भर्खरै :

“मलाई मोदीको भारत मन पर्दैन” – ३

“मलाई मोदीको भारत मन पर्दैन” – ३

(गत अगस्ट १० मा करन थापरले लिएको यस अन्तर्वार्तामा इतिहासकार रोमिला थापरले नेहरूकालीन भारतदेखि मोदीको भारतसम्मका घटनाक्रमबारे आफ्ना अनुभव र अनुभूति साटेकी छिन् । नरेन्द्र मोदीप्रति इतिहास कठोर हुने इतिहासकार थापरको निष्कर्ष छ । प्रस्टताका लागि अन्तर्वार्ता अलिकति सम्पादन गरिएको छ । – सम्पादक)

इतिहास लेखन झन्झन् खोजमुलुक बन्दै छ भन्नुभयो । यसले इतिहास अझ तरल हुनेभयो । झन् बढी पटापक्ष र स्रोतसामग्रीहरूमा ध्यान दिनुपर्ने भएपछि खासगरी जेम्स मिलको हिन्दुविरुद्ध मुसलमानजस्ता विचारलाई ठोकुवासाथ भन्न सम्भावना रहेन ।
विचारलाई ठोकुवासाथ भन्न सम्भव रहेन । हामी सबै इतिहासकारले यो मेरो बुझाई हो, मेरो सामान्यीकरण हो भनेर सुरु गर्नुपर्ने हुन्छ । तर, बीचमा केही कुरा पत्ता लाग्छ र सबथोक फेर्नुपर्ने पनि हुनसक्छ ।

के बितेका ८–६ वर्षमा इतिहासको जून पुनर्लेखन भइरहेको छ, त्यो खालि पुनर्लेखन हो कि राजनीतिक उद्देश्य राखेर गरिएको तोडमरोड हो ?
हामीमध्ये केहीले यसलाई राजनीतिक उद्देश्य राखेर गरिएको तोडमरोड ठान्दै छन् ।

के तपाईँ यसलाई तोडमरोड ठान्नुहुन्छ ?
मलाई यो तोडमरोड लाग्छ । ममाथि भारी मात्रामा तुच्छ हमला भएका छन् । सर्वाधिक निकृष्ट तवरले हमला भएका छन्, किनभने म महिला हुँ । महिलाहरूलाई तारो बनाउन सजिलो हुन्छ । खासगरी लैङ्गिक हमला गर्न । ममाथि भारी हमला भयो । तर पनि मैले ‘हिन्दुत्व इतिहास’ भनेर प्रचार गरिएको इतिहास इतिहास नै होइन भन्ने अडान छोडेकी छैन ।

त्यो भनेको ७५ वर्षपछि आएर सन् २०२२, २०२१, २०२० मा हामीले इतिहास र सत्य उल्टाएको दृश्य देख्दै छौँ ।
हो ।

इतिहासको कुरा गर्दा यो अघि बढिरहेको छैन, बरु पछि फर्किँदै छ ।
यसमा म थप्छु, यो इतिहास उल्टाउने जोडदार प्रयास हो किनभने सौभाग्यले हामीकहाँ केही उत्कृष्ट नयाँ इतिहासकारहरू छन् र तिनले आँखा चिम्लेर कुनै कुरा विश्वास गर्दैनन् ।

तर, इतिहास बुझ्ने भन्दा पनि पछि फर्किने प्रयास भइरहेको छ ।
हो । तिनीहरूले सही ठह¥याएको ढर्रामा इतिहास लेख्ने प्रयास भइरहेको छ । इतिहास धार्मिक प्रश्नोत्तर बन्दै छ । तपाईँलाई प्रश्न र उत्तर दुवै दिइन्छ । तपाईँ तिनै प्रश्न र तिनै उत्तरमा टाँसिनुपर्छ । अर्को प्रश्न सोध्न पाइन्न, अर्को उत्तर खोज्न पाइन्न ।

यो भनेको नयाँ बुद्धिलाई हतोत्साहित गर्नु पनि हो ।
त्यसैले मानिसहरू ‘नयाँ शिक्षा नीति’ देखेर चिन्तित छन् ।

कुराकानीको अन्त्यतिर एउटा सिधा प्रश्न गर्न दिनुहोस् । हामीमाथि एकजना विराट पुरुष, हाम्रा प्रधानमन्त्री हुनुहुन्छ । भारतमाथि मोदीले आफ्ना पूर्ववर्तीहरूभन्दा ठूलो छाप पार्नुभएको छ । यसमा जवाहरलाल नेहरू मात्र अपवाद हुनुहुन्छ होला । मोदी आठ वर्षसम्म प्रधानमन्त्री रहिसक्नुभएको छ । दुई वर्ष बाँकी छन् । त्यसपछि पनि पाँच वर्षसम्म उहाँले नै शासन गर्ने आशङ्गा छ । एक इतिहासकारको रूपमा इतिहासले उहाँलाई कसरी सम्झिने हो, अनुमान गर्न सकिएला कि ?
अँ, निश्चय नै भविष्यमा इतिहासकारहरूले धेरै कुरा खोतल्नेछन् । आज किनारमा धकेलिएका धेरै कुराको खोजबिन गर्नेछन् । त्यसैले राम्रा इतिहासकार भएको खण्डमा तिनले एकदम फरक दृश्य अघि सार्नेछन् । त्यो दृश्य अहिले देखिएको भन्दा पूर्णतः फरक हुनेछैन, तर त्यसमा नौलो सुक्ष्मता हुनेछ ।
इतिहासकारहरू विगतको दृश्यलाई दुई तहमा हेर्छन् । एउटा मानवीय पक्षलाई हेर्छन् । सोध्छन्, “यो शासक कस्तो मान्छे थियो ?” हामी हाम्रा सबै राजारानी र अन्य व्यक्तिहरूलाई यसरी नै हेर्छौँ । त्यसपछि व्यक्तिका मानवीय गुणहरू बाहिर आउँछन् । तर, नेहरूजस्ता व्यक्तिका हामी मानवीय गुणहरू पाउँछौँ किनभने ती गुणहरू सुस्पष्ट र गोचर थिए ।

मोदीको हकमा ?
ती लुकेका लाग्छन् ।

नियोजित रूपमै ?
थाहा भएन ।

कि ती छँदै छैनन् ?
हुनसक्छ, अथवा उहाँ तिनको प्रचार गर्न चाहनुहुन्न ।

त्यो भनेको आज भीमकाय ठानिएको व्यक्ति भविष्यमा लेखिने इतिहासमा खोटसहितको व्यक्ति देखिन सक्छ ।
हेर्नुहोस् खोट सबैको हुन्छ । खोटबिनाको भीमकाय व्यक्ति छैन ।

तर, आज मोदीका यी खोटहरू गोचर छैनन् । त्यसको बारेमा भविष्यमा लेखिनेछ ।
त्यसको बारेमा भविष्यमा लेखिनेछ र के नबिर्सौँ भने हामीले कुनै व्यक्तिविशेष, नेता वा कुनै सार्वजनिक व्यक्तित्व भीमकाय छ भनी कुरा गर्दा त्यो प्रचारमा आएको बिम्ब मात्र हुन्छ । जुनसुकै पदको व्यक्ति किन नहोस्, व्यक्ति भीमकाय चाहिँ हुँदैन ।

तिनलाई त्यसरी प्रचार गरिन्छ ?
त्यसरी प्रचार गरिन्छ । र मलाई के लाग्छ भने…

त्यो भनेको भीमकाय व्यक्तित्व स्वनिर्मित हुन्छ ?
हुनसक्छ, तिनको चाहनाअनुरूपको स्वनिर्मित हुनसक्छ । आफूलाई कसरी देखाउने वा कसरी देखाएको रुचाउने भन्ने हुनसक्छ । अथवा, अरूले कसरी चित्रण गर्छन् भन्ने पनि हुनसक्छ ।

इतिहासले यी सबै केलाउनेछ ?
इतिहासले यी सबै केलाउनेछ र इतिहासले व्यक्तिको भव्य रोबरवाफमा विश्वास गर्दैन । इतिहासले व्यक्तिको काममा विश्वास गर्छ ।

फेरि तपाईँ इतिहास मोदीप्रति दयावान नहुने बताउँदै हुनुहुन्छ ?
हो, इतिहासले कुनै पनि विराट व्यक्तिमाथि कहिल्यै दया देखाएको छैन ।

अन्त्यमा एउटा व्यक्तिगत प्रश्न सोध्छु । तपाईँले ७५ वर्ष यस देशमा बाँच्ने सौभाग्य पाउनुभयो र यसलाई नियाल्ने, बुझ्ने, महसुस गर्ने र आफ्ना धारणा राख्ने परिपक्वता पनि हासिल गर्नुभयो । आजका मितिमा यो देश जस्तो बनेको छ, के तपाईँ यसलाई रुचाउनुहुन्छ ? मोदीले भारतलाई जस्तो देश बनाउँदै हुनुहुन्छ, के व्यक्तिगतरूपमा तपाईँ यसलाई रुचाउनुहुन्छ ?
हेर्नुस्, म यो देशलाई रुचाउँछु किनभने मैले यहाँ छनोटका धेरै अवसरहरू पाएँ । बाहिर पनि कामको अभाव त थिएन ।

तर मेरो प्रश्न…
म यहाँ किन बसेँ ? म यहाँ किन बसेँ भने जब म विमानस्थलमा मेरो सुरक्षा जाँच हुन्छ, त्यहाँको कारिन्दाले मेरो पासपोर्ट, परिचयपत्र हेर्छ र भन्छ, “तपाईँ त्यही हैन ?” म भन्छु, “को भनेको ?” ऊ भन्छ, “त्यही इतिहास लेख्ने दिदी ?” यो मेरा लागि धेरै महत्वपूर्ण छ । अनि म भन्छु, “तिमीले मैले लेखेको केही पढेका छौ ?” ऊ भन्छ, “अँ । मैले यो पढेको छु, त्यो पढेको छु । मलाई त्यो धेरै मन पर्यो ।…” “किन मन पर्यो ?” “किनभने मैले पढेका इतिहासका अरू किताबमा भन्दा त्यो बढी सत्य लागेर ।…” यो निकै ठूलो आत्मीयता हो । सर्वसाधरणका लागि तपाईँले जे गर्दै हुनुहुन्छ, त्यसलाई मामुली मान्नुभन्दा त्यसप्रतिको जिम्मेवारीबोध असाध्यै ठूलो कुरा हो ।

रोमिला थापरले किन आफ्नो देशलाई माया गर्नुहुन्छ भन्ने विषयमा यो एउटा उत्कृष्ट दृष्टान्त हो । तर, मेरो प्रश्न अर्कै थियो ।
थाहा छ ।

मोदीले जस्तो भारत बनाउँदै हुनुहुन्छ, के त्यो तपाईँलाई मन पर्छ ?
अहँ, मन पर्दैन । मन पर्दैन ।

तपाईँलाई मोदीको भारत मन पर्दैन ?
अहँ । मलाई यो निकै साँघुरो लाग्छ, अति सीमित लाग्छ, एकतर्फी लाग्छ । यसमा विविधता छैन । यसमा के हुन सक्छ भन्ने सम्भावनाहरूको कामना छैन । हामीले आफूलाई के–कस्तो मनुष्य बनाउन सक्छौँ, त्यसको कल्पना छैन ।

मोदीको भारत तपाईँ १५ वर्षकी छँदा जस्तो भारतको सपना देख्नुभएको थियो त्यो भारत होइन ?
होइन, त्यो होइन ।

बरु त्यसको उल्टो हो ?
उम्, हो ।

त्यसको उल्टो हो ?
हो ।

जब तपाईँ जनतातिर आँखा लगाउनुहुन्छ, राज्यका निकायहरूतिर हेर्नुहुन्छ, तिनले हाम्रो संविधानका आदर्शहरूको पक्षमा पर्याप्त नउठेको वा प्रतिरक्षा गरेको पाउनुहुन्न, कहिलेकाहीँ त तिनले सन् १९४७ मा १५ वर्षकी रोमिलाले साँचेका सपनाहरू र आकाङ्क्षाहरू कत्ति पनि पूरा नगरेको पाउनुहुन्छ । यी सबै निकायमध्ये तपाईँ कसलाई सबभन्दा बढी दोष दिनुहुन्छ ? संसद्, निर्वाचन आयोग, न्यायालय, सञ्चारमाध्यम वा त्यो भन्दा पनि तल कसैलाई ? के त्यो भारतको मध्यम वर्ग हो ? जसले झन्झन् मोदी, हिन्दुत्व र उनको भिजन अनुसारको भारत अपनाउँदै छ । यीमध्ये कसलाई दोष दिनुहुन्छ ?
तल कसैलाई । मेरो विचारमा दोष भारतीय मध्यम वर्गलाई जान्छ किनभने भारतीय मध्यम वर्ग हुन्नथ्यो भने संविधानमा निर्दिष्ट यी तीन खम्बा यति कमजोर हुन्नथे । तर, मध्यम वर्ग भनिरहँदा यसमा म आफूलाई पनि समावेश गर्छु । अर्थात् म बाहिर बसेर ‘तिनीहरू’ भन्दिन । हामी सबै । मेरो विचारमा सबैभन्दा मूलभूत पक्ष भनेको हामी वा हाम्रो पुस्ताले स्वतन्त्रता आन्दोलनलाई लिएर जुन आकाङ्क्षाहरू सङ्गालेका थियौँ, ती सबै एक न एक दिन स्वतः हात लाग्नेछन् भन्ठानेका थियौँ । त्यसका लागि हामीले मिहिनेतपूर्वक प्रयास गरेनौँ ।

हामीले पर्याप्त काम गरेनौँ ?
हामीले धर्मनिरपेक्षता, लोकतन्त्र, स्वतन्त्रता आन्दोलनको मर्मसहितको राष्ट्रवादका आधारभूत पक्षहरूलाई टिकाउ बनाउन र तिनलाई कसैले चोट पु¥याउन नसकोस् भनेर पर्याप्त काम गरेनौँ ।

उसो भए स्वतन्त्रता आन्दोलनको मर्मलाई हलुका रूपमा लिएको र तिनलाई सुनिश्चित गर्न पर्याप्त काम नगरेको दोष भारतीय मध्यम वर्गलाई जान्छ ?
हो, मलाई यस्तै लाग्छ ।

भारतीय मध्यम वर्गले हामीलाई विफल तुल्याउनुको कुनै कारण छ कि ?
मेरो विचारमा भारतीय मध्यम वर्ग भारतीय स्वतन्त्रता आन्दोलनले स्थापित गरेको नवभारतका आदर्शहरूप्रति पुग्दो मात्रामा बफादार रहेको छैन ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *