भर्खरै :

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – २४

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – २४

(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
यहाँ जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिँदै छ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
शङ्कास्पद हमला
मे ९ मा ट्रम्पको नियमित गुप्तचर ब्रिफिङ चल्दै थियो । कुराकानी इरानमा केन्द्रित भयो । शानाहन, डनफोर्ड, पोम्पेओ र बोल्टन पनि उपस्थित थिए । इरानको विषयमा बोल्दै ट्रम्पले छोरा बुशलाई अमेरिकी इतिहासकै सबैभन्दा खराब राष्ट्रपति भने । इरानको मामिलामा उनले अमेरिकी सांसद जोन केरीलाई गाली गरे । उनले नै इरानलाई आणविक सन्धि गर्न मनाएका थिए । ट्रम्पपछि डेमोक्र्याटकै सरकार बन्ने र इरानसँगको सम्बन्ध सुधार्ने विषयमा जोन केरीले इरानलाई भित्रभित्र कुरा मिलाइरहेको ट्रम्पको अनुमान थियो । तर, वाक् स्वतन्त्रताको कानुनअनुसार जोन केरीले जोसँग पनि कुरा गर्न सक्थे । जोन केरीलाई कारबाही भए इरानले अमेरिकासँग हात मिलाउन नआउने हुनाले केरीप्रतिको ट्रम्पको द्वेषलाई बोल्टनले त्यति नराम्रो पनि मानेनन् ।
डनफोर्डले इरानको मामिलामा अघि बढ्नुपर्ने बताए । ट्रम्पले हुन्छ भने । यसको लागि अरबी देशहरूलाई खर्च गर्न लगाउनुपर्ने उनको तर्क थियो । ट्रम्पले इरानलाई चौथो प्राथमिकताबाट बाहिर निकाल्ने सङ्केत देखियो । मे १२ मा हर्मुज जलडमरूनिर राखेको तेलको ट्याङ्करमा बम पड्कियो । बोल्टनले यसमा इरानको हात हुनुपर्ने ठाने । उनले एकाबिहानै डनफोर्ड र गुप्तचर निकायका डान कोट्सलाई फोन गरे । ती ट्याङ्करहरू अमेरिकी थिएनन् । बरू नर्वे र साउदी अरबका थिए । इरानले छोरी चुटेर बुहारी तर्साउन खोजेको बोल्टनको अनुमान रह्यो ।
हमलाको सूचना सुनाउन बोल्टनले ट्रम्पलाई फोन गरे । ट्रम्पले के गर्ने भनी सोधे । बढीभन्दा बढी सूचना सङ्कलन गरेर प्रतिवादको तयारी गर्नुपर्ने बोल्टनको राय थियो । ट्रम्पले सोधे, “यो हमलाको पूर्व सूचना पाउन हामी कसरी चुक्यौँ ।” बोल्टनसँग त्यसको उत्तर थिएन ।
बोल्टनले नर्वे, साउदी अरब र यूएईलाई सुरक्षा परिषद्को बैठक बोलाउन उक्साए । तैपनि, घटनाको स्पष्ट विवरण बाहिर आइसकेको थिएन । त्यसैले साउदीले हमलाको कुरा अस्वीकार ग¥यो । त्यसबेलासम्म बोल्टनले ड्रोन हमला भएको सूचना पाइसकेका थिए । उनले यसमा इरानकै हात देखिरहेका थिए । तर, इरानले यो कुरा अस्वीकार ग¥यो । उसको दुष्प्रचारले अरब जगतमा घटनाबारे अफवाह फैलेको बोल्टन आरोप लगाउँछन् । बोल्टनले इरानी हमलाको प्रतिवाद गर्नुपर्ने, नाकाबन्दी चर्काउनुपर्ने कुरा उठाए । सरकारले कुनै औपचारिक कदम चालेन । अमेरिकाले प्रतिवाद गरे इरानले तेलको मूल्य बढाउनसक्ने केही कर्मचारीहरूको पूर्वानुमान थियो । केही कर्मचारीहरू थप हमला हुनसक्ने आशङ्काले आत्तिएका थिए । ट्रम्पले समग्र घटनाक्रमबारे थाहा नभएसम्म भित्रभित्रै बुझ्न बोल्टनलाई निर्देशन दिए । प्रतिवादमा केही गरे अरब देशहरूबाट खर्च असुल्नुपर्ने ट्रम्पको स्पष्ट अडान थियो । उनी कुनै हमला भएको थिएन भन्ने निष्कर्षमा पुगिसकेका थिए भनी बोल्टन दाबी गर्छन् ।
दिउँसोपख ट्रम्पले इरानीहरू किन वार्तामा आउँदैनन् भनी जिज्ञासा राखे । इरानले गर्ने धेरै ब्यालेस्टिक मिसाइल परीक्षण असफल हुन्थ्यो । ऊमाथि कारबाही नगरेर अमेरिकाले उसलाई गल्तीबाट सिक्न दिइरहेको विचारबाट बोल्टनको टसकोमस थिएन । यस्तैमा मे १४ मा इरानले साउदी अरबको पाइपलाइनमाथि हमला गरेको खबर आयो । यमनका हुथी विद्रोहीहरूले हमलाको जिम्मेवारी लिए । केही पर्यवेक्षकले शिया विद्रोहीहरूले हमला गरेको अनुमान गरेका थिए । अन्डा जसले कोरले पनि पारेको चाहिँ इरानले थियो भन्ने बोल्टनको दृढ विश्वास थियो । यसपालि ट्रम्पले थोरै कडा बोले । इरानले हमला गरे हामी पनि गर्छौँ भनेर उनी कड्किए ।
एक कार्यक्रममा उनी लुजियाना पुगेका थिए । पत्रकारहरूले मध्यपूर्वमा १ लाख २० हजार अमेरिकी सैनिक पठाउने हल्ला सुनिन्छ नि भनेर सोधे । ट्रम्पले त्यसलाई झूटो खबर भने । पठाउने भए त्यो भन्दा बढी नै पठाउँछौँ भने । यता डेमोक्र्याट पार्टीका सांसदहरूले ‘इरानी खतरा’ मा चासो लिँदै थिए । भोलिपल्ट राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्यो । शानाहनले ‘जोखिम मोल्नुपर्ने’ भनेर ट्रम्पलाई उक्साउन खोजे । ट्रम्पले व्यापारीले जस्तै जोखिमको बारेमा प्रवचन दिए । उनले इरान र भेनेजुयलाको तेल अमेरिकाले आफ्नो मुठ्ठीमा लिनुपर्ने बताइसकेका थिए । उनले अमेरिकी लडाकु विमान अन्य देशको तुलनामा उच्च प्रविधियुक्त भएको बताए । उनले अमेरिकी युद्ध विमानहरूको क्षमता बढाउने विषयमा बताए । उनको प्रवचनलाई सीआईएकी जिना हास्पेलले रोकिन् । उनले विषयान्तर के गरेकी थिइन्, अफगानिस्तानको कुरा आयो । ट्रम्पले तुरून्तै इराक र अफगानिस्तानबाट बाहिरिनुपर्छ भनिहाले । सिरियाबाट निस्किन कति समय लाग्छ भनेर उनी उफ्रिए । डनफोर्डले ‘केही महिना’ भने । उत्तरमा ट्रम्पले ‘ढोका ड्याम्म बन्द गर्ने, छोड्ने’ भने । डनफोर्डको कार्यकाल सक्किँदै थियो । ट्रम्पले उनको स्थान लिने कर्मचारीलाई बैठकमा बोलाउँदै गर्दा के होला भनी सोधे । ओठे जवाफ दिँदै डनफोर्डले भने, “हजुरले भन्नुहुन्छ भने अहिल्यै छोड्छु ।”
अमेरिकाले लिङ्कन युद्धपोत हर्मुज जलडमरूतिर पठाइसकेको थियो । तर, ट्रम्प जोन केरीका कारण इरानीहरूले आफूसँग संवाद गर्न नमानेको बताइरहेका थिए । इरानलाई ‘दण्डित गर्ने’ सवालमा जोखिम, खर्च र सान्दर्भिकताको विषयमा कुरा गर्दै थिए । उनले इरानले आणविक हतियार बनाउनुहुन्न भने । लगत्तै उनले इरानमाथि हमला गर्न अरब देशहरूले नै खर्च दिनुपर्ने बताए । यताउताका कुरा गरेपछि ट्रम्पले अनौठो कुरा गरे । “हामी फर्केपछि ‘आइएसआइएस’ फर्के फर्किन्छ, हामी निस्किनुपर्छ” भने । तुरून्तै उनले अफगानिस्तानमा अमेरिकाको खर्च कति हुन्छ भनेर सोधे । शानाहनले दैनिक १० डलर भने ।
एक हप्तापछि पुनः चारवटा ट्याङ्करमाथि हमला भएको खबर आयो । ट्रम्पले ट्वीट गरे, “इरानले लड्न चाहे त्यो इरानको औपचारिक अन्त्य हुनेछ । फेरि अमेरिकालाई नतर्साउनू ।” भोलिपल्ट अमेरिकाले इरानसँग वार्ता गर्न चाहेको खबर झूटो हो भन्दै ट्रम्पले अर्को ट्वीट गरे । त्यसको पुछारमा लेखिएको थियो, “वार्ताको लागि तयार भए इरानले आफै खबर गर्नेछ ।” त्यसको जवाफमा इरानी विदेशमन्त्री रूहानीले सार्वजनिकरूपमै भने, “आजको स्थिति वार्ताको लागि उपयुक्त छैन ।”
यो संवादबाट विदेशीहरूले ट्रम्पले आफूसँग संवाद गर्न चाहेको तर उनका सल्लाहकारहरूले नदिएको, ट्रम्पले शान्ति चाहेको तर सल्लाहकारहरूले युद्ध चाहेको सन्देश गयो । बोल्टन भुट्भुटिए । केही पत्रपत्रिकाले यस्तै विचार प्रचार गरे । केही समयपछि ट्रम्पको जापान भ्रमण हुँदै थियो । त्यसको तयारीको क्रममा बोल्टन र डनफोर्डले ट्रम्पलाई भेटे । ट्रम्पले सोधे, “यो अफगानिस्तानबाट हामी निस्किने कहिले हो ? त्यहाँका केही सैनिकलाई मध्यपूर्वमा छोड्दा कसो होला ?” डनफोर्डले अफगानिस्तानस्थित सेनालाई फरक तालिम दिइएको बताए । त्यसपछि उनी पूर्वरक्षामन्त्री म्याटिसलाई गाली गरे । म्याटिसले गर्दा नै अफगानिस्तानमा जित हात नपरेको उनको गनगन थियो । उनले सिरियाबाट कहिले निस्किने हो भनी सोधे र अरबी मित्र देशहरूका सेनामध्ये कुन गतिलो छ भनी सोधे । डनफोर्डले दुवैको संस्कृति फरक छ भने । धेरै तानातानपछि पेन्टागनले इरानवरपर जति सेना तैनाथ गर्ने भनेको थियो, त्यसमा सहमति जनाए ।

अमेरिकाका प्रतिनिधि सिन्जो आबे
ट्रम्पले इरानसँग वार्ता गर्न जापानी प्रम सिन्जो आबेलाई वातावरण मिलाउने जिम्मा दिए । आबेले यसलाई गम्भीर जिम्मेवारी मानेका थिए । ओसाका बैठक अगावै आबेले इरानको भ्रमण गर्दै थिए । ट्रम्पको जापान भ्रमणको तयारीका लागि जापान जाँदा बोल्टनले आबेलाई भेटे । त्यहीँबाट उनले ट्रम्पले आबेलाई इरानको तारतम्य मिलाउन जिम्मा दिएको चाल पाए । उनले त्यो योजनालाई गलत भन्न सकेनन् ।
ट्रम्पको राजकीय भ्रमण भयो । मे २७ गते ट्रम्प र अबेले इरानलाई केन्द्रमा राखेर छलफल गरे । केही समयअघि इरानी विदेशमन्त्री जारिफ जापान गएका थिए । कुराकानीबाट अमेरिकी नाकाबन्दीका कारण इरानले दुःख पाइरहेको र सङ्कटतिर धकेलिँदै गरेको अबेले महसुस गरे । यो कुरा अबेले ट्रम्पलाई सुनाए । अमेरिकाले अब्राहम लिङ्कन युद्धपोत पठाएर ठिक्कै गरेको उनले भने । आफू इरान जाने कुराले केही अरबी मित्र देशहरू सन्तुष्ट नभएको उनले बताए । अरबको सुरक्षा अमेरिकाले गरिरहेको हुनाले तिनको कुरा नसुन्न ट्रम्पले भने । उनले भने, “अमेरिकाले के गर्छ, त्यो हामीलाई अरूले बताउनुपर्दैन ।” केही गफगाफपछि ट्रम्पले अर्को गफ दिए । उनले इरान चरम सङ्कटमा परेको, त्यसैले संवाद गर्न चाहेको दाबी गरे ।
ट्रम्पले आफूले इरानलाई अपमान गर्न नचाहेको, ऊसित आणविक हतियार पनि नभएको बताए । यो बोल्टनको दाबीभन्दा ठीक उल्टो कुरा थियो । इरानलाई जोन केरीको कुरा नसुन्न भन्नू भनेर ट्रम्पले आबेलाई सिकाए । ट्रम्प आफ्नो संवादकलामा विश्वस्त थिए । त्यसैले अरूले महिनौँ लगाएर गर्ने सम्झौतालाई आफूले एकैदिनमा गर्न सक्छु भन्ने उनको विश्वास थियो । अन्त्यमा बोल्टनलाई आफ्ना जापानी समकक्षीसँग औपचारिक काम गर्न अह्राएपछि आबेसँगको कुराकानी टुङ्गियो ।
टोकियोबाट लन्डन फर्किँदै गर्दा बोल्टन बिचमा आबु धाबीमा ओर्ले । त्यहाँ उनले युवराज मोहम्मद बिन जइदलाई भेटे । बोल्टनलाई भेट्न पाउँदा उनी धेरै खुसी थिए । अमेरिकाले इरानी भड्काउपूर्ण क्रियाकलापको जवाफ नदिएकोमा उनको चित्त दुखेको थियो । इरानले मिसाइल र ड्रोनहरू बनाएको र ती हतियार हुथी लडाकु, इराकका शिया र अफगानिस्तानका तालिबान र ‘आइएसआइएस’ लाई दिएको युवराजले बताए । ट्रम्पले सिन्जो आबेलाई किन इरान पठाउन खोजेको, यसले अमेरिकालाई कमजोर देखाउने उनको धारणा थियो । आबे इरान जाने खबरले आफूहरू धेरै दुःखी भएको उनले स्पष्ट बताए । बोल्टनले सिधै ट्रम्पसँग कुरा गर्न भने र लन्डनतिर लागे किनभने युवराजको विचारमा उनी पूर्णतः सहमत थिए ।
बोल्टन बेलायत पुग्दा त्यहाँ फ्रान्ससँग मिलेर उसले दोस्रो विश्वयुद्धमा नोरम्यान्डी हमलाको वार्षिकोत्सव मनाउँदै थियो । त्यहाँ फ्रान्सेली राष्ट्रपति म्याक्रोँले ट्रम्पको सम्मानमा भोजको आयोजना गरेका थिए । म्याक्रोँले इरानले आणविक सम्झौता तोड्ने धम्की दिइरहेको बताए । इरान युरोपबाट आर्थिक सहुलियत चाहन्थ्यो । म्याक्रोँ इरानले सन्धि नतोडोस् भन्ने चाहन्थे, त्यसैले सिन्जो आबेले आफ्नो कुरा पनि राखिदिन्थे कि भनेर ट्रम्पलाई सोधे । उनले इरानसँगको कुराकानीमा के विषयमा लेनदेन हुने हो भनी सोधे । ट्रम्पले त्यसको जवाफ दिएनन् । बरू उनले अमेरिकी नाकाबन्दीले इरान तहसनहस भएको बताए । जोन केरीले इरानलाई संवाद गर्नबाट रोकेको बताए । बिचमा कुरा थप्दै अर्थमन्त्री मनुचिनले ‘नत्र अमेरिकाले सजिलै नाकाबन्दी हटाउन सक्थ्यो’ भने । बोल्टनले यसलाई गलत भन्नु स्वाभाविक हो ।
म्याक्रोँले इरान पछि हट्ने हो कि भनी चिन्ता जाहेर गरे । जसरी भए पनि इरानसँगको सम्झौता जोगाउनु युरोपको स्वार्थ थियो । एकचोटि अमेरिकाले इरानमाथि हमला गरे युरोपको सपना धुजाधुजा हुन्थ्यो भनी बोल्टनले त्यसबेला कल्पना गरेका थिए । यस्तैमा अमेरिकी ड्रोनलाई मिसाइलले हानेर खसालेको खबर आयो । हुथी लडाकुहरूले त्यसको जिम्मेवारी लियो । तर, बोल्टनले इरानले नै पड्काएको बुझ्न चाहे । अमेरिकी प्रशासनको भने अर्कै रवैया रह्यो । उसले इरानलाई दबाब नदिन इजरायललाई भनेको बोल्टन दाबी गर्छन् ।
यस्तैमा अबेको इरान भ्रमणको तयारी अन्तिम चरणमा पुग्यो । जून ७ मा जापानका रक्षा सल्लाहकार याचीले बोल्टनलाई फोन गरे र इरानमा छलफल हुने दस्तावेजको खेस्रा सुनाए । त्यो खेस्रा म्याक्रोँले मार्केलको सल्लाहमा बनाइएको बोल्टनले बुझे । किनभने, त्यसमा इरानलाई फाइदा हुने बुँदाहरू थिए । प्रजग कोरियासँग जापानले यति नरम सम्झौता गर्न नसक्ने भनेर बोल्टनले अमेरिकी स्वार्थमा सिन्जो आबे संवेदनशील नभएको लेख्छन् । जसरी जापानले प्रजग कोरियामाथिको अमेरिकी नाकाबन्दी शिथिल बनाउन चाहन्नन्, त्यसरी नै अमेरिकाले इरानको विषयमा सोच्छ भन्ने बोल्टनको विचार छ । यी कुरा बोल्टनले आफ्ना जापानी समकक्षी याचीलाई बताए । उनले अमेरिकालाई इरानको खतरा छ भने । आबेको भ्रमण रोक्न नसके पनि उनी इरानलाई सजिलो बनाउने पक्षमा पटक्कै थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *