भर्खरै :

चीनको सुधार आन्दोलन

चीनको सुधार आन्दोलन

चीनमा पुँजीवादको विकास

कुटीर व्यवसाय र हाते उद्योग प्राचीन चीनमै विकास भइसकेको थियो, तर आधुनिक उद्योग भने सन् १८४० को दशकमा बेलायतले क्यान्टनमा जहाज मर्मत गर्ने ज्यासल स्थापनापछि भयो । अमेरिकी र बेलायती साहुमहाजनहरूले पनि साङ्घाई, अमोइ (Amoy) र फूचोउ (Foochow) मा समेत जहाज मर्मत कारखानाहरू स्थापना गरे ।
सन् १८६१ पछि बेलायती, फ्रान्सेली र अमेरिकी पुँजीपतिवर्गले पनि साङ्घाई र अन्य सहरहरूमा रेशमका कारखानाहरू स्थापना गरे । १८६३ मा रुसी पुँजीपतिहरूले हान्को (Hankow), कियुकियाङ (Kiukiang) र फूचोउमा चिया कारखानाहरू स्थापना गरे । ती सबै विदेशी कारखानाहरूमा चिनियाँ मजदुरहरूले नै काम गर्थे ।
सन् १८६१ मा फूचोउमा चिनियाँ साहुमहाजनहरूले पनि चिया कारखाना खोले, साङ्घाईमा धान चामल र भूसको कारखाना खोले । सन् १८८० मा नानहाई (Nanhai) मा यन्त्रजडित रेशम कारखाना स्थापना गरियो । यसरी चीनमा स–सानाबाट ठूल्ठूला चिनियाँ साहुमहाजन र पुँजीपतिवर्गले आधुनिक उद्योगधन्दाको सुरु गरे । तर, साम्राज्यवादी देशहरूले चीनलाई लडाइँमा हराउँदै आफ्ना मालसामानमा कर तिर्न अस्वीकार गर्दै नयाँ–नयाँ असमान सन्धिमा हस्ताक्षर गराउँदै गए ।
एक–एक पाइला गर्दै विदेशीहरूले चीनमै धातु उद्योग र हातहतियारको कारखाना बनाउने अधिकार पाउँदै गए । चीन विस्तारै बेलायत, अमेरिका, फ्रान्स, जापान र जर्मनीको अर्ध–उपनिवेश बन्दै गयो ।
ती साम्राज्यवादी देशहरूले बैङ्कहरू स्थापना गरे, कागजका नोटहरू छापे र चलाए तथा जम्मा भएको रकम (Deposit) वा निक्षेप चलाउन थाले । लडाइँमा हारेको हुँदा साम्राज्यवादी देशहरूले चीनलाई १८९४–१८९९ सम्ममा ३७ करोड चाँदीका इँटाहरू हर्जाना वा लडाइँको क्षतिपूर्ति तिराए । ती देशहरूले त्यो रकमलाई ऋणको रूपमा बोकाए र भन्सारको कर र अन्तशुल्क, अनि नून कर तथा ऋणको प्रत्याभूति सबै हातमा लिए ।
सन् १८९५ देखि १८९६ सम्ममा बेलायतीहरूले कपास र धागो कारखाना, कपडा कारखाना र पिठो कारखाना साङ्घाईमा खोले तथा अमेरिकी र जर्मनीयालीहरूले कपास, धागो र बुन्ने कारखाना खोले । जापानीहरूले पनि कपास, धागो र पिठो कारखाना खोले ।
सन् १८९५–१९०५ सम्ममा रुस, जर्मनी, संरा अमेरिका र बेलायतले भागबन्डा गरी रेलको बाटो बिछ्याउने अधिकार पाए । रुस, बेलायत र जापानले खानीहरू खन्ने अधिकार पाए ।
यसप्रकार ती साम्राज्यवादी देशहरूले एकपछि अर्को बन्दरगाह, खानी, सहर र ‘प्रभाव क्षेत्रहरू’ प्राप्त गर्दै गए । ती प्रभाव क्षेत्रहरूमा ती देशहरूले आर्थिक गतिविधि, कर लगाउने, धर्म प्रचार आदि सबै कार्य गर्ने छुट पाए ।
सुरुमा सरकारकै रेखदेखमा निजी आधुनिक उद्योगधन्दा सुरु भएको थियो । सन् १८८१ मा ४ वटा मात्रै निजी कारखाना र खानी थिए । सन् १८९५ मा त्यो सङ्ख्या ६७ वटा पुग्यो । पुँजीको हिसाबले त्यस अवधिमा ३,३०,००० चाँदीको मुद्राबाट ८५,३०,००० रूपैयाँ पुगेको थियो । कपडा उद्योग छिटो विकास भयो र पुँजीको हिसाबले २० गुणा बढ्यो । ती कारखानाहरू साङ्घाई र खासगरी ऊचाङ (Wechang), हान्को (Hankow) र हानयाङ (Hanyang) मा केन्द्रित रह्यो । निजी कोइला खानी भने क्वाङतुङ (Kwangtung), शान्तुङ (Shantung) र शान्सी (Shansi) मा केन्द्रित थियो ।
धातु उद्योग, काँच, सलाई, रेशम, धान, मैदा वा पिठो, खानेतेल र सुर्तीजन्य उद्योगले छिटो फड्को मा¥यो ।
फ्रान्स र बेलायतले भियतनाम, बर्मालाई आफ्नो कब्जामा लिए तथा बेलायतले दक्षिण–पश्चिम चीनको तिब्बतमा हमला ग¥यो ।
जारशाही रुसले उत्तर–पूर्वी चीनको हैलुङ र उसुली (Wusuli) नदीको पूर्व एवं उत्तर पश्चिमी क्षेत्रमा विशाल भूमिमा अतिक्रमण ग¥यो तथा उत्तर–पूर्वमा आफ्नै हैकम कायम गर्ने षड्यन्त्र गर्यो । ती नदीहरूलाई अमुर (Amur) र उसुरी (Ussuri) पनि भनिन्छ ।
सन् १८९४–९५ मा जापानले चीनमाथि हमला गर्यो । लडाइँमा चीन हार्याे र चीनको थाइवान (Taiwan) प्रान्त र लाओतोङ प्रायः द्वीप (Laodong Peninsula) जापानलाई सुम्प्यो । शाशि (Shashi), चोङ छिङ (Chongquing), सुचौ (Suzhou) र हाङचौ (Hangzhou) विदेशी व्यापारको निम्ति खुला गर्यो र दुई करोड चाँदीको मुद्रा हर्जाना चीनलाई तिरायो । चीनको तर्फबाट लि होङ चाङ (Hong Zhong) भन्ने एक दरबारीलाई जापान पठाइयो र हस्ताक्षर गराइयो । त्यस सम्झौतालाई शिमोनोसेकी सन्धि (Treaty of Shimonoseki) भनिन्छ । चीनको इतिहासमा लि होङ चाङ एक विश्वासघाती, षड्यन्त्रकारी र आत्मसमर्पणवादी व्यक्ति भनी बदनाम छ ।
सन् १८९७ मा जर्मनीले कियाओचो खाडी (Kiao Chow Bay) कब्जा ग¥यो । रुसले लुशुन (Lu shun) र तालिन (Talin) कब्जा ग¥यो । फ्रान्सले क्वाङचौ खाडी (Kwangchou Bay) र बेलायतले वइहोइवइ (Weihoiwei) र कोउलून (Kowloon) लाई ठेक्कामा लियो ।

काङ युवेइ

पुँजीवादी सुधारको खाँचो
आधुनिक उद्योगधन्दाको विकास र पश्चिमी पुँजीवादी देशहरूको विकासको प्रचार हुँदै गयो, साथै चिनियाँ साहुमहाजन, नयाँ उद्योगपतिहरू, शासनमा बसेका केही माथिल्ला कर्मचारी र जमिनदारहरू पुँजीवादी विकासप्रति आकर्षित हुँदै गए । तर, पुरानै शासन प्रणालीले औद्योगिक क्रान्तिलाई अगाडि बढाउन बाधा दिँदै थियो ।
विदेशी हमला, थिचोमिचो र नियन्त्रणको कारण चिनियाँ बुद्धिजीवीहरूले सामन्ती निरङ्कुश राजतन्त्र, कर्मचारीतन्त्र र पुरानै शैलीको प्रशासन एवं शिक्षा र संस्कृतिलाई दोष दिए । त्यसकारण, बुद्धिजीवीहरूले संवैधानिक राजतन्त्र, पश्चिमी शैलीको विकास, विज्ञान–प्रविधि र शिक्षा तथा जीवनशैलीमा सुधारको आवश्यकता अनुभव गरे । यस्तो सुधारले मात्र देशको समृद्धि र उन्नति हुने तथा बलियो देश भएमा विदेशी थिचोमिचोबाट मुक्त हुने अनुमान गर्थे । ती सुधारका पक्षपातीहरूले सम्राटलाई चित्त बुझाएर माथिबाटै सुधारहरू लागू गर्न सकिन्छ भन्ने सोच्थे । यसकारण, तिनीहरू सम्राटलाई एकपछि अर्को बिन्तीपत्रहरू राखेर सम्राटलाई चित्त बुझाउन चाहन्थे ।
ती सुधार चाहनेहरूमध्ये काङ यु–वई (Kang Yu-Wei), लियाङ चि चाओ (Liang Chi-Chao), तान स्चे–तुङ (Tan sze-Tung) आदि थिए । त्यसबेला सम्राट क्वाङ सु (Kuang Hsu) कमजोर शासक थिए भने सानोमा आफ्नो संरक्षिका काकी विधवा साम्राज्ञी त्वे सी (Tzu Hsi) ले दरबारको रुढीवादी गुटको नेतृत्व गर्थिन् । सारमा, उनी शक्तिशाली थिइन् ।
सुधारको निम्ति प्रचार–प्रसार र सङ्गठन
चिनियाँ बुद्धिजीवीहरूले १८६२ देखि १८८७ सम्ममा नयाँ विचार र चिन्तनबारे एक सय वटाभन्दा बढी पुस्तकहरू लेखे र छापे । सुरुमा ‘क्राइश्चेली साहित्य सभा’ जस्ता संस्थाहरूले पुस्तक र पत्रपत्रिका प्रकाशित गरी चीनमाथि सांस्कृतिक आक्रमण गरेको अनुभव गरे । त्यसको विरोधमा एकपछि अर्को पुँजीवादी सुधारवादीहरूले पुस्तकहरू लेख्न थाले । युङ विन, वाङ थाओ, खे फु– छङ, मा च्येन युङ, चङ क्वान – इङ आदि सुरुका लेखकहरू थिए ।
सन् १८६२ मा चाङ क्वान इङ भन्ने एक व्यापारीले ‘सामाजिक दोषहरूको निवारणको जरुरी उपाय’ पुस्तक लेखे । उनी पश्चिमीकरणका सुरुका एक पक्षपाती थिए । त्यही पुस्तकलाई उनले १८७१ मा ‘मौलिक विचार’ भनी संशोधित संस्करण निकाले । १८९३ मा उनले अर्को संशोधित संस्करण ‘शान्ति र समृद्धिकालमा दिइएका हाँकहरू’ शीर्षकमा प्रकाशित गरे ।
काङ यु–वई (Kang yu-wei) सुधार आन्दोलनका एक अग्रदूत थिए । उनी क्वाङतुङ प्रान्तका एक जमिनदार तथा सरकारी कर्मचारीको परिवारमा जन्मेका थिए । पुरानै ढङ्गका शिक्षित युवा हङकङ र साङ्घाईको पश्चिमी विचारबाट प्रभावित थिए । यसकारण, उनी आफ्नो देशलाई पनि पश्चिमी शैलीमा सुधार गर्न चाहन्थे ।
काङ यु– वईले ‘विश्व बुलेटिन’ (Chung Wai Chi Won) भन्ने एक समाचारपत्र प्रकाशित गरे । केही कर्मचारीहरू मिलेर ‘बलियो हुन सिक्ने समाज’ (Chiang Hsuh Hai) नाउँको एक संस्था खोले । त्यस संस्थाले अनुवादित पुस्तक र पत्रपत्रिका प्रकाशन, पुस्तकालय र सङ्ग्रहालयहरू स्थापना गर्ने निर्णय ग¥यो ।
राजनैतिक सुधारका अर्का एक पक्षपाती हुआङ त्सुन–सीन (Huang Tsun-Hsein) ले ‘समकालीन विषय’ भन्ने एक दैनिक समाचारपत्र साङ्घाईबाट प्रकाशित गरे । त्यस दैनिकका सम्पादक लियाङ चि–चाओ (Liang Chi-Chao) थिए । उनले ‘सुधारबारे अनेक टीकाटिप्पणी’ लेखे । बुद्धिजीवीहरूमा दैनिक लोकप्रिय हुँदै गयो र केही महिनाभित्रै ग्राहक १० हजार पुग्यो । त्यसबेला त्यो सङ्ख्या सा¥है ठूलो मानिन्थ्यो ।
काङ यु–वईले साम्राज्यवादी देशहरूको ‘प्रभाव क्षेत्र’ ले देश विभाजित हुने खतरा रहेको बताउँदै ‘राष्ट्रिय मुक्ति समाज’ (Pao Kuo Hui) स्थापना गरे ।
१८९७ मा प्रवासी चिनियाँ व्यापारीसँग मिलेर काङ यु–वईले ‘नयाँ ज्ञान–पत्रिका’ र अरूले पनि ‘हुनान पत्रिका’, ‘नविन हुनान पत्रिका’, ‘हुनान दैनिक’, ‘राष्ट्रिय समाचार’, ‘राष्ट्रिय समाचार सङ्कलन’, ‘पत्रिका’ आदि देशभरिबाट पत्र–पत्रिका प्रकाशित गरे ।
‘दिव्य सिद्धान्त संस्था’, ‘दक्षिणी संस्था’ आदि संस्थाहरू पनि स्थापित हुँदै गए । लियाङ चि–चाओले १८९८ को राज्य विप्लव वा राजद्रोहको संस्मरणमा बताएका थिए, तीन वर्षमा देशभर २४ संस्थाहरू, १८ विद्यालय, ७ समाचारपत्र र दुई प्रकाशन गृह स्थापना भए । संस्थाहरू, विद्यालय र समाचार पत्रको सङ्ख्या तीनसय पुगेको थियो ।
सुधारवादी आन्दोलनकारीहरूले देशका विभिन्न प्रान्तहरूमा बुद्धिजीवीहरूलाई सचेत र सङ्गठित गर्ने काममा सक्रियता देखाए, त्यो नौलो विषय थियो । बेलायतको ‘प्रभाव क्षेत्र’ (Sphere of in England) च्याङचिङ नदी उपत्यका (Changjiang River Valley) थियो, क्वाङसी र क्वाङतोङको केही भाग पनि थियो ।
जापानको प्रभाव क्षेत्र फुचिन (Fujin) प्रान्त थियो, जर्मनीको शान्तोङ (Shangdong) प्रान्त थियो भने रुसको उत्तर–पूर्वी तीन प्रान्त हैलोङ क्याङ (Heilong Kiang), चिलिन (Jilin) र लियाओनिङ (Loaoning) प्रान्त थियो ।
यसरी विदेशी प्रभाव बढ्दै थियो । त्यसकारण, चिनियाँ बुद्धिजीवीहरू अर्थात् पुँजीवादी सुधारवादीहरू सम्राटलाई बिन्तीपत्र दिँदै दरबारबाटै सुधारहरू लागू गरी देशलाई आधुनिक बनाउने र विदेशी प्रभावलाई रोक्ने र प्रभाव घटाउँदै जाने विचार गर्थे ।
तर, दरबारमा दुई गुट थियो– एक विधवा साम्राज्ञी त्स्यु सी (Tzu Hsi) को प्रतिगामी गुट र सम्राट क्वाङ यु (Kuang Yu) को सुधारवादी गुट । विधवा साम्राज्ञीको गुटमा चुङ रोङ लु (Jung Rong Lu) भन्ने एक प्रतिक्रियावादी दरबारको प्रभाव थियो ।
सुधारका विषयहरू के के थिए ?
जून १८९८ मा सम्राटले काङ यु–वेईको सल्लाहअनुसार एक ‘बृहत् परिषद्’ बनाए । त्यो परिषद् सम्राटको प्रत्यक्ष निर्देशनमा काम गर्ने संस्था थियो ।
त्यस परिषद्मा तान सेच–तुङ, याङ चुई, ल्यु क्वाङ ति, लिन सु आदि सदस्य थिए ।
सुधार गर्ने सूचीमा राष्ट्र बैङ्कको स्थापना, खानी र रेल बाटोको निम्ति प्रशासनिक संस्था, कृषि, उद्योग र व्यापारको एक समिति, उद्योगका विभिन्न शाखाहरूको विकासको निम्ति समिति, राज्यको बजेटको बन्दोबस्त, आधुनिक विद्यालयहरूको स्थापना, नयाँ–नयाँ प्रकाशन तथा आविष्कारहरूलाई प्रोत्साहन दिने, विदेशी पुस्तकहरू अनुवादको उच्चस्तरीय समिति, नयाँ किसिमको सैनिक तालिमको बन्दोबस्त, गरिबहरूलाई अविछिन्न अधिकार र सम्राटलाई सबै जनताले बिन्तीपत्र टक्राउने नयाँ र अलग बन्दोबस्त आदि थिए ।
त्यस सुधारमा पुरानो शैलीको लेखाइमा परिवर्तन, पुराना शास्त्रीय पुस्तकहरूको ठाउँमा नयाँ एवं अर्थशास्त्रजस्ता व्यवहारिक विषय राखी परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने, कर्मचारी र नागरिकहरूलाई विदेशमा अध्ययन भ्रमणको बन्दोबस्त गर्ने, पत्रकारितालाई प्रोत्साहन, हुलाकलाई गाउँ र जिल्लासम्म विस्तार गर्ने, कर्मचारीहरूको माथिल्ला पदहरू घटाउने, पुरानो ढङ्गको सेनामा जातीय बन्दोबस्तको ठाउँमा थलसेना र जलसेनामा आधुनिकता ल्याउने, चिनियाँ केटीहरूलाई काठको जुत्ता लगाउने प्रथा हटाउनेजस्ता संस्कृतिदेखि प्रान्तीय स्वायत्तताको प्रशासनिक सुधारका विषयहरू त्यसमा समावेश थियो । सारमा, चीनमा एक संवैधानिक राजतन्त्रलाई स्थापना गर्ने सुधारवादीहरूको उद्देश्य थियो । त्यो शासन व्यवस्था पनि सारमा जमिनदारवर्ग र पुँजीपतिवर्गकै हुन्थ्यो ।
जनवरी १८९८ मै सुधारलाई सम्राटबाट घोषणा गराउने उद्देश्य थियो तर ११ जून १८९८ मा मात्रै सुधारले कानुनी रूप पायो ।
पुराना सामन्त, दरबारिया र माथिल्ला कर्मचारीहरूले नयाँ बन्दोबस्तबाट आफूले खाई–पाई आएको सहुलियत र हैकम समाप्त हुने, आ–आफ्नो निरङ्कुशतामा अङ्कुश लाग्ने तथा नयाँ बन्दोबस्तमा आफू योग्य नहुँदा आ–आफ्नो पद, सान र मर्यादाबाट फालिने हुँदा अस्तित्वको निम्ति तिनीहरूले सुधारलाई तुहाउन आफ्ना सबै बल र बुद्धि लगाउन थाले । त्यसको नेतृत्व विधवा साम्राज्ञी त्यु सी जापानसँग सिमोनोसेकी सन्धिमा हस्ताक्षर गर्ने विश्वासघाती र आत्मसमर्पणवादी लि होङचाङ आदिले गरे ।

हुआङ त्सुन सीन

सयदिने सुधारको पतन
सुधारको सुरुदेखि नै त्यसलाई असफल पार्ने षड्यन्त्र सुरु भयो । विधवा साम्राज्ञीले ठूल्ठूला पदाधिकारीहरू र सैनिक अधिकारीहरूलाई सरुवा– बढुवा र गुटबन्दी सुरु गरिन् ।
विधवा साम्राज्ञीका पिछलग्गू दरबारी जुङ लुले उसका एक सैनिक सहयोगी युआन शि–काई (Yuang Shi-Kai) लाई विश्वासमा लिई सम्राटलाई बन्दी बनाउने र मुख्य–मुख्य सुधारवादीहरूलाई ज्यान सजाय दिने षड्यन्त्र सुरु गरे । युआन शि–काईले सुधारलाई सहयोग गर्ने वचन दिई सबै कुरा विधवा साम्राज्ञीलाई बताएर विश्वासघात ग¥यो ।
११ जूनमा सुरु भएको त्यो सुधार २१ सेप्टेम्बरको दिन सैनिक विद्रोहबाट पतन भयो । २२ सेप्टेम्बर १८९८ मा सम्राट काङ यु बन्दी बनाइए र सयौँ राजावादीहरूलाई पक्राउ गरी जेलमा कोचे ।
मुख्य सुधारवादीहरू काङ यु–वेई र लियाङ छि–चाओ बाध्य भएर जापान र बेलायती प्रभाव क्षेत्र हङकङ भागे तथा २८ सेप्टेम्बरको दिन तान त्चे– तुङ (Tan She-Tung), लियु क्वाङ ति (Liu Kuang Shi), लिन सु (Lin Hsu), याङ चुइ (Yang Jiu), याङ शेन स्यु (Yang Shen Hsui) र काङ क्वाङ चेन (Kang Kuang-Jen) लाई ज्यान सजाय दिइयो । ती ६ जनालाई १८९८ को सुधार आन्दोलनका ६ सहिद भनियो । तान त्चे तुङ पक्राउ पर्नुभन्दा पहिले उनलाई भगाउन खोज्दा उनले अन्य देशमा सुधार आन्दोलन हिंसात्मक हुन्थ्यो, चीनमा म पहिलो सहिद हुन्छु भने ।
१०३ दिनको त्यो सुधार आन्दोलन आखिरमा दरबारभित्रकै सैनिक विद्रोहद्वारा तुहाइयो । सुधार आन्दोलनले एकातिर निरङ्कुश राजतन्त्र कमजोर हुन्थ्यो भने चीन बलियो होला भनी साम्राज्यवादीहरूले त्यसलाई सहयोग गर्ने कुरै थिएन । अत्यन्त व्यापक जनतालाई सचेत र सङ्गठित नगरी एक कमजोर सम्राटको भरमा सुधार गर्नु स्वयम् असफलताको परिचायक थियो । दोस्रो, पूर्ण सफलता सम्भव थिएन र सफलै भए पनि जमिनदार र पुँजीपतिवर्गको हितमाथि पथ्र्यो, अत्यन्त बहुमत किसान र मजदुरहरूले प्रत्यक्ष फाइदा पाउन सक्दैनथे ।
तेस्रो, सुधारको अर्थ मौलिक परिवर्तन नहुने र मौलिक परिवर्तनलाई रोक्ने एक आन्दोलनमात्र साबित हुन्थ्यो । चौथो, त्यो आन्दोलन सफल भए पनि पुरानो व्यवस्थालाई बलियो र राम्रो बनाउने थियो ।
यसकारण, त्यस सुधार आन्दोलनलाई चिनियाँ विद्वान्हरूले ‘बन्द गल्ली’ भने तथा पछि पुँजीवादी तत्व सुधारलाई छोडी पुँजीवादी क्रान्तिमा सामेल भए । सुधार एक प्रकारले छलछाममात्रै हुने निश्चित थियो । साथै एकातिर प्रतिगामीहरूले त्यसलाई लागू गर्न दिँदैनथे भने साम्राज्यवादी ‘मित्र देशहरू’ त्यसमा घुमाइफिराइ भाँजो हाल्थे ।
स्रोतः चीनका प्रसिद्ध युद्ध र विद्रोहहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *