भर्खरै :

उपत्यकाका नगर प्रमुखहरूबीच काठमाडौँ उपत्यकामा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनबारे छलफल

उपत्यकाका नगर प्रमुखहरूबीच काठमाडौँ उपत्यकामा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनबारे छलफल

भक्तपुर, २० साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा काठमाडौँ उपत्यकामा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन सम्बन्धमा शुक्रबार काठमाडौँ उपत्यकाका प्रमुख एवम् प्रमुख प्रशासकीय अधिकृतहरूबीच छलफल कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाललाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय, संलग्नता र पहलकदमीको आवश्यकता रहेको बताउनुभयो । पर्यटन प्रवद्र्धनको उद्देश्यले आयोजना गरिने महोत्सवहरू अर्थपूर्ण हुनुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले काठमाडौँ उपत्यकाको मौलिक कला—संस्कृति र सम्पदाहरू संसारको लागि हेर्नलायक अमूल्य सम्पत्ति रहेको बताउनुभयो ।
उहाँले देशैभरिको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न मन्त्रालयले ‘नेपालको पर्यटन क्षेत्रको पुनःरुत्थान कार्ययोजना २०७९’ अगाडि सारेको बताउँदै काठमाडौँ उपत्यकाका सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेका सम्पदाहरूलाई घोषितरूपमा एक आपसमा जोड्न सम्पदा मार्ग निर्माणमा मन्त्रालयले जोड दिइने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालको सम्पदा पुनःनिर्माण र विकास निर्माणको सबै काम विदेशीले गरिदिने हो भने नेपाल सरकार, संस्कृति मन्त्रालय, स्थानीय तह र पुरातत्व विभागको औचित्यतामाथि नै प्रश्न उठ्ने खतरा रहेको बताउनुभयो ।
सम्पदा पुनःनिर्माणको काम स्थानीय जनतामार्फत गर्ने कानुनी बन्दोबस्त हुनु आवश्यक रहेको बताउँदै प्रमुख प्रजापतिले ठेकेदारहरूले सम्पदाको महत्वभन्दा नाफामा बढी ध्यान दिने हुँदा सम्पदा पुनःनिर्माणको काम ठेकेदारहरूबाट गराउन नहुने प्रस्ट पार्नुभयो ।
उहाँले नेपालका विभिन्न प्राकृतिक विपत्तिका कारण लोप भएका पुरातात्विक क्षेत्रको उत्खनन गरी प्राप्त प्रमाणको आधारमा सम्पदाहरूको पुनर्निर्माण र सांस्कृतिक सम्पदाहरूको परम्परागत शैलीमा श्रृङ्गारको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै काठमाडौँ उपत्यकालाई प्रदूषण मुक्त, सफा र सुन्दर बनाई सांस्कृतिक केन्द्रको रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै काठमाडौँ महानपाका प्रमुख बालेन्द्र साहले जात्रा सुरु हुनुअगाडि नै सम्पदा स्थलको सरसफाइलगायत रङ्गरोगनको कार्य अगाडि बढाउनुपर्ने बताउँदै उपत्यकामा खुला ठाउँको कमी भएको हुँदा सार्वजनिक स्थलहरूमा पार्कहरू निर्माण गर्नुपर्ने, सार्वजनिक शौचालयहरू निर्माण गर्नुपर्ने र पार्किङको उचित व्यवस्थापन हुनुपर्ने सुझाव दिनुभयो । उहाँले ‘सिटी ब्रान्डिङ’ को अवधारणा अगाडि सार्नुपर्नेमा जाड दिँदै रात्रिकालीन यातायात सञ्चालन गर्न त्यसको लक्षित वर्ग पहिचान गर्नु आवश्यक रहेको बताउनुभयो ।
ललितपुर महानपाका प्रमुख चिरिबाबु महर्जनले सम्पदा पुनःनिर्माणको काम ठेकेदारीमार्फत गर्न नहुने तर्क राख्दै बन्चरेडाँडामा उपत्यकाको फोहोर फाल्न नदिने विषय अव्यवहारिक भएको बताउनुभयो ।
उहाँले उपत्यकाको फोहरमाथि भइरहेको राजनीति बन्द गर्नुपर्ने धारणा राख्दै सङ्घ सरकारले फोहार व्यवस्थापन र ट्राफिक व्यवस्थापनमा समयमै ध्यान पु¥याउनु आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै गोदावरी नपाका प्रमुख गजेन्द्र महर्जनले नेपालमा रहेका पर्यटकीय क्षेत्रमा पर्यटकहरूलाई सहज र सुरक्षितरूपमा घुम्ने वातावरण सिर्जना गर्नुपर्ने र भूकम्पले क्षतिग्रस्त सम्पदा पुनःनिर्माणमा सरकारले विशेष जोड दिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा दक्षिणकाली नपाका प्रमुख मोहन बस्नेत, महालक्ष्मी नपाका उपप्रमुख लक्ष्मी महर्जन, गोकर्णेश्वर नपाका उपप्रमुख सान्नानी लामा, बुढानीलकण्ठ नपाका प्रमुख मिठाराम अधिकारी, टोखा नपाका प्रमुख प्रकाश अधिकारीले ‘नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान कार्ययोजना २०७९’ को लागि आवश्यक सल्लाह सुझावहरू दिनुभएको थियो ।
उक्त कार्यक्रममा पर्यटन मन्त्रालयका उपसचिव सरोजकुमार पोखरेल, निमित्त सचिव बुद्धिसागर लामिछाने, काठमाडौँ महानपाका प्रमुख प्रशासकीय अधिकृत, पुरातत्व विभागका कार्यकारी निर्देशक, पर्यटन बोर्डका प्रतिनिधिले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्ययोजनाका संयोजक हुमप्रसाद लुइटेलले कार्ययोजनाबारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *