जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
भक्तपुर, २५ साउन । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले संरा अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेर दक्षिण एसियामा तनावको अवस्था सिर्जना गर्न खोजेको बताउनुभयो ।
बाल विकास सेकेन्डरी स्कूलका शिक्षकहरूबीच बुधबार भएको पुस्तक अध्ययन गोष्ठीमा सांसद गोसाईले थाइवान, मकाउ, हङकङ, तिब्बतजस्ता भूभाग चीनको अभिन्न भाग भएको तथ्य संसारलाई थाहा भएको र यो संरा अमेरिका स्वयम्ले पनि स्वीकार गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “चीन संसारको पहिलो अर्थतन्त्र बन्न लागेको देखेर उसको प्रगति रोक्न संरा अमेरिका दुष्प्रयास गर्दै छ ।”
संसारमा अस्थिरता कायम हुनुमा संरा अमेरिका प्रमुख दोषी भएको धारणा राख्दै सांसद गोसाईले रूस–युक्रेन युद्धको प्रमुख कारक तत्व पनि संरा अमरेका नै भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “किताब पढ्नुमात्र महत्वपूर्ण हुने गर्दैन । पढेको कुरालाई व्यवहारमा उत्तार्नु र सुसंस्कृत जीवन बिताउनु महत्वपूर्ण कुरा हो ।”
कार्यक्रममा शिक्षकहरू शङ्कर आचार्य, जयराम कोजू, गङ्गा वैद्य, अञ्जु धौबन्जार, अमृता प्रजापति, चण्डेश्वरी कोजू, आरती प्रधान, कृष्णाकुमारी न्यौपानेलगायतले आ–आफूले अध्ययन गरेको विभिन्न पुस्तकको अध्ययनको सार बताउनुभएको थियो ।
Leave a Reply