जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
नेपाल मजदुर किसान पार्टीले पञ्चायत कालदेखि नै स्थानीय तह र प्रतिनिधि सभामा भाग लिँदै आएको हो । प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र रहेर देश र जनताको सेवा गर्ने लेनिनवादी नीतिअनुसार नेमकिपाले निर्वाचनलाई उपयोग गर्दै आएको हो । मङ्सिर ४ गते हुने भनिएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने कुरामा शङ्का छैन । निर्वाचन कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार जनतामाझ पु¥याएर जनतालाई सुसूचित पार्ने अवसर पनि हो । सुरु–सुरुमा निर्वाचनमा भाग लिँदा अहिले निर्वाचनमा भाग लिएर जितेका कति दलहरूले नेमकिपालाई ‘पञ्चायतीवादी’, ‘राजावादी’, ‘सुधारवादी’ भनी विरोध गरेका थिए । उनीहरूले विरोध गरे पनि नेमकिपाले आफ्नो अडान छोडेन । निर्वाचनलाई उपयोग गर्दै आएको छ । निर्वाचनलाई उपयोग गर्नुको उद्देश्य पञ्चायतको या सामन्तको गुणगान गर्न होइन, न त पुँजीपति वर्गको गुणगान गर्न नै हो । त्यसबेला नेमकिपाले कानुनी र गैरकानुनी सङ्घर्ष गर्दै आएको थियो ।
नेमकिपाले निर्वाचनमा कहिल्यै पैसा बाँड्ने काम गरेन । लोभलालच देखाएर, भोज खुवाएर र झूटा आश्वासन बाँडेर जनताको भोट लिने काम नेमकिपाले गरेन । नेमकिपाका नेता तथा कार्यकर्ताहरू निर्वाचनमा जिते पनि नजिते पनि जनताको बीचमा रहिरहे, जनताको सेवा गरिरहे । कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार प्रचार गरिरहे । देश र जनताको पक्षमा आवाज उठाइरहे, सङ्घर्ष गरिरहे । नेमकिपाका जनप्रतिनिधिहरूले इमानदारीपूर्वक काम गरिरहे । तर, अरू निर्वाचित जनप्रतिनिधिहरूले सिद्धान्तनिष्ठ भएर काम गरेनन्, इमानदारीपूर्वक काम गरेनन् । ती दलका नेता तथा कार्यकर्ताहरू जसरी भए पनि जित्न साम, दाम, दण्ड र भेदको नीति लिएर चुनावमा लागे । तिनीहरूले पैसा बाँडे, भोज खुवाए, लोभलालच देखाए । त्यही कारण उनीहरू निर्वाचित स्थानीय तहमा भ्रष्टाचार बढ्यो र अनियमितता बढ्यो । सत्तासीन र ठूला दलका नेता, कार्यकर्ताहरूले निर्वाचन आचारसंहिता पनि पालना गरेनन् । यसरी अरू दलका नेता तथा कार्यकर्ताले जनताको मन बिगार्ने काम गरे, जनता भड्काउने काम गरे, झूटको खेती गरेर गएको स्थानीय तहको निर्वाचनमा पनि त्यस्तै भयो । नानीदेखिको त्यो बानी अब हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा पनि उनीहरू पैसाको खोलो बगाउन, लोभलालच देखाउन पछि पर्ने छैनन् । यसमा आम जनता सचेत हुनुपर्छ ।
निर्वाचन वास्तवमा सिद्धान्त र विचारको लडाइँ हो । यो वैचारिक लडाइँ हो । यो एक प्रकारको वर्गसङ्घर्ष पनि हो । निर्वाचन देश विदेशबारे लाखौँ जनतासमक्ष पु¥याउने या जानकारी दिने माध्यम पनि हो । सरकार र राजनीतिक दलको कमी कमजोरी औँल्याउने र जनतालाई राजनैतिक, सैद्धान्तिक, वैचारिक र सांस्कृतिकरूपले सचेत पार्ने दबु पनि हो । यसरी राजनीतिक दलहरूले निर्वाचनलाई फरक–फरक ढङ्गले उपयोग गरिरहेका छन् । आम नेपाली जनताले राजनीतिक दलहरूले गरिरहेको गतिविधिको आधारमा मूल्याङ्कन गर्नुपर्छ, देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने दलका उम्मेदवारहरूलाई जिताउनुपर्छ देश जोगाउन सङ्घर्ष गर्ने, बहुमत जनताको सेवा गर्ने दलका उम्मेदवारहरूलाई छान्नुपर्छ । अनि आफूले मतदान गर्दाको सही उपलब्धि हुन्छ ।
Leave a Reply