भर्खरै :

गृहयुद्धको शान्ति प्रक्रिया कहिले टुङ्गिने ?

गृहयुद्धको शान्ति प्रक्रिया कहिले टुङ्गिने ?

काठमाडौँ, ११ साउन । प्रतिनिधिसभाअन्तर्गतको कानुन तथा मानव अधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा बिहीबार छलफल भयो ।
साउन ८ गतेको समितिको बैठकमा विधेयकमा संशोधन राख्नुहुने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विस्तृत शान्ति सम्झौता भएको ६ महिनाभित्र टुङ्ग्याउनुपर्ने विषय १७ वर्षपछि पनि एक अर्ब चालीस करोड थप रकम विनियोजन गरिसकेको व्यहोरासहित विधेयक प्रस्तुत हुनु उचित नभएको चर्चा गर्दै जनताबाट सङ्कलित कर शान्ति प्रक्रियामा खर्च गर्नुभन्दा गृहयुद्धको बेला माओवादीले जम्मा गरेको अर्बाँै रूपैयाँको सोधीखोजी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गृहयुद्धको बेला निहत्था जनताविरूद्ध भएको हत्या, बलात्कार, यातना र बेपत्तासम्बन्धी घटनामा पीडितको सहमति भए पनि पीडकलाई माफी नहुने अन्तर्राष्ट्रिय कानुनी व्यवस्था र मान्यतातर्फ विधेयक सचेत हुनुपर्नेमा जोड दिँदै सांसद सुवालले मूल ऐनको दफा २ (१) (छ) ‘मानव अधिकारको गम्भीर उल्लङ्घन’ यथावत राख्नुपर्ने र (ज) मा ‘मृत्यु भएको’ पछि ‘वा बेपत्ता पारिएको’ राख्न नहुने उल्लेख गर्नुभयो ।
सांसद सुवालले मूल ऐनको दफा २ (ञ) मा हत्या, यौनजन्य हिंसा, अङ्गभङ्ग वा अपाङ्ग, क्रूर व्यवहार, यातना र हत्या थप्नुपर्ने उल्लेख गर्दै तत्कालीन गृहयुद्धमा संलग्न भएको माओवादीलाई तालिम र हतियार प्रदान गर्नेबारे पनि विधेयकमा उल्लेख गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गृहयुद्धको बेला नेपाल–भारत चौकी उडाइएको र नेपाल–भारत सीमा नक्सा बनाउन खटिएका नापीका कर्मचारीलाई डर देखाई नेपालको भूमिसमेत भारततर्फ पर्ने गरी नक्सा बनाइएको पनि द्वन्द्वरत पक्षसँग स्पष्टीकरण लिनुपर्ने उल्लेख गर्दै सांसद सुवालले निहत्था व्यक्ति मारिएकोमा प्राथमिकतामा राखेर परिपुरणसहित न्याय दिनुपर्नेमा जोड दिनुभयो ।
मूल ऐनको दफा २९ मा थपिएको दफा २९ (घ) मा प्रचलित कानुनबमोजिमको सजाय घटाई सजाय निर्धारण गर्नुपर्ने प्रावधान हटाउनुपर्नेमा सांसद सुवालले जोड दिनुभयो ।
सो विधेयकमा कुल २८ जना सांसदले संशोधन दर्ता गराएका थिए ।
माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले असार १८ गते प्रितम सिंहको पुस्तक सार्वजनिक कार्यक्रममा आफूलाई भारतले प्रधानमन्त्री बनाएको आसय प्रकट गरेको हुँदा गृहयुद्ध कहाँबाट सञ्चालित भन्ने प्रस्ट भयो ।
नेकाका चक्रप्रसाद बास्तोलाले ‘पानामा गिरिजाबाबु’ पुस्तकमा माओवादी नामको चल्ला भारतले कोरलेको स्पष्टसँग लेख्नुभएको थियो ।
एमालेका अध्यक्ष केपी ओलीले केही महिनाअगाडि संसद्मा गृहयुद्धको बेला माओवादी नेता पुष्पकमल दाहाल जेलवाल तेल राखेर जुल्फी कोरेर भारत बसेको बताउनुभएको थियो ।
भारतीय शासकवर्गले नेपालमा भुटानी शरणार्थी समस्या खडा गरेको थियो भने यो गृहयुद्धको समस्या पनि त्यसले चाहे मात्र टुङ्गिने एकपछि अर्काे घटनाबाट पुष्टि भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *