाट १४०१ मिटर उचाइमा ६.८८९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । यहाँ ९० प्रतिशत नेवारी भाषिक समुदाय र बाँकी १० प्रतिशत अन्य समुदायका व्यक्तिहरूको बसोबास रहेको छ । नेपालीको लिखित इतिहासको सुरुवात भक्तपुरको चाँगुनारायणबाट सुरु भएको मानिएको छ । यो सहरलाई युनेस्कोले सन् १९७९ मा विश्व सम्पदाको सूचीमा सूचिकृत गरेको छ । यो नगर जुजु धौ, भादगाउँले टोपी, हाकुपटासी, माटोको भाँडा र हस्तकलाले परिचित छ । आफ्नै मौलिकता, आफ्नै कला, संस्कृति र संस्कारले परिचित छ ।
विगतमा काठमाडौँ उपत्यकाका अन्य सहरभन्दा यो सहर शिक्षाको दृष्टिले, स्वास्थ्य र सरसफाइको दृष्टिले, रोजगार तथा आयआर्जनको दृष्टिले धेरै पछि परेको थियो । देशकै सबैभन्दा सानो सहर, आर्थिकरूपमा, जातिगतरूपमा, राजनैतिकरूपमा, वर्गीयरूपमा हेपिएको, चेपिएको, पिल्सिएको भक्तपुर नगरपालिकालाई नेपाल मजदुर किसान पार्टीको विचार, सिद्धान्त तथा दूरदर्शी नैतिकवान, क्रान्तिकारी नेता नारायणमान बिजुक्छेँ (का. रोहित) को कुशल संरक्षणको कारण यो नगरपालिका अहिले नेपालकै सबैभन्दा उत्कृष्ट नगरको रूपमा स्थापित भएको छ । नेपाल मजदुर किसान पार्टी र भक्तपुर नगरपालिका समाजवादको पर्यायवाचीको रूपमा यो नगरपालिका उदय भइरहेको छ । माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई सैद्वान्तिक आधारको रूपमा ग्रहण गरी नेपालको परिवेशमा समाजवादी दर्शनलाई व्यावहारिकरूपमा लागू गर्न निःस्वार्थरूपमा लागिरहेको नगरपालिका भक्तपुर बनेको छ । देशको स्वाभिमानलाई आँच आउने खालका सर्त राखेर जर्मनी सरकारले भक्तपुरका सम्पदा संरक्षणको लागि रु. एक अर्ब बीस करोड अनुदानको रकमलाई अस्वीकार गरी जनताको सहयोगबाट भूकम्पले क्षति गरेका सम्पदालाई पुनर्निर्माण गर्न सफल भएको छ ।
भक्तपुर नगरलाई संसारकै सुन्दर, रमणीय, स्वच्छ, आनन्दी नगर बनाउने अभियानका अग्रज नेमकिपाका अध्यक्ष रोहितले आजभन्दा २० वर्ष पहिले ‘सय वर्षपछिको भक्तपुर’ नामको पुस्तकमा भन्नुभएको छ, “यहाँका प्रत्येक युवाले चार पाँच वटा भाषा जानेका हुनेछन्, सम्पदा क्षेत्रमा गाडी गुड्ने छैनन्, सडक धुँवा धुलोरहित हुनेछ, साँझमा सहर घुम्न निस्कँदा बाजा बजिरहेको हुनेछन्, मानिस भजन गाइरहेका हुनेछन्, सांस्कृतिक नृत्यहरू देखिनेछन्, मठमन्दिरमा बत्तीहरू झिलीमिली बलिरहेका हुनेछन्, पर्यटकहरू आएर आनन्द लिनेछन्, विदेशीहरू भक्तपुरमा आएर पीएचडी गरिरहेका हुनेछन्, त्यो सहर बिहान हेर्दा प्राचीन सहरजस्तो देखिनेछ, दिउँसो हेर्दा खुला विश्वविद्यालयजस्तो देखिनेछ र साँझ पनि उत्तिकै सुन्दर हुनेछ ।” यसरी आम जनतालाई जनचेतना जगाएर बुद्धिजीवीकरण गर्ने, आदर्श समाज निर्माण गर्ने, जहाँ अन्याय अत्याचारको अन्त गरेर शोषणरहित वर्गविहीन समाज निर्माण गर्न समाजबाट कुलत, कुसंस्कार, विभेदहरू नभएको सबै असल, आनन्दी, खुसी, सुखी समाजवादी समाज निर्माण गर्ने उद्देश्यले यस नगरपालिकाले वि.सं. २०५८ सालमा पन्ध्र वर्षभित्रमा नगरका प्रत्येक घरमा कम्तीमा स्नातक तहसम्म उत्तीर्ण गरेको एकजना व्यक्ति हुनुपर्ने लक्ष्यका साथ ‘एक घर एक स्नातक’ अभियान अगाडि बढाएको छ । जुन पूरा भइरहेको छ । स्वास्थ क्षेत्रमा पनि यस नगरपालिकाले अनुकरणीय नमुनायोग्य कामहरू अगाडि बढाएको छ । घर–घरमा नर्सिङ सेवा सञ्चालन गरिएको छ । एकाबिहानै घरको ढोका ढकढकाउँदै नर्स र स्वयंसेविकाले भन्छन्, “कोहीँ बिरामी हुनुहुन्छ कि ?” यो एकादेशको कथा नभएर भक्तपुर नगरपालिकाले जनतालाई दिएको माया हो, सेवा हो, जनताप्रतिको समर्पण हो ।
सरकारले जनविश्वास गुमाइरहेको, जनप्रतिनिधिले जनताको भावना कुल्चिरहेको, लामो समयसम्म सरकार सञ्चालन गरेका दलप्रतिको जनआक्रोसका कारण देशका महत्वपूर्ण स्थानीय निकायहरूमा स्वतन्त्र व्यक्तिलाई दलको विकल्पमा निर्वाचित भइरहेको अवस्थामा भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले अत्यधिक मत प्राप्त गरी प्रायः सबै प्रतिस्पर्धीहरूको धरौटी जफत बनाएको छ । यसरी जनताको मनमस्तिष्कमा कहिल्यै नमेटिने छाप पार्न सफल भएका जननिर्वाचित मेयर सुनिल प्रजापति र उहाँको टीमले भक्तपुर नगरपालिकामा शिक्षा क्षेत्रमा हालसम्म गरेका केही महत्वपूर्ण कार्यहरूको केही चर्चा गरौँ ।
नयाँ संविधान र कानुनअनुसार देशभरका सबै स्थानीय सरकारले माध्यमिक तहसम्मको विद्यालय व्यवस्थापनको जिम्मेवारी पाएका छन् । तर, देशका ७५२ वटा नै स्थानीय सरकारले शैक्षिक सुधारको लागि केन्द्रीय सरकार र प्रदेश सरकारको मुख ताकिरहेका छन् भने अपवादको रूपमा भक्तपुर नगरपालिकाले आफ्नै लगानीमा वार्षिक ४० करोड खर्च गरेर दक्ष जनशक्ति उत्पादन गरिरहेको छ । शिक्षा सम्बन्धमा मेयर सुनिल प्रजापति भन्नुहुन्छ, “कम शुल्कमा उच्च शिक्षा दिन समाजलाई बौद्धिक बनाउन, नयाँ पुस्तालाई उत्पादनशिलतासँग जोडेर शिक्षा र समृद्धिको लक्ष्य पूरा गर्न कटिबद्ध छौँ ।” भक्तपुर नगरपालिकाले २० वर्ष पहिले ख्वप उच्च माध्यमिक विद्यालयको नामबाट सुरु गरेको शिक्षण संस्था अहिले व्यापकरूपमा विकास भएको छ । राजनीतिलाई जनताको सेवामा समर्पण गर्ने नेमकिपाको आदर्श अँगालेका जनप्रतिनिधिले जनताको आवश्यकतालाई प्राथमिकतामा राख्न शिक्षा, स्वास्थ्यलाई राज्यको नियन्त्रण गर्न, समाजवादउन्मुख समाज निर्माण गर्न, जनतालाई बुद्धिजीवीकरण बनाउने उद्देश्यले यस नगरपालिकाले सातवटा उच्चस्तरीय शिक्षण संस्था सञ्चालन गरिरहेको छ । जो निम्न छन् ः–
– ख्वप माध्यमिक विद्यालय
– ख्वप कलेज
– ख्वप इन्जिनियरिङ कलेज
– ख्वप कलेज अफ इन्जिनियरिङ
– ख्वप बहुप्राविधिक अध्ययन संस्थान
– शारदा माध्यमिक विद्यालय
– शारदा कलेज
यसरी नगरपालिकाले सञ्चालन गरेका सातवटा शिक्षण संस्थानहरूमा सात हजार विद्यार्थीहरूले पढिरहेका छन् । न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा दिएका यी शिक्षण संस्थामा मनाङबाहेकका ७६ वटा जिल्लाका विद्यार्थीले पढिरहेका छन् । नपाभित्रका ३५ वटा सामुदायिक विद्यालयको सुधार अभियान तीव्ररूपमा चलिरहेको छ । नगरपालिकाले सञ्चालन गरेका कलेजलाई कुनै पनि बन्द हडतालले असर गर्दैन । अधिकांश सरकारी बिदालाई पनि शैक्षिक सुधारमा उपयोग गरिन्छ । प्रत्येक वडामा शिशुस्याहार केन्द्रहरूको स्थापना भएको छ । जसले गर्दा आमाले रोजगारी गुमाउनु नपर्ने तथा बच्चालाई राम्रो आहार विहार र रेखदेख व्यवस्था मिलाइएको छ । एउटा शिशु स्याहार केन्द्रमा चार जना तालिम प्राप्त कर्मचारी राखिएको छ भने प्रतिबालक न्यूनतम शुल्कको व्यवस्था गरिएको छ । वयोवृद्ध व्यक्तिको लागि आदर निकेतनको व्यवस्था गरिँदै । जसमा बुढाबुढीहरूले दिनभर अनुभव साटासाट गर्ने, रुचि र चाहनाअनुसार भजन किर्तन गर्ने, खेलहरू खेल्नेलगायतका विभिन्न मनोरञ्जनका साधनहरूको व्यवस्था मिलाइनेछ ।
इन्जिनियरको पढाइमा विभिन्न निजी कलेजहरूले सात लाख शुल्कमा सञ्चालन गरेको बेला भक्तपुर नपाले एक लाख नब्बे हजार शुल्कमा इन्जिनियर तहको पढाइको सुरुवात गरेको थियो भने अहिले अन्य निजी कलेजले १३÷१४ लाख शुल्क लिइरहेका छन् । भक्तपुर नपाका कलेजले भने ६÷७ लाखमा सबैभन्दा स्तरीय शिक्षा दिइरहेको छ । भक्तपुर नगरपालिकाले आफ्नै ख्वप विश्वविद्यालय स्थापना गरेर कम शुल्कमा विभिन्न विषय र क्षेत्रमा स्तरीय शिक्षा दिन अनवरतरूपमा लागिरहे तापनि सरकारले स्वीकृति दिएको छैन । ःद्यद्यक् (डाक्टर) पढ्न अहिले निजी कलेजले ६०÷७० लाख लिइरहेको बेला भक्तपुर नपाले मेडिकल कलेज सञ्चालनको अनुमति दिए १५÷१६ लाख शुल्कमा सञ्चालन गर्ने बताएको छ । तर, देशको शिक्षा क्षेत्रमा शैक्षिक माफियाहरूको बोलवाला भएकोले कम शुल्कमा स्तरीय शिक्षा दिने अवसरका ढोकाहरू बन्द गरिएका छन् ।
शैक्षिक ऋण तथा छात्रवृत्ति
भक्तपुर नगरपालिकाले वार्षिक तीन करोड कलेज लेबलमा मात्रै छात्रवृत्ति दिने गरेको छ । हरेक तहमा पहिलो, दोस्रो र तेस्रोलाई जेहेनदार छात्रवृत्ति दिने गरेको छ भने गरिब तथा विपन्न वर्गका बालबालिकालाई घर–घरमा पुगेर स्थलगतरूपमा छानबिन गरी २५ प्रतिशत, ५० प्रतिशत वा १०० प्रतिशत छात्रवृत्ति दिने गरिएको छ । कुनै पनि विद्यार्थीले पैसा नभएर पढाइ छोड्नुपर्दैन । नगरभित्रका हरेक व्यक्तिले अनिवार्यरूपमा स्नातक तह पढ्नैपर्ने व्यवस्था गरिएको छ । नगरपालिकाका कलेजभन्दा बाहिर स्नातक पढ्न जानेहरूलाई पाँच लाखसम्म शैक्षिक ऋण दिने व्यवस्था गरिएको छ । देशको लागि अति आवश्यक विषयहरू राजनीतिशास्त्र, इतिहास, भूगोल, अर्थशास्त्र, संस्कृति, नेपालभाषा, कलाजस्ता विषयमा पढ्नेहरूलाई जहाँ पढे पनि पीएचडीसम्मको शत प्रतिशत शुल्क तिरी दिने व्यवस्था गरिएको छ । हाल यो सुविधामा दुई जनाले पीएचडी गरिरहेका र धेरैले स्नातकोत्तर पढिरहेका छन् ।
स्वास्थ्य क्षेत्र
भक्तपुर नगरपालिकाले एउटा ख्वप अस्पताल सञ्चालन गरिरहेको छ । दैनिक झन्डै सात सयले सेवा लिइरहेको उक्त अस्पतालमा रु. ८० मा विशेषज्ञ डाक्टर शेवा तथा रु. ५० मा एमबीबीएस डाक्टर सेवा जनताले वर्षमा ३६५ दिन पाइरहेका छन् । घर–घरमा नर्सिङ सेवा पु¥याएर हरेक व्यक्तिको प्रेसर जाँच्ने, स्वास्थ्यसम्बन्धी परामर्श दिने काम भइरहेको छ । निःशुल्क आयुर्वेद सेवा तथा प्राकृतिक चिकित्सा सेवा उपलब्ध गराइएको छ । दम, खोकीका दीर्घ रोगीहरूलाई छुट्टै प्रविधिको उपचार व्यवस्था छ भने आँखा अस्पताल अलग्गै सञ्चालन गरिएको छ । बुढाबुढीहरूलाई वा ज्येष्ठ नागरिकहरूलाई नर्सिङ सेवासहित सुविधासम्पन्न आदर निकेतन सञ्चालन हुने भएको छ । युवाहरूलाई टोल–टोलमा जिमखाना, फिजियो थेरापीको सुविधा उपलब्ध गराएर यहाँका जनप्रतिनिधिहरूले आफूलाई जनताको मालिक होइन जनताको सेवक भएको नमुना बनेर देखाएका छन् ।
यसरी भक्तपुर नगरपालिकाले हरेक युवायुवतीलाई विभिन्न सीपमूलक तालिम दिएर आत्मनिर्भर, स्वाभिमानी, दक्ष नागरिकको रूपमा विकास गरेर मानवियताको उच्चतम नमुनाको विकास गरिरहँदा नेपालका अन्य स्थानीय निकायहरूलाई प्रेरणा जगाउने काम भएको छ । नेपालमा आफूलाई क्रान्तिकारी जनयुद्ध लडेको भन्न रुचाउने माओवादी, सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी भन्ने एमाले तथा आफूलाई प्रजातन्त्रको ठेकेदार ठान्ने नेपाली काङ्ग्रेसले पनि आफूले निर्वाचन जितेको स्थानीय निकायमा आफ्नो लक्ष्य, उद्देश्यअनुसार भक्तपुर नगरपालिकाले झैँ शिक्षा, स्वास्थ तथा अन्य क्षेत्रमा विकास गर्ने अभियानमा लाग्ने हो भने नेपालले एक दशकभित्र विकासको नयाँ उचाइ भेटाउनेछ । भाषणमा, घोषणापत्रमा मात्रै जनतालाई आश्वासन बाँड्ने, झुक्याउने, ठग्ने व्यावहारमा विदेशीको चाकरी गर्ने दलाली गर्ने गुलामी गर्ने शासक दलहरूले समयमै आफूलाई रूपान्तरण नगरेमा इतिहासको पानामा सीमित हुने निश्चित छ । योग्यताअनुसारको काम, कामअनुसारको ज्याला प्राप्त हुने शोषणरहित समाज निर्माण गरी गरिब जनताको स्वर्ग समाजवादमा पुग्न समाजवादी अभियानमा लाग्नुको विकल्प अरू छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *