भर्खरै :

रुसलाई घृणा गर्ने ब्रेजिन्स्की खानदान

रुसलाई घृणा गर्ने ब्रेजिन्स्की खानदान

नेटो सम्मेलनअघि गत जुनमा राष्ट्रपति जो बाइडेनले संरा अमेरिकाले पोल्यान्डमा स्थायी सैन्य अखडा बनाउने घोषणा गरे । पहिलोचोटि अमेरिका नेटोको पूर्वी मोर्चामा हुनेछ ।
यस अखडाले संरा अमेरिकी सेनाको पाँचौ कोरलाई पोल्यान्डमा स्थायी मुख्यालय प्रदान गर्नेछ । यसबेला पोल्यान्डमा १० हजार अमेरिकी सैनिकहरू छन् । पोल्यान्ड अमेरिकाको निम्ति एउटा केन्द्र हो र अन्य पश्चिमी देशका लागि युक्रेनमा हतियार पैठारी गर्ने चौतारी हो ।
अप्रिलमा अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले अमेरिकामा बनेको प्याट्रियट वायु रक्षा प्रणाली, हिमार्स रकेट प्रक्षेपक, एफ–३५ लडाकू विमान र अब्राहम ट्याङ्कहरूलाई पोल्यान्ड पैठारी गर्न र उसको सैन्य क्षमता ‘युरोपकै सबैभन्दा सक्षममध्ये एक’ बनाउन सघाउन सहमति दिए ।
पोल्यान्डका रक्षामन्त्री मारिउज ब्लास्सकले पोल्यान्डलाई थप आक्रमण हेलिकप्टर, ड्रोन र बहुमुखी विमानहरू पठाउन अमेरिका सहमत भएको बताए । पोल्यान्डमा नयाँ स्वदेश प्रतिरक्षा ऐन ल्याएर पोल्यान्डले गार्हस्थ उत्पादनको ३ प्रतिशत रक्षामा गर्न सम्भव बनाइयो । यसरी पोल्यान्ड नेटो देशहरूमध्ये सेनामा सबैभन्दा धेरै खर्च गर्ने देशमध्ये एक बन्न पुगेको छ ।
पोल्यान्डका प्रम मातेउज मोराविकी जूनको अन्त्यतिर म्याड्रिडमा सम्पन्न नेटो शिखर सम्मेलनको परिणामले फुल्लिएका छन् । नेटोले फिनल्यान्ड र स्वीडेनलाई पनि नेटोमा आमन्त्रण गरेपछि उनले भने, “यो ऐतिहासिक निर्णय हो किनभने अब बाल्टिक सागर नेटोको आन्तरिक समुद्र बन्ने भयो ।”

इन्टरमारियम क्षेत्र
डोनाल्ड रम्सफेल्डले पेरिस र बोनलाई ‘पुरानो युरोप’ भन्ने गर्थे । बाइडेन सरकारले पेरिस र बोनबाट नेटोलाई पूर्व लैजाने ट्रम्पकै नीति पछ्याउँदै छ । सोभियत सङ्घका पूर्व भूभागहरू र मध्य एसियाली देशहरू हातमा लिने आक्रामक नियतका साथ यसो गरिँदै छ ।
यो नीति ‘इन्टरमारियम’ ब्युँताउने खेल हो । प्रथम विश्वयुद्ध सकिएसँगै ‘इन्टरमारियम’ को भूराजनीतिक अवधारणा जन्मेको थियो । यसमा बाल्टिक, ब्ल्याक र एजियन सागरबीचका देशहरूको गठबन्धन बनाउने सोचिएको थियो । खासगरी जर्मनी र रुसबीच एउटा वैकल्पिक गठबन्धनको रूपमा यो सोच जन्मेको थियो ।
२०१८ मार्चमा पोल्यान्डले अमेरिकी प्याट्रियट मिसाइलप्रतिरोधी प्रणाली खरिद गर्न ४ अर्ब ७५ करोड अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर ग¥यो । यो पोल्यान्डको इतिहासकै सर्वाधिक ठूलो हतियार खरिद प्रकरण हो । अमेरिको रेथियन कम्पनीले यो हतियार बेच्दै छ ।
रुसी उपविदेशमन्त्री भ्लादिमिर टिटोभले ‘स्पुतनिक न्युज’ सँग यस विषयमा कुरा गरेका छन् । प्याट्रियट प्रणाली ‘रुस घेर्ने अमेरिकी षड्यन्त्रको हिस्सा हो र सुरक्षामा खतराको पुरानो बहाना बनाएर यो मिसाइलप्रतिरोधी प्रणाली जडान गरिएको’ उनले बताए ।
यो षड्यन्त्रले अहिले रुसलाई झन् चिढाउँदै लगेको छ । संरा अमेरिकाले रुसलाई मिसाइलप्रतिरोधी प्रणालीले मात्र घेरेको छैन, बरू लड्न तत्पर लडाकु सेनाले पनि घेर्दै छ ।

२०२२ अप्रिल ८ मा पोल्यान्डको नोवा देबामा संयुक्त सैन्य अभ्यास गर्दै पोलिस र अमेरिकी सेना

प्रतिक्रियावादी सरकार
राष्ट्रपति आन्द्रेज दुदा नेतृत्वको पोल्यान्ड सरकार प्रतिक्रियावादी सरकार हो । यस सरकारले पोल्यान्डको कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएको छ । यसले कम्युनिष्ट विचारहरू प्रचार गर्नमा रोक लगाएको छ । र, तेस्रो लिंगी ‘मुक्त क्षेत्रहरू’ घोषणा गरेको छ ।
दुदा दक्षिणपन्थी ‘कानुन र न्याय दल’ का नेता हुन् । उनले मिडियामाथिको सरकारी नियन्त्रणलाई वैध बनाए र महत्वपूर्ण बुद्धिजीवीहरूलाई दबाउने कार्यलाई बढावा दिए ।
दुदाले दोस्रो विश्वयुद्धमा सक्रिय दक्षिणपन्थीहरूलाई पनि उकेरा हाल्दै छन् । सन् २०१८ मा दुदाले एउटा कानुन ल्याए । नाजीहरूले दिएका जघन्य यातनाहरूका लागि पोल्यान्डलाई दोष दिन नपाइने र नाजी यातना शिविरहरूलाई ‘पोलिस मृत्यु शिविर’ भन्न नपाइने त्यस कानुनमा उल्लेख थियो ।
दुदाको सरकारले नाजीविरूद्ध पोल्यान्डले प्रतिकार गरेको कुरामा जोड दिँदै आएका छन् । यसो गर्दै गर्दा उसले १९४१ जुलाईमा जेदवाब्ने नरसंहारजस्ता पोलिस अपराधहरूलाई ढाकछोप गरेको छ । त्यतिबेला पोलहरूले समूह बनाउँदै आफ्नो छरछिमेकमा बस्ने यहुदीहरूलाई मारेका थिए ।

ब्रेजिन्स्कीलाई चिनौँ
पोल्यान्डका लागि वर्तमान अमेरिकी राजदूत मार्क ब्रेजिन्स्की जिगन्यू ब्रेजिन्स्कीका छोरा हुन् । जिगन्यू ब्रेजिन्स्की दशकौँसम्म अमेरिकी विदेश नीतिका मुख्य योजनाकार थिए । रुसीहरूको भियतनाम रच्ने दाउले उनले सन् १९७० र १९८० को दशकमा अफगानिस्तानका इस्लामी आतङ्कवादीहरूलाई सघाएका थिए ।
जो बाइडेन उपराष्ट्रपति छँदा जिगन्यू बाइडेनका निकटवर्ती थिए । उनी आजीवन डेमोक्र्याट हुन् । उनको परिवार पोल्यान्डको कुलीन घराना हो । यो घरानाले जहिल्यै रुसलाई घृणा मात्र गरेको थियो ।
जिगन्यूका बुबा तादेउजले सन् १९२० को सोभियत–पोल्यान्ड युद्धमा लेभोभको लडाइँ लडेका थिए । लालसेना हारेको त्यो एकमात्र लडाइँ थियो । त्यो लडाइँले पश्चिमा सभ्यता जोगाउन सघाएको तादेउजको दाबी थियो । पछि सन् १९३० को दशकमा तादेउजलाई पोलिस कूटनीतिज्ञको रूपमा सोभियत सङ्घ पठाइएको थियो । तिनताका सोभियत सङ्घमा स्तालिनको पजनी चलिरहेको थियो ।
(नोट : राष्ट्रपति वुड्रो विल्सनको आग्रहमा संरा अमेरिकाले पोल्यान्डलाई १७ करोड ६० लाख अमेरिकी डलर युद्ध ऋण दिएको थियो । त्यो रकमबाट पोलिस सेनाको लागि झन्डै २०० ट्याङ्क, ३०० विमान, युद्ध सामग्रीहरू र खाद्यान्न खरिद गरिएको थियो । जादवर्जे लडाइँ १९२० अगस्ट १७ मा भएको जादवर्जेको लडाइँमा एउटा अमेरिकी लडाकू विमान टोलीले लेभिभ आउने बाटो रोकेको थियो भने अन्य अमेरिकीहरूले सेम्योन बुदयोन्नीको प्रथम घोडचढी दलको नेतृत्वमा रहेको लालसेनाविरूद्ध लडेका थिए ।)

पोल्यान्डका प्रम मातेउज मोराविकी

दोस्रो विश्वयुद्धका पोल्यान्डमा कम्युनिष्टहरूको दबदबा बढेपछि तादेउज भागेर क्यानाडाको मोन्ट्रियल सहर पुगे । त्यहाँ सन् १९५२ देखि १९६२ सम्म उनी दक्षिणपन्थी पार्टी ‘क्यानेडाली पोलिस काङ्ग्रेस’ को अध्यक्ष बने ।
जिगन्यू बाबुको खाँटी छोरा बने । बाबुबाट सोभियत सङ्घमा धेरै मानिसहरू हराएका कथाहरू सुन्दै उनी हुर्के । यी कथाहरूले ‘सानो छँदा ममा ठूलो छाप पारेका थिए’, उनले भनेका छन् । जिगन्यू प्रतिभाशाली विद्यार्थी थिए । उनले सन् १९४९ र १९५० मा म्याक्गिल विश्वविद्यालयबाट बीए र एमएको डिग्री लिए । सन् १९५३ मा उनले हार्वर्डबाट विद्यावारिधि गरे । आफ्नो शोधपत्रमा उनले अक्टोबर क्रान्ति, भ्लादिमिर लेनिनको राज्य र जोसेफ स्तालिनका कारबाहीहरूको सम्बन्ध केलाएका थिए ।
यति नै बेला उनी जान नोवाक–जेजियोरान्स्कीको सङ्गतमा परे । जेजियोरान्स्की सीआईएको प्रचार माध्यम ‘रेडियो फ्रि युरोप’ को पोलिस शाखाका प्रमुख थिए ।
ब्रेजिन्स्कीले हार्वर्डका आफ्ना सहकर्मी कार्ल जे. फ्रेडरिखसँग मिलेर सन् १९५६ मा प्रकाशित पुस्तक ‘निरङ्कुश तानाशाही र स्वेच्छाचार’ मा ‘निरङ्कुशतन्त्र’ को अवधारणा विकास गरे । सोभियतहरूको सशक्त चित्रण गर्न र तिनको जोडदार आलोचना गर्न यो अवधारणाको विकास गरिएको थियो ।
इतिहासकारहरूले यो अवधारणाको विरोध गरे । किनभने, यसले सोभियत सङ्घमा परिवर्तन हुनसक्ने सम्भावनालाई खारेज गरेको थियो तथा पश्चिमी ‘प्रजातन्त्र’ र कम्युनिष्ट खेमाका देशहरूबीच झूटो बाइनरी रचेको थियो । तिनताका ग्लासनोस्त र पेरेइस्त्रोइकाको नाममा सोभियत सङ्घ फेरिँदै थियो ।
हार्वर्ड र कोलम्बियामा अध्यापन गरेपछि ब्रेजिन्स्की जिम्मी कार्टरका राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त भए । त्यो पदमा रहेर उनले सोभियत प्रभावसँग जुध्न मध्यपूर्वमा ‘इस्लामको घेरा’ बनाउनुपर्ने बताए । रिचर्ड निक्सन र हेनरी किसिन्जरको ‘सम्बन्ध सुधार नीति’ बन्द गर्न र चीनलाई सोभियत सङ्घविरूद्ध हतियारको रूपमा प्रयोग गर्न उनी अमेरिकी शासकहरूलाई मनाउन सफल भए ।
ब्रेजिन्स्की सुरूदेखि नै भियतनाम युद्धका समर्थक थिए । उनले अमेरिकाको नव–वामपन्थी उभारलाई ‘बालरोग’ भने । उनले ‘त्रिपक्षीय आयोग’ गठन गरे । यस अयोगले भियतनाम युद्धपछि अमेरिकी शक्ति बढाउने काम ग¥यो । यसको लागि अमेरिकाले पश्चिम युरोप र जापानसँग गठबन्धन गरेको थियो ।
(नोट : ब्रेजिन्स्की विदेश सम्बन्ध परिषद् वा ‘वालस्ट्रिट थिंक ट्यांक समूह’ का सदस्य थिए । साथै, युरोप–अमेरिका सम्बन्ध हेर्ने बाइल्डरबर्ग समूहका सदस्य पनि थिए ।)
सन् १९९७ मा ब्रेजिन्स्कीको बहुचर्चित पुस्तक ‘द ग्रान्ड चेसबोर्ड : अमेरिकन प्राइमेसी एन्ड इट्स जियोस्ट्रयाटेजिक इम्पेरेटिभ्स’ छापियो । पुस्तकमा ब्रेजिन्स्कीले बेलायती साम्राज्यका रणनीतिकार हालफोर्ड म्याकिन्डरका सिद्धान्तहरूको प्रयोग गरेर मध्य एसियामा अमेरिकी प्रभुत्वको पैरवी गरे । विश्वभरि प्रभुत्व जमाउन मध्य एसियालाई हातमा लिनुपर्ने उनको राय थियो ।
ब्रेजिन्स्कीलाई रुसमा रूचाइन्थेन । त्यहाँ उनलाई सोभियत सङ्घविरोधी र रुसोफोब वा रुससँग घिनाउने व्यक्तिको रूपमा हेरिन्थ्यो । सन् २०१७ मा उनको निधन भयो । मर्नुअघि उनले ‘पुटिनले जारशाही पुनःस्थापना गर्न चाहेको’ चेतावनी दिएका थिए ।
ब्रेजिन्स्की रुसविरूद्ध नाकाबन्दी लगाउनुपर्ने र नेटोलाई विस्तार गर्नुपर्ने बताउँथे । सन् २०१४ को युक्रेनी विद्रोह र रुसीहरूविरूद्ध सहरी युद्ध गर्न संरा अमेरिकाले युक्रेनलाई ट्याङ्कप्रतिरोधी हतियारहरू उपलब्ध गराउँदा उनी समर्थनमा उभिएका थिए ।
रुसी सङ्घलाई टुक्राउन चाहने जोसुकैलाई संरा अमेरिकाले सघाउनुपर्ने ब्रेजिन्स्कीको धारणा थियो ।

बाबुको बाटोमा अर्का ब्रेजिन्स्की
जिगन्यूका छोरा मार्क कर्पोरेट वकिल हुन् । अक्सफोर्डबाट उनले राजनीतिशास्त्रमा विद्यावारिधि गरेका छन् । सन् १९९९ देखि २००१ सम्म ‘राष्ट्रिय सुरक्षा परिषद्’ मा उनी रुसी÷युरेसियाली र दक्षिणपूर्वी युरोपेली मामिलाका निर्देशक थिए । उनको दृष्टिकोण बाबु र हजुरबाबुको भन्दा कत्ति पनि फरक छैन ।
विदेश सम्बन्ध परिषद् एउटा उच्चस्तरीय थिङ्क ट्याङ्क समूह हो । यसले साम्राज्यवादी विदेश नीतिहरूको पक्ष लिन्छ । मार्क ब्रेजिन्स्की यसका सदस्य हुन् । त्यसैगरी बुबाजस्तै मार्क ‘त्रिपक्षीय आयोग’ का पनि सदस्य हुन् । यी संस्थाका सदस्यको रूपमा मार्क ब्रेजिन्स्कीले सन् १९९० को दशकको अन्त्यतिर नेटोको विस्तारमा अमेरिकी नीतिहरू लागू गर्न सघाए ।
उनले सर्बियामा भएको रङ्गीन क्रान्तिमा पनि सघाए । त्यस क्रान्तिले समाजवादी नेता स्लोबोदान मिलोसेभिकलाई सत्ताच्यूत गरेको थियो । मिलोसेभिकले युगोस्लाभिया सङ्घलाई एकढिक्का बनाउन खोजेका थिए र संरा अमेरिकी तानाबानाको प्रतिकार गरेका थिए ।
हालैको एक अन्तर्वार्तामा मार्क ब्रेजिन्स्कीले लेक वालेसालाई ‘स्वतन्त्रता सेनानी’ भने । लेक वालेसा सन् १९८० को दशकमा पोल्यान्डको कम्युनिष्ट सरकार उल्ट्याउन सीआईएको पैसाले चलेका नेता थिए ।
युक्रेन युद्धबारे मार्क ब्रेजिन्स्कीले दाबी गरे, “पोल्यान्डका लागि यो सन् १९३९ हो, स्लाभिक देशमाथिको आक्रमण हो । यहाँ जनताले प्रतिकार गर्न खोज्दै छन् र पोलहरू सघाउन चाहन्छन् । पोल्यान्डको लागि युक्रेन सङ्कटको अर्थ यही हो । सन् १९३९ भन्दा फरक युक्रेन सङ्कट एउटा गजबको कथा हो । (पोल जातिका) मानिसहरू आफ्नो कारमा चढेर सिमानासम्म पुगेका छन्, युक्रेनी परिवारहरूलाई कारमा राखेका छन् र तिनलाई पाहुनागृह वा घरहरूमा राख्न ल्याएका छन् ।”
सारमा रुसीहरू नाजी भूमिकामा छन् र पोलहरू नाजी कब्जाका पीडितहरूको रक्षा गर्ने भूमिकामा छन् ।

२०२२ अप्रिल २० मा पेन्टागन आएका पोलिस रक्षामन्त्री मारिउज ब्लास्सकसँग अमेरिकी रक्षामन्त्री लोयड अस्टीन

साकार हुँदै छ पुरानो सपना
युक्रेन युद्धको अग्रमोर्चामा बसेर पोल्यान्डले युक्रेनलाई भारी हतियारहरू दिएको छ । यसको लागि ६५ करोड अमेरिकी डलर बराबरको हतियार सम्झौता भइसकेको छ । यो पछिल्लो तीन दशककै सर्वाधिक ठूलो हतियार सम्झौता हो । त्यसैगरी पोल्यान्डले लाखौँ युक्रेनी शरणार्थीहरूलाई शरण दिएको छ र पश्चिमा हातहतियार र सहयोग पैठारी गर्ने मुख्य आपूर्तिकर्ताको काम गर्दै छ । यी सबै काम मार्क ब्रेजिन्स्कीको निगरानीमा भइरहेको छ ।
जूनको अन्त्यसम्ममा पूर्वी युक्रेनमा मात्र ‘८० भन्दा बढी पोलिस लडाकुहरू’ मारेको रुसी पक्षको दाबी छ । त्यस्तै युक्रेनको नीपर नदी क्षेत्रमा घटीमा दुई बटालियन पोलिस सेना पठाइएको खबर छ । यी बटालियनसँग ट्याङ्कप्रतिरोधी बन्दुकहरू र हतियारबन्द अमेरिकी गाडीहरू छन् ।
यही कतै तादेउज र जिगन्यू ब्रेजिन्स्की चिहानबाट मुस्काइरहेका होलान् ¤ पोल्यान्डलाई रुसविरूद्ध हमला गर्ने साधन बनाउने उनीहरूको पुरानो सपना अन्ततः साकार हुँदै छ । तर, उनीहरूको सपना साकार पार्न सारा संसारले संभाव्य विश्वयुद्धको मूल्य चुकाउँदै छ ।
(स्रोत : कोभर्ट एक्सन म्यागेजिन । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *