काठमाडाँैमा गैरआवासीय नेपालीहरू (एनआरएन) को अधिवेशन चलिरहेकै बेला प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा बोलाएर दुई जनालाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरे । सो अवसरमा प्रचण्डले गैरआवासीयहरूलाई नेपाली नागरिकताको व्यवस्था ठूलो उपलब्धि भएको र “अब यसले लाखौँ गैरआवासीय नेपालीहरूले फाइदा पाउने” बताए । तर, गैरआवासीय नेपालीहरू आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमा सीमित हुन चाहँदैनन् । उनीहरूले हाकाहाकी भने, “२० वर्षको हाम्रो सङ्घर्ष सफल भयो । अब वंशजको नागरिकताको लागि हाम्रो सङ्घर्ष जारी रहनेछ ।”
नेपाल सरकारले गैरआवासीय नेपालीहरूको सम्बन्धमा बनेको नियमावली स्वीकृत गरेसँगै अब पुस्तौँदेखि नेपाली नागरिकता त्यागेर विभिन्न देशका नागरिकता पाएकाहरूले गैरआवासीय नेपाली नागरिकता पाउने भएका छन् र नेपाली मूलका ती विदेशीका सन्तानहरूले समेत गैरआवासीय नेपाली नागरिकता पाउने र नेपालमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउनेछन् । संविधानअनुसार यो सार्क मुलुकको हकमा भने लागु हुनेछैन । रोजगारी, अध्ययन र व्यावसायिक प्रयोजनमा संसारका विभिन्न देशहरूमा गएर बसेका गैरआवासीय नेपाली नागरिकहरू कति छन् यकिन तथ्याङ्क छैन । कार्तिक २ गतेको गोरखापत्रका अनुसार विश्वका १९० वटा देशमा ६० लाखभन्दा बढी गैरआवासीय नेपाली नागरिकहरू छन् ।
नेपालको संविधान २०७२ को धारा १४ मा गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ । संविधानमा ‘विदेशी देशको नागरिकता प्राप्त गरिसकेको सार्क देशबाहेकका देशमा बसोबास गरेको साविकमा वंशज वा जन्मको आधारमा निज वा निजका बुबा वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई सङ्घीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने छ’ भन्ने उल्लेख छ ।
उपर्युक्त संवैधानिक व्यवस्थाले एक पटक नेपालको नागरिक भएको व्यक्ति कुनै पनि बेला विदेशमा गएर विदेशी नागरिकता पाएका रहेछन् भन्ने उनी र उनका सन्तानहरूले गैरआवासीय नेपाली नागरिक भएर नेपालमा काम गर्न पाउने भएका छन् । ती विदेशी नागरिक भएर बसेकाहरू अबदेखि दोहोरो नागरिक बन्न सक्नेछन् ।
नेपाल सरकारले विदेशमा गएर आर्जन गरेको ज्ञान, सीप र सम्पत्तिबाट नेपालले फाइदा लिन सकोस् भन्ने उद्देश्यले संविधानमै गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको देखिन्छ । तर, गैरआवासीय नेपालीहरू भने वंशजकै नेपाली नागरिकता पाउनुपर्ने दाबी गरिरहेका छन् । उनीहरू उम्मेदवार हुने र मताधिकारसहितको राजनैतिक अधिकार पाउनुपर्ने माग गर्दै छन् । अधिवेशनमा नागरिकता ऐन र मताधिकारबारे पनि व्यापक छलफल भएको र राजनैतिक अधिकार लिएरै छाड्ने आवाज उठेको बताइन्छ । नेपालमा आफ्नो पसिना बगाएर देश बनाउनुभन्दा देश त्यागेर विदेशको सुख सुविधालाई महत्व दिएर विदेशी नागरिक बन्नेकाहरूप्रति हाम्रा शासक दलहरू उदार बनेका छन् । गैरआवासीय नेपालीहरूलाई दोहोरो नागरिकता दिँदा देशलाई के कस्तो दीर्घकालीन असर पर्छ ? त्यसबारे शासक दलहरूले सोचेको देखिँदैन ।
गैरआवासीय नागरिकहरूले अहिले देखाएको देशप्रेमलाई नक्कली किन नभन्ने ? उनीहरू साँच्चै नेपालप्रति माया गर्ने हुन् भने विदेशमा सिकेको ज्ञान र सीप नेपालको विकासको निम्ति प्रयोग गर्नुपथ्र्यो । उनीहरूले देशलाई भन्दा व्यक्तिगत सुखलाई महत्व दिएर नेपालको नागरिकता च्यातेर वा जलाएर विदेशीको नागरिकता लिने थिएनन् । विदेशमा गएर केही ज्ञान, सीप र सम्पत्ति आर्जन गरेपछि उनीहरू आफूलाई माथिल्लो दर्जाका नागरिक ठान्दा रहेछन् । उनीहरूले नेपाल सरकारले प्रदान गर्ने भनिएको गैरआवासीय नागरिकताको प्रमाणपत्रलाई कागजको खोस्टाको दर्जा दिएका छन् र आफ्नो अनुकूल नागरिकता ऐन संशोधन गर्न दबाब दिँदै छन् । नेपालको लागि कस्तो कानुन आवश्यक छ त्यो नेपालीहरूको अधिकारको कुरा हो । आवश्यकताअनुसार नेपालका जनप्रतिनिधिहरूले कानुन निर्माण गर्छन् । देश त्यागेकोमा उनीहरूमा हीनताबोध र पश्चाताप हुनुपर्ने हो तर त्यो केही भाव देखिँदैन । बरु, उनीहरू आफू विदेशी भएको बिर्सेर नेपालको सांसद, मन्त्रीहरूलाई राजनैतिक शास्त्र पढाउन र उपदेश दिन पछि परेनन् । उनीहरू हाम्रा सांसदहरूसँग सोध्दै छन्, नागरिकले राजनैतिक अधिकार नपाउने भनी पढाउने कुन विश्वविद्यालय छ ?
उनीहरूमा आपूm विकसित देशका नागरिक भएकोमा गर्व मात्र होइन नेपाली भन्दा माथि रहेको भन्ने घमण्डको भूत पनि चढेको देखिन्छ । नेपालका शासक दलहरूले संविधानमा गैरआवासीय नागरिकताको व्यवस्था गर्नु नै गलत थियो । अब ६० लाख गैरआवासीय नागरिकहरूले वंशजको नागरिकताको लागि आन्दोलन गरे भने हाम्रा शासक दलहरू झुक्नैपर्ने अवस्था आउनेछ र ढिलो या चाँडो राजनैतिक अधिकार पनि दिनुपर्नेछ । त्यतिबेला नेपालको हालत के होला ?
दोहोरो नागरिकताको सम्भावित परिणाम
– ३ करोड नेपालीहरूमा ६० लाख जनसङ्ख्या थपिने छ । उनीहरूले दशकौँसम्म विदेशी भूमिमा बसेर प्रशस्त सम्पत्ति पनि जोडेका हुनेछन् । मतदाता र उम्मेदवार बन्ने अधिकार पाएमा उनीहरूले पैसाको भरमा नेपालको संसद्, प्रदेश र स्थानीय तहमा निर्वाचित भएर नेपालीहरूमाथि शासन गर्नेछन् । नेपालीहरू उनीहरूलाई भोट हाल्नेमा सीमित हुनेछन् । नेपालमै नेपालीहरूले शरणार्थीको जीवन बिताउन बाध्य हुनुपर्ने अवस्था आउनेछ ।
– दोहोरो नागरिकताको व्यवस्थाले अबका दिनहरूमा विभिन्न देशमा रोजगारी, अध्ययन र व्यवसाय गर्न जाने युवाहरूमा नेपाली नागरिकता त्यागेर विदेशी बन्न उत्साहित गर्नेछ । युवा र दक्ष जनशक्ति पलायन हुनका लागि यसले थप सहयोग पु¥याउनेछ ।
िमानिस स्वार्थी प्राणी भएकोले दोहोरो नागरिकता पाउनेबित्तिकै उसले जुन देशमा बस्दा फाइदा हुन्छ, त्यही देशमा गएर बस्नेछ । विकसित देशहरूमा बस्नेहरूले नेपालमा पनि सम्पत्ति आर्जन गर्ने र ती देशहरूमा सम्पत्ति थुपार्ने छन् । नेपालमा सङ्कटको स्थिति आएमा उनीहरू नेपाल छाडेर भाग्नेछन् ।
– अरू देशमा आर्जन गरेको सम्पत्ति नेपालमा लगानी गर्ने र नेपालमा नाफा कमाएर फेरि उतै लानेछन् । उनीहरूले नेपालको विकास र समृद्धिको लागि होइन कि व्यापार गर्न नेपाली भूमिलाई प्रयोग गर्ने सम्भावना रहनेछ ।
– पुस्तौँ विदेशमा बसेर त्यहाँको रहनसहनमा हुर्केकाहरूमा त्यहाँको राजनैतिक प्रभाव परेकै हुन्छ । उनीहरूले पुँजी लगानीमात्र गर्दैनन् बरु साम्राज्यवादी विचार पनि बोकेर आउनेछन् र नेपाल नेपाली नागरिकता प्राप्त नागरिकहरूबाटै उपनिवेश बन्ने खतरा बढ्नेछ ।
– नेपालमा राजनीति गर्न चाहन्छन् भन्ने उनीहरूले विदेशको नागरिकता त्यागेर पुनः नेपाली नागरिक बन्न सक्ने कानुनी बन्दोबस्त छ । कानुनबमोजिम पुनः नेपाली नागरिकता पाएर नेपालमा राजनीति गर्ने उनीहरूको अधिकार सुरक्षित नै छ ।
श्रीलङ्कामा दोहोरो नागरिकताको व्यवस्थाले पनि हालको आर्थिक सङ्कट निम्तिएको कतिपयको भनाइ छ । त्यहाँ शासन गर्ने राजपाक्ष परिवार दोहोरो नागरिक बनेको र देशको विकास र समृद्धिभन्दा पनि निजी सम्पत्ति आर्जन गर्नेतर्फ लागेको आरोप छ ।
नेपालमा अधिवेशन गरी आपूmलाई सभ्य देखाउन खोज्ने गैरआवासीय नेपालीहरूको निर्वाचनपछि भएको भाडभैलोले उनीहरूको असली रूप छताछुल्ल भएको छ । प्रजातान्त्रिक तरिकाबाट निर्वाचन सम्पन्न भएकोमा एउटा पक्ष जित घोषित भएपछि अर्को पक्षले त्यसलाई अस्वीकार गरेर समानान्तर समिति गठन गरेको समाचार आएको छ । गैरआवासीय नेपालीहरूले नेपालमा आएर आप्mनो विज्ञता, सभ्यताको धक्कु लगाउने होइन बरु आफ्नै देशमा गएर संस्कार सिक्नुपर्ने आवश्यकता छ ।
विभिन्न देशका नागरिकता पाएर केही जीवनस्तर सुधार भएकोले होला उनीहरू नेपाल र नेपालीहरूलाई होच्याउन पछि परेनन् । उनीहरूले के बुभ्mनुपर्छ भने आकार, जनसङ्ख्या र विकास ठूलो सानो र कम बढी हुनसक्छ । तर, सबै देशको सार्वभौमिकता बराबर हुन्छ । नेपाल र नेपालीलाई त्यागेर विदेशी भूमि रोज्नेहरूलाई नेपालको राजनीति, पार्टीका नेताहरूप्रति औँला ठड्याउने अधिकार हुँदैन । उनीहरूले पुनःनेपाली नागरिकता प्राप्त नगरेसम्म विदेशी नै हुन् । नेपालले विदेशी नागरिककै व्यवहार गर्नुपर्छ । यो कसैले दान दिएको भरमा चलेको देश होइन । देशभक्त नेपाली जनताको रगत र पसिनाले सिँचेको देश हो ।
Leave a Reply