खानदानी वर्गविरुद्ध खानदानीहरूको विद्रोह
- बैशाख १४, २०८१
राजनीतिक पार्टीमा लागेका कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरू लागूऔषध दुव्र्यसनमा त्यति लागेका छैनन् । गाँजा, चरेस र लागुऔषध सेवन गर्ने अधिकांश युवाहरू राजनीतिक पार्टीमा नलागेका परेका छन् । समाजमा घुलमिल नभएका, गाउँ घर तथा छरछिमेकसित सम्बन्ध नभएका या नलागेका युवाहरू आफ्नै एकसुरमा लाग्ने तथा त्यस्तै अरु साथीहरू बटुलेर एकान्त स्थान या कुनै सत्तल, पाटी, सुनसान ठाउँमा गएर लागूऔषध सेवन गर्छन् । तिनीहरू लागूऔषधका सुई पनि लिन्छन् । विद्यालय र कलेज छोडेका ती व्यक्तिहरू कहिलेकाहीँ राति रक्सी खाएर हो–हल्ला गर्छन् । उनीहरू आफू एक्लै होला, सबैले हेलाहोचा गर्ला र अपमानित होला, भनी अरु साथीहरूलाई सँगैसँगै लाने प्रयास गर्छन् ।
यसरी लागेका अक्सर युवाहरू घरमा परिवारसँग पनि मिल्दैनन्, परिवारसँग कुरा पनि गर्दैनन् । आमाबाबुले विद्यालय र कलेज गएर या कुनै रचनात्मक काम गरेर जीवन जोहो गर्न सम्झाए पनि उनीहरू वास्ता गर्दैनन् । उनीहरूको घर आउने ठेगान हुँदैन, आए पनि ढिलो हुन्छ । कहिलेकाहीँ उनीहरू आफ्नै आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई थर्काउँछन् । यसरी कुलतमा लागेका कति व्यक्तिहरू लागूऔषध आदानप्रदान पनि गर्छन् । उनीहरू चोरीचकारीमा पनि लागेका हुन्छन् । बेलुका अलि ढिलो हिँड्ने र एक्लै हिँडिरहेकाहरूसँग उनीहरू मोबाइल, घडी, गहना र पैसा लुट्ने गर्छन्, लुट्ने प्रयास गर्छन् । यस्ता घटनाहरू बेलाबखत घटिरहेका छन् । यसकारण, हरेक अभिभावकले आफ्नो छोराछोरीको हालत बुझिरहनुपर्छ ।
कुलतमा लागेका, विकृति विसङ्गतितर्फ उन्मुख युवाहरूलाई सत्मार्गमा ल्याउने काम गर्नुपर्छ । यतातर्फ प्रहरी प्रशासन, सामाजिक कार्यकर्ता, शिक्षक, बुद्धिजीवीहरूको ध्यान पुग्नुपर्छ । राजनीतिक कार्यकर्ताहरूले पनि आफ्नो ठाउँ, गाउँ या टोलमा रहेका त्यस्ता व्यक्तिहरूको पहिचान गर्नुपर्छ र हरेक माध्यमबाट समाजमा घुलमिल गर्ने, समाजको दायित्वबोध गराउने काममा लाग्नु आवश्यक छ । उनीहरूमा राजनीतिप्रति चासो बढाउने काम गर्नुपर्छ । एक्लो जीवन सफल नहुने र जीवनभर दुःख पाइरहने हुँदा तिनीहरूलाई सामाजिक चेतना जगाउनुपर्छ । कुलतमा लागेका व्यक्तिहरूको गतिविधि हेरेर हामी चुप लाग्यौँ या समाधान गर्नेतर्फ लागेन भने एकातिर उनीहरू कुलतमा फस्दै जानेछन् र अर्काेतिर उनीहरूले अरु सोझा सिधा, इमानदार व्यक्तिहरूलाई पनि फसाउने छन् । कुलतमा फसेर कहिलेकाहीँ उनीहरू हत्या हिंसामा पनि लागेका हुन्छन् । कतिपय आत्महत्याका घटनाहरू यस्तै कुलतमा लागेर या एकोहोरो भएर भएका हुन्छन् । आदर्शाेन्मुख समाज बनाउने हो भने यस्ता आपराधिक घटनाहरू नियन्त्रण नगरी सम्भव छैन । यसमा समाजसेवामा लागेका, जनताको सेवामा लागेका राजनीतिक कार्यकर्ता, सामाजिक कार्यकर्ता, शिक्षक र बुद्धिजीवीहरू चासो राखेर काम गरे आपराधिक घटना न्यूनीकरण गर्न सकिन्छ ।
Leave a Reply