भर्खरै :

नागरिकप्रति स्थानीय सरकारको फराकिलो जिम्मेवारीबोध–ख्वप अस्पताल

नागरिकप्रति स्थानीय सरकारको फराकिलो जिम्मेवारीबोध–ख्वप अस्पताल

राज्यले नागरिकलाई दिने सेवा सुविधाको परिधि कतिसम्म फराकिलो हुन सक्छ ? यो प्रश्नको उत्तर अपरिमित छ । समाजवादी विचारका पक्षधरको निम्ति नागरिकप्रति राज्यको दायित्व बृहत् हुन्छ । समाजवादीहरू नागरिकप्रति ‘गर्भदेखि अन्तिम कर्मसम्म’ (उम टु टोम) राज्यको जिम्मेवारी हुने मान्यता राख्छन्् । पुँजीवादी राज्य व्यवस्थाका पक्षपातीहरू भने नागरिकको जीवनमा राज्यको उपस्थिति सकेसम्म न्यून हुनुपर्ने तर्क गर्छन् । नागरिकप्रति राज्यको भूमिका बढ्दा नागरिकको स्वतन्त्रता कुण्ठित हुने र नागरिक स्वतन्त्र बनाउनु नै राज्य व्यवस्थाको मूल अभियान्तर हुनुपर्ने उनीहरूको अवधारणा हो । नागरिकको जीवनमा राज्यको भूमिका शून्यप्राय हुनुपर्ने पुँजीवादी चिन्तनकै पछिल्लो उत्कर्ष नवउदारवाद हो जसले नागरिकका जीवनसँग जोडिएका सबै क्षेत्रमा राज्यको भूमिकालाई अस्वीकार गर्छ । नागरिक र राज्यबिच यो शक्ति स्पर्धासम्बन्धी वैचारिक बहस निकै अगाडिबाट हुँदै आएको छ ।
नागरिकको जीवनमा राज्यको भूमिका हुन नहुने चिन्तनको परिणामस्वरूप जनजीवनका आधारभूत पक्षमा समेत राज्यको भूमिका मूकदर्शकमा सीमित हुने गर्छ । अनि पुँजीपति वर्गले ती क्षेत्रमा राज्यको भूमिकाविहीनतालाई नाफाको खेलमैदानको रूपमा उपयोग गरिरहेका हुन्छन् । स्वास्थ्य, शिक्षा, खाद्य उत्पादन र बजार, आवास, खानेपानीजस्ता जनताका दैनन्दिनीका अपरिहार्य क्षेत्रलाई व्यापारको क्षेत्र बनाइँदा ती क्षेत्रमा गुणस्तर, मूल्य र सुलभताबारे आउने समस्याले जनजीवन कष्टकर बनाउने गरेको छ । त्यसकारण त्यस्ता आधारभूत क्षेत्रमा राज्य निस्क्रिय बस्ने कुरा समाजवादीहरूका लागि अकल्पनीय हो । उदार पुँजीवादका पक्षधरहरू समेत ती क्षेत्रमा राज्यको भूमिका हुनुपर्ने मान्यता राख्छन् । उदार पुँजीवादको यो धारा नै लोककल्याणकारी राज्य प्रणालीको स्रोत हो ।
‘समाजवादउन्मुख’ शब्दले संविधानको शृङ्गार गरे पनि वैचारिकरूपमा अस्पष्ट नेपालका शासक दलहरूले समाजवादको कुरा अलाप्दै बाटो भने नवउदारवादको लिइरहेका छन् । जनजीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रको जिम्मेवारीसमेत राज्यले निजी क्षेत्रलाई र ठेकेदारीमा दिने प्रणाली नवउदारवादी प्रणालीका द्योतक हुन् । शासक दलको यस्तो वैचारिक बेइमानीको कारण उनीहरूले भनेजस्तो समृद्धि र विकासको गन्तव्य अझ टाढा धकेलिएको छ किनभने कुन बाटो लिने प्रश्न कस्तो खालको समृद्धि र विकास खोजेको भन्ने आधारभूत प्रश्नसँग अन्योन्यास्रितरूपमा जोडिएको हुन्छ ।
नवउदारवादी बाटोमा हिँड्दा पुगिने ‘समृद्धि र विकास’ र समाजवादी बाटोमा अघि बढ्दा पुगिने ‘समृद्धि र विकास’ को गन्तव्य फरक हुन्छ । अघिल्लो बाटोबाट पुगिने समृद्धि र विकास आर्थिक असमानतासहितको सामाजिक न्याय कमजोर भएको भौतिक विकास हो । पछिल्लो बाटो सामाजिक न्याय र आर्थिक समानतासहितको भौतिक, सांस्कृतिक र वैचारिक समृद्धि र विकासको बाटो हो । अघिल्लो बाटो व्यक्तिवाद हाबी हुने व्यवस्था हो भने समाजवादको बाटो सामूहिकता, सहकार्य र साझा लक्ष्यको बाटो हो । नेपालका शासक दल र अहिले उदाएका केही नवोदित राजनीतिक दलहरूले कुरा समाजवादी समृद्धि र विकासको गरे पनि त्यो गन्तव्यमा पुग्नै नसकिने नवउदारवादी प्रणालीको पक्ष लिइरहेका छन् । उनीहरू सामूहिकताको पक्षमा वकालत गर्छन् तर बाटो भने राज्यको भूमिका साँघुरो बनाएर आधारभूत क्षेत्रसमेत निजी क्षेत्रलाई व्यापार गर्न दिने र ठेकेदारी प्रणालीको पक्ष लिने गर्छन् । यो विरोधाभासले न देशलाई कुनै उल्लेखनीय उपलब्धि दिन सक्छ न जनतालाई सुखदायी जीवन नै ।
भक्तपुर नगरपालिकाले ७३ औँ स्थापना दिवसको मेसो पारेर पुस २ गते शनिबार नगरपालिकाले सञ्चालन थालेको ख्वप अस्पतालको नवनिर्मित भवन उद्घाटन ग¥यो । एक सय शय्याको अस्पतालले नगरवासीमा मात्र होइन, छिमेकी नगरका बासिन्दा र विभिन्न जिल्लाबाट भक्तपुर बसेका जनतामा खुसीको सञ्चार गरेको हो । भक्तपुर नगरपालिकाले नगर पञ्चायत हुँदै विभिन्न आकार र स्वरूपमा सञ्चालन गर्दै आएको जनस्वास्थ्य केन्द्रले आज अस्पतालको पाको रूप लिएको छ । आजको ख्वप अस्पताल एकै रातको कमाल थिएन । बरु दशकौँ दशकको लामो प्रवाहको एउटा कुइँनेटो हो आजको ख्वप अस्पताल । यात्रा भने अझै लामो छ ।
नागरिकको जीवनमा राज्यको उपस्थितिको अर्को द्योतक हो– ख्वप अस्पताल । नवउदारवादी पुँजीवादका पक्षधरहरू स्थानीय तहको कुरा त पर, केन्द्रीय सरकारले पनि सरकारी अस्पताल सञ्चालन गर्न नहुने सोच राख्छन् । सरकारी अस्पतालहरू राज्यले निजी क्षेत्रलाई ठेक्कामा सञ्चालन गराउनुपर्ने विचार नै नवउदारवादी विचार हो । विशेषतः सरकारी क्षेत्रले सञ्चालन गर्ने निकायको व्यवस्थापन कमजोर हुने मान्यताको आधारमा सरकारले पूर्वाधार बनाए पनि सञ्चालन ठेक्का भने निजी क्षेत्रलाई दिनुपर्ने पुँजीवादी राज्य व्यवस्थाको अभ्यास हो । त्यस्तो अभ्यासको परिणामस्वरूप राज्यले बनाएको पूर्वाधार अथवा राज्यबाट सहुलियत पाएर बनाएका पूर्वाधारमा चुस्त व्यवस्थापन र सेवा प्रदान गरेको नाममा नाफामूलक महसुल उठाउने र स्वास्थ्यमा समेत विभेद सिर्जना गर्ने परिस्थिति बन्छ । त्यस्तो परिस्थितिले राज्यलाई नागरिकले सामना गरिरहेका समस्याबाट टाढा राख्छ । नागरिक राज्यको निम्ति पर वा अप्रत्यक्ष जिम्मेवारीको विषयमात्र बन्छ । अनि पुँजीवादी चिन्तन प्रणालीले नागरिकप्रति राज्यको दायित्व त्यसैमा मात्र सीमित हुनुपर्ने सोच्छ । त्यसै कारण नेपालका अधिकांश स्थानीय तहले अस्पताल सञ्चालन जस्तो काम आफ्नो जिम्मेवारी ठान्दैनन् । किनभने, उनीहरूको शब्दमा यसले राज्यको बोझ बढाउँछ वा निजी क्षेत्रको क्षेत्राधिकार साँघुरो बनाउँछ । तर, भक्तपुर नगरपालिकाले अन्यत्र नगर अस्पतालकै स्तरमा सञ्चालनमा रहेको जनस्वास्थ्य केन्द्रको स्तरोन्नति र क्षेत्रगत बिस्तार गर्दै सुविधासम्पन्न अस्पतालको जग राखेको छ । अर्थात्, भक्तपुर नपा नागरिकको जीवनमा आफ्नो भूमिका अझ फैलाउने क्रममा छ । नागरिकलाई आफ्नो प्रत्यक्ष जिम्मेवारीअन्तर्गत राख्दै ऊ जनसेवाको कष्टसाध्य काममा आफै होमिन चाहेको छ ।
भक्तपुरको यो अभ्यासले एकातिर नागरिक र राज्यबिचको सम्बन्ध अझ गाढा बनाएको छ । ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा भनेझैँ नगरपालिकाले जनतालाई सहयोग गर्ने र जनताले नगरपालिकालाई सहयोग गर्ने अवस्था बनेको छ । नागरिकले प्रत्येक पाइला पाइलामा स्थानीय सरकारको प्रत्यक्ष अनुभव गर्छन् । नगरवासी बिहान फोहोर सङ्कलन गर्न आउने गाडीको आवाजसँगै बिउँझन्छन् । सखारै छोराछोरी नगरपालिकाले सञ्चालन गरेका कलेजमा पढ्न जान्छन् । घरकी बुढी आमालाई असञ्चो हुँदा घरदैलोमा आएकी नर्सले स्वास्थ्य परीक्षण गर्छिन् । अलि गम्भीर अवस्था भए ख्वप अस्पतालमा स्वास्थ्योपचारको निम्ति लगिनेछ । दिउँसो नगरपालिकाले उत्पादन गरेको प्राङ्गारिक मल कौसीमा रोपेको तरकारी खेतीमा राखी गोडमेल गर्छन् । नगरपालिकाको अगुवाइमा बन्दै गरेको मन्दिर पुनःनिर्माणको निम्ति श्रमदानमा केही घण्टा बित्छ । साँझ नगरपालिकाले आयोजना गरेको सम्पदा पदयात्रामा बाजा बजाएर सहभागी बन्नेछन् । यसप्रकार भक्तपुरमा स्थानीय सरकार जनताको दैनिक जीवनमा कहीँ न कहीँ कुनै न कुनै तरिकाबाट जोडिएकै हुन्छ ।
यसले नगरका हरेक काम ठेकेदारी अथवा सीमित व्यक्तिको चासो र सहभागितामा होइन, व्यापक जनताको सहभागितामा सञ्चालन र सफल हुन्छ । जनसहभागिताको यो संस्कृति नै भक्तपुर अन्य स्थानीय तहभन्दा पृथक हुनुको मूल कारण हो । जनसहभागिताको अर्थ कुनै पनि काम जनताको स्वामित्वको कुरुसले बुन्नु हो । स्वामित्वसँगै त्यसप्रति माया पनि जोडिएका हुन्छ । अनि जनताको त्यस्तो स्वामित्व र मायाले गुनासो र आलोचना पनि बढाउनु स्वाभाविक प्रक्रिया हो । जहाँ सहभागिता र स्वामित्व हुन्छ, त्यहाँ आलोचना र गुनासोको परिधि पनि फराकिलो हुन्छ । त्यस्ता आलोचनालाई जनताको खबरदारी वा स्वामित्वबोधको अर्थमा लिइनुपर्छ । भक्तपुर नपाले सञ्चालन गरेको जनस्वास्थ्य केन्द्रबारे बारम्बार गुनासो सुनिनुको अर्थ जनताले त्यसप्रति गरेको माया र स्वामित्वबोध थियो । जनताले त्यो संस्थाप्रति आफ्नो पनि स्वामित्व भएको अनुभव गरेसम्म त्यस्ता गुनासो र आलोचनाको ढोका खुल्ला हुनेछ । कुनै निजी अस्पतालप्रति जनताले त्यस्तो गुनासो सायदै गर्लान् किनभने ती अस्पताल सञ्चालनको आधार लिनु र दिनु हो । जति डिपोजिट गर्न सक्छौ, त्यति लामो जीवन दिने हो । तर, अहिले बनेको ख्वप अस्पतालमा त्यस्तो व्यवहार गर्ने छुट कसैलाई छैन । ख्वप अस्पतालको भवन उद्घाटनको दिन मुख्य पाहुनाले दीप प्रज्वलन गर्दा सहभागी ज्येष्ठ नागरिकहरूको आँखामा टिलपिलाएको आँसुले त्यस्तो व्यवहार गर्न कसैलाई छुट दिँदैन । समाजवादी संस्कृति सुन्दर हुनुको निहितार्थ त्यसको सामूहिकता सहकार्यमूलक स्वामित्व हो ।
नागरिकको जीवनमा राज्यको भूमिका बृहत् हुनुपर्ने समाजवादी वैचारिकीमा आधारित भएर भक्तपुर नगरपालिकाले नगरवासीका जीवनमा सकेसम्म बढी सहयोगात्मक सहभागिता देखाउँदै आएको छ । शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी, भौतिक पूर्वाधार, मूर्त–अमूर्त सम्पदा र संस्कृतिमा स्थानीय सरकारको रूपमा नगरपालिकाले भूमिकाको परिधि फराकिलो बनाउँदै गएको छ । किसान बाहुल्य नगरवासीलाई मद्दत गर्न प्राङ्गारिक मलको उत्पादन र बिक्री वितरणलाई यसको पछिल्लो नयाँ क्षेत्र मान्न सकिन्छ । मलको उत्पादन र बिक्री सेवासँगै वस्तुको उत्पादन क्षेत्रमा नगरपालिकाको उपस्थितिको अर्को प्रयोग भएको छ । यसअघि कागज पुनः प्रयोगबाट विभिन्न हाते सामग्रीको उत्पादन सानो आकारको वस्तु उत्पादनको प्रयोग थियो । अब यसलाई फराकिलो बनाउँदै जाने आधार क्रमशः बन्दै जानेछ । यसले नगरमा रोजगारीको अवसरलाई थप फैलाउनेछ । आजसम्म तालिम र औपचारिक शिक्षामार्फत नगरपालिकाले रोजगारी सिर्जनामा खेल्दै आएको अप्रत्यक्ष भूमिकाले फड्को मारेर अब वस्तु उत्पादनमार्फत प्रत्यक्ष रोजगारी सिर्जनाको चरणमा उक्लेको छ । भक्तपुर नगर सभ्यता र संस्कृतिको प्रतिनिधित्व गर्ने विभिन्न वस्तुको उत्पादन र बिक्री वितरण अर्को सम्भावित क्षेत्र हुन सक्छ ।
मुख्य चुनौती भने फेरि पनि व्यवस्थापन र प्रभावकारी सेवा नै हो । पूर्वाधार बलियो भएर पनि सरकारी सेवा प्रभावकारी नहुनुको कारण कमजोर व्यवस्थापन भएको आमबुझाइ भक्तपुर नगरपालिकाको सन्दर्भमा लागु भए समाजवादी चिन्तनप्रति विपक्षीले लगाउने गरेको आरोप प्रमाणित गर्ने आधार बन्नेछ । व्यवस्थापन कसरी चुस्त र सेवा प्रभावकारी कसरी बनाउने प्रश्नको हल लघु कायामा भए पनि समाजवादमाथिको प्रश्नको हल गर्ने प्रयास नै हुनेछ ।
भक्तपुर नगरपालिकाले आज गरिरहेको अभ्यास सम्पूर्णतः समाजवादी अभ्यास होइन । तर, समाजवादी विशेषतालाई पाइला पाइलामा पछ्याउँदै समाजवादसम्म पुग्ने ताँतीसम्म भन्न मिल्ला । त्यसकारण, केही पर्यवेक्षकहरूले भन्ने गरेको ‘भक्तपुरको समाजवादी मोडल’ अतिरञ्जनामात्र हो । निश्चय नै समाजवादी विचारधाराबाट प्रभावित राजनीतिको इमानदार प्रयास भक्तपुरमा भइरहेको छ । यसले जनतालाई समाजवादको आँखीझ्याल भने देखाएको छ । वस्तुतः नेपालको संविधानअनुसार देशका शासक दलहरूले समाजवादउन्मुखताका यस्ता अभ्यास थाल्नुपर्ने हो । यसर्थ समाजवादउन्मुखताको संवैधानिक व्यवस्थाप्रति भक्तपुर इमानदार देखिएको छ । शासक दलहरू भने अझै समाजवादको उल्टो बाटो हिँडिरहेका छन् ।

नीरज लवजू

Leave a Reply

Your email address will not be published. Required fields are marked *