भर्खरै :

युक्रेन युद्ध : तीन दिग्गजका अभिव्यक्ति

नोम चोम्स्की, जोन पिल्गर र क्रिस हेजेजले युक्रेन युद्धबारे आफ्नो धारणा राखेका छन् । ती अभिव्यक्तिले विषयवस्तुलाई थप छर्लङ्ग पारेको छ ।
“मैले मूलधारका सञ्चारमाध्यममा आफ्नो जीवनचर्या बिताएँ र सायद आठ–नौवटा युद्धका समाचार लेखेँ । तर, मैले यतिबिघ्न अन्धो देशभक्ति र यो जस्तो भड्काउ देशभक्तिको छालले भिजेका समाचारहरू कहिल्यै देखिनँ ।”
– जोन पिल्गर
यो कुरा सुप्रसिद्ध अस्ट्रेलियाली पत्रकार जोन पिल्गरले ‘साउथ चाइना मर्निङ पोस्ट’ लाई भन्नुभएको हो । हामी अहिले गलत सूचनाहरूको आहालमा तैरिरहेका छौँ । यस्तो स्थितिमा पिल्गरको भनाइले आँखा खोलिदिन्छ ।
आक्रमणका अघिल्ला दिनहरूदेखि नै पश्चिमी देशका जनतालाई गलत प्रचारबाजीमा डुबाउने स्पष्ट देखिएको थियो । यस्तो दुस्प्रचार यसअघि कहिल्यै देखिएको थिएन । द्वन्द्वको सुरुको महिनामा नै अमेरिकी टेलिभिजन नेटवर्कहरूले अमेरिकासँग सम्बन्धित अन्य घटनाको भन्दा कता हो कता धेरै समाचार युक्रेन युद्धको बारेमा प्रसारण गरेका थिए । इराक र भियतनाममा लडाइँ हुँदा पनि यतिबिधि प्रचार भएको थिएन । खासमा इराक युद्धका वास्तुकारहरू नै युक्रेन युद्धका विश्लेषकका रूपमा मूलधारे मिडियामा देखापरे । यसरी रुसविरोधी युद्धको कूटनीतिक समाधानभन्दा युद्धको हुङ्कार मूलधारको बहसमा आयो, सर्वसाधारणलाई मान्य भयो ।
यी सबथोक सर्वसाधारणको चेतनामा सजिलै घुसाइयो किनभने यसको लागि वर्षौँदेखि रुसविरोधी अफवाह चिप्लिनेगरी प्रचार गरिएको थियो । व्यापक जनताबीच मनोवैज्ञानिक अपरेसन सञ्चालन गरिएको थियो । त्यसको नाम थियो ‘रसियागेट’ थियो । वर्षौँ वर्षदेखि रुसको विपक्षमा पश्चिमा प्रचार माध्यमहरूले अतालिने हदसम्मको त्रास फैलाएका थिए । यो अमेरिकाको सबैभन्दा खतरनाक लडाइँ थियो । युक्रेनमाथिको कारबाही यसको दाँजोमा केही पनि होइन । त्यस्तै, अमेरिकी सरकारको उच्च तहमा क्रेमलिनले घुसपैठ गरेको षड्यन्त्र सिद्धान्तसँग पनि यसको लिनुदिनु छैन । यस्तै अर्को संयोग भयो ।
“एउटा रोचक कुरा, अमेरिकी सार्वजनिक बहसमा (युक्रेनको) कब्जालाई ‘अकारण युक्रेनमाथिको कब्जा’ भन्नु झन्डै–झन्डै बाध्यात्मक बन्न पुगेको छ । गुगल हेर्नुस्, तपार्इँले लाखौँलाख लाइक पाउनुहुनेछ । निश्चय नै उक्साहट भएकै हो । नत्र उनीहरूले बोलीपिच्छे अकारण कब्जा भन्ने थिएनन् ।”
– नोम चोम्स्की
राम्जी बारौदसँगको अन्तर्वार्तामा चोम्स्कीले यसो भन्नुभएको हो । यो स्वयम्सिद्ध सत्य हो र यसलाई बारम्बार ध्यान दिनुपर्छ ।
विषयवस्तु बङ्ग्याउनु नै छैन भने मान्छेले ताइँनतुइँका कुरा बारम्बार दोहो¥याउने गर्दैनन् । तपार्इँको छिमेकीले “मैले मेरी बुढीलाई कहिल्यै कुटिनँ” भनिरहन्छ भने तपार्इँको मनमा चिसो पस्छ नै । किनभने, सामान्यतया सामान्य मान्छेले यसरी बोल्दैन । हामीले ‘कति गोलो पृथ्वी’ र ‘हिटलरले यातनागृहमा मान्छे मारेकै थियो’ भन्ने गर्दैनौँ । पृथ्वी र यातनागृह भने पुग्छ किनभने तिनको विशेषताबारे विवाद छैन । यस विषयमा कुरा बङ्ग्याउन आवश्यक पनि छैन ।
राजनीतिक र सञ्चार क्षेत्रका शासकहरूको ‘अकारण कब्जा’ को रटान आफैमा स्वीकारोक्ति हो । उनीहरूले फिटिक्कै सत्य बोलेका छैनन् भन्ने दसी हो । यो साम्राज्यवादी प्रचारबाजीकै अर्को रूप हो ।
द्वन्द्व सुरु हुनुअघि संरा अमेरिका र नेटो देशहरूले गरेको धेरै भड्काउ गतिविधितिर चोम्स्कीले औँल्याउनुभएको छ । अनगिन्ती पश्चिमा विश्लेषकहरूले पश्चिमी साम्राज्यवादीहरूले भड्काउ गतिविधि गर्दै गए दुर्घटना निम्तिने विषयमा वर्षौँदेखि चेतावनी दिँदै आएका थिए । अलिकति कूटनीति लगाएको भए यो द्वन्द्व सजिलै टार्न सकिन्थ्यो । यसको लागि खर्च पनि कम लाग्थ्यो । ‘मिन्स्क सम्झौता’ पालन गर्न लगाएर युक्रेन तटस्थ बस्ने सुनिश्चित गरे पुग्थ्यो । तर, तिनीहरूले भड्काउ गतिविधि चर्काउन चाहे । त्यसमाथि डोनबास क्षेत्रमा किभ सरकारले बमबारी बढाएको बढायै ग¥यो । द्वन्द्व सुरु हुनुभन्दा ठीक अगाडि बमबारी अचाक्ली बढाइएको थियो । यसबाट साम्राज्यवादका मतियारहरूले किन ‘अकारण’ को रटान गर्दै छन् भनी बुझ्न सकिन्छ ।
यसको अर्थ रुस निर्दोष छ भन्ने होइन । मैले कसैलाई तेस्रो व्यक्तिलाई कुट्न उक्साउँछु र उसले कुट्छ भने पनि कुटेकोमा नैतिक जिम्मेवारी उसले नै लिनुपर्छ । तर, उसलाई उक्साएकोमा दोष मेरो पनि हुन्छ । रुस आफ्नो कार्यको लागि जिम्मेवार छ र संरा अमेरिका/नाटो/युक्रेनको संयुक्त सत्ता संरचना पनि दोषी छ । हमला गरेकोमा पुटिन जिम्मेवार छन् । त्यो हमला गर्न उक्साएकोमा पश्चिमी साम्राज्यवाद जिम्मेवार छ । कुरा स्पष्ट छ ।
यस युद्धबारे सोही अन्तर्वार्तामा चोम्स्कीले थप भन्नुभयो, “मेरो जीवनकालमै संरा अमेरिकामा सेन्सरसीपले आकाश छोयो ।” उहाँको अनुभवमा प्रचारयुद्धबारे पिल्गरको बयान पनि मिसाउने हो भने साम्राज्यवादको भाष्य नियन्त्रण अहिले चरमचुलीमा पुगेको छ । आउँदा वर्षहरूमा पूरा गर्नुपर्ने साम्राज्यवादको कुनै मुख्य एजेन्डा हुन्नथ्यो भने भाष्य नियन्त्रण यति तीव्र हुने थिएन ।
“क्युवाली मिसाइल सङ्कटयता हामी आणविक युद्धको यति नजिक कहिल्यै पुगेका थिएनौँ ।”
– क्रिस हेजेज
स्टेफेन कोहेनले आफ्नो जीवनको अन्त्यतिर दिएको आकस्मिक चेतावनीको प्रतिध्वनि सुनिँदै छ । आफ्नो नयाँ लेखमा हेजेजले रुसविरुद्ध छद्म युद्ध लडिरहेका साम्राज्यवादीहरूले आणविक शक्तिसम्पन्न मुलुकसँग अत्यन्त विनाशकारी खेल खेलिरहेको लेख्नुभयो । मानिसहरूबीच यस युद्धबारे कुन हदसम्म अफवाह फैलाइएको छ भन्ने पिल्गर र चोम्स्कीको धारणाको अर्थ त्यतिबेला बुझिन्छ जतिबेला साम्राज्यवादका हिजो र आजको बदनियत बुझिन्छ । रुस र चीनलाई लिएर उसको खेलले विश्वलाई नै गरिबी र भोकमरीको जन्जालमा फसाउनेछ र यस धर्तीबाट हामी सबै मनुष्यको नामोनिसान मेट्नेछ ।
यस्तो गर्न पाइँदैन । विश्वको सर्वशक्तिशाली सरकारले पृथ्वीमा बस्ने सबैको प्राणलाई दाउमा राखेर विश्वभरि दबदबा कायम गर्नुको कुनै तुक छैन । संसारका सबै मुलुकका र राजनेताहरू आफ्नो साझा भलोका लागि एकजुट हुन सम्भव छ । यसको लागि यो पूर्ण वर्चस्वको बदनियत त्यागे पुग्छ ।
विडम्बना साम्राज्यवादका व्यवस्थापकहरूले निकट भविष्यमै विश्वविजयको आफ्नो उद्देश्य त्याग्ने कुनै योजना देखिँदैन । त्यसैले यस संसारका हामी सबै सामान्य जनताले आफ्नो अस्तित्वका लागि तिनीहरूउपर बल प्रयोग पनि गर्नुपर्ने हुनसक्छ ।
यो समय नर्कसमान छ तर अब हुने सङ्घर्ष रोचक पनि छ ।
अनु.– रमेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *