आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
‘मजदुर’ का अबका केही अङ्कमा जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिनेछ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
ट्रम्पले निर्वाचनमा रुसी हस्तक्षेपको विषय उठाए । पुटिनले अमेरिकामा पक्राउ परेका व्यक्तिहरूलाई रुसमै मुद्दा चलाउन सकिने बताए । साथै उनले बिल ब्रौडरको विषय उठाए । ब्रौडरका हजुरबा अमेरिकी कम्युनिस्ट पार्टीका महासचिव थिए । उनकी हजुरआमा सोभियत सङ्घकी थिइन् । ब्रौडरले रुसमा वैध र अवैध माध्यमबाट अकूत धन कमाए र पछि बेलायतमा बसोबास गर्न थाले । आफ्नो धनमाथि रुस सरकारले छानबिन गर्न खोजेपछि ब्रौडरले अमेरिकी संसद्लाई रुसमाथि प्रतिबन्ध लगाउन लबिङ गरेका थिए । उनले रुसमा हिनामिना गरेको ४० करोड अमेरिकी डलर हिलारी क्लिन्टनलाई चुनावमा चन्दा दिएका थिए । ट्रम्प सुनेको सुन्यै भए । पुटिनले सम्पूर्ण देशले साइबर हमला हुन नदिन प्रतिबद्धता जनाउनुपर्ने बताए ।
बैठकमा युक्रेन, सिरिया, इरान र उत्तर कोरियाबारे त्यति कुरा भएन । ट्रम्पलाई चिढाउन बोल्टनले सिरिया र इजरायलको सीमा विवादको प्रसङ्ग उप्काए । पुटिनले मानवीय सहायता गर्छन् र ट्रम्प चिढिन्छन् भन्ने बोल्टनको सोच थियो । तर, पुटिनले अमेरिका र रुसबिचको व्यापारमा जोड दिए ।
पत्रकार सम्मेलनमा पुटिनले भने, “रुस सरकारले निर्वाचनलगायत अमेरिकाको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गरेको छैन र गर्नेछैन ।” ‘रुस सरकार’ भनेर पुटिनले सरकारइतरका कर्पोरेसन वा सङ्घसंस्थालाई जोगाएको बोल्टनले बुझे । पुटिनले ट्रम्पले क्रिमियाको विषयलाई कसरी हेर्छन् भनी जिज्ञासा राखेका थिए । कुरैकुरामा त्यो मुद्दा कतै हरायो । एक पत्रकारले अमेरिकी निर्वाचनमा रुसको संलग्नता छैन भनेर अमेरिकीहरूले कसरी पत्याउने भनी सोधे । पुटिनले त्यस्तो संलग्नताको कुनै प्रमाण नभएको बताए । ब्रौडरको विषय उठाएर पुटिन समाचारमा छाए । यो घटनालाई ‘रुसी दुष्प्रचार’ भन्दै बोल्टनले ईख पोखेका छन् ।
एक प्रश्नको उत्तरमा ट्रम्पले रुस–अमेरिका सम्बन्धलाई सामान्य अवस्थामा लाने वचन दिएकोले पनि रुस ट्रम्पले जितेको हेर्न चाहन्थ्यो भने । आफ्नो बोल्ने पालोमा ट्रम्पले बबन्डर मच्चाए । उनले भने, “मेरा गुप्तचरहरूले रुसले गरेको हो भन्छन् । पुटिनजी रुसले होइन भन्नुहुन्छ । रुसले नै हो भन्ने मैले कुनै कारण देख्दिन । मलाई दुवै पक्षमाथि विश्वास छ । म मेरा गुप्तचरहरूमाथि विश्वास गर्छु । तर, आज पुटिनजीले कडा र सशक्त प्रतिवाद गर्नुभएको छ ।” यो कुरा सुनेर बोल्टनलगायत अमेरिकी अधिकारीहरू पसिनाले भिजे । टोली सोही साँझ अमेरिका फर्कियो ।
ट्रम्पले ‘रुसले नै हो भन्ने मैले कुनै प्रमाण देख्दिन’ भन्नुको अर्थ अमेरिकी गुप्तचर निकायमाथि प्रश्न उठ्नु थियो । प्रचारमाध्यमहरूमा रडाको मच्चियो । यसलाई सुधार्न बोल्टनले ट्रम्पलाई चारथोक भन्न लगाए । एक, “मैले गुप्तचर निकायलाई सधैँ साथ दिँदै आएको छु ।” दुई, “रुससँग कुनै मिलिभगत थिएन ।” तीन, “रुसी हस्तक्षेप अस्वीकार्य छ ।” तीन, “सन् २०१८ मा यस्तो हुनेछैन ।”
ट्रम्पको कार्यालयमा अमेरिका प्रमुख अधिकारीहरू भेला भए । पत्रकार सम्मेलनमा उनले भनेको कुरामा ‘रुसले नै होइन भन्ने मैले कुनै कारण देख्दिन’ भनेर सच्याउने सहमति भयो । पत्रपत्रिकाले उच्च अधिकारीहरूको राजीनामा माग्दै थिए । तर, ट्रम्पले नै आफ्नो गल्ती सुधार्ने भए । अमेरिकी राष्ट्रपतिको यो फितलो ताल देखेर मस्कोमा पुटिनको हड्डी हाँसेको बोल्टन कल्पना गर्छन् ।
‘आइएनएफ’ सन्धि
‘आइएनएफ’ को अर्थ मध्यम दूरीको आणविक बल (इन्टरमिडियट रेन्ज न्युक्लियर फोर्सेज) हुन्छ । ‘आइएनएफ’ सन्धिमा मिखाइल गोर्भाचेभ र रोनाल्ड रेगनले सन् १९८७ मा हस्ताक्षर गरेका थिए । यो सन्धि बोल्टनले सुरुदेखि नै रुचाएका थिएनन् । सन् १९७२ मा हस्ताक्षर गरिएको ‘एबीएम’ (एन्टी ब्यालेस्टिक मिसाइल) सन्धिबारे पनि उनको विचार उस्तै थियो । अमेरिका सन् २००१ मा ‘एबीएम’ सन्धिबाट एकतर्फीरूपमा बाहिरिएको थियो । रुसका ब्यालेस्टिक मिसाइल अमेरिकी मिसाइलभन्दा अति उन्नत थियो । पछिल्लो मस्को भेटवार्तामा बोल्टनले पुटिनलाई ‘एबीएम’ सन्धिबाट बाहिरिन उक्साएका थिए । पुटिनले मानेनन् ।
अमेरिका ‘आइएनएफ’ सन्धिबाट बाहिरिन चाहन्थ्यो । त्यसैले बोल्टनले रुसले सो सन्धि उल्लङ्घन गरिरहेको बखेडा झिक्न थाल्यो । सो सन्धिले जमिनबाट क्षेप्यास्त्र प्रहार गर्न बन्देज लगाएको थियो । तर, उति नै दूरीमा प्रहार गर्न सक्ने पानी र हावाबाट प्रहार गर्न सक्ने क्षेप्यास्त्रमा रुस धेरै अघि बढिसकेको थियो । सो सन्धि अमेरिका र रुसबिच भएको थियो । पछिल्लो चरणमा चीन ‘आइएनएफ’ हतियारमा धेरै अघि बढिसकेको थियो । बोल्टनले चीन, इरानलगायत देशहरूलाई ‘आइएनएफ’ सन्धिमा समेट्न सकिन्छ कि भनेर सोचे । त्यो कल्पना मात्र थियो । खासमा अमेरिका रुस र चीनको हाइपरसोनिक क्षेप्यास्त्र प्रविधिबाट आत्तिएको थियो । पछि परिन्छ भनेर अमेरिकाले ‘आइएनएफ’ बाट बाहिरिने निहुँ झिक्न थाल्यो । बोल्टन, पोम्पेओ र म्याटिसले यसकै तयारी गर्न थाले ।
बोल्टनले रुसी समकक्षी निकोलाइ पात्रुशेभलाई जेनेभामा भेटे । भेटमा उनले हतियार सम्झौताहरूको विषयमा कुरा राखे । पात्रुशेभले पुटिनको ‘रणनीतिक स्थायित्व’ मा जोड दिए । जेनिभापछि बोल्टन युक्रेनी ‘स्वतन्त्रता दिवस’ मनाउन किभ गए । उनले युक्रेनी अधिकारीहरूलाई पात्रुशेभसँगको कुराकानी बताए । अमेरिका फर्केर उनले ‘आइएनएफ’ सन्धिबाट हट्ने तयारी गर्न थाले । यसो गरेर उनी चीनलाई पनि ‘सन्देश’ दिन चाहन्थे । अमेरिकी रक्षा र विदेश मन्त्रालयमा ‘कानुनपालक’ वकिलहरू भरिएकोमा बोल्टन चिन्तित भए । त्यस्तै ‘आइएनएफ’ सन्धिमा अभ्यस्त कर्मचारीहरू देखेर उनी आजित भए । उनीहरूलाई लाइनमा ल्याउन उनले ‘आइएनएफ’ सन्धिबाट हट्ने मिति तोक्ने रणनीति अपनाए । रक्षामन्त्री म्याटिसले डिसेम्बरमा बस्ने नाटो विदेशमन्त्रीहरूको बैठकमा रुसलाई सन्धि अनुसार चल्न ९० दिनको अल्टिमेटम दिने र ऊ ठाउँमा नआए अमेरिका ‘आइएनएफ’ बाट बाहिरिने घोषणा गर्न पोम्पेओलाई भने । बोल्टनलाई चित्त बुझेन किनभने सन्धिबाट हट्नभन्दा ६ महिनाअगावै अमेरिकाले सूचना दिनुपर्ने थियो ।
सन्धि तोड्न अमेरिकाले आफ्ना युरोपेली मित्र देशहरूलाई पनि मनाउनुपर्ने हुन्थ्यो । उनले जर्मन विदेशमन्त्री हेइको मासलाई फोन गरे र युरोपमा रुसी खतरा बढ्न दिनुहुन्न भने । यद्यपि सामाजिक जनवादी दलका नेता हेइको ‘आइएनएफ’ सन्धिका पक्षपाती थिए । अक्टोबर ११ मा बोल्टनले नाटो महासचिव स्तोल्टेनबर्गलाई फोन गरे । स्तोल्टेनबर्गले जर्मनीलाई हातमा लिएर रुसले नाटो देशहरूलाई विभाजित गरेको बताए । बोल्टनले रुसले ‘आइएनएफ’ सन्धि उल्लङ्घन गरिरहेको र अमेरिका सो सन्धिबाट बाहिरिए युरोपमा खतरा नआउने बताए । अक्टोबर १७ मा बोल्टनले ट्रम्पलाई ‘आइएनएफ’ बाट बाहिरिने तयारीबारे बताए । डिसेम्बर ४ मा पोम्पेओले रुसलाई अल्टिमेटम दिने सूचना पाएपछि ट्रम्पले पहिल्यै किन नबाहिरिने भनी सोधे । बोल्टनले रुससँग कुरा गरेर दुवै देश एकैचोटि सन्धिबाट बाहिरिँदा फाइदा हुने बताए । ट्रम्पले मानेनन् ।
बोल्टन मस्को भ्रमणमा जाँदै थिए । यसबीच एक पत्रकारसँगको कुराकानीमा ट्रम्पले अमेरिका ‘आइएनएफ’ बाट बाहिरिने सार्वजनिक घोषणा गरे । त्यसलाई वैधानिकता दिन वक्तव्य निकाल्नुपर्ने थियो । तर, म्याटिस र पोम्पेओले त्यसो गरेनन् । बोल्टनले स्तोल्टेनबर्गलाई फोन गरेर सबथोक बताए । नाटोले सर्वसम्मत ढङ्गले अमेरिकी कदमलाई स्वागत नगर्ने भयो भनेर स्तोल्टेनबर्ग चिन्तित भए । बोल्टनले सबैलाई मनाउने आश्वासन दिए ।

‘आरएनएन्ड’ सन्धिमा हस्ताक्षर गर्दै गोर्भाचेभ र रोनाल्ड रेगन
मस्को र जर्मनी
मस्को पुगेको बिहानपख अमेरिकी राजदूतले बोल्टनलाई रुसीहरूले युरोपको भयमा खेलिरहेको बताए । युरोपेलीहरू अमेरिकाले सुरक्षा नदिने भयो भनी तर्सिरहेका थिए । यही माहोलमा बोल्टनले पात्रुशेभलाई भेटे । पात्रुशेभले रुसले आक्रमणको लागि भन्दा आत्मरक्षाका लागि हतियारको प्रयोग गर्ने बताए । यसले नै पुटिनले भनेको जस्तो रणनीतिक स्थायित्व दिने उनको तर्क थियो । अमेरिकाले ‘आइएनएफ’ छोड्ने विषयमा रुसी धारणा यस्तो रह्यो, ‘तिमी छोड्न चाहन्छौ भने छोड, रुस बसिराख्छ ।’
रुसी पक्षले अमेरिकाले ओबामाले सन् २०१० मा गरेको ‘न्यू स्टार्ट’ सम्झौता उल्लङ्घन गरेका घटनाहरूको बेलिबिस्तार लगायो । यसै पनि बोल्टनलाई ओबामाको नीति चित्त बुझेको थिएन । त्यसैले उनले अमेरिकाले त्यसबाट पनि हात झिक्न सक्ने सङ्केत गरे । साँझपख रुसी विदेशमन्त्री लाभ्रोभसँग भोज खाएपछि बोल्टनले ट्रम्प डिसेम्बर ४ मा औपचारिक घोषणा गर्न तयार रहेको थाहा पाए । तर त्यही साँझ ट्रम्पले एउटा पत्रकार भेटघाटमा ‘आइएनएफ’ बाट बाहिरिने कुरा दोहो¥याए । अर्कोतिर रक्षामन्त्री म्याटिसमाथि विपक्षी नेताहरूको ठूलो दबाब थियो ।
भोलिपल्ट बोल्टनले रुसी रक्षामन्त्री सर्गेइ शोइगुलाई भेटे । शोइगुले ‘आइएनएफ’ लाई पुरानो भएको बताए । त्यसमा अन्य देशलाई पनि समेटेर परिमार्जन गर्नुपर्ने उनको धारणा थियो । त्यसपछि बोल्टनले राष्ट्रपति पुटिनलाई भेटे । अमेरिका ‘आइएनएफ’ बाट बाहिरिन चाहेकोमा पुटिन दुःखी भएको सार्वजनिक भइसकेको थियो । बोल्टनलाई भेट्दाबित्तिकै पुटिनले अमेरिकाको राष्ट्रिय चिन्हमा चीलको हातमा जैतुनको पात छ भने । उनले अमेरिका शान्तिको पक्षधर हुनुपर्ने सङ्केत गरेका थिए ।
‘आइएनएफ’ बारे पर्याप्त छलफलपछि पुटिनले सोधे, ‘अब अमेरिकाले के गर्छ ?’ पुटिनको ध्यान युरोपमा अमेरिकाले कहाँ सेना तैनाथ गर्ने हो भन्नेमा थियो । बोल्टनले चीनको सैन्य शक्तितिर सङ्केत गरे । पुटिनले आफूले त्यो कुरा बुझेको बताए । उनको ध्यान अमेरिकाले के गर्छ भन्नेमै थियो । पुटिनले ‘न्यू स्टार्ट’ को कुरा पनि उठाए । बोल्टनले पहिलेकै जवाफ दिए । दुवैजना वकिल हुनाले केहीबेर हाँसोमजाक पनि चल्यो । सिरियाको विषय उठ्यो । सिरियाबाट इरान हट्नुपर्छ भन्दा पुटिनले समर्थन जनाए । तर, उनले तर्क गरे, ‘इरानसँगको आणविक सन्धिबाट बाहिरिएपछि अमेरिकाले इरानमाथि नाकाबन्दी लगाउँदा ऊ कसरी सिरियाबाट निस्केला ?’ बोल्टनले इरानी जनता आफ्ना शासकहरूबाट आजित छन् र नाकाबन्दीले जनतालाई शासकहरूविरुद्ध उठाउने छ भने । पुटिनले विमति राखे । नाकाबन्दीले जनतालाई शासकहरूको झन् नजिक ल्याउने उनको विचार थियो ।
रुसबाट फर्केपछि बोल्टनले स्तोल्टेनबर्गसँग कुराकानी गरे । धेरै युरोपेली देशहरूले रुसले ‘आइएनएफ’ सन्धि उल्लङ्घन नगरेको बताएका थिए । त्यसैले स्तोल्टेनबर्ग चिन्तित थिए । बोल्टनले रुससँग डराएर उनीहरूले झुटो बोलिरहेको बताए । नोभेम्बरमा बोल्टनले पेरिसमा बेलायत, फ्रान्स र जर्मनीका समकक्षीहरूलाई भेटे । जर्मनीका जान हेकरले ‘आइएनएफ’ बाट बाहिरिनुअघि जर्मनीलाई ६० दिन दिनको अवधि अनुरोध गरे । मध्य नोभेम्बरमा सिंगापुरमा बसेको बैठकमा अमेरिकी उपराष्ट्रपति पेन्सले पुटिनसँग कुरा गरे । पुटिनले ‘आइएनएफ’ को कुरा उठाएनन्, बरु जी–२० को सम्मेलनमा ट्रम्पसँग रणनीतिक स्थायित्व र ‘न्यू स्टार्ट’ को विषयमा छलफल गर्ने सङ्केत गरे ।
नोभेम्बर २६ मा बोल्टनले ट्रम्पसँग कुरा गरे । डिसेम्बर ४ मा हुने नाटो बैठकमा ‘आइएनएफ’ छोड्ने औपचारिक घोषणा गर्नुपर्ने बताए । समय घर्किँदै जाँदा रुसको नजरमा कमजोर देखिने डर पनि देखाए । उनले जर्मनीको कुरा नसुन्न भने । रक्षामन्त्री म्याटिस भने जर्मनीलाई ६० दिन दिनुपर्ने पक्षमा थिए । ट्रम्पले बोल्टनको पक्ष लिए । बोल्टनले घोषणापछि तत्काललाई सन्धि स्थगनमा राख्न भने । यसो गर्नु सन्धि मिचेबराबर थियो । किनभने, सन्धिले प्रक्रिया चलाएको १८० दिनपछि मात्र बाहिरिन मिल्थ्यो । बोल्टनले ‘रुसले मिच्छ भने अमेरिकाले पनि मिच्छ’ भनी सन्देश दिन चाहेका थिए ।
डिसेम्बर १ मा ब्युनस आयर्समा जी–२० को सम्मेलन भयो । दुईपक्षीय बैठकमा मार्केलले ट्रम्पसँग रुसले सन्धि उल्लङ्घन गरेकोमा आफू सहमत भएको तर दुई पक्षबीच राजनीतिक तहमा छलफल नै नगरी सन्धिबाट बाहिरिनु हुँदैन भनिन् । बोल्टन टसकोमस भएनन् । त्यसपछि मर्केलले आफूलाई तीन महिना दिए अमेरिकी कदमको समर्थन गर्ने बताइन् । बोल्टनले दुई महिना मात्र दिन सकिने बताए । ट्रम्पले जर्मनी र अन्य देशको अनुरोधमा ६० दिनपछि ‘आइएनएफ’ सन्धि छोड्ने घोषणा गर्ने भए ।
डिसेम्बर ४ मा अमेरिकाले योजना अनुसार घोषणा ग¥यो । १ फेब्रुअरी २०१९ मा अमेरिकाले बाहिरिने औपचारिक पत्र पठायो । प्रतिक्रियामा रुसले अन्य सम्झौताहरू स्थगित ग¥यो । यसलाई बोल्टनले फोकटको लाभ भनेका छन् । यो ‘सफलता’ पछि बोल्टनले अन्य सन्धि पनि यसरी नै तोड्ने सपना देख्न थाले । ट्रम्पले पेरिस सम्झौता तोड्दा पनि उनी खुसी भएका थिए । पछि अमेरिकाले ‘ओपन स्काई’ सम्झौता पनि तोड्ने तयारी चलायो । बोल्टन विस्तृत आणविक परीक्षण निषेध सन्धिबाट अमेरिकालाई निकालेर थप आणविक परीक्षणहरू गर्न चाहन्थे ।
चुनाव र साइबर हमला
सन् २०१६ को अमेरिकी निर्वाचनमा रुसको साइबर हस्तक्षेपलाई बोल्टनले अमेरिकी संविधानमाथिको हमला भनेका थिए । त्यसलाई युद्धको रूपमा चित्रण गरेका थिए । पुटिनले यस्ता आक्षेपहरूलाई सधैँ अस्वीकार गरे ।
सुरक्षा सल्लाहकारको जिम्मेवारी लिएपछि उनले ओबामाका रक्षात्मक साइबर नीतिलाई आक्रामक नीतिमा बदल्नुपर्ने आवश्यकता देखे । रुस, चीन, उत्तर कोरिया, इरान र अन्य देशहरूसँग साइबर स्पेसमा लड्नुपर्ने उनको विचारमा कर्मचारीतन्त्र सहमत भएन । यसमा उनले कर्मचारीतन्त्रको जड सोचाई र आपसी तानातानालाई दोष दिएका छन् । यो मानसिकता चिर्न बोल्टनले दुई पाइला चाले । एक, ट्रम्प सरकारको बलियो साइबर रणनीति बनाउने । दुई, ओबामाको शासनकालको भद्दा संरचना हटाएर निर्णय निर्माणको चुस्त संरचना बनाउने । सेप्टेम्बर २० मा ट्रम्प सरकारको साइबर नीति बन्यो । म्याटिसले नोभेम्बरसम्म उनलाई रोक्न खोजेका थिए । यसलाई बोल्टनले रक्षामन्त्रालय र गुप्तचर निकायले आफूप्रति इष्र्याभाव राखेको अर्थमा बुझे ।
बोल्टनकै अग्रसरतामा नयाँ आदेश गयो । सो आदेश अनुसार निर्वाचनमा हस्तक्षेप गर्ने बाह्य देशमाथि सजिलै नाकाबन्दी लगाउन सकिने भयो । यसरी आफूले सन् २०१८ नोभेम्बरको निर्वाचनलाई विश्वसनीय बनाउन भूमिका खेलेको बोल्टन लेख्छन् ।
सन् २०१७ मा क्रिमियाको घटनाको निहुँ झिकेर ट्रम्प सरकारले रुसमाथि नयाँ आर्थिक प्रतिबन्धहरू लगाएको थियो । यसअघि ओबामा सरकारले सान फ्रान्सिस्को र सियाटलस्थित रुसी वाणिज्य दूतावास बन्द गरेको थियो । कूटनीतिज्ञको आवरणमा लुकेका ६० गुप्तचरहरूलाई निकाला गरेको थियो । ट्रम्प सरकारले अनेक बहानामा रुसको इन्टरनेट अनुसन्धान एजेन्सीमाथि प्रतिबन्ध लगायो । त्यस्तै अमेरिकाले सिरियामाथि लगाएको नाकाबन्दी उल्लङ्घन गरेको निहुँमा तीन दर्जन रुसी अधिकारीहरूलाई प्रतिबन्धित ग¥यो ।
प्रतिबन्धको विषयमा ट्रम्पले सधैँ दोधारे विचार राखे । कहिले उनी त्यसको श्रेय लिन्थे त कहिले उनी यस्ता प्रतिबन्धले आफ्नो व्यक्तिगत सम्बन्ध बिगार्ने पनि सोच्थे । मलेसियामा किम जङ उनका दाजु मारिएपछि अमेरिकाले रासायनिक हतियारको प्रयोग गरेको भनेर कोरियामाथि नाकाबन्दी थप चर्कायो । यसबाट ट्रम्प खुसी भएनन् । उनी नाकाबन्दी चर्काउनु हुन्न भन्दै थिए । बोल्टन र उनका सहकर्मीहरूले ट्रम्पलाई रासायनिक र जैविक हतियार छ कि छैन भनी उत्तर कोरियाले अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई छानबिन गर्न दिए नाकाबन्दी हटाउन सकिने सन्देश पठाउन उक्साए । (इराक हमला यस्तै ‘छानबिन’ बाट सुरु भएको थियो ।) ट्रम्पले मानेनन् ।
ट्रम्पका समर्थक सांसद ¥यान्ड पाउल मस्को भ्रमण गए । रुसलाई अमेरिकी प्रतिबन्धहरूप्रति असन्तुष्टि जनायो । पाउल चिन्तित भए । त्यस्तै अमेरिकाले नयाँ प्रतिबन्धहरू लगाउँदै जाँदा अर्थमन्त्री मनुचिनले आफूसँग सल्लाह नगरेको गुनासो गरे । ट्रम्प आफैले पनि अमेरिका रुसप्रति बढ्ता कठोर भएको बताए । एकदिन ट्रम्पले सार्वजनिक रूपमा रुसजस्ता देशको आलोचना नगर्न बोल्टन लगायत अधिकारीहरूलाई आदेश दिए । यी घटनाहरूप्रति बोल्टन निर्मम हुन्छन् । ट्रम्पले विदेशी नेताहरूसँगको आफ्नो सम्बन्ध बिग्रिन्छ भनेर राष्ट्रपतिको दायित्व दाउमा राखेको उनी आरोप लगाउँछन् । उनी निजी सम्बन्ध र औपचारिक सम्बन्ध फरक हुन्छ भन्छन् र ट्रम्पको नमिल्दो दृष्टिकोणको आलोचना गर्छन् । यस्तो माहोलमा अमेरिकाका निस्क्रियताका दिन सक्किएको र साइबर स्पेसमा मित्र देशलाई ढाडस दिन अघि सरेको उनी निष्कर्ष निकाल्छन् । ट्रम्पको ढुलमुले धारणा छिचोल्दै अमेरिकी निर्वाचनलाई रुस लगायत देशको साइबर हमलाबाट सुरक्षित गरेको बोल्टनको दाबी छ ।

नाटो महासचिव स्तोल्टेनबर्गसँग डोनाल्ड ट्रम्प
Leave a Reply