भर्खरै :

असफल डिसेम्बर विद्रोहभित्रका सफल कथाहरू – १

असफल डिसेम्बर विद्रोहभित्रका सफल कथाहरू – १
पुस्तक चर्चा
इतिहासबाट झन्डै विलुप्त हुने कथा
संसारका क्रूर शासक र अत्याचारी सरकार, जनविरोधी व्यवस्थाविरुद्ध धेरै विद्रोहका घटनाहरू इतिहासका पानामा भेटिन्छन् । कता कता मानव सभ्यता यस्ता विद्रोहका घटनाले नै अघि बढेको हो । राज्यको स्थापना भएपश्चात् यस्ता विद्रोहहरू र विप्लवहरू अझ धेरै भएका भेटिन्छन् । विगत साढेसात दशकदेखि प्यालेस्टाइनी जनताले इजरायलको विरोधमा चलाइरहेको गृहकलह यसको ज्वलन्त उदाहरण हो । खोतल्दै जाँदा राज्यसत्ता यथास्थितिमा रहन चाहने पक्ष र जनता वा कुनै समूह विशेष तत्तत् राज्य व्यवस्थालाई यथास्थितिबाट मुक्त गरी नयाँ फड्को मार्दै अगाडि बढ्न चाहनेबिचको अन्तद्र्वन्द्वको कारण यस्ता विद्रोहहरू भएको देखिन्छ । धार्मिक कट्टरताको विरोधमा उदार धार्मिक सम्प्रदायले विद्रोह गरेका घटना युरोपमा भेटिन्छन् । सो¥हौँ शताब्दीको सुरुमा कट्टर रोमन क्याथोलिकको विरोधमा प्रोटेस्टेन्ट सम्प्रदायले गरेको विद्रोह यसको एक उदाहरण हो । यस्ता विद्रोहहरूले युग परिवर्तन भएका घटनाहरू पनि नभएका होइनन् । पाँचौँ शताब्दीको आधाआधीमा युरोपमा भएका दास विद्रोहहरूले कमजोर बनाएको रोमन साम्राज्य आखिरमा बारबारिकहरूको आक्रमणपश्चात् समाप्त नै भयो । विद्रोहका कारण नै ११ सय वर्षको लामो रोमन साम्राज्यको पतन भयो ।
यस्ता विद्रोहहरू कति लिखित दस्तावेजको रूपमा इतिहासको पानामा दर्ज भए वा केही अहिलेसम्म गुमनाम भएका होलान् । लिपिबद्ध गरिएका ती आन्दोलन र विद्रोहका कथाहरूले नयाँ आन्दोलन र विद्रोहलाई सफलताको दिशातिर दोहो¥याउन सहयोग ग¥यो होला ! लिपिबद्ध नगरिएका ती विद्रोहरूका कथा इतिहासकै गर्भमा विलुप्त भए, जसका कारण यथास्थितिका सत्ताहरू अझ लामै समय टिकेहोलान् जुन सिङ्गो मानव सभ्यताको लागि नै प्रतिकूल बनायो । यस्तै इतिहासको गर्भमै विलिन हुन लागेको एउटा भयङ्कर र दर्दनाक विद्रोहको कथा हो – रुसको डिसेम्बर विद्रोह । यही विद्रोहको बारेमा लेखिएको पुस्तक हो – ‘रुसको डिसेम्बर विद्रोह (जारविरुद्ध षड्यन्त्र)’
जारशाही रुसको शासन सत्तामा सो¥हौँ शताब्दीदेखि करिब ४ सय वर्षसम्म (सन् १९१७) रह्यो । सन् १५४७ भन्दा पहिले रुसको शासन सत्तामा हालिमुहाली चलाइआएका बोयर भनिने कुलीनवर्गको आधिपत्यलाई अन्त्य गरी इभान तेस्रो र इभान चौथोले बोयरहरूको आधिपत्यलाई समाप्त गर्दै रुसको शासन सत्तालाई जारशाहीको पूर्ण नियन्त्रणमा ल्याएको मानिन्छ । आफ्नो चार शताब्दीभन्दा लामो आयुमा जारशाहीले पटक–पटक विद्रोहहरूको सामना गर्नुपरेको रुसको इतिहासले देखाउँछ । तर, ती अधिकांश विद्रोहहरूलाई जारतन्त्रले निर्ममतापूर्वक दबाएको थियो भने केही विद्रोहले जार राजाहरूको हत्या समेत गरेको थियो ।

जारकालीन रुसका अमानवीय अवस्थामा भूदासहरू

डिसेम्बर विद्रोहको नालिबेली
त्यसरी नै निर्ममतापूर्वक दबाइएको विद्रोह हो– रुसको डिसेम्बर विद्रोह । विद्रोहको प्रकृति फरक–फरक हुन्छन् । कुनै विद्रोहमा व्यापक जनताको सहभागिता हुने गर्छन् भने कुनैमा राज्य सत्ताको वरिपरिका सीमित भारदारहरूको मात्र । रुसको जारशाहीको विरोधमा सन् १८२५ डिसेम्बर २६ का दिन गरिएको विद्रोह पनि तात्कालीन जार अलेक्जेन्डर प्रथमका निकटका उच्च कुलीनवर्ग अझ विशेषगरी सेनाका उच्चओहदाका अफिसरहरू थिए । ती अफिसरहरूमध्ये कोही त अलेक्जेन्डरका प्रिय पात्रहरू र उनको भान्छामा सिधै पहुँच भएका थिए । विद्रोहका अगुवा सैनिक अफिसरहरू अधिकांश नेपोलियनका सैनिकहरूलाई मस्कोबाट लखेटिँदै पेरिससम्म पुगेकाहरू थिए । आफ्नो देशलाई यथास्थितिबाट माथि उठाई युरोपका देशहरूको दाँजोमा पु¥याउनुपर्छ भने हुटहुटी र भावना थिए ती विद्रोहीहरूमा । विद्रोहलाई सशक्तरूपमा अगाडि बढाउन पहिले उनीहरू मुक्ति सङ्घ (Union of Salvation) बनाउँछन् । पछि विद्रोहको गोप्यतालाई कायम गर्न मुक्ति सङ्घलाई भङ्ग गरी समृद्धि सङ्घको (Union of Prosperity) स्थापना गर्छन् ।
विद्रोहका दुई उद्देश्यमा उनीहरू प्रस्ट थिए । पहिलो, निरङ्कुश जार शासनको स्थानमा संवैधानिक व्यवस्थाको स्थापना तथा दोस्रो, रुसी किसानलाई अमानवीय भूदासत्वबाट मुक्त गर्ने । तर, विडम्बना ! उद्देश्य स्पष्ट हुँदाहुँदै पनि त्यो विद्रोह के कसरी र कहाँ के गर्ने कुनै ठोस र व्यवस्थित योजना केही थिएन । खाली विद्रोहको केही दिन अगाडि मृत्यु भएका अलेक्जेन्डरपछि सिंहासनमा बस्ने नयाँ जारशाहले शपथ लिने बेला सैनिकहरूले शपथ नलिई विरोध जनाउने र उनलाई संविधान जारी गर्न र सुधारका कार्यक्रमहरू लागु गर्न बाध्य पार्ने । तर, विद्रोहको सुइँको पाइसकेका जारले विद्रोहको लागि सिनेट चोकमा जम्मा भएका ३ हजार सेनालाई जारशाहीको ९ हजार सेनाले घेरिसकेको थियो । स्पष्ट योजनाको अभाव, नेतृत्व र समयमै आदेश दिनुपर्र्ने विद्रोही सैनिकको अनुपस्थितले अल्मलिएका विद्रोही सेनाहरूलाई जारको सेनाले तोप बर्साउन थाले । विद्रोह केही घण्टामै तुहिन्छ र दुईचार दिनभित्र सबै नेतृत्व गर्ने विद्रोही सेनाका अफिसरहरू पक्राउ परे ।

जारशासनविरुद्ध विद्रोह गर्न खोलिएका गोप्य सङ्गठनका सदस्यहरू छलफल गर्दै

विद्रोह बुझ्न आवश्यक पृष्ठभूमि
यस डिसेम्बर विद्रोहलाई स्पष्टसँग बुझ्न तात्कालीन रुस र युरोपको राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थालाई बुझ्न आवश्यक छ । फ्रान्सेली क्रान्तिपछि सत्तामा आएको नेपोलियनले सिङ्गो युरोपलाई आफ्नो अधीनमा राख्न विभिन्न देशहरूमाथि आक्रमण गर्न थाले । यही युद्ध अभियानसँगै रुसमाथि ६ लाखको विशाल सैनिकको नेतृत्व गरेर नेपोलियनले सन् १८१२ मा रुसमाथि हमला ग¥यो । ‘महान्’ योद्धाको रूपमा चिनिएका नेपोलियन मस्कोबाट पछि हट्न बाध्य पार्छ । यही नै उनको पतनको सुरु हुन्छ । तर, त्यस घटनाले रुसको अवस्था भने युरोपेली देशहरूमा अझ सम्मानीत हुनपुग्यो र जारशाह युरोपकै नेताका रूपमा चिनिन थाल्छ । तर, वास्तवमा रुस तुलनात्मकरूपमा पश्चिमी युरोपका देशहरू फ्रान्स, जर्मनी, बेलायत, हल्यान्ड, स्पेन, पोर्चुगलको तुलनामा विज्ञान र प्रविधि, व्यापार–व्यवसायमा, आधुनिकता र उदार राजनैतिक स्थितिमा पिछडिएकै थियो ।
वास्तवमा जारशाहीभन्दा पहिलेका रुसी शासकहरूदेखि नै उनीहरूमा युरोपभन्दा रुसपछि छ भन्ने मनोविज्ञानले काम गरेको देखिन्थ्यो । पश्चिम युरोपको राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक प्रभावबाट मुक्त भएरमात्र आफ्नै विशेषताको व्यवस्थालाई निरन्तरता दिनसक्ने मनोविज्ञान थियो । त्यसैले होला सायद, नेपोलियनको समयताका युरोपमा दासमोचन हुँदै गरेको भए पनि रुसमा भूदास व्यवस्थालाई खारेज गर्ने कुनै सुरसार देखिएको थिएन । पश्चिम युरोपमा भएका राजनैतिक क्रान्ति त्यसले ल्याएका सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवर्तनहरूलाई पनि रुसमा आत्मसात गरिएको थिएन । चौधौँ शताब्दीतिर सुरु भएको पुनर्जागरण, त्यसपछि भएका सुधारका आन्दोलनहरू, औद्योगिक क्रान्ति र त्यसपूर्व भएका विज्ञान र प्रविधिका आविष्कार र विकासहरूको पनि प्रभाव रुसको राजनैतिक वृत र समाजमा देखिएको थिएन । पश्चिम युरोपको प्रभावबाट आफ्नो देशलाई अलग्ग राख्ने त्यो मनोविज्ञानलाई जार शासक ‘पिटर महान’ ले (सन् १६८९–१७२५) भने केही हदसम्म तोडेर स्वयंले युरोपको भ्रमण गरेर रुसलाई आधुनकतातिरको बाटोमा दोहो¥याउने प्रयास गरेका थिए । उनै पिटरले डच सरकारको प्राविधिक सहयोगमा रुसमा पहिलो जलसेना र जहाजहरूको निर्माण पनि गरेका थिए । यसपछि नै रुसी सेना कृष्णसागरसम्म पुग्न सफल भएको थियो । यद्यपि, बिसौँ शताब्दीको पूर्वाद्धसम्मै जारशासकहरूले त्यस्तो परिवर्तनलाई आत्मसात गर्न चाहेको देखिएन । जारशाहीको यही यथास्थितिमा रहने स्वभाव र मनोविज्ञानका कारण नै होला बेला बेलामा जारसत्ताको विरोधमा विभिन्न स्तरका जनता वा शासनसत्ताकै वरिपरिकाहरू साना ठूला विद्रोहहरू गर्न लालायित देखिए ।
अमेरिकामा खेतीपातीको लागि दासप्रथा विद्यमान रहेजस्तै रुसमा भूदासको बन्दोबस्त थियो । दासप्रथाजस्तै अमानवीय थियो भूदासको व्यवस्था पनि । जसरी दासलाई दास मालिकले वस्तुसरह किनबेच गर्न सक्थ्यो, भूदास पनि मालिकले जमिन बेचबिखन गरेपश्चात् अर्कै मालिकको स्वामित्वमा जान्थ्यो । दास र भूदास स्वतन्त्र हुँदैनथ्यो । मालिकको अनुमतिविना उनीहरू स्वतन्त्ररूपमा घुमफिर गर्न पाउँदैनथे । तर, रुसमा ती भूदासहरूले नै नेपोलियनविरोधी लडाइँमा अनौठो क्षमताको प्रदर्शन गरेर देखाए । जार सरकारले नेपोलियनको विरोधमा परिचालन गरिएका धेरै सैनिकहरूमा ती नै भूदासहरू सामेल गरिएका थिए । रुसी सैनिकहरूमा उच्च खानदानी अफिसरहरू पनि थिए । तर, नेपोलियनका सैनिकहरूसँग लड्न ती पेशेवर सिपाहीँहरू डराएर भागिरहेका बेला भूदासहरू भने वीरतापूर्वक युद्ध मैदानमा नेपोलियनका सैनिकहरूलाई पछि हट्न बाध्य बनाइरहेका थिए । भूदासहरूको त्यो वीरतालाई डिसेम्बर विद्रोहका सैनिक अफिसरहरूले राम्ररी देखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *