भर्खरै :

प्रतिनिधिसभामा नेमकिपाको प्रतिनिधि जरुरी

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सत्तारुढ दलका नेता तथा उम्मेदवारहरू विकासको योजना बाँड्दै चुनाव प्रचारमा जुटेका छन् । आ–आफ्नो जिल्लालाई समृद्ध बनाउने सपना बाँडेर उनीहरू निर्वाचन जित्ने दाउ गर्दैछन् । विगतको निर्वाचनमा सत्तासीन दलका नेताहरूले यस्तै आश्वासन दिएका थिए, लोभ देखाएका थिए । सरकारको नेतृत्व गर्ने दल र दलका नेताले जिल्लाको होइन देशकै नेतृत्व गर्नुपर्छ, देश बनाउन नै लाग्नुपर्छ । सरकारमा सहभागी दलका नेता या उम्मेदवारहरूको जिल्ला विकास गरेर देश समृद्ध बन्दैन । सरकारले समग्र देशको विकास हेर्नुपर्छ, समग्र जनताको जीवनस्तर उकास्नुपर्छ । नेमकिपाले सडक र सदनमा समग्र देशको विकास र जनताको सेवामा सङ्घर्ष गर्दै आएको हो, सङ्घर्ष गर्ने प्रतिबद्धता जनाउँदै आएको हो । नेमकिपाले नेपालको प्रशासन क्षेत्रमा निश्चित जाति र भाषाभाषीहरूको कायम रहेको वर्चश्व अन्त्य गरेर प्रदेशका जनताको भाषा, कला र संस्कृतिलाई ठाउँ दिनुपर्नेमा जोड दिएको छ । न्याय प्रशासनमा कर्माचारीहरूको चलखेल र भ्रष्टाचारको कारण नेपालको न्याय प्रशासन बद्नाम भइरहेको छ । अतः निष्पक्ष न्यायका निम्ति शासक दलहरूको भागवण्डाबाट न्यायाधीशहरू नियुक्ति गर्ने काम रोक्नुपर्छ । नेपालीलाई नागरिकता प्रदान गनुपर्नेमा दुईमत छैन । तर नेपाली नागरिकतालाई सिनेमाको टिकटभन्दा पनि सस्तो गर्नु हुँदैन । केही व्यक्तिको सिफारिसमा विदेशीलाई नेपाली नागरिकता दिलाउने ऐन खारेज गर्नुपर्छ । नेमकिपा देशघाती कदमको विरोध गर्छ र विरोध गर्दै जानेछ । उपभोग्य वस्तु र खाद्य सर्वसुलभ हुनुपर्छ । त्यो गुणस्तरीय या खान योग्य हुनुपर्छ । बेलाबखत कमसल, म्याद नाघेको र तौल नपुगेका खाद्यान्न या अरु वस्तु बिक्री वितरणमा आइरहेको समाचार त्यति पुरानो छैन । देशी, विदेशी खाद्यवस्तु, औषधि र अन्य उपभोग्य सामानमा मिसावटको कारण जनताको स्वास्थ्यमा धेरै नकारात्मक असर परेको अझ मृत्युसमेत भएको खबर प्रकाशमा आइरहेकै हो । यसको रोकथाममा सरकारको ध्यान गएको देखिंदैन । आम उपभोक्ताको हित गर्न नै नेमकिपाले उहिल्यै उपभोक्ताको हकसम्बन्धी विधेयक संसदमा पेश गरेको हो र त्यो पछि नियमावली र ऐन बनेर पनि व्यवहारमा आइरहेको छैन या व्यवहारमा ल्याउनेतर्फ सरकारको ध्यान गएको छैन । नेपाली जनताको जीवनस्तर उठाउन, देश विकास गरेर आत्मनिर्भर बनाउन तिब्बतको नाका खुल्नुपर्छ । नेपालको उत्तरी क्षेत्रमा व्यापार विस्तार भए चीनबाट सस्तो उपभोग्य वस्तुको आयात हुनेछ र नेपाली जनतालाई राहत हुनेछ । यस कार्यमा नेमकिपा अघि बढ्नेछ र बढ्ने प्रतिबद्धता गरिएको छ । यसैले पनि प्रतिनिधिसभामा नेमकिपाको उम्मेदवारी जरुरी छ, जित्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *