भर्खरै :

के प्रगतिशील लेखकहरूका विचार बाँधिएका हुन्छन् ?

के प्रगतिशील लेखकहरूका विचार बाँधिएका हुन्छन् ?

काठमाडौँ, ३ पुस । केही पुँजीवादी लेखक र प्रचार माध्यमका स्तम्भकारहरूले पार्टी सङ्गठनमा आवद्ध लेखक, कवि र कलाकारहरू पार्टीका अनुशासनमा बाँधिएको हुने भएकोले तिनीहरूबाट तर्कपूर्ण र स्वतन्त्र रचनाहरू आउँदैन भन्ने धारणा व्यक्त गरेको पाइन्छ । तिनीहरूको भनाइमा निर्देशित रचनाहरू राम्रा हुँदैनन् ।
सत्य त्यही हो भने दर्शन, चिन्तन र राजनीतिक रचनाहरू त कुनै न कुनै दृष्टिकोण र विचारबाट प्रभावित भएकै हुन्छन् । के पूर्वीय दर्शनहरू अर्थात् जैन धर्म र बुद्ध धर्म वा चार्वाक विचारहरू भौतिकवादी दर्शनबाट निर्देशित थिएनन् ? त्यस्तै, सामन्तवादी समाजको विरोधमा आएका युरोपेली पुँजीवादी दार्शनिकहरू पनि भौतिकवादी दर्शनबाट बाँधिएका थिए । राजनीतिक क्षेत्रमा राज्यको उत्पत्तिबारेको दैवी सिद्धान्तको विरोधमा देखिएको सामाजिक सम्झौताको चिन्तन र विकासवादी सिद्धान्त के भौतिकवादी दृष्टिकोणबाट प्रेरित थिएनन् ?
त्यस्तै, दासयुगमा दास मालिकहरूविरुद्धको लडाइँ, दास मालिक र उदाउँदो सामन्त वर्गको बिचको लडाइँ के भौतिक विकासकै परिणाम थिएन ? त्यस्तै, सामन्तवादको विरोधमा पुँजीपति वर्गले गरेको क्रान्तिको आह्वान के दैवी सिद्धान्तको विरोधमा भौतिकवादी दर्शनको आक्रमण थिएन ? त्यस्तै, पुँजीपतिवर्ग तथा पुँजीवादी व्यवस्थाको विरोधमा कामदार वर्ग (सर्वहारावर्ग) को युद्धको घोषणा के भौतिकवादी दृष्टिकोण थिएन ? इतिहासको क्रममा, भौतिक परिस्थिति र तत्कालीन शासकवर्गको प्रतिगामी सोच र सोअनुसारकै प्रतिगामी पाइलाहरूकै कारण एउटा वर्ग तथा व्यवस्था पराजित हुँदै आएका होइनन्
र ?
समाजवादी व्यवस्थाविरोधी पुँजीवादी र साम्राज्यवादी विचार नै प्रतिगामी वा पिछडिएको भएको हुँदा र उठ्दो समाजवादी चिन्तन अन्ततः त्यो विचार पराजित नै हुनेछ । पुँजीवादी र साम्राज्यवादी व्यवस्था आज सर्पले आधा निलिसकेको भ्यागुतोजस्तो बनेको हुन्छ । हो, भ्यागुतोले पनि आफ्नो अन्तिम क्षणसम्म फट्याङ्ग्रा टिप्ने गर्छ ।
पुँजीवादी लेखकहरू प्रगतिशील लेखकहरू वा कुनै एक क्रान्तिकारी पार्टीसँग आबद्ध लेखक, कवि र कलाकारहरू स्वतन्त्र लेख रचना लेख्न सक्दैनन् र लेख्ने छुट पनि हुँदैनन् भन्ने गर्छन् । तर, व्यवहारमा पहिले पुँजीवादी लेखक, कवि र कलाकारहरूले, सच्चा क्रान्तिकारी र प्रगतिशील लेख रचनालाई ‘पार्टी प्रचार’ भने र कति पत्रकारहरूलाई ‘स्तालिनको एजेन्ट’ समेत भनेका छन् । यसका उदाहरण अमेरिकी लेखक र पत्रकार अन्ना लुइस स्ट्रङ र अष्ट्रेलियाली लेखक र पत्रकार विलफ्रेड ग्राहम बर्चेट हुन् ।
के पुँजीवादी संसद्मै कुनै एक शासक दलको सांसदले वैचारिकरूपले आफ्नो दलको आलोचना गर्न सक्छन् ? कसैले त्यस्तो दुस्साहस ग¥यो भने शासक दलले उसलाई निकाला गर्नेछ र त्यस पार्टीको सांसद हुनेछैन । किनभने, केही सांसदहरूले अचानक आफ्नैै शासक दलको बहुमत नहुने गरी फरक मत देखाएर सरकारलाई अल्पमतमा पारेमा त्यो शासक दलको सरकार ढल्नेछ । यसकारण, संसदीय व्यवस्थामा हरेक दलको ह्वीप (सचेतक) को आदेश मान्नुपर्ने हुन्छ । फरक मत जाहेर गर्न नदिनेजस्तो व्यक्तिगत स्वतन्त्रतामाथि अङ्कुश लगाउने कार्य पुँजीपतिवर्गकै देन हो ।
राजनैतिक बन्दोबस्त यस्तो कमजोर देखियो कि बहुमतको निम्ति २–४ जनाको विरोध हुनासाथै सरकार तासको घरजस्तो भत्किने पुँजीपतिवर्गले बनाएको कस्तो कमजोर बन्दोबस्त होला ! बेलायतमा प्रधानमन्त्री थेरेसा मेकोे विरोधमा उभिएका जोनसन एक उदाहरण हो ।
यसकारण, जतिसुकै राम्रो तर्क र उच्च विचारसहित ‘कम्युनिस्ट’ वा ‘क्रान्तिकारी विचार’ लाई समर्थन गरी लेख लेखेमा वा कुनै जायज मजदुर आन्दोलनलाई समर्थन गरेमा त्यस्तो पुँजीवादी लेखक, पत्रकार वा सम्पादक आफ्नो पदबाट बाध्य भएर राजिनामा लेख्ने गर्छन् ।
त्यसको ठीकविपरीत, पुँजीवादी सरकार वा पुँजीवादी व्यवस्थाको सच्चाइलाई उदाङ्ग्याउँदा कतिपय कामदार वर्गका पक्षपाती लेखक, कवि र कलाकारले आ–आफ्नो पदबाट राजिनामा गर्नु परेको सबैजसो महादेशहरूका अनेक देशमा देखिने घटनाहरू हुन् । यी उदाहरणबाट थाहा हुन्छ– प्रगतिशील लेखकहरू आ–आफ्नो सीमा र चिन्तनबाट पछि हट्दैनन् । हो, कहिलेकाहीँ निराशा र गरिबीको परिस्थितिले र विचारमा परिवर्तन आएका केही पूर्व प्रगतिशील र क्रान्तिकारी लेखकहरू पनि आ–आफ्नो दृष्टिकोण फेर्छन्, जसरी केही प्रगतिशील दलका सांसदहरू पद र पैसाको निम्ति आ–आफ्ना पार्टीहरूबाट बिदा लिन्छन् । केही डर, त्रास, धम्की र केही आर्थिक परिस्थितिको कारण आत्मसमर्पण र शत्रुको चिप्लो घसाइमा चिप्लिन्छन् । सत्तामोह, पदलोलुपता र प्रकाशमा आउने व्यक्तिगत महत्वाकाङ्क्षाजस्ता कमजोरीहरू पुँजीवादी व्यवस्थाकै वातावरणको एक पक्ष हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *