भर्खरै :

चुनावी तालमेलको लागि एमालेले माओवादीसँग माफी माग्ला ?

चुनावी तालमेलको लागि एमालेले माओवादीसँग माफी माग्ला ?

माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा आ–आफूलाई खाँटी कम्युनिस्ट दाबी गर्छन् । तर, निर्वाचनमा ती खाँटी कम्युनिस्टहरूलाई नेपाली काङ्ग्रेसजस्तो विदेशी पुँजीपरस्त पार्टीको वैशाखी नै चाहिन्छ । २०७९ साउन १९ गते पाँचदलीय गठबन्धनको समर्थन प्राप्त नेकाको देउवा सरकारले आगामी मंसिर ४ गते सङ्घ र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा ग¥यो । भोलिपल्ट साउन २० गते पाँचदलीय गठबन्धनको बैठक भयो र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरियो । २०७९ वैशाख ३० गते भएको स्थानीय निकायको निर्वाचनमा पनि पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल गरिएको थियो ।
जनता समाजवादी पार्टी (उपेन्द्र यादव) र लोकतान्त्रिक समाजवादी पार्टी (महन्थ ठाकुर) ले नेकाजस्तो भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादको पिछलग्गू पार्टीसँग निर्वाचन तालमेल गर्नु आश्चर्यको विषय होइन । माओवादीले दस वर्ष लामो सशस्त्र द्वन्द्व भारतीय आश्रयमा गरेको थियो । यसकारण, पुष्पकमल दाहालले नेकासँगको चुनावी तालमेललाई अप्ठेरो ठानेनन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल देशघाती महाकाली सन्धि प्रतिनिधि सभाको दुईतिहाइ बहुमतबाट पारित भएको बेला एमालेका महासचिव थिए । एमालेकै समर्थनमा नेकाले देशघाती महाकाली सन्धि पारित गरेको थियो । यसकारण, माधवकुमार नेपाललाई पनि नेकासँग निर्वाचन तालमेल गर्न शरम लागेन ।
राष्ट्रिय जनमोर्चाले धेरै अगाडिदेखि एमालेको समर्थनमा प्रत्यक्ष निर्वाचनबाट सांसद जित्दै आएको हो । गएको राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनबाट उसले एक स्थान पायो भने स्थानीय तहको निर्वाचनमा पनि सोही गठबन्धनबाट चार स्थानीय तहमा नेतृत्व हात पा¥यो । यसकारण सङ्घ र प्रदेश सभाको चुनावमा तालमेल गर्न राजमोलाई पनि अप्ठेरो भएन ।
माओवादी केन्द्रका दाहालले नेकाको समेत मत लिएर सङ्घ र प्रदेशको चुनावमा ठूलो पार्टी हुने आकाङ्क्षा राखे । एकीकृत समाजवादीका माधवले नेकाको समेत मत प्राप्त गरी समानुपातिकमा ३ प्रतिशत मत कटाएर राष्ट्रिय सभामा दर्ज हुने सपना देख्दै छ । जसपा र लोसपा पनि नेकाको मत प्राप्त गरी राष्ट्रिय दलसम्म बन्ने तरखरमा छन् ।
नेकाले प्रत्यक्ष निर्वाचन हुने १६५ स्थानमध्ये ९५ स्थान आफूले लिने र बाँकी स्थानमात्र माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमोलाई दिने बतायो । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानमा लागेका वामदेम गौतम नेकाकै मत लिएर निर्वाचन जित्ने सपनामा छन् ।
२०७४ सालको संसदीय निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच कम्युनिस्ट तालमेलको हौवा चलाई झन्डै दुईतिहाइ स्थान हासिल गरियो । एमालेका ओलीले माओवादी केन्द्रका दाहाललाई आधा कार्यकाल प्रधानमन्त्री छाड्ने सहमति तोडेको हुँदा यसपटक एमाले र माओवादी केन्द्रबीच तालमेलको सम्भावना भएन । यसकारण, माओवादी केन्द्रका वर्षमान पुनले एमालेका अध्यक्ष ओलीले माओवादी केन्द्रसँग माफी मागे एमालेसँगको तालमेलको सम्भावना भएको बताए । एमालेलाई ‘धुलोपिठो पार्न’ माओवादी कन्द्रले पुनको नेतृत्वमा शक्ति बस्नेत र हरिबोल गजुरेल सम्मिलित तीन सदस्यीय समिति गठन गरी अन्य पार्टीसँग वामएकता र निर्वाचन तालमेलको प्रयास गर्दै छन् ।
एमालेले राप्रपासँग भए पनि निर्वाचन तालमेल गर्ने तयारी गर्दै छ । २०७४ को सङ्घ र प्रदेशको चुनावमा एमाले र राप्रपाको तालमेलबाटै झापा ३ मा राप्रपाका राजेन्द्र लिङ्गदेन जितेका थिए । यसकारण, राप्रपाले एमालेसँग तालमेल गरी यसपालि थप केही स्थान जित्ने तयार गर्दै छ ।
तर, नेपाली जनताले निर्वाचनमा सिद्धान्तहीन गठबन्धन गर्ने, नगद र सामान बाँड्ने, भोज खुवाउने शासक दलहरूलाई एक्लै वा तालमेलमा आए पनि मत नदिने मानसिकता बनाएका छन् ।
२०७९ साउन २०

Leave a Reply

Your email address will not be published. Required fields are marked *