इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
पुस्तकको गर्भ रचना
नेपालको पहाडी समाज विशेषगरी पश्चिमको गोर्खा, लमजुङ, कास्की, स्याङ्जा, म्याग्दी र पूर्वको इलाम, तेह्रथुम, धरानमा लाहुर, लाहुरे र गोर्खा भर्तीको संस्कृतिको छुट्टै प्रभाव र पहिचान रहिआएको छ । लाहुरे संस्कृतिले नेपालका ती जिल्ला र स्थानहरूका सामाजिक, सांस्कृतिक र आर्थिक पक्षमा हिजो पारेको प्रभाव ठूलो थियो । आज हिजोको जस्तै तहमा प्रभाव नभए पनि यसको असर बेग्लैरूपमा अद्यापि छँदै छ । यस लाहुरे संस्कृृति र नेपाली समाजमा यसका प्रभावका बारेमा विदेशीले धेरै अध्ययन अनुसन्धान गरेको भए पनि नेपालमा धेरै कम मात्र अध्ययन भएको देखिन्छ । यी थोरै अध्ययनहरू मध्ये लेखक झलक सुवेदीद्वारा लिखित – ‘ब्रिटिस साम्राज्यका नेपाली मोहरा’ पुस्तक पनि एक हो । आजभन्दा दस वर्ष पहिला सन् २०१२ मा पहिलो प्रकाशन भएको पुस्तकको हाल सन् २०२२ मा अङ्ग्रेजी अनुवाद संस्करण ‘The flipside of the British Empire’ को पनि प्रकाशन भइसकेको छ । पुस्तकले गोर्खा भर्तीको सामान्य इतिहासमात्र नभई नेपाली समाजमा यसको प्रभावका विविध आयामलाई पनि केलाउने प्रयास गरिएको छ । पुस्तकको गर्भ रचनालाई नियाल्दा ४६ सालको जनआन्दोलनपश्चात् पुनस्र्थापित बहुदलीय व्यवस्थापछिको खुला र स्वतन्त्र राजनैतिक वातावरणमा पुस्तक लेख्ने पृष्ठभूमि तयार भएको देखिन्छ । गोर्खा सैनिकमाथि बेलायत सरकार र गोरा सैनिकबाट धेरै पहिलेदेखि हँुदै आएको भेदभावको विरोधमा नेपाली गोर्खाहरूको मनमा गुम्सिएको विद्रोह मुखरित हुने मौका यही खुला राजनैतिक समाजले दिलायो । त्यो विभेदविरुद्धको आवाजलाई सङ्गठित र व्यवस्थित ‘गेसो’ को स्थापनासँगै हुन गयो । गेसो अर्थात भ्ूपू गोर्खा सैनिक सङ्गठन GAESO (Gorkha Army Ex-Servicemen’s oganization) । गेसोका सभापति र यस पुस्तक लेखनको लागि घच्घच्याइरहने पात्र थिए – पद्मबहादुर गुरुङ, जो पन्ध्र वर्षको कलिलो उमेरमै लाहुरे बनेका थिए ।
‘लाहुर र लाहुरे’ संस्कृतिको प्रभाव
बृहत् नेपाली शब्दकोषअनुसार – लाहुरको अर्थ अचेल पाकिस्तानको पन्जावको राजधानी, लाहौर तथा लाहुरेको अर्थ भारतीय पल्टनमा नोकरी गरेको जवान भनी दिइएको छ । तर, नेपाली विशेषगरी गैरगुरुङ, मगर, राई र लिम्बु समुदायमा पैसा भएका बुद्धि नभएका र बिना सोच विचार पैसा खर्च गर्ने वा बिनामोलतोल भनेजति तिर्ने ग्राहक वा व्यक्ति वा यस्तो स्वभावको मानिसहरूलाई लाहुरे भनेर बुझिन्छ । वास्तवमा लाहुरेहरूले गर्ने केही व्यवहार र उनीहरूको स्वभावलाई केही सामान्यीकरण गर्दा यस्तो पनि देखिन नआउने होइन ।

गोर्खा सैनिकसँग जोना लुम्ले
लाहुर र लाहुरे संस्कृतिले सिङ्गो नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पारेको प्रभाव व्यापक नभए पनि माथि उल्लेखित पूर्वी र पश्चिमका केही पहाडी जिल्लाहरूमा यसको प्रभावले बलियोसँग जरागाडेको तथ्य पुस्तकले प्रस्तुत गरेको छ । पुस्तकको दसौँ अध्यायको ‘भर्तीको प्रभाव’ शीर्षकअन्तर्गत लेखकले नेपाली समाजमा यस संस्कृतिले पारेको प्रभावबारे – ‘पहिलो विश्व युद्धमा (वि.सं. १८५७ – १८६१) नेपालका पहाडबाट २ लाख युवाहरू ब्रिटिश भारतीय सेनामा भर्ती भएर गएका थिए । जम्मा ५०÷५५ लाख जनसङ्ख्या भएको र सरदर आयु २९ वर्ष भएको देशमा पहाडबाट त्यतिका उमेर पुगेका पुरुष बाहिरिन ठूलो प्रभाव पार्ने घटना थियो । यसले समाज र अर्थतन्त्रमा त्यसको दूरगामी असर प¥यो । युद्ध सकिएपछि फर्केका लाहुरेहरूले ल्याएको कम्पनी रूपैयाँले नेपालका पहाडी जीवन र अर्थतन्त्रमा निकै ठूलो हलचल ल्याइदियो ।’
लेखकले सरदार भीमबहादुर पाण्डेकै सहारा लिएर त्यतिबेला लाहुरे संस्कृतिले नेपाली समाजमा पारेको प्रभावका बारेमा यसरी सविस्तार विवरण दिएका छन् – नेपाल भित्रिएको रकमको हिसाब किताब निकाल्दा १३ करोड हुन आउँथ्यो । सिङ्गो नेपालकै एकाध करोड बजेट हुनेबेलामा त्यो रकमको आकार ठूलै थियो । उनीहरूले ल्याउने पैसाको मात्र कुरा थिएन । मध्यपूर्वदेखि युरोपसम्मका देश र समाजका साथसङ्गतमा फर्केका लाहुरेहरू शारीरिकरूपमा तन्दुरुस्त त थिए । त्यसमाथि युद्ध जितेर आएको फूर्ति र मिले नमिलेका अङ्ग्रेजी लवजहरू प्रयोग गरी नेपाली बोल्दा सर्वसाधारण गाउँले नेपालीका लागि त्यो प्रशस्त थियो । बाटैपिच्छे झुन्डिने ड्याम–फुलले गर्दा ती लाहुरेको गाउँमा छुट्टै पहिचान झल्किने नै भयो । पैसा र बोलीचालीमा आएको अन्तरबाहेक नयाँ विदेशी बानी बेहोरा, मालताल, ढाँचाकाँचा, लवाइखवाइ, विचारधाराका साथै नेपालको लामो इतिहासमा समुद्रपारको बानी पनि आयो ।
बुङ्ग बुङ्ग चुरोटको धुवाँ उडाउने, दुईचार पैसाको दुःख हुने गाउँघरमा आँखा चिम्लेर पैसा खर्च गर्ने र साथीभाइलाई सुका मोहर बाँड्ने र चिया ख्वाउने, वल्लो गाउँ र पल्लो पहाडको मात्र कुरा सुनी सुनाउँदै आएका सोझा गाउँलेहरूले संसारको विभिन्न देशहरूका युद्धमा लाहुरेले भोगेका दुःख सुखका कथा सुन्न पाउँदा रोमाञ्चित हुने नै भए । त्यतिबेला ती लाहुरेहरूको गाउँ छिमेकमा चाल र रवाफले धेरै गाउँका केटाहरूको लागि उनीहरू रोलमोडेल भए । उनीहरू पनि लाहुरे हुने सपना बुने । हुर्के बढेका चेलीबेटी भएका घरहरू ती लाहुरेहरूसँग लगनगाँठो बाँध्न हानाथाप गर्ने चलनले कसरी नयाँ संस्कृतिको रूप लिँदै थियो भन्ने विवरण पुस्तकमा राम्ररी बयान गरिएको छ ।
गोर्खा सैनिकको दानवीकरण
नेपालका डाँडाकाँडा र माटोमा गोर्खा सैनिकको छविलाई उजिल्याउने र चम्काउने विभिन्न क्रियाकलापहरू जस्तै गोर्खा सैनिककोे लोगोको प्रचार–प्रसारदेखि बियर र रक्सीका ब्रान्डमा त्यही लोगो अङ्कित गर्ने कार्यहरू अझै प्रबल छ । तर, त्यो छविलाई हामीले जस्तोसुकै देवत्वकरण गर्ने प्रयास गरे तापनि गोर्खा सैनिकलाई होस्ट गर्ने देश चाहे बेलायत होस् वा भारत, उनीहरूले नजानिँदो तरिकाले त्यो छविलाई राक्षसीकरण गरेको तथ्य अब गोप्य छैन । यही तथ्यलाई पुस्तकमा यसरी उल्लेख गरिएको छ – यी गोर्खाहरूले विश्वमा एउटा निडर, आक्रामक र डरलाग्दा सिपाहीँको दर्जा पाएका छन् । तिनीहरूको दानवीकरण गरिएको छ । ब्रिटिस गोर्खा कमान्ड गर्ने जर्नेल कर्णेलका संस्मरण र तिनकै भनाइ पछ्याएर समाचार र विश्लेषण पस्कने पत्रकार तथा लेखकहरूले निर्माण गरेका छविले वास्तवमा नेपालीहरूको आत्मसम्मान र वास्तविक पहिचानलाई विकृत बनाउँछ । एकजना पत्रकार तथा लेखक जोन पार्करले आफ्नो पुस्तकको नाम नै ‘The Gurkhas: The inside story of the World’s Most Feared Soldiers’ राखेका छन् । गोर्खाहरूको खुकुरी दापबाट निस्केपछि रगत नपिई फर्किँदैन, अरूलाई काट्न पाएन भने आफ्नै हात काटेर भए पनि रगत दिनैपर्छ भन्ने हल्ला मच्चाएर र शत्रुको रगत र मासु खाने जाति – एउटा सिनेमामा नेपालीले जापानीको मासु खाएको देखाएको भन्ने गेसोका सभापतिको भनाइ छ भन्ने प्रचार गराएर पश्चिमाहरूले नेपालीहरूको बहादुरीको विभत्स बिम्ब निर्माण गरेका छन् । त्यसैगरी उनीहरूले नेपाललाई भाडाका सबैभन्दा इमानदार सिपाहीँ जन्माउने देशको श्रेणीमा राखेका छन् ।
![]()
गोर्खा सैनिकको दानवीकरणको श्रृङ्खला यहीँ अन्त्य हँुदैन । पुस्तकमा फकल्यान्ड युद्धमा गोराले गरेको कुप्रचारको प्रभावलाई यसरी लेखिएको छ – त्यो प्रचारले हामीले सोचेको भन्दा कता हो कता प्रभाव पार्यो र धेरै ठाउँमा फैलियो पनि । हामीले फकल्यान्डमा अर्जेन्टिनी युवाहरूले त्यो फ्ल्यास पत्रिकाको त्यो अङ्क पढिरहेको पनि थाहा पायौँ, जसमा डरलाग्दा गोर्खाहरूको बारेमा शीर्षकमा के लेखिएको थियो भने यिनीहरू ड्रग खानमा खप्पिस छन्, बच्चा भेटाए भने खाइहाल्छन्, अनि युद्धबन्दीलाई जिउँदो छाड्दैनन् । ………
गोर्खा सैनिकका बारेमा गोराले निर्माण गरेको यस छविले नेपालका मित्र राष्ट्रहरूले सिङ्गो नेपाललाई कस्तो दृष्टिले हेर्दो हो, सम्झँदै जो कोही नेपालीको आङ सिरिङ हुन्छ ।
केही उज्यालो पाटोे
हुन त सबै गोराले गोर्खा सिपाहीँको दानवीकरण र कुप्रचारमात्र गरे भने होइन । थप अध्ययन र अनुसन्धान गरेमा गोर्खा सैनिकले गरेका गुणका बदला गुण तिर्ने गोराहरूको पनि लिस्ट लामै होला । पुस्तकमा यस्तै एकजना जेम्सरुथ फोर्ड नाम गरिएका गोराको कथा अध्याय २७ को जोआना लुम्ले भ्यु टावर शीर्षकमा चर्चा गरिएको छ । जेम्सरुथ फोर्ड ब्रिटिस भारतीय सेनाका मेजर थिए । दोस्रो विश्वयुद्धको समयमा सिक्स्थ गोर्खा राइफल्सको कमान्डिङ गर्ने क्रममा बर्माको एउटा मोर्चामा जापानी सेनाको हमलामा परी उनी घाइते भएका थिए । लडाइँ चलिरहेकै बखत घाइते जेम्सरुथलाई गोर्खा सिपाहीँ तुलबहादुर पुनले काँधमा राखी उनको उद्धार गरी बचाएका थिए । लडाइँको मैदानबाट गोर्खा सैनिकले उद्धार गरिएका यी नै गोरा सैनिकको दोस्रो विश्वयुद्धको एक वर्षपछि भारतको सुन्दर सहर श्रीनगरमा एक छोरी पनि जन्मियो । बेलायतकी नामी सेलिब्रेटी, मोडेल तथा नायिका जोना लुम्लेको जन्म सम्भव हुने थिएन यदि गोर्खा सिपाहीँ तुलबहादुर पुनले आफ्नो ज्यान दाउमा राखेर उनको बुबा जेम्सरुथलाई साहसका साथ लडाइँको मैदानबाट उद्धार नगरेको भए । सानैदेखि यो कथा बुबाबाट सुन्दै आएका लुम्ले त्यति बेलादेखि नै गोर्खा सैनिकप्रति कृतज्ञ भएका थिए । गोर्खा सिपाहीँको यही गुनको बदला तिर्न यी सुन्दरीले गेसो आन्दोलनमा निर्धक्क सघाएका थिए ।
गोर्खा भर्तीको अँध्यारो पाटो
बाहिरबाट झट्ट हेर्दा गोर्खा सिपाहीँको कथा र सान भव्य प्रतीत हुन्छ । तिनीहरूले नेपालको पहाड र गाउँघरमा परदेशबाट बोकी ल्याएका सपना र आशाका ठूलठूला पोकाहरूको वरिपरि घुमेर कति भर्खरैका खाउँ खाउँ र लाउँ लाउँका उमेरका युवतीहरूले लाहुरेहरूसँग जीवन बिताउने सपना सजाए । विवाह गरेको एक महिना नबित्दै लाहुर फर्के । आफ्नो खसम कुरेर बसेका त्यस्ता कैयौँ युवतीहरूले ती पहाड र गाउँमा उनीहरूलाई फेरि देख्न नै पाएनन् । या त उनीहरू युद्धको मैदानमै बिलाए, जो फर्के रित्तो हात र अपाङ शरीर लिएर र आइमाईका सपना तुहाएर । हो, गोर्खा सिपाहीँका यस्ता अन्तरनिहित कथा खोतल्दै जाँदा दृश्य भयानक र दर्दनाक देखिन थाल्छ । पुस्तकका लेखकले यस्ता लाहुरेनीका दर्दनाक कथाहरू पूर्वदेखि पश्चिमसम्मका गाउँ र सहर घुमेर सङ्कलन गरेका छन् । वर्ष ८४ का शान्तिमाया लिम्बु र ८५ वर्षका चन्द्रमाया थापा यस्ता केही प्रतिनिधि लाहुरेनी हुन् जसको कथा अध्याय १३ र १४ मा वर्णित छन् । एकै परिवारका तीन पुस्ताले लहरै एउटै नियति भोग्नुपर्ने कथा पनि कम कहालीलाग्दो छैन । आमा, छोरी र नातिनी शीर्षकको पच्चिसौँ अध्यायमा आमा आइतिमाया, छोरी निरमाया र नातिनी पिंकीको कथा पढ्दा जो कसैको मन बिथोलिन्छ ।
गोर्खा भर्तीकै इतिहासलाई पुस्तकले खोतलेको छ । यसमा गेसो आन्दोलनको नालीबेलीलाई कोट्याइएको छ । लेखकले पुस्तकलाई गैरआख्यानको कोटीमा राखेको भए पनि विदेशी भूमिमा गोराबाट लाहुरे अपमानित हुनु परेका अनगीन्ति कथाहरू र स्वदेशकै माटोमा पनि लाहुरेनीहरूले भोग्नु परेका दर्दनाक कथाहरूले पुस्तकमा आख्यानका दर्दहरू पनि मनग्य भेटिन्छन् । पुस्तकलाई गोर्खा भर्तीको नालीबेलीमा मात्र सीमित गर्दा अन्याय हुन जान्छ । नेपालको इतिहासको एक महत्वपूर्ण अध्याय र समाजशास्त्रीय चिन्तन पनि उत्तिकै पुस्तकमा भेटिने हुँदा यसलाई एक नेपालको समाजशास्त्रको दस्तावेजको कोटीमा राख्दा फरक पर्नेछैन ।
दुईसय वर्ष पहिलेदेखि देश छोडेर लाहुरे हुनुपर्ने नेपालीको नियति र आज कामकै खोजीमा कतार, दुवै, मलेसियामा भौतारिनुपर्ने अवस्था र ती नै गरिखानेको पसिनामा लुट मच्चाउनेहरूको बिगबिगीलाई लेखकले सटीकरूपमा यसरी सार खिचेका छन् – जे होस् नेपालमा लाहुरेको कमाइमा बाँच्नेहरू आजभोलि पनि छन् र त्यतिबेला पनि थिए । आज म्यानपावरका दलालहरू, जग्गा दलालहरू, रेमिटेन्सको खेती गर्नेहरू, गाउँका साहुहरू लाहुरेको कमाइमा बाचेका छन्† मोटाएका छन् । त्यतिबेला पनि यी भट्टी पसलेहरू, भरियाहरू र गाउँमा पैसा खेलाउनेहरू लाहुरेलाई कतै दुहिरहेका हुन्थे । लाहुरेको ठूलो हिस्सा सामान्य स्तरको जीवनमै गुजारा गथ्र्यो ।
गाउँका भिर–पाखाहरूमा लाहुरेलाई कुर्दै जीवन बिताएका लाहुरेनीका कथाहरू कहालीलाग्दा त थिए नै । लडाइँमा ज्यान जोगाएर परिवारमा केही दिन भए पनि बिताउने आशाले बिदामा घर फर्कँदा बाटामा ती गोर्खा सिपाहीँहरू कसरी ठगिन्छन् भन्ने विवरणले पनि मनमा च्वास्स छुन्छ । त्यतिबेलाको परम्परा र नियमानुसार विदेशमा बिताएर आएका जोकोहीले चोखो गरेरमात्र आफ्नो गाउँठाउँ फर्कन पाउँथे । ‘पतिया’ भनेर चिनिने त्यो चोखो गर्ने कार्य सम्पन्न गर्न एक पण्डितको व्यवस्था पक्लिहवा क्याम्पमा गरिएको हुन्थ्यो । सो पाप कटनी र दान दक्षिणाको पतिया कर्म एक हप्तासम्म लाग्थ्यो । यो परम्परा पृथ्वीनारायण शाहको पालादेखि नै हिन्दूकरणलाई सबल गर्न चलाएको मानिन्छ । सो पाप मोचन क्रियाकै एक हप्ताको समयमा गोर्खा सिपाहीँ कसरी ठगिन्छ र उनले कमाइ ल्याएको पैसाको ठूलो अंश भट्टीको रङ्गीन दुनियाँमा कसरी सिध्याइन्छ भन्ने विवरण पनि पुस्तकमा रोचक ढङ्गले उल्लेख गरिएको छ – अध्याय १७ मा ।
गोर्खा भर्तीकै इतिहासलाई पुस्तकले खोतलेको छ । यसमा गेसो आन्दोलनको नालीबेलीलाई कोट्याइएको छ । लेखकले पुस्तकलाई गैरआख्यानको कोटीमा राखेको भए पनि विदेशी भूमिमा गोराबाट लाहुरे अपमानित हुनु परेका अनगीन्ति कथाहरू र स्वदेशकै माटोमा पनि लाहुरेनीहरूले भोग्नु परेका दर्दनाक कथाहरूले पुस्तकमा आख्यानका दर्दहरू पनि मनग्य भेटिन्छन् । पुस्तकलाई गोर्खा भर्तीको नालीबेलीमा मात्र सीमित गर्दा अन्याय हुन जान्छ । नेपालको इतिहासको एक महत्वपूर्ण अध्याय र समाजशास्त्रीय चिन्तन पनि उत्तिकै पुस्तकमा भेटिने हुँदा यसलाई एक नेपालको समाजशास्त्रको दस्तावेजको कोटीमा राख्दा फरक पर्नेछैन ।
Leave a Reply