भर्खरै :

सबेरैको कीर्तिपुर यात्रा

सबेरैको कीर्तिपुर यात्रा

मानिसको जीवन एक यात्रा न हो । यस्तै यात्रा गर्ने क्रममा जीवनमा कति ओराली कति उकाली चढियो, कति चौतारीमा सुस्ताइयो । आज म कीर्तिपुरतिरको यात्राबारे केही लेख्ने कोशिश गर्दै छु । मेरो यात्रा भक्तपुरबाट सुरु हुन्छ । म आफ्नो अध्ययनको शिलशिलामा भक्तपुरबाट कीर्तिपुरसम्मको यात्रा तय गर्दछु । सबेरैको खाली शान्त सडक मलाई लाग्छ, कोही आफ्नै मानिसको प्रतिक्षा गर्दै कुरिरहेको छ । बस स्टपहरूमा बिहानका स्कूल कलेज हुने विद्यार्थीहरूका केही जमात देखिन्छन् । यस्तैमा बिहान ठाउँ–ठाउँमा सवारी साधन चेकिङ गर्न बसेका प्रहरी र ट्राफिक प्रहरीहरू देखिन्छन् । नखुबाट बिस्तारै अगाडि बढ्दै गर्दा सानेपाको मूल सडक छेउकै इनारमा आँखा पुग्दछ । मैले कतिपटक यही बाटो भएर यात्रा गरेको छु । तर, मैले त्यहाँ इनार भएको पत्तो पाएको थिइनँ । आजकल सबेरै हिँड्ने क्रममा त्यहाँ केही महिलाहरू इनारबाट पानी झिकिरहेको भेटिन्छन् । त्यहाँबाट अगाडि बढेपछि बल्खु चोकमा कामदारको केही भिड देखिन्छ । त्यही पर बस कुरिरहेका केही मानिसहरू देखिन्छन् । बल्खुबाट त्रि. वि. तिर जाने बाटो लाग्दै गर्दा त्रि. वि. गेटसँगै ट्राफिक प्रहरीहरू सवारी साधनको चेक गरिरहेको प्रायः भेटिन्छ । देश र जनताप्रति समर्पित ती राष्ट्रप्रति मनमनै नमन गर्दै अगाडि बढ्छु ।
जब त्रिविको गेटभित्र छिर्दछु, मनमा विशेष किसिमको उत्साह जाग्दछ । जुन म यहाँ व्यक्त गर्न सक्दिनँ । बिहान मर्निङवाक गर्ने र बिहानका कक्षाका लागि पाइलाअगाडि बढाइरहेका मानिसहरूको समूह देखिन्छ । बिहान सबेरै विश्वविद्यालयको परिसर शान्त रहेको हुन्छ । बगैँचामा विभिन्न रङ्गका फूलहरू फूलेका छन् । ती फूलहरूले कसैको प्रतिक्षामा रहेर मुस्कुराइरहेको भान हुन्छ । हावाको सुस्तरी लहरमा विश्वविद्यालयको परिसर वर र ध्यान मग्न भएर पढिरहेका विद्यार्थीहरूको दृश्यले मन निकै रमाउँछ । मानौँ, ती विद्यार्थीहरू एकाबिहानै विश्वविद्यालयको परिसर आएर एकचित एकभक्त रही सरस्वतीका पूजा अर्चना गरिरहेका छन् आफ्नो लक्ष्य प्राप्तिको लागि । कोही पाठ्यक्रमका किताब पढिरहेका हुन्छन् त कोही लोक सेवा, राष्ट्र बैङ्कको तयारी गरिरहेका हुन्छन् । त्यतिकैमा त्रिवि परिसरमा बिहान टहल्न व्यायाम गर्न आउनेहरूको हुल पनि त्यतिकै बाक्लो हुन्छ । तर, पनि ती ध्यान मग्न विद्यार्थीहरूलाई ती कुनै कुराले असर गरेको हँुदैन । हुन त अरूबेलामा पनि विश्वविद्यालयको परिसरको चौरमा बसेर अध्ययन गरिरहेका विद्यार्थीहरू नदेखेको त होइन, तर पनि एकाबिहानैको यो दृश्यले मभित्र पनि एक किसिमको अध्ययनप्रति तरङ्ग ल्याइदिएको छ । भनिन्छ नि, जस्तो देश उस्तै भेष । समय र परिस्थितिले मानिसलाई आफूजस्तै बनाउन केही बेर लाग्दैन । मानवीय स्वभाव पनि यस्तै छ । त्यसैले मानिसले आफूलाई यो संसारमा टिकाइराख्न अनौठा र अचम्मलाग्दा क्रियाकलापहरू गर्ने गर्दछन् । रुखको पात, बोक्राको लुगा लगाउने, काँचै मासु खानेदेखि कुन बेला कस्तो खाना खाने, कस्तो लुगा कुन बेला लगाउने, साथै पारिवारिक भूमिकामा परिवर्तन हरेक कुरामा विशिष्टीकरण इत्यादिले मानव जीवनलाई सहज बनाइदिएको छ । तर, त्यो सहजतासँगै मानिसहरू बिस्तारै परिवार समाजबाट अलगिँदै गइरहेको भान भइरहेको छ । विभिन्न कारणले मानिसहरू समूहभन्दा एक्लिएर बस्न मनपराउने भएका छन् । पहिला जात्रा, पर्व र चाडलाई विशेष महत्व दिने हामी हाल आएर कामचलाउ सरकारजस्तै स्वभाव देखाउन थालेका छौँ । व्यक्तिवादी स्वभावलाई हामी बढी जोड दिँदै छौँ । आजभन्दा ११ वर्षअगाडि म विश्वविद्यालयको वातावरणबाट प्रभावित भएर जागिर छोडी स्तातकोत्तर पढ्न विश्वविद्यालय पुगेको थिएँ । हाल त्यो कुरा सम्झँदा साँच्चै सही गरेछु जस्तो अनुभव गर्दै छु । विश्वविद्यालयको माहोलले एक किसिमको ऊर्जा प्रदान गरिरहेको हुन्छ, जसको वरपरबाट यात्रा गर्ने मानिसमा पनि शिक्षाप्रति आकर्षित पारिरहेको हुन्छ । साथै, नेपालको शैक्षिक इतिहास बोकेको पहिलो ठूलो विश्वविद्यालय भएको नाताले पनि नेपालको शैक्षिक क्षेत्रमा विशेष योगदान गर्दै आइरहेको छ । विश्वसामु नेपालको शैक्षिक इतिहासको ज्वलन्त उदाहरणको रूपमा त्रिभुवन विश्वविद्यालय रहेको छ । समयअनुसार त्रिविले नयाँ नयाँ विषयहरू साथै आधुनिक शिक्षण पद्धतिलाई पनि समेट्दै आएको छ । कोभिडको समयदेखि त्रिविले पनि पहिला जुम र पछि माइक्रोसफ्ट टीमबाट कक्षाहरू सञ्चालन गरिरहेको छ । हाल पनि त Mphil, PhD का कतिपय कक्षाहरू विद्यार्थीको मागअनुसार केही दिन अनलाइन र शनिबार भौतिक उपस्थितिमा सञ्चालन गरिरहेको छ । पहिला बार नलगाउनाले त्रिवि परिसर गाईवस्तु चर्ने गौचरणको रूपमा थियो । तर, पछिल्लो समयमा वरपर बारहरू लगाएर अध्ययनशील विद्यार्थीको लागि एक राम्रो ठाउँको रूपमा रहन पुगेको छ । विद्यार्थीहरू चौरको हरियो घाँसमा बसेर कतै समूह छलफल त कतै एक्लै पढिरहेका हुन्छन् । जता हेरे त्यतै विद्यार्थीको लर्को देखिन्छ । उनीहरूले हरियो चौरमा बसेर आफ्ना सुन्दर भविष्यका सुन्दर सपनाहरू देखिरहेका छन् । त्यो सपनालाई साकार पार्न हरबखत मेहनतसाथ पढिरहेका छन् । उपत्यका बाहिरबाट आएर पढ्ने विद्यार्थीलाई डेराभन्दा त्रिविको चौर प्रिय बनेको छ । हाल हरेक विभागले आफ्नो विभाग वरपर विभिन्न फल तथा फूलहरू रोपेका छन् । साथै खाली चौरमा मकै तथा विभिन्न तरकारीहरू पनि रोपिएका छन् । यसले त्रिविको शोभा बढाउने कार्य गरेको छ । आफ्नो घर छोडी टाढा आएर पढ्दा पनि आफनो आँगन वरपरको बारीको झझल्को गराएको छ । यी विभिन्न कार्यहरूमा विभाग प्रमुखहरू पनि सक्रियरूपमा लागेको देखिन्छ । समाजशास्त्रको विभाग पुग्दा विभाग प्रमुख डा. युवराज लुइटेल काम गरिरहेका कर्मचारीहरूलाई निर्देशन दिइरहेका थिए । टन्टलापुर घामको पनि प्रभाव नगरी डा. लुइटेल आफ्नो विभागको बगैँचामा निकै व्यस्त देखिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *