स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
वर्गीय समस्या यथावत
पुँजीवादी व्यवस्थामा हुने निर्वाचन निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र मर्यादित हुँदैन । यस्तो निर्वाचनमा अनेक षड्यन्त्रको चलखेल हुन्छ । पैसाको खोलो बगाउँछ । धाक–धम्की दिन्छ । लोभलालच देखाउँछ । आश्वासन बाँड्छ । मालासामान बाँड्छ, ठेक्का मिलाउने काम हुन्छ । ठूलठूला व्यापारी, व्यवसायी या धनाढ्यहरूलाई कर मिनाहा गरिएको हुन्छ । राज्यको स्रोत–साधन दुरूपयोग गरिएको हुन्छ । यसरी साम, दाम, दण्ड र भेदको नीति अँगाल्ने पुँजीवादी व्यवस्थामा हुने निर्वाचन कसरी निष्पक्ष हुन्छ ? निष्पक्ष, स्वतन्त्र र मर्यादित नहुने निर्वाचनमा सत्ताधारी या ठूला दलहरूले मत पाउनु स्वाभाविक हो । तर, यी दलका नेताहरूको यस्तो गलत कार्यले पार्टीप्रतिको विश्वास गुम्दै गएको यथार्थ हो । यस अर्थमा सत्तासीन र ठूला दलको ‘लोकप्रिय’ मत या समानुपातिक मत घट्दै गएको देखिन्छ ।
आचारसंहिता उल्लङ्घनको साथै अनेक चलखेल हुने निर्वाचनमा सिद्धान्त र विचारको स्वच्छ राजनीति गर्ने दलहरूमा पनि प्रभाव पर्नु स्वाभाविक हो । साना दलले जे जति समानुपातिकको मत पाए त्यो सैद्धान्तिक, वैचारिक र विश्वासपूर्वक पाएको मत हो । ठूला र सत्तासीन दलले पाएको मत सैद्धान्तिक र वैचारिक मत होइन, यसमा कुनै सन्देह छैन । पुस ६ गते प्रकाशित ‘राजधानी’ दैनिकमा ‘लोकप्रिय मत सङ्केत र राजनीतिक विमर्श’ शीर्षकको लेख छापियो । लेखमा ठूला र परम्परागत राजनीतिक दल अनपेक्षितरूपमा खस्केर समानुपातिक मत झरेको उल्लेख छ । लेखमा नेपाल मजदुर किसान पार्टीको लोकप्रिय मत पनि झन्झन् घट्दै गएको उल्लेख छ । लेखमा वर्गीय समस्या समाधान हुने बित्तिकै ‘फु मन्तर हुन्छ’ कि क्या हो भन्दै दलको मत बढेको खोइ भन्ने प्रश्न पनि गरिएको छ ।
सबै जालझेल हुने पुँजीवादी व्यवस्थाको निर्वाचनमा सच्चा राजनीति गर्ने कम्युनिस्ट पार्टीको मत कम हुनु स्वाभाविक हो । तर, लेखमा उल्लेख भएझैँ देशमा वर्गीय समस्या हल भएको छैन । यसमा लेखक नाम लोवात्ती स्पष्ट हुुनुपर्छ । पहिलेको संसदीय निर्वाचनमा भन्दा नेमकिपाको मत बढेको छ । नेमकिपाको प्रत्यक्ष निर्वाचनमा मात्र होइन समानुपातिक निर्वाचनमा पनि मत बढेको छ । यो यथार्थ नबुझी अरू दलसँगै नेमकिपाको नाउँ उल्लेख गरेर नेमकिपाको पनि मत घटेको प्रसङ्ग उठाएर लेखकले नेमकिपाप्रति किन बाङ्गो नजरले हेर्न पुगे ? विगतको निर्वाचनमा भन्दा ठूला र सत्तारूढ दलको समानुपातिक मत घटेको यथार्थ हो । कुनै पनि लेखक, बुद्धिजीवीहरूको देशका सबै दललाई एउटै नजरले हेर्ने दृष्टिकोणमा सुधार हुनुपर्छ । निश्चय पनि लेखकले भनेझैँ यसबारे जनताले मूल्याङ्कन गरिरहने छन् । यसबारे आ–आफ्नो दलमा विभिन्न बहस, छलफल र अन्तरक्रिया भइरहनेछ ।
Leave a Reply